आज साउन ३१, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट १६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:
केन्यामा नयाँ राष्ट्रपति निर्वाचित
अफ्रिकी मुलुक केन्यामा भएको निर्वाचनबाट उपराष्ट्रपति विलियम रुटो नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । ५५ वर्षीय रुटोले विपक्षी उम्मेदवार राइला ओडिङ्गालाई झिनो मतान्तरले पराजित गरेका हुन् ।
बीबीसीले जनाएअनुसार रुटोले कुल खसेको मतको ५० दशमलब ५ प्रतिशत मत प्राप्त गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ७७ वर्षीय ओडिङ्गाले भने केबल ४८ दशमलब ८ प्रतिशत मत को चुनावी अभियानले निर्वाचनमा धाँधली भएको आरोप लगाएपछि ढिला गरी मत परिणाम सार्वजनिक गरिएको हो ।
ओडिङ्गाका प्रतिनिधिहरुले चुनावमा ‘अनियमितता’ र ‘अव्यस्था’ भएको आरोप लगाएको बीबीसीले जनाएको छ । पराजित उम्मेदवार ओडिङ्गाका समर्थकले राजधानी नैरोबीसहित मुलुकका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
विजेता भएको घोषणासँगै सम्बोधन गर्दै रुटोले मुलुकको निर्वाचन आयोगलाई धन्यवाद दिँदै आइन्दा आफू सबै केन्यालीको राष्टपति बन्ने प्रतिबद्धता जनाएका छन् । केन्यामा गत अगस्ट ९ मा निर्वाचन भएको थियो ।
धाँधली भएको भन्दै केन्यामा यसअघिका निर्वाचनका क्रममा हिंसात्मक घटनाहरु समेत हुँदै आएको बताइएको छ ।
बीबीसीका अनुसार सन् २००७ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै हिंसात्मक घटना हुँदा १२ सय जनाको मृत्यु भएको थियो भने ६ लाख भन्दा धेरै विस्थापित भएका थिए ।
अफगानिस्तानमा बाढी
उत्तरी अफगानिस्तानको परवान प्रान्तमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । बाढीबाट अरु १७ जना घाइते भएका छन् ।
अफगानिस्तानमा शासन चलाइरहेको तालिबान नियन्त्रित बख्तर समाचार समितिले बाढीका कारण अरु दर्जानौँ बेपत्ता भएकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने जनाएको छ ।
हिन्दुकुश पर्वत शृङ्खलामा अवस्थित देशको पहाडी प्रान्त परवानमा मुसलधारे वर्षापछिको बाढीले धेरै आवासीय भवन र सयौँ एकड खेतीयोग्य जमिनमा क्षति भएको छ ।
बाढीका कारण परवान–बम्यान राजमार्ग अवरुद्ध भएको छ । पूर्वमा नान्गाहार प्रान्त र उत्तरमा पन्जशिर प्रान्तलगायत अन्य धेरै प्रान्तमा पनि त्यसको असर परेको छ ।
विगत केही दिनदेखिको अविरल वर्षा र आँधीले देशका पूर्वी र मध्य क्षेत्रका तीन प्रदेशका अनेक गाउँबस्ती पनि प्रभावित भएका छन् ।
बाढीले सयौं आवासीय संरचना, हजारौँ एकड खेतबारी र दर्जनौं बगैँचामा क्षति पु¥याएको स्थानीयवासीले बताएका छन् ।
करिब दुई साताअघि मुलुकको पूर्वी नुरिस्तान प्रान्तको एउटा गाउँमा आएको बाढीमा परी महिला र बालबालिकासहित ४० जनाभन्दा बढीको मृत्यु भएको थियो भने धेरैजना घाइते भएका थिए ।
पन्जशिर र तखार प्रान्तमा भीषण वर्षा र अचानकको बाढीले ठूलो धनजनको क्षति भएको तथा करिब दुई हजार नौ सय घरमा क्षति भएको छ ।
सडक र पुलहरू जस्ता महत्वपूर्ण नागरिक पूर्वाधारहरू पनि प्रभावित भएका छन् । मनसुनी वर्षा र बाढीका कारण अफगानिस्तानमा चार सय जनाको मृत्यु भइसकेको बताइएको छ ।
यसैबीच, अफगानिस्तानको मौसम विज्ञान विभागले भोलि देशभरका २२ प्रान्तमा भारी वर्षा र बाढीको सम्भावना रहेको जनाउँदै सबैलाई सतर्क रहन चेतावनी दिएको छ ।
आङ सान सुकीलाई थप ६ वर्षको जेल सजाय
सेना शासित म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारका चारवटा मुद्दामा दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनाएको छ ।
७७ वर्षीय नोबेल पुरस्कार विजेता सुकीलाई भ्रष्टाचारदेखि चुनाव उल्लंघनसम्मका कम्तिमा १८ वटा अपराधको अभियोग लगाइएको छ र करिब १९० वर्षको जेल सजाय तोकिएको छ ।
आङ सान सुकीले आरोपलाई बेतुक भन्दै आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छन् । उनीमाथि स्वास्थ्य र शिक्षा प्रवर्द्धन गर्ने संस्था डाउ खिन की फाउन्डेसनको कोषको दुरुपयोगदेखि सरकारी स्वामित्वको जग्गा सहुलियत दरमा भाडामा दिएको आरोप लागेको छ ।
एफबीआईले आफ्नो पासपोर्ट चोरेको ट्रम्पको आरोप
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) का एजेन्टहरूले अगस्त ८ मा आफ्नो घरमा छापा मार्दा राहदानी चोरेको आरोप लगाएका छन् ।
‘ओहो ! मार–ए–लागोमा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन् ।
रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व !’
तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ ।
एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।
बेलायतको आपत्ति
उपन्यासकार सलमान रुस्दीमाथि भएको हमलामा उनी आफू नै जिम्मेवार भएको भन्ने इरानको भनाइप्रति बेलायतले आपत्ति जनाएको छ ।
‘हमलाको लागि रुस्दी जिम्मेवार थिए भन्नु हास्यास्पद हो’, बेलायती प्रधानमन्त्री बोरिस जोनसनका प्रवक्ताले भने । यसअघि सोमबार इरानको विदेश मन्त्रालयले आक्रमण हुनुमा लेखक स्वयंम दोषी रहेको ठहर गरेको थियो ।
प्रवक्ताले पत्रकारहरूलाई भने, ‘सलमान रुस्दी आफूमाथि भएको यो घृणित आक्रमणको लागि कुनै पनि हिसाबले जिम्मेवार थिए भन्नु हास्यास्पद हो ।’
उनले अगाडि थपे, ‘यो उहाँमाथिको आक्रमण मात्रै थिएन । यो अभिव्यक्ति र अभिव्यक्तिको स्वतन्त्रतामाथिको आक्रमण थियो । बेलायत सरकार उहाँ र उहाँको परिवारको पक्षमा उभिएको छ । तर, हामी विश्वव्यापी रूपमा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा उभिन्छौं ।’
यसअघि इरानी सञ्चार माध्यमहरुले रुस्दीका आक्रमणकारीको प्रशंसा गरेका थिए ।
अर्मेनियाको राजधानीमा विस्फोट
आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएको छ । विस्फोटमा परि कम्तिमा छ जनाको मृत्यु भएको छ भने १७ जना अझै बेपत्ता भएका छन् ।
मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना भएका छन् । विस्फोट पछि तीन तले भवन ध्वस्त भएको थियो । ३५० अग्नी नियन्त्रक र उद्धारकर्ताहरू उद्धारमा जुटेको बताइएको छ ।
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार उद्धार कार्यको निरीक्षण गरेका समेत गरेका छन् । घटनाको कारणबारे अनुसन्धान जारी छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारद्वारा मन्त्रिपरिषद् विस्तार
नेपालसँग सीमा जोडिएको भारतको बिहारका मुख्यमन्त्री नीतिश कुमारले मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रिय जनता दल (आरजेडी) का नेता तेजप्रताप यादव, उक्त दलका चार जना विधायकसहित झण्डै ३० विधायकलाई उनले नयाँ मन्त्रिपरिषद्मा सामेल गरेका छन् ।
आरजेडी, जनता दल युनाइडेट (जेएलडी) लगायत विभिन्न पार्टीको समर्थनमा मुख्यमन्त्री बनेका नीतिश कुमारको उपस्थितिमा आज राज्यपालले नयाँ मन्त्रीहरूलाई शपथ गराए । छत्तीस जनासम्मको मन्त्रिपरिषद् बनाउन सकिने बिहारमा मुख्यमन्त्रीले भविष्यमा त्यसलाई अझ विस्तार गर्न केही मन्त्री पद रिक्त राखेका छन् ।
भारतीय जनता पार्टी (भाजपा) सँगको सत्ता साझेदारी त्यागेर आरजेडी, जेएलडी, अन्य साना दल र स्वतन्त्र विधायकहरूको समर्थनमा नीतिश कुमारले आगामी बुधबार विहार विधानसभामा बहुमत साबित गर्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् २०२० को विधानसभा निर्वाचनमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले एक सय २५ सिट जितेको थियो भने भाजपाले ७४, नीतिश कुमारको जनता दल (युनाइटेड) ले ४३, विकासशील इन्सान पार्टीले चार र हिन्दुस्तान अवाम पार्टी (धर्मनिरपेक्ष) ले चार सिट जितेको थियो ।
आईएसका वरिष्ठ कमाण्डर मारिएको सिरियाली सेनाको दाबी
सिरियाली सुरक्षा निकायले गरेको एक कारवाहीमा सो क्षेत्रमा सक्रिय आतङ्कवादी समूह इस्लामिक स्टेट आइएसका एकजना वरिष्ठ कमाण्डर मारिएका छन् । सिरियाली सेनाले देशको दक्षिणी प्रान्त दारामा गरेको कारवाहीका क्रममा ती कमाण्डर मारिएको बताइएको छ ।
सिरियाली सञ्चारमाध्यमहरुले केही दिनअघि मात्र पनि आइएसका एक वरिष्ठ कमाण्डर मारिएको जनाएका थिए । पछिल्लो कारबाहीमा यी अर्का कमाण्डर मारिएका हुन् ।
सिरियाली सेनाले मारिएका ती लडाकु कामाण्डर महमद अहमद अल–हलाक रहेको जनाएको छ । मारिएका कमाण्डर दक्षिणी सिरियाका एक खतरनाक कमाण्डर रहेका पनि दाबी गरिएको छ ।
दक्षिणी सिरियाको दारा क्षेत्रको यारमौकमा आइएसको एक तालिम केन्द्र रहेको बताइएको छ । सो तालिम केन्द्रको प्रमुखका रुपमा यी कमाण्डरले काम गरिरहेका थिए ।
सिरियाली सेनाले केही दिन यतादेखि सिरियाको दारा क्षेत्रमा आइएसका विरुद्धमा व्यापक मात्रामा कारवाहीलाई अघि बढाएको जनाएको छ ।
खर्च कटौती गर्न सरकारी निकायलाई श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेको निर्देशन
श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले मुलुकका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिएका छन् । उनले एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिएका हुन् । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले यसबारे जानकारी दिएको छ ।
सचिवालयले राष्ट्रपतिको उक्त निर्देशन श्रीलङ्काका सबै मन्त्रालयल, केन्द्रीय विभाग, प्रान्तीय सरकारका प्रमुख विभागहरु तथा अन्य सरकारी निकायका लागि रहेको पनि बताएको छ ।
श्रीलङ्काले पछिल्ला केही वर्षयता आर्थिक चुनौतीहरुसँग सामना गरिरहेको छ । श्रीलङ्काले हाल सामना गरिरहेको आर्थिक सङ्कटको समाधानका लागि देशभित्रका सरकारी तथा गैरसरकारी निकायहरुका पनि विभिन्न शीर्षकमा खर्च कटौती गरिरहेको पनि बताइएको छ ।
राष्ट्रपति विक्रमासिंघेले सरकारी निकायहरुलाई नयाँ भवन निर्माणका काम नगर्न, भवन तथा जग्गा भाँडामा नलिन पनि दिर्नेशन दिनुभएको समाचारमा जनाइएको छ ।
भारतमा कोरोना अपडेट
भारतमा पछिल्लो २४ घण्टामा थप आठ हजार आठ सय १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतमा आठ हजार आठ सय १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका हुन् । भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ सङ्क्रमित भएका थिए ।
कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ३८ हजार आठ सय ४४ जना कोरोनामुक्त भएका छन् ।
दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख १७ हजार पाँच सय ८ रहेको छ ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
सो समयबाट हालसम्म दुई अर्ब आठ करोड भन्दा बढी मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
प्रतिक्रिया