दोहा– आकर्षक रोजगारीको प्रलोभनमा परी साउदी अरब पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि साउदीस्थित नेपाली दूतावासले कामका बारेमा विस्तृत रुपमा बुझेर मात्र साउदी अरब आउन आग्रह गरेको छ ।
दूतावासले पछिल्ला दिनहरूमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य संख्याका नेपालीहरुले आफूले म्यानपावर र एजेण्टले भने अनुसारको काम र तलब नपाएको, थुप्रै पैसा तिरेर आएको तर आउनासाथ आफूले समस्या भोग्नुपरेको लगायतका गुनासा आइरहेको भन्दै बुझेर मात्र दोहा आउन सचेत गराएको हो ।
आफूले चिने जानेकै व्यक्तिले एजेन्ट बनेर ठगी गरेका घटना सार्वजनिक भइरहेका बेला दूतावासले रोजगारका लागि दोहा आउन चाहनेलाई सचेत रहन अनुरोध गरेको छ । नेपाल सरकारले वैदेशिक रोजगारीमा कामदार पठाउन एजेण्टको भूमिकालाई गैर कानुनी मानेको छ । तसर्थ, ‘एजेण्ट’ को पछि नलाग्न र सकेसम्म आफूले नै मिहिनेत गरेर भरपर्दो म्यानपावर कम्पनी खोजेर आउन भनेको हो ।
पहिले साउदीमा काम गरी स्वदेश फर्केका वा कम्पनीमा काम गरिरहेका साथीभाइसँग कुरा बुझेर मात्र आउन अथवा कम्पनीको नाम काम ठाउँ के कस्तो छ स्पष्ट बुझेर मात्र आउन दूतावासको अनुरोध छ । साउदी अरब आइसकेपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायतका कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्कन सहज नहुने पनि दूतावासले जनाएको छ ।
एक जना कामदारलाई यहाँ ल्याउन रोजगारदाताले पनि ठुलो धनराशि खर्च गर्ने भएकाले रोजगारदाताहरू पनि कामदारलाई करार सम्झौता नसकी निस्कन दिँदैनन् । तसर्थ, यहाँ आइसकेपछि तुरुन्त स्वदेश फर्कन सम्भव छैन भन्ने प्रस्ट भएर मात्र आउने या नआउने विचार गरेर आउनुपर्ने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार पारिश्रमिकका विषयमा स्पष्ट भई नेपाल सरकारले तोकेको पारिश्रमिकभन्दा कम हुनेगरी कुनै पनि सम्झौता नगर्न समेत सचेत गराएको छ । नेपाल सरकारले साउदी अरबमा आउने नेपाली कामदारका विभिन्न पदहरूका लागि पदअनुसारको पारिश्रमिकको व्यवस्था गरेको जनाएको छ ।
जसअनुसार अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत साउदी रियाल ३ सय तोकिएको छ । ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र ओभरटाइम वा अन्य सुविधासम्बन्धि यथार्थता कम्पनीमा काम गर्ने पुराना कामदार साथीभाइबाट समेत बुझ्न सकिने दूतावासले जनाएको छ ।
सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासन र मौखिक भनाइको भ्रममा नपर्न तथा सम्झौता एउटा र दिमागमा अर्को कुरा बोकेर नआउन पनि दूतावासले आग्रह गरेको छ । साउदी अरबमा अदक्ष कामदारको रूपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने दूतावासले जनाएको छ, ‘तपाईँको स्वास्थ्य कमजोर छ वा कुनै बिरामी हुनुहुन्छ वा औषधी सेवन गरिरहनुभएको छ भने दोहा नआउनुहोला ।,’ दूतावासको आग्रह छ ।
घरेलु तथा सामाजिक समस्या, लागु औषध सेवनको समस्या भएका तथा अवसाद् (डिप्रेसन) आदि समस्या भई नेपालका सुधार गृहमा राखी सुधार ल्याउनुपर्ने अवस्थाका व्यक्तिहरू नआउन र त्यस्ता कामदार यहाँ आएर सुधार हुने नभई झन् ठुलो समस्यामा फस्ने गरेका प्रशस्त घटनाहरू पाइएको दूतावासले जनाएको छ ।
यहाँको हावापानी सुख्खा र अत्याधिक गर्मी हुने हुँदा खुला ठाँउमा काम गर्नुपर्ने प्रकृतिका कामहरू जस्तै कृषिफार्म/मजरा तथा निर्माण क्षेत्रमा आउने कामदारले बेलैमा धेरै सोच्नुहोस् । यस प्रकारका काममा बिचौलिया एवा केही म्यानपावर कम्पनीहरूले गलत जानकारी दिई पठाउने गरेको पाइएको दूतावासले जनाएको छ ।
वैदेशिक रोजगारमा आउने नेपालीले सम्झौता पत्रमा लेखिएका कुरा पनि नपढ्ने या एजेन्ट या म्यानपावरले भनेकै कुरामा विश्वास गर्दा नेपालमा भनिएको काम र यहाँ गर्नुपर्ने कामको प्रकृति फरक हुने गरेको छ ।
यस्ता समस्या धेरै आएको पाइएपछि दूतावासले सम्झौता पत्र राम्ररी पढेर मात्र सही छाप गर्न समेत अनुरोध गरेको छ । सम्झौता पत्र राम्ररी पढेर मात्र सहिछाप गर्न र ‘सम्झौता पत्रमा जे भए पनि काम भने बिचौलिया वा म्यानपावरले भने अनुसार हुन्छ’ भन्ने भ्रम बोकेर नआउनसमेत दूतावासले अनुरोध गरेको छ ।
सम्झौता पत्रमा लेबर, फाक्टर अनस्किल कामदार जे लेखेको भएता पनि यसले अदक्ष कामदारले गर्ने काम हो भन्ने बुझिने दूतावासले जनाएको छ ।
रोजगारदाता कम्पनीले अदक्ष कामदारलाई जुनसुकै काम लगाउन सक्ने दूतावासले जनाएको छ । सप्लाई कम्पनी भनेको भए आउने थिइनँ भन्ने श्रमिक बढी देखिएकोले कस्तो कम्पनीमा जाँदैछु भन्नेमा प्रस्ट हुन पनि दूतावासको आग्रह छ ।
कागजातमा उल्लेख कम्पनीका बारेमा वेबसाइट एवम् अन्य स्रोतबाट बुझेर मात्र आउन दूतावासले भनेको छ ।
रेक्रुमेन्ट कम्पनी, ह्युमन रिसोसेश कम्पनी, म्यानपावर सोलुसनजस्ता नाम जोडिएका कम्पनी सप्लाई कम्पनी हुन सक्दछन् । सप्लाई पनि बहुतहसम्मको सप्लाई हुने भएकोले विचार पुर्याएर मात्र आउनुहोस् । यद्यपि, रोजगारी सहज हुने बेलासम्म यो वा त्यो कम्पनी भन्ने विषयले महत्त्व नराख्ने दूतावासले जनाएको छ ।
तर समस्या आउँदा सप्लाई कम्पनीमा आउनेका एकैपटक ठुलो संख्यामा आउने गर्दछ । सप्लाई तथा कन्ट्रयाक्टिङ कम्पनीमा आउने कामदारहरू कम्पनीको कन्ट्रयाक्ट सकिए वा भंग भए वा ग्राहक कम्पनीबाट सप्लाई तथा कन्ट्रयाक्टिङ कम्पनीलाई समयमा भुक्तानी नभएको अवस्थामा कामदारले पारिश्रमिक समयमा नपाउने स्थिति हुन्छ । तसर्थ, कुन कम्पनी मार्फत रोजगारीमा जाने भन्ने निर्णय कामदार स्वयंले गर्न सकिने जनाएको छ ।
प्रतिक्रिया