'देउवाले गुटभन्दा कार्यकर्ताको योगदान बिर्सनु हुँदैन' | Khabarhub Khabarhub

‘देउवाले गुटभन्दा कार्यकर्ताको योगदान बिर्सनु हुँदैन’

‘६० वर्ष कटेका नेताले आत्मसमीक्षा गरेर निर्णय लिनुपर्छ’


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कांग्रेस महाधिवेशनमा मुख्य प्रतिस्पर्धी रहेका शेखर कोइराला समूहले सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रदेश र प्रतिनिधि सभामा पार्टीले पाउने सिटबाट ४० प्रतिशत हिस्सा खोज्ने निर्णय गरेको छ । पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडबारे गृहकार्य चलिरहेका बेला कोइराला समूहले काटेको जनाधार र आम कार्यकर्ताको भावना अनुसार ६० प्रतिशत सिट संख्या नेतृत्वलाई सुझाएको छ । पार्टी र सरकार सञ्चालनको मोर्चामा फरक विचार समूहको अस्तित्वलाई स्वीकार नगरी सभापति देउवा एकलौटी ढंगले अगाडि गएको भन्दै कोइराला समूह आफ्नो नेता कार्यकर्ताको सुरक्षाको लागि ४० प्रतिशत माग अघि सार्ने निचोडमा पुगेको हो । भागबन्डाको राजनीति गर्दैनौँ भन्दै आइरहेको कोइराला समूह किन भाग माग्दै छ ? यसै विषयमा कोइराला समूहका प्रभावशाली नेता गुरु घिमिरेसँग खबरहबका लागि धीरज बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः

सुरुमा महाधिवेशनको बेला अब गुटबन्दी गर्नुहुँदैन भन्ने तपाईहरु फेरि पार्टी सभापतिसँग ४० प्रतिशत हिस्साको भाग माग्न थाल्नु भएछ ?
नेपाली कांग्रेस २०५९ सालमा दुर्भाग्यपूर्ण तरिकाले विभाजित भयो । त्यसपछि हामीले लामो संघर्षबाट पार्टी एकीकरण गर्यौ । तत्कालीन नेपाली कांग्रेसलाई नेपाली काँग्रेसमा समाहित गर्दा केन्द्रीय कार्य समितिमा एउटा फर्मुला बनाइयो, देउवालाई वरिष्ठ नेता बनाउने र केन्द्रीय समितिलाई समावेश गर्ने । पछि गएर संसदीय चुनावमा वा हरेक क्षेत्रमा उम्मेदवार बनाउँदा ४० प्रतिशत सिट दिने र पार्टीका अवसरमा ४० प्रतिशत हक दिने भनेर भनियो । हामीले १३ औँ महाधिवेशन पछि त्यो फर्मुलालाई बन्द गर्यौ । यो भागबन्डाको राजनीति नगरौँ भनेर रामचन्द्र पौडेलले नै ६ महिनासम्म यो विषयलाई उठाउनु भएन । तर, पार्टी सभापतिले त्यो अनुरूप गर्नु भएन । उहाँले चाहेको भए यो भागबन्डाको राजनीति अन्त्य हुन्थ्यो, त्यो नभएपछि त्यो अनुसार नै फर्किनुपर्ने भयो । पार्टीगत कार्यकर्ताहरूबाट न्यायगत रूपबाट उसको योग्यता क्षमता योगदान र पार्टी संगठनमा उसको आवश्यकता र राज्यका अवसरमा पनि उसलाई १३ औँ महाधिवेशनदेखि १४ औँ महाधिवेशनसम्म मौका दिनु भएन । र, त्यसयता शेखर कोइरालाले लगातार ८ महिनादेखि म भागबन्डा गर्दिन सबैलाई योगदान र क्षमताको आधारमा समान अधिकार दिनुपर्छ भन्नु भयो । तर सभापतिले त्यो गुटको दायराभित्र रहेका साथीहरूलाई मात्र अवसर दिने कार्य भयो । र यो अवस्था आयो ।

भनेको अब गुटबन्दी झनु बढी चर्काउनुपर्छ भन्ने निष्कर्षमा तपाईहरु पुगेको हो ?
पार्टी भनेको ८ लाख ४० हजार कार्यकर्ताहरूको योगदानबाट नेपाली कांग्रेस उभिएको छ । को कसैको निजी उद्योग हैन । सात आठ दशक लामो योगदानपछि ऐतिहासिक प्रतिष्ठानका साथ खडा छ । यसको अस्तित्व जीवित छ, त्यसैले यो पार्टीलाई अगाडि बढाउनको लागि धेरैको रगत बगेको छ । लाखौँ जनताले समर्थन गरेर पार्टी बनाइदिएर मत दिएर सभापतिजीलाई प्रधानमन्त्री हुने मौका प्राप्त भएको हो । अरू नेतालाई सरकारमा मन्त्री हुने हैसियत भएको हो । कार्यकर्ताको मेहनत रगत पसिनामा हामी उभिएका छौँ । त्यसैले हाम्रो जिम्मेवारी पार्टी कार्यकर्ताहरूप्रति जति छ त्यो भन्दा बढी जनताहरू प्रति छ । यो कुरा कहिल्यै बिर्सिनु हुँदैन हामीले । तर, पार्टीले अहिले जहाँ उभिएर जे निर्णय गरेको छ, पार्टी कार्यकर्ताकै पक्षमा भएको छ । जनताको पक्षमा काम गरिएको छैन ।

तपाईहरुको मान्छेलाई भाग नदिँदा कार्यकालको उपेक्षा भएको हो ?
हाम्रा मान्छे र अरूको मान्छे भन्ने हुँदैन । पार्टीमा महाअधिवेशनको बेलामा कसलाई मत दिने भन्ने जनताको अधिकार हो । हामीले आम निर्वाचनमा मत पाएनौँ ३५ र ४० प्रतिशत मत पाएको छौ त हामीले ६५ प्रतिशत मतको आस गर्न हुँदैन यसले हामीलाई मत हालेन भनेर उनीहरूको नागरिक अधिकार माथि खेल वार गर्न मिल्दैन हामीले त्यसैले उनीहरूलाई विकासबाट वञ्चित गराउन मिल्दैन । रोजगारीको अवसरबाट वञ्चित गराउन मिल्दैन। .त्यसै गरी पार्टी का सदस्यहरूमा पनि मलाई मत दिएन भनेर वञ्चित गराउन मिल्दैन । उसले मत नहालेको मात्र हो । तर, उसले पार्टीका लागि नेतृत्वको लागि काम गरेको छ नेपाली काँग्रेसलाई जिताउन उसको भूमिका छ । आज प्रधानमन्त्रीको जुन कुर्सी प्राप्त भएको छ हाम्रो सभापति जी लाई त्यो त कार्यकर्ताले नजिताएर र जनताले मत हालेर प्राप्त भएको हो ।

अघिल्लो चुनावमा पार्टीको बहुमत आएन, प्रतिपक्षमा थन्किदा अरु दलसँग गठबन्धन गरेर देउवा प्रधानमन्त्री बन्नु भएको हो नि । अहिले चुनावको बेला पनि पार्टीभित्रभन्दा बाहिर दलका कुरा सुन्नुपर्ने दबाब पनि होला नि ?
गठबन्धनको लागि पनि पहिला सांसद र सभापति हुनुपर्दछ । त्यसपछि मात्र प्रधानमन्त्री हुने हो । यदि पार्टीका कार्यकर्ता र जनताले समर्थन नगरेको भए कसरी प्रधान मन्त्री हुनुहुन्थ्यो । त्यसैले हामीले लोकतान्त्रिक शासन प्रणाली अगाडि बढाउँदै छौँ । र, त्यसमा पार्टीका कार्यकर्तालाई पनि समान व्यवहार र जनतालाई समान गर्नु पर्दछ ।

केही दिनअघि मात्रै शेखर कोइरालाले देउवालाई भेट्नुभयो । त्यो भेटमा यो भागबन्डाको कुरा उठ्यो होला । त्यो भेटले तपाईँहरुको माग सम्बोधन हुने भयो त ?
भेटघाट गर्नु राम्रो कुरा हो । पहिला देखि नै यो संवाद हो भनेर कुराहरू र सुझावहरू गर्दै आएका थियौँ । उक्त भेटमा विगतमा जे भए पनि अब सल्लाह गरेर अगाडि जाने भन्ने कुरा आएको छ । सभापतिले सबैलाई समान गरेर निर्वाचनमा लैजान्छु भन्नु भएको होला । निर्वाचन गरेर अगाडि जान त एक्लै सम्भव छैन । त्यसको लागि मिलेर जानु पर्दछ ।

यसअघि पराजित भएका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने सोच र योजना छ ?
पार्टीलाई ऊर्जाले, उत्साहले, योजनाले, क्रियाशीलताले निरन्तरता राख्ने हो । मुलुक चलाउनको लागि कार्यकर्ताको व्यवस्थापन पार्टी सदस्यको व्यवस्थापन र समग्र पार्टीको पार्टीको व्यवस्थापन गर्नु पर्दछ । अवसरहरू निकै कम छन् । यसमा नयाँ मान्छेहरूलाई अवसर दिनु राम्रो हुन्छ यसले गर्दा पार्टी जीवन्त बन्छ । पुरानो हुन लागेका र अवसर नपाएका साथीहरूदेखि नयाँ पुस्तालाई अवसर दिनु पर्छ । युएईमा २५ वर्ष मुनिकालाई पनि क्याबिनेटमा मन्त्रीको सिट खाली हुन्छ ।

जो हिजोका दिनमा पराजित भएका वृद्ध नेताहरूले राजनीतिबाट बिस्तारै आराम लिने की समानुपातिकमा बस्ने भन्ने हो त तपाईँहरूको राय ?
निर्वाचन लड्ने कुरामा युवालाई दिँदा राम्रो हुन्छ । किन भने युवामा नयाँ जोस, जाँगर, ऊर्जा छ । क्रियाशीलतामा पनि अगाडि हुनहुन्छ ।

यो कुरा उहाँहरूले सुन्नु हुन्छ त ?
राजनीतिमा ६० वर्ष कटेपछि मैले अब के गर्ने भनेर के गर्दा मुलुकको विकास गर्ने भनेर उहाँहरूले आत्म समीक्षा गरेर आफ्नो ठाउँ हेर्दा सबै भन्दा राम्रो हुन्छ ।

तपाईँ अब संघकै चुनाव लड्ने हो कि प्रदेशमा जाने हो ? के छ तयारी ?
प्रतिनिधिसभामै मैले आकांक्षा गरेको छु । सङ्घीय क्षेत्रमा नै मैले अवसर पाउनु पर्दछ । राजनीतिक परिवेशमा विभिन्न काल खण्डमा हामीले आफ्नो योगदान हुन्छ हाम्रो योगदानको विषयमा हामीले नै चर्चा गर्नु उपयुक्त हुँदैन । समग्र मुलुकलाई थाह छ, यो राजनीतिक प्रणाली ल्याउन पहिला आवश्यकता कसले उठायो । जोखिम कसले उठायो र जुन ५८/५९ को समयमा राजाले गरेको प्रतिगमनको विरुद्धमा कसले सडकमा उभिएर कसले जोखिम उठायो यो सबै कुरा जगजाहेर छ ।

तपाईँ अझै पनि सांसदको टिकटको लागि तड्पिनु भएको छ है ?
२०६४ सालको संविधान सभाको लागि हामी योग्य हो । त्यसपछि ७० सालको संविधान सभाको योग्य हो । राजनीतिक प्रणाली फेरे पछि त्यो प्रणालीलाई व्यवस्थित गर्नको लागि प्रणाली फेर्ने व्यक्ति अधिकार हो । तर, त्यो बेला दुई वटै संविधानसभामा हामीलाई निर्ममता पूर्वक वञ्चित गरियो । ७४ सालमा हामीले संविधान जारी गर्यौँ प्रणाली संस्थागत भयो त्यसमा पनि हाम्रो योगदान छ । ७४ सालमा हामीलाई राजनीतिक हिंसा भयो । अब सम्पूर्ण योग्यता पुगेर पनि वञ्चित भयौँ । ७९ को निर्वाचनमा हामीलाई अवसर पाउनु पर्दछ । भोलि पर्सि भन्ने समय छैन अब ।

सुरुमा तपाईँहरुले गठबन्धनको जुन विरोध गर्नु भएको थियो । तर अहिले गठबन्धनलाई पनि सहजै स्वीकार्नु भयो है ?
हामीले आफ्नो मतलाई थाती राखेको मात्र हो किन भने पार्टी त्यहाँ नगई नसक्ने भयो। पार्टी नेतृत्वले पार्टीलाई त्यहाँ पुर्याउने भयो । स्थानीय तहको निर्वाचनमा पनि एकलै प्रतिस्पर्धा गरौँ भन्यौँ । स्थानीय निर्वाचन व्यक्तिगतत आधारमा पनि हुन्छ त्यो व्यक्तिको व्यक्तित्वका आधारमा पनि जनताले मत हाल्छन् तर त्यो भएन । पार्टीले निर्णय गरी सक्यो त्यसैले हामीले आफ्नो मतलाई थाती राखेका छौँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ८ : ०० बजे

लगानीकर्ताको सुरक्षा प्रत्याभूति गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं – उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगानीकर्ताको सुरक्षा प्रत्याभूतिका

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार