चिसोबाट कसरी बच्ने ? « Khabarhub

चिसोबाट कसरी बच्ने ?


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ, – देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आर्द्रतामा छाला, स्वासप्रश्वास, झाडापखालालगायतले स्वास्थ्यमा समस्या देखिन्छ ।

डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने समस्या देखिन्छ । उनका अनुसार सुक्खा हावाका कारण आखाँ, छाला र नाकमा समस्या देखिन सक्छ । जाडोयाममा शरीरलाई चिसोबाट बचाउनु नै रोगबाट टाढा राख्ने पहिलो उपाय भएको अधिकारीको भनाइ छ ।

“अधिकांश समय कोठाको तापक्रम २६ डिग्री राख्न उपयुक्त हुन्छ । तापक्रमसँगै हावाको आर्द्रताको पनि विशेष ख्याल राख्नुपर्छ”, उनले भने , “नाक, कान, औँलाको चुच्चो संवेदेनशील हुन्छन् त्यसैले चिसो पानी प्रयोग कमै गर्नुपर्छ, भिडभाडमा हिँड्दा मास्कको प्रयोग गरे यस्ता समस्याबाट बच्न सकिन्छ ।”

चिकित्सकका अनुसार चिसोमा छालासम्बन्धी समस्याबाट बच्न मोस्चराइजर र जेलयुक्त क्रिमको प्रयोग गर्न सकिन्छ । यस्तै, नाक सुक्खा हुने समस्या भएमा कोठामा खाली भाँडोमा पानी राख्दा आर्द्रता सन्तुलन हुने गर्छ ।

बालबालिका र दीर्घरोगीको ख्याल राख्नपर्छ

चिकित्सका अनुसार जाडोयाममा बालबालिकामा रोटा भाइरसको जोखिम हुन्छ । डा अधिकारी भन्छन्,, “रोटा भाइरसले विशेषतः बालबालिकामा झाडापखाला र वान्ताको समस्या धेरै देखिन्छ । स्कुले बालबालिकामा यो भाइरस छिटो सर्न सक्छ ।” स्वच्छ खानेपानीको प्रयोग नै यस भाइरसबाट बच्ने मुख्य उपाय हो । यस्तै बालबालिकालाई मौसमी फलफुल दिँदा सफा पानीले पखालेर मात्र दिनुपर्छ । स्वस्थकर खानपानमा ध्यान दिनुपर्छ ।

जाडो महिनामा मधुमेह र दम जस्ता दीर्घरोगीको विशेष ख्याल राख्नुपर्ने चिकित्सक बताउँछन् । डा दीपक मल्ल चिसोयाममा मधुमेहका बिरामीलाई विशेष सचेत हुन आग्रह गरे । उनले भने “मधुमेहका बिरामीले हिटर र आगो ताप्नु हुँदैन । उहाँहरुको छाला पातलो हुन्छ । धेरै तापक्रमले छाला पोल्ने र घाउ बनाउने जोखिम धेरै हुन्छ ।”

जाडोयाममा ‘मर्निङवाक’ घातक

डा मल्ल मधुमेहका बिरामीलाई चिसोमा घाम झुल्किनु अघि मर्निङवाकमा नजान सुझाव दिए । डा अधिकारी पनि मर्निङवाक गर्दा चिसोमा सुक्खा हावाका कारण स्वासप्रश्वासको समस्या बढन् सक्ने बताए ।

“नाकमुख ढप्प पारेर हिँड्दा वरपर ध्यान नपुग्न सक्छ । यसबाट दुर्घटनाको जोखिम समते बढ्छ”, उनले भने । यसको विकल्पमा घरभित्रै शारीरिक व्यायाम गर्ने वा घाम लागेपछि बाहिर निस्किन डा अधिकारी सुझाव दिए ।

चिसोमा न्यानो कपडा र खानाको प्रयोग गर्नुपर्छ । एउटा मात्र बाक्लो लुगाको सट्टा पातला लुगा एकमाथि अर्को लगाउँदा हावा छेक्न सक्छ ।

फलफूलले चिसो लाग्छ भन्नु खानाप्रतिको भ्रम

जाडोयाममा शरीरको तापक्रम मिलाउन खानाको विशेष भूमिका हुन्छ । पोषणविद् डा उमा निरौलाले भने, “ जाडोयाममा शरीरको काम बढ्छ, त्यसैले बाहिरको तापक्रम चिसो हुँदा शरीरले बढी ताप निकाल्नुपर्ने हुन्छ । ताप निकाल्नका लागि खानाको आवश्यकता पर्छ ।

“जाडोयाममा प्रशोधन नगरिएका खाना खानुपर्छ । पोसिलो र उच्च गुणस्तरको कार्बोहाइड्रेट, फाइबर र प्रोटिनयुक्त खाना खानुपर्छ”, डा निरौलाले भने । फापर, मकै, कोदो, गेडागुडी, सखरखण्ड, आलु, पिँडालु, गहत, सिमी, भट्मासलगायत खानुपर्छ ।

जाडोमा मौसमी फलफुल खाँदा रुघाखोकी लाग्छ भन्ने कुरा खानाप्रतिको भ्रम हो । मौसमी फलफुल त्यसमा पनि अमिलो फलफुल बढी मात्रामा खानुपर्छ । यी खानाले भाइरससँग लड्न सजिलो हुन्छ । चिया कफीको लत नबनाउन डा निरौलाको सुझाव छ ।

शारीरिक परिश्रम कम गर्ने ३० वर्ष माथिका उमेर समूहका व्यक्तिले चिनीको प्रयोग गर्न नहुने उनको सुझाव छ । खानामा चिल्लो पदार्थ पनि उत्तिकै आवश्यक हुन्छ । हिमाली र उच्च पहाडी भूभागमा तापक्रम बढी दिने खानाको प्रयोग गर्नुपर्छ । हिमाली भेगमा चियामा घिउ हालेर खाने चलन छ । घिउलगायत चिल्लो पदार्थले तापक्रम बढाउन मद्दत गर्ने चिकित्सक बताउँछन् ।

-–सृजना राई /रासस

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ९ : ०१ बजे

बलिउडको चमकधमकभित्र अपराधको जालो

बलिउडको चमकधमक, करोडौँको स्टारडम, फ्यानको क्रेज र रेड कार्पेटको ग्ल्यामर

बाँकेमा विद्युत महसुल नतिर्ने सेवाग्राहीको ‘लाइन’ विच्छेद गर्ने अभियान

बाँके– नेपाल विद्युत प्राधिकरण, नेपालगञ्ज वितरण केन्द्रले विद्युत महसुल समयमै

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा

सुनसान मुदी, यसरी खोस्यो सडक सञ्जाल र हेलिकप्टरले स्थानीयवासीको जीविका

म्याग्दी– धौलागिरि हिमाललाई फनक्क फेरो लगाउने चक्रीय पदमार्गमा पर्ने यहाँको

चिनियाँ राष्ट्रपतिको प्रशंसा गर्दै ट्रम्पले भने- ‘तपाईं महान् नेता हो, यसो भन्दा मलाई गाली गर्छन्’

बेइजिङ – विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी