एकपटक नौ अङ्कले आठ अङ्कलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँसु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँ भन्दा ठूलो छु, त्यसैले ठटाएँ के गर्छस् ?’ यो सुन्नेवित्तिक्कै आठले सातको गालामा तोरीको फूल देखिने गरी बजायो । यो क्रम सातले छ, छले पाँच, पाँचले चार, चारले दुई, दुईले एक हुँदै बढ्दै गयो । जब एकको पालो आयो, उ धर्मसंकटमा पर्याे । उसको पछाडि थियो– शून्य । एकले शून्यलाई पिटेन । बरु प्रेमसँग छेवैमा राख्यो । जसबाट उसको शक्ति दश भयो ।
घडी जुनसुकै बाँधे पनि समय एकै हो । मोबाइल जति महँगो होस्, कुरा गर्ने शैली र मानिस उही हो ।
कसैले कसैलाई प्रतिनिधि खटाएर आफ्नो पेट भर्न सम्भव छैन । एउटाको मृत्यु अर्कोले वरण गर्ने सुविधा प्रकृतिले दिएको छैन । सम्बन्धले मुनाफा दिने होइन, जीवन सम्पन्न बनाउने हो । घडी जुनसुकै बाँधे पनि समय एकै हो । मोबाइल जति महँगो होस्, कुरा गर्ने शैली र मानिस उही हो ।
सम्बन्ध कहिले पनि खुकुरी र अचानो जस्तो नहोस्, एउटा दुखाइरहने अर्को सहिरहने । बरु मैन धागोजस्तो होस्, एउटा जलेपछि अर्को पग्लने । ८७ प्रतिशत मानिसले आफूलाई जवाफ थाहा भएको प्रश्न सोध्छन् रे ! जीवन र उमेरलाई सानो रेसाले फरक पारेको छ । निराशा र दुःख मानेर बिताएका प्रत्येक क्षण उमेर हो । खुसी र आनन्द मानेर बिताएका प्रत्येक क्षण जीवन हो ।
विज्ञानले भन्छ– ‘जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ ।’ तर ज्ञानको ठहर छ– ‘जिब्रोले लागेको घाउ कहिल्यै निको हुँदैन ।’ विभीषण रावण राज्यमा पनि बिग्रिएनन् । कैकेयी रामराज्यमा पनि सप्रिनन् । त्यसैले सप्रिनु र बिग्रनु व्यक्तिको सोच र स्वभावमा निर्भर रहन्छ । समय एउटा यस्तो इमानदार बस्तु हो, जसले पर्खाउन लाएर धोका दिँदैन । खुसीको एउटा ढोका बन्दसँगै अर्को ढोका खुलेको हुन्छ । तर खुलेको ढोकातिर हाम्रो आँखा जाँदैन । भाग्य लिफ्ट हो भने मेहनत सिँढी हो ।
औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ । त्यो मध्ये ७० प्रतिशत नकारात्मक हुन्छ ।
हामी यस्तो देशमा छौँ, जहाँ डाक्टर– स्वास्थ्य, वकिल– न्याय, विद्वान– ज्ञान, सरकार– स्वतन्त्रता, मिडिया– सूचना, धर्म– नैतिकता, बैंक– अर्थ व्यवस्था नष्ट गर्ने प्रतिस्पर्धामा छन् । जागा भएको अवस्थामा मानव मस्तिष्कले १२ देखि २५ वाट विद्युत निकालिरहेको हुन्छ । जुन सानो चिमलाई निरन्तर बाल्ने क्षमताको विद्युत हो । औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ । त्यो मध्ये ७० प्रतिशत नकारात्मक हुन्छ । मानिसको दिमागमा ८ अर्ब ६० करोड न्यूरोन कोष हुन्छन् ।
प्राप्ति मात्र पनि पूर्णता होइन । तपाईंले अंक जितेर मात्र परिणाम जित्न सक्नुहुन्न । त्यसका लागि सामाजिक स्वीकृति अनिवार्य हुन्छ । रामभन्दा रावण बलशाली थिए । विद्वताको त झन् बहसै नगरौँ । त्यतिबेलै पुस्तक लेखेका थिए । भगवान शिवको परम भक्त थिए । रगत सेतो बनाउने, सुनमा सुगन्ध मिसाउने, समुद्रको पानी क्षारमुक्त गर्ने जस्ता उनका महत्वाकांक्षी योजना थिए ।
यति हुँदाहुँदै पनि सामाजिक स्वीकृति रामसँग थियो । रामायणको प्रभाव स्वरुप एक्काइसौँ शताब्दीमा आउँदा पनि नेपाली समाजका घरघरमा लाखौँ रामबहादुर, रामप्रसाद, रामचन्द्र जन्मिए । तर आफ्ना सन्तानको नाम रावण राख्ने साहस कसैले गरेनन् ।
नियम विचित्रको हुन्छ । सेकेण्ड सुई कुदेको कुद्यै हुन्छ । मिनेट सुई सुस्त चल्छ । तर सरेकै नदेखिने, मेहनत नै नभएको ढ्यास्स परिरहने घण्टे सुई हेरेर मानिस समयको निधो गर्छ ।
यो नियम वर्तमान सरकारमा पनि लागू हुन्छ । अङ्कले यो सरकार दुई तिहाई हो भन्नेमा शंका रहेन । तर यसका मनसा, वाचा र कर्मणा परीक्षणमा छन् । नेताहरु रहरलाग्दा छन्, भरलाग्दा देखिइसकेका छैनन् । उमेरले तन्नेरी भएर मात्र हुन्न, पार्टी त सलादजस्तो सहअस्तित्वको हुनुपर्छ ।
राम्रो सोचेर झट्टै राम्रो काम हुँदैन । जुत्तामा सानो ढुंगा पस्यो भने माइलको यात्रा रोकिन सक्छ । नियम विचित्रको हुन्छ । सेकेण्ड सुई कुदेको कुद्यै हुन्छ । मिनेट सुई सुस्त चल्छ । तर सरेकै नदेखिने, मेहनत नै नभएको ढ्यास्स परिरहने घण्टे सुई हेरेर मानिस समयको निधो गर्छ ।
एक जापानी साहित्यकारको सुझाव छ– ‘तिमीलाई एक वर्षको चिन्ता छ भने एउटा रूख रोप, यदि समय जीवनका लागि योजना रोप्न चाहन्छौ भने आफ्नो युवाकाललाई नै यसका लागि अर्पित गर ।’ आलोचनाबाट बच्न मानिसका लागि तीन सुविधा छन्– पहिलो केही नगर, दोस्रो केही नभन र तेस्रो केही नबन । मान्छे केही पाउन स्तुति गर्छ तर निन्दा फगतः निन्दाका लागि मात्र गर्छ । मानिस अरुको नराम्रोमा सुन्न र भन्न बढी रस लिन्छ । निन्दा रसिलो, प्रशंसा निरस हुन्छ । अरुको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विभिन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ । यी भए ज्ञानका कुरा अब पालो विज्ञानको ।
पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन, ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन्, जसलाई फैल्याउँदा त्यसको लम्बाइ २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न त नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ ।
मानिसले पन्छी जसरी उड्न जान्यो । माछाजस्तै पौडन सिक्यो । तर मान्छे जस्तो भएर पृथ्वीमा रहन अझै जानेन ।
नीतिले भन्छ– ‘जो राजर्षि बनी देशको सेवा गर्छ उसले गिद्धको जस्तो दृष्टि, सिंहको जस्तो साहस, इन्द्रियमा अनुशासन, रहस्य लुकाउने क्षमताजस्ता गुणहरू आफूमा सुरक्षित राख्नु आवश्यक छ ।’ प्रकृतिले मानिसको शरीरलाई यस्तो चमत्कारयुक्त बनाएको छ, जसका अगाडि संसारका सबै वस्तु रङ्गहीन ठहर्छन् ।
चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्छ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन ।’
एक दिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्वीर म त केही बुझ्दिन ।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए– ‘चिनियाँ भाषा शायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढी यही भाषा बोल्छन् ।’
हो राजनीतिक कुटिल चाल थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने एउटै भाषा छ– त्यो हो हाँसो । हरेक राजनीतिको गन्तव्य त्यही बन्नुपर्छ । त्यसबाहेकका सबै चिज बस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो । जिन्दगी रेलको पट्री जसरी सडकमा गुड्दैन । यो त गङ्गाको नहर जसरी बग्छ । जहाँ पानीको लागि बाटो खनिएको हुँदैन । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रङ्गमा डुबायो, त्यही रङ्ग सर्छ । मानिसले पन्छी जसरी उड्न जान्यो । माछाजस्तै पौडन सिक्यो । तर मान्छे जस्तो भएर पृथ्वीमा रहन अझै जानेन । देश समृद्ध हुनु पछाडि तीनवटा रहस्य हुन्छन् । त्यो हो, एक शिक्षा, दुई शिक्षा, तीन शिक्षा ।
नेताले चुनाव हेर्छ, राजनेताले पुस्ता हेर्नुपर्छ । जाबो रेसम किराले त मान्छेको आङ ढाकिदिएर आफू अमरत्व कमाउँछ भने राजनीति नामको उच्च आसनमा बसेकाहरूको दृष्टि कम्तिमा तीन पुस्तासम्म पुग्न अपरिहार्य छ ।
देश नलुटौँभन्दा दलहरू, पैसाअनुसारको पेट्रोल माग्दा पम्पवाला, देश आफैँ चलाउँछु भन्दा अन्तर्राष्ट्रिय समुदाय, भाडामा बस्नेलाई पानी माग्यो घरबेटी, मिटरमा उठेको मात्र पैसा दिँदा ट्याक्सीवाला रिसाउने अनि कुन धर्मले चल्छ समाज ? मलेसियामा सार्वजनिक शौचालय अत्यन्त दूषित भएपछि त्यस विरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश गर्याे ।
सिङ्गापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम शुरु गरिएपछि व्यापक सुधार आएको थियो । तर नेपालको इतिहास कस्तो छ भने पलाञ्चोक देवीको मूर्ति बनाउने कालिगढले अर्को यस्तो मूर्ति बनाउन नसकोस् भनेर दाहिने हात नै काटियो । पञ्चायतमा तर मारेकाहरुले पञ्चायतको खण्डन गर्नेलाई शत्रु देखे । व्यवस्था विरोधीको ट्याग लगाए ।
बहुदललाई धन कमाउने साधन बनाएकालाई प्रवृत्तिको विरोध गर्दा त्यो पचेन । अहिले सत्तासिनहरुका लागि राज्यप्रणाली ठट्टाको विषय बनेको देखिन्छ । मुलुकको कार्यकारी प्रधानमन्त्री बालेनले आफ्नो आधिकारिक लेटर हेड ‘सामाजिक सञ्जाल’ बनाउन अझै छोडेनन् । नेताले चुनाव हेर्छ, राजनेताले पुस्ता हेर्नुपर्छ । जाबो रेसम किराले त मान्छेको आङ ढाकिदिएर आफू अमरत्व कमाउँछ भने राजनीति नामको उच्च आसनमा बसेकाहरूको दृष्टि कम्तिमा तीन पुस्तासम्म पुग्न अपरिहार्य छ ।












प्रतिक्रिया