हामीलाई जनताले विश्वास गरेका छन् | Khabarhub Khabarhub

हामीलाई जनताले विश्वास गरेका छन्


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 9 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१५ वर्ष निरन्तर पत्रकारिता गरेका बीपी साह राजनीतिमा सक्रिय भएका छन् । राजनीतिप्रति जनता निराश हुँदै गर्दा र पार्टीहरूप्रति अविश्वास गहिरिँदो गएको अवस्थामा उनी राजनीतिमा प्रवेश गरेका हुन् । झण्डै तीन वर्ष पहिले डा. सीके राउतको नेतृत्वमा गठित जनमत पार्टीबाट साहले राजनीतिक यात्रा सुरु गरेका छन् । सक्रिय पत्रकारितामा छँदासमेत तराई/मधेश र सीमान्तकृतका मुद्दाका साथै आन्दोलनमा सहभागी हुँदै आएका साह जनतामा परिचित अनुहार हो । पत्रकारितामा पहिचान स्थापित गरिसकेका साहको अब राजनीतिक पहिचान र यात्राका बारे उनीसँग गरिएको कुराकानीको सम्पादित अंश :

पत्रकारहरू राजनीतिमा किन आउँछन् ?
पत्रकारितामार्फत् ल्याउन खोजेको परिवर्तनको सम्भावना नदेखेमा । गर्न चाहेको क्रान्ति वा फैलाउन खोजेको सचेतना मिडिया उद्योगमा काम गरेर सम्भव नदेखेमा । समाजको पहरेदारका रूपमा रहेका पत्रकारहरू राजनीतिमा आउनु स्वभाविक हो ।

हामी जस्ता पढे लेखेका पत्रकारहरूको तलब पनि आकर्षक नै छ मिडिया उद्योगमा । तर, त्यहाँ हामी पत्रकार होइन कामदारको भूमिका निभाउनु पर्छ । अब कामदार होइन समाजप्रतिको जिम्मेवार नागरिक, समाज सुधारक, जनताको जीवन सुधारका लागि नेतृत्वदायी भूमिकामा पनि आएको छु ।

भनेपछि पत्रकारिताबाट निराश भएर ?
पत्रकारिता मात्र पेशा होइन । यो समाजप्रतिको जिम्मेवारी पनि हो । समाज सुधार र परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका हुन्छ । तर, पछिल्लो समय सञ्चार क्षेत्रमा आएको प्राविधिक क्रान्तिका कारण हरेक व्यक्ति सूचना सम्प्रेषक भएका छन् ।

मोबाइलबाट खिचिएको एउटा फोटो वा लेखिएको एउटा स्ट्याटसले ठूलो तरंग ल्याउन सक्छ । अब हाम्रो समाजका व्यक्तिहरू सामाजिक प्राणी मात्र रहेनन् ‘सामाजिक सञ्जालका प्राणी’ भइसकेका छन् । जहाँ प्रशस्त सूचना लिन र दिन सक्छौँ ।

सामाजिक सञ्जालहरूले मूलधारको मिडियालाई विस्थापित गरिरहेका छन् । पहिले मूलधारको मिडियाले एजेन्डा सेट गथ्र्यो वा कुनै मुद्दा उठाउँदा समाजले त्यसमाथि बहस गर्ने गरेको थियो । तर, अब सामाजिक सञ्जालमा उठाइएका मुद्दा वा विषय बस्तुमाथि मूलधारका मिडियाहरू समाचार–विचार लेख्न बाध्य छन् ।

अब उद्योगका रूपमा स्थापित मिडियाहरू मात्र दीर्घकालीन रूपमा सञ्चालनमा आउन सक्छन् । अर्थात् मिडिया उद्योग भनेपछि उसले सामाजिक उत्तरदायित्वभन्दा पनि घाटा र मुनाफामा ध्यान केन्द्रीत गर्दैछ । अब सम्पादकहरूको भूमिका व्यवस्थापकको बन्दैछ ।

भनेपछि मिडिया उद्योगका पत्रकारहरूले समाजका लागि काम गर्ने दायरा, समाजप्रतिको जिम्मेवारी बहन गर्ने स्वतन्त्रता, समाजको पहरेदार बन्ने भूमिका, समाज परिवर्तनका लागि खेल्ने भूमिकाहरूको दायरा खुम्चिँदै गएको छ । मिडिया उद्योगमा काम गर्ने पत्रकारहरू अब मिडिया मालिकले भनेका वा अह्राएरका कुरा टाइप गर्ने टाइपिस्ट मात्र हुँदैछन् । अर्को शब्दमा भन्ने हो भने मिडिया मालिकलाई धनाढ्य बनाउने कामदारको भूमिकामा पत्रकारहरू छन् ।

के पत्रकारलाई राजनीति फाप्छ ?
मैले राजनीतिमा आदर्श मान्नेहरूमध्येका एक मधेश राजनीतिका पिता भनौँ स्व.रघुनाथ ठाकुर ‘मधेशी’ पनि सम्पादक हुनुहुन्थ्यो । उहाँले २०१४ सालतिर विराटनगर आसपासबाट राजहंश पत्रिका प्रकाशित गर्नुहुन्थ्यो । उक्त पत्रिकामार्फत् मधेशी समाजमा उहाँले क्रान्ति ल्याउन खोज्नु भएको थियो । तर, अहिले हामी उहाँसँग पत्रकार वा सम्पादकका रूपमा होइन मधेशका महामानवका रूपमा परिचित छौँ ।

समाज परिवर्तक बाबासाहेब डा.भीमराव अम्बेडकर पनि मुक नायकका सम्पादक हुनुहुन्थ्यो । नेपाली राजनीतिमै पूर्वप्रधानमन्त्री स्व.कृष्णप्रसाद भट्टराई पत्रकार हुनुहुन्थ्यो । अहिले दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पनि पत्रकारिता पेशाबाटै आएका हुन् । भनेपछि पत्रकारहरू सफल नेता भएका धेरै उदाहरण छन् । मैले पनि हुलाकी न्यूज दैनिक, देशिया मासिक, हुलाकी न्यूज डटकमलगायत मिडियाहरूको सम्पादकका रूपमा काम गरेको छु ।

करिब एक दशक संविधानसभादेखि संघीय संसदको गतिविधि नियाले, राजनीति र मधेश मामिलामा काम गरे । त्यही भएर मेरो लागि राजनीति नयाँ विषय होइन । राजनीतिमा सामान्य भनाइ छ पत्रकार र वकिलले राजनीतिमा जुनसुकै बेलामा पनि जस्तो परिस्थितिमा पनि राम्रो काम गर्छ ।

तपाईँको अध्ययन पनि सोही विषय वस्तुमा होइन र ?
हो, मैले पत्रकारितामा स्नात्तकोतर, कानुनमा स्नातक, राजनीतिक शास्त्रमा स्नातक गरेको छु । अहिले पुनः राजनीतिक शास्त्रमा स्नात्तकोतर गर्दैछु । त्यही भएर मेरो अध्ययनका विषयहरूले पनि मलाई राजनीतिमा सैद्धान्तिक एवं वैचारिक रूपले सहयोग गरेको छ ।

तर, नेपाली राजनीतिमा युवालाई स्थान दिइँदैन नि ?
बीपी कोइराला ३३ वर्षकै उमेरमा काँग्रेस सभापति बने, मदन भण्डारी ३७ वर्षकै उमेरमा एमाले महासचिव बनेको उदाहरण हामीसँगै छ । राजनीतिमा कसैले कसैलाई स्थान दिँदैन । खोसेर लिनु पर्छ ।

पछिल्लो समयमा युवाहरू राजनीतिप्रति निराश भए । अहिलेको अवस्थामा युवा नेता हुनका लागि कुनै ठूलो राजनीतिक घरानामा जन्मेको हुनु पर्छ वा कुनै नेताको छोराछोरी हुनु पर्छ । उनीहरूले फरक परिवेशबाट आउने युवाहरूको बाटो छेकेर बसेका छन् । हामी जस्ता युवाहरूले प्रयास पनि गरेका छैनौँ । कसैले बाटो छेक्दैमा रोकिने होइन । हामी युवाहरूले राजनीतिमा आफैँ स्थान बनाउने हो ।

हामी युवाहरू राजनीतिमा आएनौँ भने डेट एक्सपायरहरूले हामीमाथि शासन गर्ने छन् । उनीहरूको नीति नियम पनि एक्सपायर हुने खालकै हुनेछ । राजनीति खराब छ, भ्रष्ट छ, फोहर छ भनेर बाहिरबाट गाली गरेर हुँदैन । हामी चुप लागेर बसे पनि राजनीतिक शिकार हुन्छौँ । त्यसकारण युवाहरू राजनीतिमा आउनु पर्छ । र, हामी आउँदैछौँ । युवाहरूका लागि राजनीतिक ठेगाना नै जनमत पार्टी बन्दैछ ।

अनि तपाईँ पार्टीमा कस्तो जिम्मेवारीमा आउँदै हुनुहुन्छ त ?
राजनीतिमा नेतालाई पोजिशनल पावर अर्थात् पद पनि चाहिन्छ । तर, मेरो लागि पोजिशनल पावरभन्दा पनि पर्सनल पावर महत्वपूर्ण छ । अहिलेसम्मको यात्रा पर्सनल पावर अर्थात् व्यक्तिगत क्षमताले नै अगाडि बढेको छ । अहिले जनमत पार्टीको कार्यकर्ताका रूपमा काम गर्दैछु । अब पार्टीले मेरो योग्यता, कार्यक्षमता र अनुभवका आधारमा जस्तो जिम्मेवारी दिन्छ त्यो जिम्मेवारी अक्षरस बहन गर्नेछु ।

अब जनमत पार्टीको विषयमा कुराकानी गरौँ । जनमत पार्टीको विचारधाराको बारेमा चर्चाहरू भएको छैन ?
जनताको जनजिविका सुधार गर्ने विचारधारा हाम्रो हो । कुनै जमानामा प्रतिपादन भएको कुनै राजनीतिक सिद्धान्तका पछाडि लागेर हामी गोलचक्करमा फस्ने होइन । जुनबेला जुन सिद्धान्तले वा मार्गले जनहित गर्छ हामी त्यही मार्गमा हिड्छौँ ।

हामीले सामुदायिक स्वराजलाई कार्यदिशा बनाएका छौँ । हामीले अष्टांग–सम्यक मार्गलाई कार्यनीतिको रूपमा अगाडि सारेका छौँ । जनहितका लागि डा. सीके राउतले राखेका विचार र नीतिमा वा भनौँ ‘सीके राउत पथ’ मा हामी अगाडि बढेका छौँ ।

तपाईँले सीके राउत पथको कुरा गर्नुभयो । तर, ‘लिडर कल्ट’ अर्थात् नेता नै पथ बन्छ भने पार्टीभित्रको लोकतन्त्र समाप्त हुन्छ नि ?
सीके राउत पथलाई हामीले नै अगाडि सारेका छौँ । उहाँ स्वयम्ले यो पथ थुपार्नु भएको होइन । सीके राउत पथबाट पार्टीले जनहितमा काम गर्न सक्छ भने किन अगाडि नबढाउने ।

आन्तरिक लोकतन्त्र त्यो पार्टीमा समाप्त हुन्छ जहाँ परिवारवाद र जातिवाद हुन्छ । पार्टीमा छलफल हुँदैन, पार्टी महाधिवेशन हुँदैन । तर, जनमत पार्टी स्थापनाकालदेखि नै महाधिवेशन, स्वतन्त्र एवं समावेशी नेतृत्व र बहसलाई उच्च स्थान दिएको छ । त्यसकारण हामी सीके राउत पथलाई अंगीकार गर्दै अगाडि बढ्दा कुनै समस्या हुँदैन ।

तर, अहिलेका पार्टीहरू यसरी गर्दा मर्ने अवस्थामा पुगेका छन् नि ?
सन् २०१८ मा क्याम्ब्रिज युनिर्भसिटीको एउटा रिसर्चले पार्टीहरू मर्नुका दुईवटा कारणलाई मुख्य रूपमा प्रस्तुत गरेको थियो । पहिलो कारण भनेको पार्टीका नेताले अधिकतम् आफ्नो लाभ मात्र हेर्नु र दोस्रो पार्टी समुदायस्तरसम्म नपुग्नु तथा विचारधारामा नविनता नल्याउनु । यी विषयका बारे हामी जानकार छौैँ ।

ज्यानको बाजी थापेर स्वतन्त्र मधेश गठबनधनमार्फत् संघर्ष गरेर आएका नेतृत्व छौँ । जसका त्याग महत्वपूर्ण छ, स्वार्थ होइन । हाम्रो नेतृत्व स्वार्थी भएको भए देश विदेशको आराम छोडेर तराई मधेशको गामघरमा चप्पल हातमा बोकेर खोला नाला तर्ने थिएनन् । त्यसकारण पहिलो थ्यौरीमा पनि हामी सफल छौँ अर्थात् हाम्रो नेतृत्व व्यक्तिगत फाइदामा होइन समग्र परिवर्तन र सुधारमा केन्द्रित छ ।

दोस्रो थ्यौरीमा, हामी विभिन्न कार्यक्रम र आन्दोलनमार्फत् जनतासमक्ष पुग्दैछौँ जनतासँग जोडिदैछौँ । हामी कुनै एक विचारको बन्धनमा नबसी नयाँ विचार सामुदायिक स्वराजलाई अगाडि सारेर परिस्कृत गर्दै जानेछौँ । त्यसकारण हामी दोस्रो थ्यौरीमा पनि सफल छौँ । त्यसले जनमत पार्टी दीर्घकालसम्म रहिरहने बैज्ञानिक प्रमाणहरू नै देखिन्छ । अरु पार्टी जस्तो हामीले गफ नै लगाउनु पर्दैन ।

तर, तपाईँको पार्टीमा डा. सीके राउतको अनुहार मात्र नेतृत्व तहमा देखिन्छ नि ?
हेर्नुस्, राजनीतिक दल बन्नका लागि नेतृत्व र सिद्धान्त महत्वपूर्ण हुन्छ । हाम्रो दक्षिण एसियाको प्राक्टिसमा यही दुई कुरा अगाडि छन् । तर, पछिल्लो समय हामी कहाँ धेरै सिद्धान्तवादी पार्टीहरू आए तर न सिद्धान्तमा अडिग रहन सके न जनताको हित गर्न सके । त्यसकारण राजनीतिक सिद्धान्तहरूबाट जनताको भरोसा उठ्यो । अहिलेका जनताले नेतामाथि विश्वास गर्न थालेका छन् ।

नेताकै कारण पार्टी अगाडि बढ्ने वा समाप्त हुने अवस्था आएको छ । त्यसकारण सिद्धान्तभन्दा पनि हाम्रो नेतृत्वमाथि विश्वास गरोस् । त्यही भएर हामी डा. सीके राउत पथको चर्चा गर्दैछौँ । कतिपय अवस्थामा बाहिरबाट डा. सीके राउतको अनुहार मात्रै देखिन्छ । तर, त्यो सत्यता होइन । पार्टीभित्र अन्य धेरै नेताहरू छन् । जो अहिले जसरी पनि पार्टी र नेतृत्वलाई स्थापित गर्नतिर लागेका छन् । को देखिन्छ के देखिन्छ भन्दा पनि जनताको विश्वास हामीमाथि बढ्दैछ कि घट्दैछ त्यसमा हामी केन्द्रित छौँ । जनताले विश्वास गरे भने धेरैले नसोचेका परिवर्तन हामी गर्न सक्छौँ ।

स्वतन्त्र मधेशको आन्दोलनमा डा.राउत फेल भएको होइन त ?
स्वतन्त्र मधेशको आन्दोलनमा डा. राउतलाई फेल भएको देख्ने आँखाहरू अवैज्ञानिक र राजनीतिक सुझबुझभन्दा बाहिरका हुन् । स्वराज आन्दोलन जस्तो ग्राण्ड सफलता प्राप्त गरेको मधेशको कुनै पनि आन्दोलन नै छैन ।

राजनीतिक विज्ञानको भाषामा बुझौँ, कुनै पनि आन्दोलन सफल भयो वा असफल भयो भन्ने कुराको मापन चारवटा स्तम्भले हुन्छ । जनचेतना विस्तार, जनसहभागिता, माग सम्बोधन र माग पूरा । स्वराज आन्दोलनले स्वतन्त्र मधेशप्रतिको जनचेतना व्यापक रूपमा विस्तार गरेको छ । हरेक मधेशीले त्यो एजेण्डा बुझे । त्यही भएर अहिले पनि तपाईँ चर्चा गर्दै हुनुहुन्छ । अर्थात् जनचेतना विस्तारमा हामी सफल ।

दोस्रो, स्वतन्त्र मधेश गठबन्धनले वा स्वराज आन्दोलनका क्रममा भएका सभा–प्रदर्शनहरूको सहभागिता हेर्नुस् । व्यापक थियो । सडकमा आएका समर्थकभन्दा मनमनै समर्थन गर्नेको संख्या अत्यधिक थियो । त्यसकारण हामी दोस्रो स्तम्भमा पनि सफल ।

तेस्रो, कुनै पनि देशले उच्चस्तरमा गर्ने सम्झौता स्वतन्त्र मधेश गठबन्धन र नेपाल सरकारबीच भएको हो । त्यो पनि बन्द कोठामा वा गोप्य सम्झौता होइन । राष्ट्रियसभा गृहमा राष्ट्रिय अन्तर्राष्ट्रिय निकायको नजरमा खुला रूपमा ११ बुँदे सम्झौता भएको हो । त्यसकारण हामी स्वराज आन्दोलनको माग सम्बोधन गराउन सफल भयौँ ।

अब चौथो अर्थात् अन्तिम स्तम्भ माग पूरा गर्ने विषयमा । स्वतन्त्र मधेश गठबन्धनले कहिल्यै पनि बन्दुकको नालमा आन्दोलन गर्ने भनेको होइन । शान्तिपूर्ण जनमत संग्रहमार्फत् माग पूरा गराउने भनेको हो । ११ बुँदे सम्झौताबमोजिम अब स्वतन्त्र मधेशको माग जनअभिमतबाट उठाउन कसैले रोकटोक गर्न पाउने छैन ।

अर्थात् हाम्रो स्वराज आन्दोलनको सफलतालाई वैज्ञानिक आधारमा हेर्ने हो भने ७५ प्रतिशतभन्दा बढी सफल भएका छौँ । जम्मा २५ प्रतिशत बाँकी छ र त्यसका लागि हामीले मार्ग निर्माण गरिदिएका छौँ । त्यसकारण डा. सीके राउत वा हामी कहीँ कतै असफल भएका छैनौँ । ऐतिहासिक सफलता प्राप्त गरेका छौँ ।

हाल जारी किसान आन्दोलनको कुरा गरौँ, किसान देशैभर छन् । तर, तराई–मधेशमा मात्रै किन सशक्त किसान आन्दोलन ?
नेपाल सरकारले नीतिगत रूपमै देशको अन्नको भण्डार तराई–मधेशलाई आत्मनिर्भरबाट परनिर्भर बनाएको छ । तराई–मधेशका अन्नदाता मधेशी किसानहरूलाई मजदुरमा परिणत गरेको छ । त्यही भएर मधेशका किसानमा बढी आक्रोश र पीडा छ । कुनै बेला सिंगो देशलाई आफ्नो कृषि उपजले पाल्ने मधेशी किसानहरू अहिले सात समुद्र पारि गएर मजदुर बनेका छन् । अर्थात् हाम्रो सरकारले षड्यन्त्र गरेर मधेशी किसानलाई मालिकबाट नोकर बनाएको छ र बनाउँदैछ ।

सरकारले अब मधेशमा रैथाने मधेशी, आर्थिक रूपले सम्पन्न, खेतीपातीबाट सम्पन्न मधेशी नरहोस् र लेबर अर्थात परनिर्भर मजदुर मात्र रहोस् भनेर चाहेको छ । सरकारले मधेशलाई लेबर क्याम्प बनाउँदैछ । ताकी मधेशीले आफ्नो जग्गा बेचोस् र अरुलाई बसाइँसराइ गरी मधेशमा औपनिवेशिकको शासन बढोस् ।

त्यही भएर मधेशका किसानहरू आफ्नो पीडा र आक्रोश थाम्न नसकेर सडकमा आएका हुन् । देशका अन्य भागका किसानहरूको सहयोग र समर्थन छ, हाम्रो किसान आन्दोलनमा ।

जनमत पार्टीले किसानलाई कस्तो बनाउन चाहेको छ त ?
संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार सन् १९९२ मा एक क्विन्टल गहुँको मूल्य ४ सय ८८ रुपैयाँ र एक तोला सुनको मूल्य ६ हजार ८ सय ८० रुपैयाँ थियो । त्यतिखेरको तुलनामा अहिले सुनको मूल्य झण्डै १४ गुणाले बढेको छ, तर गहुँको मूल्य जम्मा ७ गुणाले ।

अर्को उदाहरण, सन् १९९२ मा एक क्विन्टल चामलको मूल्य ५ सय ४४ रुपैयाँ थियो भने एक तोला सुनको मूल्य ६ हजार ८ सय ८० रुपैयाँ थियो । सुनको मूल्य १४ गुणाले बढ्यो तर चामलको मूल्य जम्मा साढे ७ गुणाले । अब भन्नुस् यति फरक किन ?

झण्डै ३० वर्ष पहिले सरकारी कर्मचारीको एभरेज तलब १२/१३ सय रुपैयाँ थियो । अहिले एभरेज तलब ३२ हजार छ । अर्थात् सरकारी कर्मचारीको तलब २६ गुणाले बढ्यो तर चामलको मूल्य जम्मा ७ गुणाले । भनेपछि राज्यले किसानलाई बर्बाद पार्न खोजेको प्रमाण यही छ ।

खेतीपाती र अन्य पेशामा यति ठूलो भिन्नता आएपछि किसान कसरी बाँच्ने ? त्यसकारण किसानको उपजको मूल्य पनि सोही अनुपातमा बढाइनु पर्छ जुन अनुपातमा कर्मचारीको तलब भत्ता बढेको छ । जुन अनुपातमा सुनको मूल्य बढेको छ । अनि मात्र किसान सम्पन्न रहन सक्छ । र, उत्पादन गर्न सक्छ । त्यसकारण हाम्रो किसान आन्दोलनको अन्तिम लक्ष्य भनेकै किसानको मेहनत, लागत र कृषि उपजको मूल्याङ्कन सही होस् । र, किसानले आफ्नो जीवनस्तर एउटा उच्च ओहदाका सरकारी कर्मचारी जस्तो बाँच्न पाओस् । जहाँ उसले पेन्सनसहितका हरेक सुविधा पाओस् । उनका छोराछोरी पनि आफ्नै खेतीपातीको आम्दानीबाट विश्वको जुनसुकै विश्वविद्यालयमा पढ्न सक्ने हैसियत राखोस् ।

जनमत पार्टी आक्रामक रूपमा सडकमा देखिनुको कारण के होला ? किसान आन्दोलन वा भ्रष्टाचार आन्दोलनमा पनि उग्र–उदण्ड देखियो ?
यसका दुईवटा कारण छन् । पहिलो, जनमत पार्टीमा सामन्त वा समाजको उच्च तप्काका व्यक्तिहरूको सहभागिता न्यून छ । जनमत पार्टीमा मध्यम वर्गीय र समाजले तल्लो तहमा राखेका जनताको व्यापक सहभागिता छ । उनीहरूको शासन र प्रशासनमा पहुँच र पकड छैन । त्यसकारण जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले आफ्नो कुरा आक्रमक रूपमै राख्नुपर्ने बाध्यता हुन्छ ।

तल्लो तप्काको कुरा शासन र प्रशासनले बुझेको भए हामीबीच यत्रो दूरी नै हुने थिएन । प्रशासकले आक्रामकतालाई बुझेर मात्र जनताको जिम्मेवारी पुरा गर्नेछ । होइन भने हामीसँग घुस दिएर वा प्रभाव देखाएर काम गराउन सक्ने सम्भावना छैन । न त त्यो प्रशासनतन्त्रलाई पालेर बस्ने, भ्रष्टाचारमा हिस्सेदारी दिने सम्भावना छ । त्यसकारण जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू आक्रामक हुनु वा चर्को रूपमा आफ्नो आवाज उठाउनु जायज हो । यिनीहरूलाई नियन्त्रण नियमन गर्ने निकायहरू नै निकम्मा भएका छन् । त्यसकारण जनताको दबाबले मात्र यिनीहरू सही दिशामा जान सक्छ । जसको नेतृत्व जनमत पार्टीले गर्दैछ ।

दोस्रो कुरा, किसान आन्दोलनको सबै मिडियाले आलोचना गरेको छैन । धेरै मिडियाले समर्थन गरेका छन् । नागरिक समाजले पनि समर्थन गरेको छ । अब कतिपय मिडियाहरूले किसानको विरोध गर्नु स्वभाविकै हो ।

मिडिया उद्योगले घाटा र मुनाफामा ध्यान दिँदा उसले विज्ञापन खोज्छ । तर, किसानले धान, गहुँ, मकै, आलु बिक्रीका लागि विज्ञापन गर्ने होइन । किसानले विज्ञापन नै नगर्ने भएपछि किसानबाट मिडिया उद्योगलाई फाइदा हुने कुरै भएन । मिडिया उद्योगलाई त त्यही व्यापारी, उद्योगीहरूबाट फाइदा हुन्छ । त्यसकारण मिडिया उद्योगले आफ्नो विज्ञापनदाताको हितलाई पहिलो प्राथमिकतामा राख्छ । र, अधिकतर किसानको पीडामा उद्योगी व्यापारीको पनि भूमिका छ । त्यसकारण किसान आन्दोलनलाई बदनाम गराउन कतिपय मिडिया उद्योग लाग्नुको कारण प्रष्ट छ ।

कतिपय मिडिया उद्योगले आफूनिकट सरकार र पार्टीको हितका लागि किसान आन्दोलनको विरोध गरेका छन् । भारतकै किसान आन्दोलनलाई गोदी मिडियाहरूले खालिस्तानी, नक्सली, देशद्रोहीको बिल्ला भिडाए पनि आन्दोलन सफल भयो । हाम्रो किसान आन्दोलनलाई पनि केही मिडियाले र विश्लेषकहरूले उदण्ड, उग्र भनेर बदनाम गराउन खोजे पनि किसान आन्दोलन सफल हुनेछ । पछि त्यही मिडियाहरूले पनि वाहवाही गर्ने छन् ।

जनमत पार्टीको जनाधार तराई–मधेशमा छ, तर उसले मधेशको राजनीतिक मुद्दा किन उठाउँदैन ?
जनमत पार्टीले मधेशको कुनै पनि राजनीतिक एजेन्डा छोडेको छैन । कथित मधेशवादी भनिएका दलहरू असफल भएपछि मधेशको राजनीतिक एजेन्डा पूरा गराउने अभिभारा हाम्रो काँधमा आएको हो । मधेशी शहीदहरूको सपना साकार गर्न मधेशका राजनीतिक मागहरू आत्मनिर्णयसहितको संघीयता, पहिचान, नागरिकता समस्यालगायतका मुद्दाहरूलाई जनमत पार्टीले नयाँ सिरा र नयाँ शैलीबाट उठाउँदैछ ।

जुन तरिकाले अन्य राजनीतिक दल अगाडि बढेर असफल भए त्यही शैली हामी अपनाउँदैनौँ । पुराना गल्तीहरू दोहोर्‍याउँदैनौँ । जनमत पार्टीले आफ्नो कार्यदिशा र कार्यनीतिमार्फत् मधेशका राजनीतिक मागहरू पूरा गराउने प्रक्रिया सुरु गरिसकेको छ ।

अन्तिममा जनता समाजवादी पार्टीसँग तपाईँहरूको किचलो बढेको देखिन्छ नि ?
सबभन्दा पहिले त उनीहरूले पार्टीको नाममा सुधार गर्नु पर्नेछ । उनीहरूले समाजवादी होइन परिवारवादी पार्टी नाम राख्दा उपयुक्त हुनेछ । राममनोहर लोहिया पनि समाजवादी थिए, जर्ज फर्नान्डिस पनि समाजवादी थिए तर उनीहरूले अगाडि बढाएको समाजवादमा परिवारवाद र जातिवाद कतै थिएन ।

यो कस्तो समाजवादी पार्टी हो ? जुन पार्टीको अध्यक्ष उपेन्द्र यादवका छोरा अहिले पनि राजनीतिक पदमा छन् र उत्तराधिकारीका रूपमा तयार गरिँदैछ । अर्को अध्यक्ष डा. बाबुराम भट्टराईको परिवारका सबै सदस्य पार्टीकै कुनै न कुनै पदमा छन् । रेणु यादव आफै पटक–पटक मन्त्री अनि छोरालाई प्रदेश सांसद । यी सबै लालु यादव र मोलायम सिंहको परिवारवादी फोटो कोपी हुन् । यिनीहरूलाई समाजवादी भनेर समाजवाद कै बेइज्जती नगर्नुस् ।

यस्ता परिवारवादीहरू लोकतन्त्र र मधेशका लागि खतरा हुन् । यी परिवारवादीहरूले मधेशमा नयाँ नेतृत्व निर्माण हुन दिने छैनन् । यिनीहरूले मधेशवादलाई त्यागेकै छन् अब मधेशका मागहरूलाई पनि पूरा हुन दिने छैनन् । परिवारवाद र जातिवादले मधेशीहरूलाई खण्डित तुल्याएर मधेश आन्दोलनको बदनाम गराउने छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ८ : ४५ बजे

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

काठमाडौं– ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण

सन्दीपबारे रचना रिमाल : दोषी भए सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ

काठमाडौं- आइतबार पनि उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दा

यो हो मोबाइलको ब्याट्री चार्ज गर्ने सही तरिका

काठमाडौं–  पछिल्लाे समय अत्याधुनिक प्रविधि तथा अनगिन्ती फिचरहरु थपिँदै जाँदा

एकदिने भ्रमणमा नेपाल आइपुगिन् जापानी विदेशमन्त्री योको

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

कोरियाका ३० कलाकार नेपालमा

काठमाडौं– चलचित्र लगायत कला क्षेत्रका लागि दक्षिण कोरिया संसारकै अब्बल