बेलायती महारानीको वंशनाशपछि रुसको राजतन्त्र अन्त्य गरेको हेमोफेलिया रोग | Khabarhub Khabarhub

बेलायती महारानीको वंशनाशपछि रुसको राजतन्त्र अन्त्य गरेको हेमोफेलिया रोग

हरेक १० हजारमध्ये एक जनालाई हुने यो रोगको वास्तविकता के हो ?



काठमाडौँ : ‘पार्टनरसिप, पोलिसी र प्रोग्रेसमा पहुँच’ भन्ने मुल नारासहित विश्वभर आज विश्व हिमोफेलिया दिवस मनाउने क्रम जारी छ । यो रोगबाट बेलायती महारानीको वंश नाश गरेको थियो । बेलायती महारानीमार्फत युरोपमा सरेको यो रोगले रुसको राजतन्त्र नै अन्त्य गरेको थियो । हेर्दा सामान्य लाग्ने यो रोग कुनै घाउ या चोटपटक लाग्दा रगत बग्न नरोकिने समस्या हो । जुन समस्याले सारा परिवार नै सखाप पार्ने डर हुन्छ ।

हिमोफेलियाको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखमा मनाउने गरिन्छ । हिमोफेलिया रगत सम्बन्धी रोग हो । कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन । सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन ।

शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हिमोफेलिया हो । जसले गर्दा सानो चोटपटक लाग्दा पनि धेरै रगत बग्ने समस्या देखिने हेमोलोजिष्ट डा.नीरज कुमार सिंह बताउँछन् ।

मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ । समस्या देखिनासाथ रगत जँचाउन उनी सुझाउँछन् । सामान्यतया हिमोफेलियाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ ।

के हो हिमोफेलिया ?
हिमोफेलिया वंशाणुगत समस्या हो । तर, कसैमा वंशाणुगत नभएर अन्य कारणले पनि हुन सक्छ । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको कमी भए वा सो फ्याक्टरको अनुपस्थिति भएमा रगत जम्न ढिलाई हुन्छ । र, लामो समयसम्म रगत नरोकिन सक्छ । यही समस्यालाई हिमोफेलिया भनिन्छ । रक्तस्रावको स्थितिमा हाम्रो शरीरले सो रक्तस्राव रोक्न तीन चरणको काम गर्दछ । रक्तस्राव भएको स्थानको रक्तनलीहरूमा संकुचन हुन्छ ।

प्लेलेट्स प्लगको निर्माण हुन्छ । छालामा फाइब्रिन जालोको निर्माण भई रक्तस्राव रोकिन्छ । तर, हिमोफिलिक व्यक्तिमा फ्याक्टर आठ वा फ्याक्टर नौ को मात्रा रगतमा कम हुने भएकोले छिटै फाइब्रिन जालोको निर्माण हुन सक्दैन र रक्तस्राव धेरै समयसम्म जारी रहन्छ ।

यो रोगको पहिचान कसरी गर्ने ?
सामान्य वा ठूलो चोटपटक लागेमा वा ठोकिएमा हिमोफिलिकहरूमा आन्तरिक रक्तस्रावको कारणले गर्दा घुडा, कुहिना जस्ता जोर्नी वा मांशपेशीहरू सुन्निने र दुख्ने हुन्छ । हिमोफिलिया प्रायः पुरुषहरूमा हुन्छ । महिलाहरू नगण्य रूपमा मात्र पीडित हुन्छन् । प्रति दश हजार शिशुहरूमा एक जना हिमोफिलिक हुने सम्भावना हुन्छ । हिमोफिलिया महिलाहरू मार्फत सर्ने हुन्छ ।

त्यसैले महिलाहरूलाई बाहक पनि भनिन्छ । हिमोफिलिया ‘एक्स’ क्रोमोजोमबाट मात्र सर्दछ । सानो बालकको शरीरमा निल डाम देखिन सक्छ । दात फेरिँदा, लड्दा वा शल्यक्रिया गर्दा धेरै समयसम्म रक्तस्राव हुन सक्छ, जुन हिमोफिलियाको स्पष्ट लक्षण हो । रगतको विशेष प्रकारको परीक्षण जसलाई फ्याक्टरका एस्से भनिन्छ ।

यही परिक्षणबाट हिमोफिलियाको पहिचान गरिन्छ, फ्याक्टर आठको कमी भएमा हिमोफेलिया ‘ए’ र फ्याक्टर ‘नौ’ को कमी भएमा हिमोफेलिया बी भनिन्छ । यही फ्याक्टरको मात्रा अनुसार हिमोफेलियाको गम्भीरता निर्धारण हुन्छ । फ्याक्टरको मात्रा एक प्रतिशत भन्दा कम भएमा गम्भीर एकदेखि पाँच प्रतिशतसम्म भएमा मध्यम र ६ प्रतिशतभन्दा माथि भएमा अल्प हिमोफेलिया भनिन्छ ।

हेमोफेलियाको उपचार कसरी सम्भव छ ?

हिमोफिलियाको उपचार रगत तथा रक्ततत्वहरू प्रतिस्थापन गरेर गरिन्छ । धेरै रक्तस्राव भएको अवस्थामा ताजा रगत दिएर उपचार गरिन्छ । तर आन्तरिक रक्तस्राव भई जोर्नी वा मांशपेशी सुन्निएको अवस्थामा प्लाज्मा वा क्रायोप्रेसिपिटेट दिनुपर्दछ । यी रक्ततत्वमा भएको फ्याक्टरले रक्तस्राव रोक्नमा मद्दत गर्ने भएकोले बिरामीले छिट्टै स्वास्थ्य लाभ गर्दछ । तर मस्तिष्क रक्तस्राव वा गम्भीर आन्तरिक रक्तस्रावको अवस्थामा रगतबाट विशेष प्रकारले बनाइएका एन्टी हिमोफिलिक फ्याक्टर लगाएर उपचार गनुपर्दछ ।

यी औषधीहरू नेपालमा पाइदैनन्, विदेशबाट झिकाउनु पर्ने हुन्छ । नेपालमा पनि यसको उपचार सम्भव छ । नेपाल हिमोफिलिया सोसाइटीको पहलमा थोरै मात्रामा भएपनि फ्याक्टर आठ र नौ उपलब्ध छन् । देशभर तीन हजारको हाराहारीमा रहेका हिमोफिलिया पीडितहरु र सोसाइटीको सदस्यता लिएका पाँच सय जनाको लागि उपलब्ध गराइएको फ्याक्टर अझै पर्याप्त नरहेको अवस्था छ ।

हेमोलोजिष्ट डा. नीरजकुमार सिंह भन्छन्-‘वीर अस्पताल लगायत अरु अस्पतालमा पनि फ्याक्टर परीक्षण हुन थालेको छ।’

उनका अनुसार धेरै मानिसहरुमा सचेतनाको अभावले हिमोफिलिया समयमा निरुपण हुन नसकेको अवस्था थियो । तर अहिले स्थानिय स्तरमा नै यसको पहिलो चरणको उपचार हुने भएको छ ।

ब्रिटेनकी महारानीलाई लागेको रोग

ब्रिटेनकी महारानी भिक्टोरिया सन् १९०१ मा यो रोगबाट ग्रसित बन्न पुगेकी थिइन् । जसको कारण धेरै नै राजवंशका पुरुष उत्तराधिकारीको ज्यान गयो । राज्यको एक मात्र उत्तराधिकारी भएकोले उनको मृत्यु पश्चात त्यहाँ राजवंश नै अन्त्य भएको थियो ।

भिक्टोरियाले छोरा लिओपोल्डलाई पनि यो रोग सारिन् भने उनका छोरीहरुमार्फत यूरोपका स्पेन, जर्मन, रुसको राजवंशमा यो रोग फैलिएको थियो । रुसका तत्कालीन जार राजा निकोलस द्धितीयको विवाह भिक्टोरियाकी नातिनी अलेक्जेण्ड्रासँग भयो । उनीहरुका एक मात्र छोरा अलेक्सिसमा पनि यो रोग वंशाणुगत रुपमा सरेको थियो ।

राजकुमारलाई बचाउन राजारानीले निकै प्रयास गरिन् । तर राजकुमारलाई बचाउन सकेनन् । तर रानी भने त्यसै कारण बदनाम भइन् । जसको कारण रुसमा राजतन्त्रको अन्त्य समेत भएको थियो ।

भिक्टोरियाका नातिनी भिक्टोरिया यूजिनका छोराहरुलाई पनि यो रोग वंशाणुगत रुपमा स¥यो । राजवंशका उत्तराधिकारी ३१ वर्षका राजकुमार अँल्फासो अष्टम र उनका भाइ १९ वर्षका गोन्जालोको सानो कार दुर्घटनामा भएको घाउबाट निरन्तर रगत बगेर निधन भयो । त्यसपछि त्यहाको राजतन्त्रको अन्त्य भएको थियो ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हेमोफेलिया हुने गरेको तथ्यांक छ । नेपाल हिमोफिलियाका बिरामी १ हजार पाँच सय जना मात्रै उपचारको पहँुचमा आएका छन् भने अझै तीन हजार भन्दा धेरै उपचारको पहुँचमा आउन सकेका छैनन ।

३५ बिरामीलाई समेटेर शुरु गरेको सोसाइटीलाई वल्र्ड फेडेरेशन अफ हिमोफिलियाले सन् १९९२ मा मान्यता दिएको थियो । सन् १९९९ मा पहिलो पटक वीर अस्पतालमा हिमोफिलिया केयर यूनिटको स्थापना भएको थियो । अहिले वीर अस्पतालमा सबै खालका आनुवंशिक रोगको निःशुल्क उपचार हुन्छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ५७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर