भीषण बाढी र पहिरोको चपेटामा परेको पाकिस्तानमा स्वास्थ्य समस्या पनि थपिएको छ। बाढी पछिका अस्तव्यस्त जीवन र फोहोरका कारण धेरै जना बिरामी हुनसक्ने चेतावनी त्यहाँका स्वास्थ्य अधिकारीले दिइसकेका छन्। मध्य जुनदेखि यता १ हजार ५ सय जनाको ज्यान गएको छ भने ३ करोड ३० लाख जना भन्दा बढी बाढीले प्रभावित भएका छन्।
उद्धार र राहत कार्य त देशका विभिन्न भागमा भएको छ। तर, यी सबै स्थानमा डेंगु, मलेरिया र सहनै नसकिने ग्यास्ट्रिकको समस्या पनि थपिन थालेको छ।
धेरै जना जमेको पानीको नजिकै बसेका छन्। यस कारण डेंगुको प्रकोप बढ्दो छ र यसले मानिसको ज्यान पनि गुम्ने क्रम जारी छ। स्वास्थ्य अधिकारीका अनुसार दक्षिणी सिन्ध प्रान्तमा ३ हजार ८ सय डेंगुका केस देखिएका छन्। यी मध्यका केहीले त ज्यान गुमाइसकेका छन्।
यो तथ्यांक पूर्ण नभएको र यथार्थमा अझ धेरैले ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ। अहिले सिन्धको अवस्था धेरै नाजुक छ। ‘हामीले क्याम्प चलाइरहेका छौं। तर, डेंगुका बिरामीलाई मेलेरियाले पनि भेट्न सुरु गरेको छ’, पाकिस्तान मेडिकल एसोसिएसनका महासचिव डा. अब्दुल गाफर सोरोले भने।
हामीले परीक्षण गर्दै जाँदा डेंगु बढ्दै गएको छ। शङ्का लागेकाको परीक्षण गर्दा ८० प्रतिशत सङ्क्रमित भएको देखिएको छ।
डा. सोररो अहिले कराँचीको आगाँखान अस्पतालमा डेंगुका बिरामीको उपचार गर्न व्यस्त छन्। आउँदो साता स्थिति अझ खराब बन्न सक्ने डरले उनी पनि त्रसित छन्। पाकिस्तानमा बाढीको समस्या देखिएको महिनौँ बित्दा पनि कम भएको छैन। घरबार बिहीन हुनेको क्रम घटेको छैन। त्यो बढेको बढ्यै छ। पानीले धेरै ग्रामीण क्षेत्रका सडक बिगारेको छ। त्यहाँ राहत पुग्न अत्यन्त कठिनाइ भएको छ। ती स्थानमा मोबाइल भ्यान चलेका छन्। ती मोबाइल भ्यान हरेक स्थानमा पुग्न सकेका छैनन्।
१ वर्षको बच्चा साकिनालाई बोक्दै मुना साजाद सिन्ध प्रान्तको नजिकै रहेको सेहवान क्लिनिकमा उपचार गर्न पुगेकी छन्। उनी केही दिनदेखि यता ग्यास्ट्रिकको समस्याले अत्यधिक सताइएकी छन्। उनकी आमाले च्यापेर सम्हाल्न खोजे पनि सकिरहेकी छैनन्। बच्ची चिच्याएर रोएकी छिन्। लगातारको बान्ता र पेट दुखाइले छटपटिएकी पनि छिन्।
‘मेरा बच्चा मध्येकै दुई जना अस्वस्थ छन्। उनीहरूको उपचार गर्न मसँग पैसा छैन। मैले बाढीमा सबै कुरा गुमाएकी छु,’ मुनाले भनिन् ‘मैले क्लिनिकमा नलगेको भए सकिनाको ज्यान नै जान सक्थ्यो। हामीसँग बच्चा र हाम्रा साना बच्चालाई खुवाउने खाने कुरा पनि थिएन।’
एउटा भ्यानमा बिरामी कोचाकोच भएको दृश्य त झनै विरक्त लाग्दो छ। चिकित्सककै अनुसार उनीहरूको हेरचाह गर्ने मानिस समेत छैनन्। ती बिरामी साना बच्चादेखि वयस्क सम्मका छन्।
‘त्यहाँ धेरै जना मानिस छन्। हामीले हाम्रो तर्फबाट सकेको जत्ति राम्रो गरिरहेका छौं। तर, सबैलाई राम्रो सहयोग गर्ने क्षमता समेत हामीसँग छैन’ सिनियर चिकित्सक खालिद खोसाले भने, ‘हामीले दैनिक जसो सयौँ बिरामी भेटेका छौं। तर, पनि हामी धेरै कहाँ पुग्न सकेका छैनौं। यो हाम्रो मात्र समस्या होइन। सिङ्गो प्रान्त नै यस समस्यामा अल्झिएको छ।’
डा. खोसा त्यहाँका मोनीटरिङ अफिसर हुन्। उनले त्यस क्षेत्रमा रोगको प्रकोपलाई हेरिरहेका छन्। उनी अहिलेको डरलाग्दो दृश्यले आत्तिनु पर्ने अवस्था आइसकेको बताउँछन्। कतै मानवीय प्रकोप त निम्ति रहेको छैन भन्ने चिन्तासमेत उनलाई लाग्न थालेको छ। डेंगु, मलेरिया र ग्यास्ट्रिकको समस्याले एकै पटक सताउन थालेपछि कसरी सहयोग गर्ने भन्ने नै उनको चिन्ता हो।
मुना र उनका बच्चा जस्ता सयौँ जना अहिले लालबागलमा बनाइएको एउटा टेन्टमा आश्रय लिइरहेका छन्। त्यहाँ पानीको बहावको सिधा असर त छैन। तर, समस्या मुक्त भने उनीहरू छैनन्। त्यहाँ जमिन सुख्खा त छ। तर, पिउने पानी र खाने कुराको अभाव छ।
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टेनियो गुटिरेजले गत साता त्यस क्षेत्रको भ्रमण गरेका थिए। त्यसै भ्रमणको समयमा उनले समस्या गम्भीर भएका कारण यसको समाधानमा ध्यान दिनुपर्ने बताए। तर, राष्ट्र सङ्घबाट पनि प्रभावकारी कदम भने चाली सकिएको छैन। उनले धनी देशले नै पाकिस्तानको अहिलेको समस्यामा सहयोग गर्नु पर्ने कुरा बारम्बार औँल्याएका छन्। ‘हामीले संसारमा रहेका असमानतालाई हटाए मात्र शान्ति प्राप्तिको लक्ष्यमा पुग्न सक्छौं’, गुटीरेजले भने।
गुटिरेजकै मतमा यो समस्याको कारक पाकिस्तान आफू होइन। जलवायु परिवर्तन यसको कारक हो। ग्रिनहाउस ग्याससहित वातावरण प्रदूषित बनाए बापत यो समस्या आएको हो। यस कारण संसार नै यो समस्याको दोषी हो। संसारका जी २० देश ८० प्रतिशत जिम्मेवार छन् भने कार्बन उत्सर्जनमा पाकिस्तानको हिस्सा एक प्रतिशत भन्दा पनि कम छ।
अधिकारीले पानी रोकिएर सिन्धको जीवन सामान्य हुन महिनौँ लाग्न सक्ने बताइसकेका छन्। तर, त्यो समयसम्म कुनै मुनाजस्ता धेरैका लागि बहुतै कठिन हो।
मुनाले गत साता सर्वस्व गुमाएकी थिइन्। यो अझ पीडादायक विषय हो कि फेरि सन्तुलित जीवन बिताउन उनले महिनौँ कुर्नुपर्ने हुनसक्छ। पाकिस्तानका पिडकहरू अहिले पनि उनीहरूलाई सहयोग गर्ने क्षमता भएका संसारका शक्ति राष्ट्रले त्यो समस्या मनन गर्ने आसमा बसेका छन्।
वरिष्ठ सरुवा रोग विशेषज्ञ केटी एन्डरसनले यसअघि नै बाढी पछि डेंगुको समस्या थपिन सक्ने बताएका थिए। अहिलेको बाढी मात्र होइन वर्ष भरी आएको पानीको कारण अहिलेको मौसम लामखुट्टेका लागि अनुकूल मानिएको छ। लामखुट्टेका कारण लाग्ने अन्य रोगको सम्भावना समेत अहिले बढेको छ। यसमा डेंगुको सम्भावना सबैभन्दा बढी देखिएको छ। अहिले पाकिस्तानमा यो समस्या बढी देखिए पनि अन्य देश जोखिम मुक्त भने पक्कै छैनन्।
सब ट्रपिकल र ट्रपिकल क्षेत्रमा पोथी लामखुट्टेको टोकाइबाट एक मान्छेबाट अर्को मान्छेमा सर्न सक्छ। संसारमा आधा जनसङ्ख्या यो जोखिममा छ। यस अगाडि प्रत्येक वर्ष ३९० मिलियन व्यक्ति सङ्क्रमित भएको जनाइएको छ।
मलेरिया, भियतनाम, सिंगापुर र फिलिपिन्समा डेंगुको समस्या सबैभन्दा बढी हुने खतरा औँल्याइएको छ। ब्राजिललाई पनि डेंगुको सबैभन्दा बढी जोखिम भएको क्षेत्र मानिएको छ। त्यहाँ ८७ लाख जना डेंगुको जोखिममा रहेको जनाइन्छ।
डेंगु लगायत लामखुट्टेबाट लाग्ने रोग बढ्नुमा एउटा प्रमुख कारण जलवायु परिवर्तन भएको विभिन्न अध्ययनले देखाएका छन्। तापक्रममा केही परिवर्तनका कारण मात्रै पनि लामखुट्टेको बच्ने क्षमतामा धेरै वृद्धि हुन्छ। यसै कारण लामखुट्टेको सङ्ख्या बढ्दै डेंगुको समस्या थपिएको हो।
जति गर्मी भयो भाइरसको मात्रा बढ्ने गरेको छ। जमेको पानी मात्र होइन परेको पानी बगेको पानीमा समेत गर्मीका कारण लामखुट्टेको फूल सहजै बाच्न सक्ने हुन्छ।
डेंगुको समस्या यसरी बढी रहेको छकी घर बनाउने समयदेखि नै सरकारको हरेक गतिविधिमा यसमा चासो नदिएमा केही वर्षमा यो समस्या अझ विकराल हुन सक्ने चेतावनी राष्ट्र संघले नै दिएको छ।
अहिले पाकिस्तानमा मात्र होइन, यो समस्या सिङ्गो संसारकै हो। समयमै सचेत नभए अहिले पाकिस्तानमा देखिएको समस्याले हामीलाई पनि सताउने छ।
स्रोत : न्युज ट्रस्ट, बीबीसी
प्रतिक्रिया