विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्

आज असार ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन १७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

ईयूमा युक्रेनको उम्मेदवारीलाई युरोपेली आयोगले समर्थन गर्ने

युरोपेली युनियनमा उम्मेदवारी दिने युक्रेनको कदमलाई युरोपेली आयोगले समर्थन गर्ने बताएको छ । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले युक्रेनको उम्मेदवारीको समर्थन गरिने बताएकी हुन् । बीबीसीका अनुसार अध्यक्ष भोन डेर लाइनले युक्रेनले ‘राम्रो काम गरिरहेको’ बताउँदै अझै धेरै काम आवश्यक रहेको उल्लेख गरेकी छिन् ।

युरोपेली युनियनमा आबद्ध हुनका लागि युक्रेनले विधिको शासन, धनाढ्यको अवस्था, भ्रष्टाचारविरुद्ध अभियान एवम् मानवअधिकार जस्ता महत्वपूर्ण विषयमा सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘हामी उनीहरु पनि युरोपेली सपनामा हामीसँगै बाँचून् भन्ने चाहन्छौँ ।’ अध्यक्ष भोन डेर लाइनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

युनियनको सदस्य हुनका लागि उम्मेदवारी महत्वपूर्ण कदम भएपनि यो प्रक्रिया पूरा हुन भने वर्षौँसम्म लाग्नसक्ने बीबीसीले जनाएको छ ।युरोपेली आयोगको सिफारिसलाई युरोपेली युनियनमा आबद्ध सबै २७ मुलुकहरूले स्वीकृत गर्नुपर्ने व्यवस्था छ । जर्मनी, फ्रान्स र इटालीका नेताहरूले यसअघि नै युक्रेनको राजधानी किभको भ्रमण गरी युनियनमा युक्रेनको उम्मेदवारीलाई समर्थन गर्ने बताइसकेका छन् ।

 असान्जलाई  अमेरिका सुपुर्दगी गर्न सकिने बेलायती गृह मन्त्रालयको भनाइ

गोप्य दस्तावेजहरू सार्वजनिक गरेर ख्याति कमाएको ‘विकिलिक्स’ वेबसाइटका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी गर्न बेलायती गृहमन्त्री प्रिती पटेलले स्वीकृति दिएकी छिन् । बेलायती गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीले उनलाई अमेरिका सुपुर्दगी गर्न स्वीकृति दिएको जनाएको हो । बीबीसीका अनुसार अमेरिकामा उनको मानव अधिकार सुरक्षित हुने देखिएको एवम् उनलाई त्यहाँ उचित व्यवहार गरिने समेत गृह मन्त्रालयले जनाएको छ ।

अस्ट्रेलियन नागरिक असान्जले स्थापना गरेको विकिलिक्स नामक वेबसाइटले सन् २०१० र २०११ मा इराक तथा अफगानिस्तानमा जारी युद्धबारे गोप्य दस्ताबेजहरू सार्वजनिक गरेर ख्याति कमाएको थियो । त्यस्तै, सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्र्याटिक पार्टीका वरिष्ठ नेताहरूद्वारा प्रेसित गोप्य इमेल सार्वजनिक गरेर पुनः चर्चामा आएको थियो ।

आलोचकहरूले डेमोक्र्याटिक पार्टीका गोप्य इमेल सार्वजनिक गरेर विकिलिक्सले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन सघाएको आरोप लगाउँदै आएका छन् । अमेरिकामा उनलाई जासुसीको अभियोग लागेको छ । अमेरिकातर्फ सुपुर्दगीबाट बच्न उनी लामो समयसम्म लण्डनस्थित ल्याटिन अमेरिकी मुलुक इक्वेडरको दूतावासमा शरण लिएर बसेका थिए ।

सन् २०१९ मा उनलाई पक्राउ गरी बेलायतमा तारेखमा उपस्थित नभएको अभियोगमा दोषी ठहर गर्दै जेल चलान गरिएको छ । हाल उनी बेलमार्श जेलमा कैद छन् ।

भारतमा १२ हजार ५ सय भन्दा धेरै कोरोना सङ्क्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप १२ हजार ८४७ जना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टाको समयावधिमा भएको कोरोना सङ्क्रमति यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो । भारतमा बुधबार र बिहीबार दुई दिन लगातार कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ  भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३२ लाख ७० हजार ५७७ पुगेको छ ।

यसमध्ये ६३ हजार ६३ सक्रिय सङ्क्रमित रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१५ प्रतिशत हो । पछिल्लो एक दिनमा सात हजार ९८५ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ८२ हजार ६९७ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६४ प्रतिशत रहेको छ ।

कोरोना महामारीबाट बिहीबार भारतमा १४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ८१७ को मृत्यु भएको समाचारमा जनाइएको छ । भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ८४ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ ।

अमेरिका र बेलायतले ब्याजदर बढाए

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो पटक हो ।

गत मार्चमा पनि ब्याजदर बढिसकेकाले अब बढ्ने ब्याजदरले अमेरिकामा महँगी निकै बढ्ने र उत्पादन क्षेत्र खुम्चिने अनुमानहरू अर्थविद्हरूले गरेका छन् । यो वर्षको अन्त्यसम्ममा बैंकहरूले फेडरल रिजर्भ बैंकबाट सापटी लिँदा तीन दशमलव चार प्रतिशतसम्म ब्याज तिर्नुपर्ने अवस्था आउने बताइएको छ । यसले सर्वसाधारण पाउने ऋणको ब्याज पनि बढाउने निश्चित छ ।

यसैबीच, बेलायतको केन्द्रीय बैंकले पनि ब्याजदर बढाएको छ । बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएर १ दशमलब २५ प्रतिशत पुर्‍याएको हो । यो ब्याजदर १३ वर्षयता कै उच्च रहेको बीबीसीले जनाएको छ । यसअघि बेलायतको ब्याजदर १ प्रतिशत थियो । बैंक मौद्रिक नीति समितिको बैठकले यस्तो निर्णय गरेको जनाइएको छ । बैठकमा समितिका ९ सदस्यमध्ये ६ सदस्यले ब्याजदर बढाएर १.२५ प्रतिशत पुर्याउनुपर्ने जनाएका थिए भने बाँकी तीन सदस्यले ब्याजदर त्यो भन्दा बढि १.५ प्रतिशत पुर्याउनुपर्ने जनाएका थिए ।

मुलुकमा बढ्दो मूल्यवृद्धि र मुद्रास्फीतिलाई मध्यनजर गर्दै बैंक अफ इङ्ल्याण्डले ब्याजदर बढाएको हो । बेलायतमा मुद्रास्फितिको दर ९ प्रतिशत पुगेको छ । यो ४० वर्षयताकै उच्च हो । बेलायती केन्द्रीय बैंकले यो ११ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । अक्टोबर महिनामा मूल्यवृद्धि अझ बढ्ने बैंकको प्रक्षेपण छ ।

यसबाहेक बैंकले अप्रिल देखि जुन महिनामा मुलुकको अर्थतन्त्र शून्य दशमलब ३ प्रतिशतले संकुचन हुने देखिएको समेत जनाएको छ । बीबीसीका अनुसार बेलायती अर्थमन्त्री ऋषि सुनकलाई पत्र लेख्दै बैंकका गभर्नर एन्ड्रिउ बेलीले ऊर्जा एवम् कृषिजन्य उत्पादनमा भएको मूल्यवृद्धिका कारण मुद्रास्फितिको अवस्था आएको र युक्रेनमा जारी रुसी आक्रमणका कारण अवस्था अझ खराब बनेको जनाएका छन् ।

इरानमा अफगान बाल मजदुरको सङ्ख्या बढ्दै

इरानमा अफगानिस्तानका बाल मजदुरहरूको सङ्ख्या अत्यधिक बढेको पाइएको छ । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि त्यसको असर बालबालिकामा परेको हो । गत सन् २०२१ को अगस्ट १५ मा अफगानिस्तानमा तालिवान विद्रोहीले सत्ता कब्जा गरेका थिए । त्यसपछि इरानमा अफगानिस्तानका बाल मजदुरहरूको सङ्ख्या अत्यधिक बढेको तथ्याङ्क सार्वजनिक भएको छ ।

इरानी सञ्चार माध्यमले सार्वजनिक गरेको विवरण अनुसार अफगानिस्तानमा तालिवान सरकार बनेदेखि अहिलेसम्म इरानमा अफगानी बाल मजदुरहरूको सङ्ख्या २० गुणा बढेको छ । हालै सार्वजनिक गरिएको विवरणमा बाल अधिकारका दृष्टिले बाल मजदुरहरूको सङ्ख्या बढ्नु अत्यन्त चिन्ताजनक भएको उल्लेख गरिएको छ ।

तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि आफ्नो देशमा बस्ने तथा पढ्ने वातावरण नभएको भन्दै उनीहरु इरान गएको पाइएको छ । राजनीतिक तथा आर्थिक कारणले अफगानिस्तानका धेरै बयस्कहरू इरान गएको र उनीहरूसँगै बालबालिकाहरू पनि गएकाले इरानमा अफगानी बाल मजदुरहरूको सङ्ख्या बढेको प्रतिवेदनमा लेखिएको छ ।

पाकिस्तानमा २० दिनमा ३ पटक इन्धनको मूल्य बढ्यो

पाकिस्तानमा २० दिनमा तीन पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । २० दिनको अवधिमा झण्डै २९ प्रतिशत मूल्यवृद्धि भएको हो । पाकिस्तानी अर्थमन्त्री मिफ्ताह इस्माइलले फेरि मूल्य वृद्धि भएको घोषणा गरेका हुन् । विश्व बजारमै पेट्रोलियम पदार्थको मूल्य बढेकाले पाकिस्तानमा पनि बढाइएको उनको भनाइ छ ।

उनले विश्वबजारमा बढेपछि आफ्नो देशमा पनि मूल्य बढाउनुको विकल्प नरहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्य व्यवस्थापनमा अघिल्लो सरकारका पनि केही कमजोरीका कारण समस्या भएको आरोप लगाए ।

गत मे २६ मा १४४.१५ पैसा प्रतिलिटर पाकिस्तानी रुपैँया रहेको डिजलको मूल्य अहिलेसम्म ८३ प्रतिशत वृद्धि भएर २६३.३१ पाकिस्तानी रुपैँया पुगेको उनले जानकारी दिए । त्यसैगरी पेट्रोलको मूल्य १४९.८६ बाट पटक पटक बढेर अहिले २३३.७९ रुपैयाँमा पुगेको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी मट्टीतेलको मूल्य मे २६ मा ११८.३१ रहेकोमा अहिले ७३ प्रतिशतले बढेर २११.३ पाकिस्तानी रुपैयाँ पुगेको छ ।

सोमालियाको खाद्य संकटविरुद्ध राष्ट्रसंघीय निकायहरूको संयुक्त पहल सुरु

अफ्रिकी मुलुक सोमालियमा केही समयदेखिको खडेरी र आन्तरिक द्वन्द्वका कारण उत्पन्न खाद्यान्नको अभावको समाधानका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले पहल थालेका छन् । संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरू विश्व खाद्य कार्यक्रम, युनिसेफ इन्टरनेसनल अर्गनाइजेसन फर माइग्रेसन, आइओएम र अन्य निकाय तथा दाताहरू समेतको सहभागितामा सोमालियामा न्यूनतम सहयोग तथा उद्धार कार्यक्रम सुरु गरिएको हो ।

विश्व खाद्य कार्यक्रमका निर्देशक अल खिदर दालोमले सोमाली नागरिकहरू खडेरीका कारण ठूलो समस्यामा परेका र भोकमरीका कारण उनीहरु विस्थापित हुनुपरेको भन्दै मानवीय सहायता स्वरुप यो कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले सोमालियाका लाखौँ नागरिक खडेरीबाट प्रभावित भएर भोकमरीमा परेका र दशौँ हजार जना बालबालिका कुपोषणको शिकार हुन पुगेका भन्दै तत्कालका लागि यो सहायता कार्यक्रमले करिब एक लाख नागरिकलाई सहायता पुग्ने अपेक्षा गरिएको बताए ।

संयुक्त राष्ट्रसङ्घीय अध्ययनका अनुसार त्यहाँका नागरिक खडेरीको मारमा परेपछि सन् २०२१ देखि विस्थापित हुन थालेका थिए । त्यसयता हालसम्म र अहिले सम्म कम्तीमा पनि ८ लाख नागरिक विस्थापित भइसकेको राष्ट्रसङ्घले जनाएको छ ।

श्रीलङ्काली प्रधानमन्त्रीले संसद्मा मार्गचित्र प्रस्तुत गर्ने

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे सांसद्हरूबाट प्रस्ताव र सुझाव लिएर रोडम्याप बनाइने बताएका हुन् ।

यसअघि बिहीबार राति अर्थ मन्त्रालयका सचिव महिन्दा सिरिवर्द्धनाले वर्तमान आर्थिक सङ्कटबाट बच्न सरकारको अल्पकालीन र मध्यकालीन रणनीतिबारे सांसद्हरूलाई जानकारी दिएका थिए । पछिल्लो समय श्रीलङ्कामा स्वतन्त्र भएयता कै सबैभन्दा गम्भीर आर्थिक सङ्कट देखा परेको छ भने जनताहरूले चरम मूल्यवृद्धि एवम् अत्यावश्यक वस्तुको अभावको सामना गरिरहेको जनाइएको छ ।

देशको सरकारी इन्धन वितरक सिलोन पेट्रोलियम कर्पोरेसनले आफूसँग ५ हजार मेट्रिक टन मात्रै पेट्रोल रहेको र यसरी दैनिक ५ सय मेट्रिक टन मात्रै ग्यास पसलमा निकासी हुने गरेको बताएको छ । देशमा हाल इन्धन सङ्कट पनि जारी नै रहेको छ ।

मलेसियामा २ हजार २२ कोरोना संक्रमित थपिए

दक्षिणपूर्वी एसियाली मुलुक मलेसियामा गएको २४ घन्टामा २ हजार ३३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । मलेसियामा बाहिरबाट आएकामा नभएर देशभित्रै यी सङ्क्रमितहरु भेटिएको स्थानीय स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

अधिकारीका अनुसार त्यहाँ गएको २४ घन्टामा मात्र कोरोना भाइरसको सङ्क्रमणबाट पाँच जनाको ज्यान गएको छ । अहिलेसम्ममा मलेसियामा कोरोना भाइरसको सङ्क्रमणबाट ३५ हजार ७३० जनाको ज्यान गएको बताइएको छ ।

मलेसियाका स्वास्थ्य अधिकारीहरूले अहिले करिब २५ हजार जनाजति सक्रिय संक्रमितहरु रहेका छन् । तीमध्ये केही व्यक्ति आइसियुमा रहेका बताइएको छ । तर पछिल्ला केही हप्ता यता भने त्यहाँ कोभिड संक्रमितहरुको संख्या घटेको देखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ७ : ५९ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको