नयाँ लडाकु जहाज निर्माण गर्ने होडबाजीमा भारत « Khabarhub

नयाँ लडाकु जहाज निर्माण गर्ने होडबाजीमा भारत

चीनसँगको प्रतिष्पर्धामा ‘आइएनएस विक्रान्त’ तैनाथ



काठमाडौँ – गत शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वदेशमा नै निर्मित भारतको पहिलो लडाकु विमानवाहक युद्धपोतलाई भारतीय नौसेनामा औपचारिक प्रवेश गराए।

बीबीसीका अनुसार १३ वर्ष लामो निर्माण एवम् परीक्षणपछि प्रधानमन्त्री मोदीले शुक्रबार भारतमै निर्मित लडाकु विमानवाहक युद्धपोत ‘आईएनएस विक्रान्त’ लाई नौसेनामा औपचारिक रुपमा तैनाथ गरेका हुन्।

भारतको दक्षिणी राज्य केरलास्थित राज्य सञ्चालित कोचिन बन्दरगाहमा आयोजित एक कार्यक्रममार्फत् मोदीले आइएनएस विक्रान्तलाई नौसेनामा औपचारिक तैनाथ गरेका हुन्। यो भारतको दोस्रो लडाकु विमानवाहक युद्धपोत हो।

यसअघि भारतले रुससँग आईएनएस विक्रमादित्य नामक लडाकु विमानवाहक युद्धपोत खरिद गरेको थियो। भारत विश्वकै सबैभन्दा महत्वपूर्ण हतियार आयातकर्ता मुलुक हो। रोयटर्सका अनुसार भारतले सन् २०१८ देखि सन् २०२१ सम्म १२ अर्ब ४० करोड अमेरिकी डलर बराबरको हतियार आयात गरेको थियो।

यद्यपि पछिल्लो समय भारत स्वदेशमा नै यस्ता हतियार उत्पादन गर्ने प्रक्रियामा रहेको बताइन्छ। यस युद्धपोतलाई सन् २०१७ मै नौसेनामा सामेल गराउने योजना रहेपनि दोस्रो चरणको निर्माण कार्यमा ढिलाई भएपछि बल्ल यसलाई नौसेनामा सामेल गराइएको हो।

यद्यपि ढिलै भए पनि भारत आफ्नै घरेलु विधिबाट लडाकु विमानवाहक युद्धपोत निर्माण गर्न सक्षम गिनेचुनेका मुलुकको सूचीमा समावेश भएको छ। त्यसमाथि पछिल्ला तीन वर्षमा आफ्नै घरेलु क्षमतामा लडाकु विमानवाहक युद्धपोत तैनाथ गर्ने तेस्रो मुलुक बनेको छ।

अमेरिकी टेलिभिजन च्यानल सीएनएनका अनुसार पछिल्लो तीन वर्षमा बेलायत र चीनले मात्रै आफ्नै क्षमतामा निर्माण गरेको लडाकु विमानवाहक युद्धपोत तैनाथ गरेका छन्।

के छन् आईएनएस विक्रान्तका विशेषता ?
४५ हजार टनको यस युद्धपोतमा १७ सय नौसैनिक एवम् ३० लडाकु विमान बोक्न सक्ने क्षमता रहेको छ। प्रारम्भिक चरणमा यस युद्धपोतमा रुसमा डिजाइन गरिएको मिग–२९ के लडाकु विमान रहने रोयटर्सले जनाएको छ। आईएनएस विक्रमादित्यमा पनि यस्तै लडाकु विमानको प्रयोग हुँदै आएको छ। यसको निर्माण खर्च २ खर्ब भारतीय रुपैयाँ अर्थात् दुई अर्ब ५० करोड भारतीय रुपैयाँ रहेको छ।

यद्यपि अमेरिकी रक्षा कम्पनी बोइङ र फ्रान्सेली डासटले पनि यस लडाकु विमानवाहक युद्धपोतका लागि २ दर्जनभन्दा धेरै लडाकु विमान उपलब्ध गराउनेबारे विचार गरिरहेको बताइएको छ।

यस युद्धपोतको लम्बाई २६२ मिटर अर्थात् ८६० फिट एवम् उचाई ६० मिटर अर्थात् १९७ फिट छ। यस युद्धपोतमा ग्यास टर्बाइन इन्जिन जडान गरिएको छ। युद्धपोतमा रहेका चारवटा इन्जिनमा ८८ मेगावाट उर्जा उत्पादन गर्न सक्ने क्षमता रहेको छ। भारतीय नौसेनाका लेफ्टिनेन्ट कमाण्डर साई कृष्णनले बीबीसीलाई बताएअनुसार युद्धपोतमा कफी भेन्डिङ मेसिन, टेबुल, कुर्सी, खाना खाने स्थान समेत रहेको छ।

भारतीय नौसेनाका लेफ्टिनेन्ट कर्णेल साई कृष्णनले बीबीसीलाई बताएअनुसार यस युद्धपोतमा एकै समयमा ६ सय जनाले खाना खान सक्छन्।

यसबाहेक युद्धपोत भित्रै १६ शैय्याको अस्पताल पनि सञ्चालित छ। युद्धपोतभित्रको उक्त अस्पतालमा दुईवटा शल्यक्रिया कक्ष र सघन उपचार कक्ष समेत रहेको छ। भारतीय नौसेनाका अनुसार यही वर्षको उत्तरार्द्धबाट युद्धपोतले सघन उडान कारबाही थाल्नेछ।

‘हाम्रो फ्लाइट डेकको क्षेत्रफल झन्डै १२ हजार ५ सय वर्गमिटर छ, मतलब यसमा झन्डै अढाई वटा हकी मैदान अट्न सक्छन्।’ युद्धपोतका फ्लाइट डेक अधिकारी लेफ्टिनेन्ट कमाण्डर सिद्धार्थ सोनीले बताए।

भारतीय नौसेनामा हाल दुई लडाकु विमानवाहक युद्धपोत रहेपनि नौसेनिक अधिकारीहरु यो पर्याप्त नभएको बताउँछन्। धेरै अधिकारीहरुले सार्वजनिक रुपमै भारतलाई अझै कम्तीमा एउटा लडाकु विमानवाहक युद्धपोत आवश्यक रहेको बताउँदै आएका छन्। यद्यपि हालसम्म भारत सरकारले यसका लागि बजेट भने छुट्याएको छैन।

विक्रान्त निर्माण कार्यको सुपरिवेक्षण गरेका भारतीय नौसेनाका अवकाशप्राप्त भाइस एडमिरल एके चावलाले भारतसँग तत्कालै केही कदम चालिहाल्ने वा अरुको दाँजोमा पछि पर्ने दुई वटामात्रै विकल्प रहेको टिप्पणी गर्छन्। चीनको उदाहरण दिँदै उनी भन्छन् ‘चीनले गज्जबको गतिमा लडाकु विमानवाहक युद्धपोतको निर्माण गरी आफ्नो नौसैनिक क्षमता विस्तार गरेको छ।’

‘तपाई एकैरातमा विमानवाहक युद्धपोत बनाउन सक्नुहुन्न, यसका लागि समय चाहिन्छ र त्यसैले हामीसँग विक्रान्तजस्तै धेरै जहाज हुन आवश्यक छ, ता कि यसले हाम्रो नौसेनाको रक्षा गर्न सकोस्, टाढासम्म पुग्न सकोस् र दुश्मनको जहाजलाई परास्त गर्न सकोस्।’उनी भन्छन्।

सन् २०१२ र २०२२ बीचको दशकमा चीनले दुई वटा लडाकु विमानवाहक युद्धपोतको निर्माण गरेको थियो भने तेस्रो युद्धपोतको निर्माणको तयारी थालेको थियो। बीबीसीका अनुसार सङ्ख्याका आधारमा चिनियाँ नौसेना विश्वकै सबैभन्दा ठूलो नौसेना हो। यद्यपि क्षमताका आधारमा भने अझै पनि अमेरिकी नौसेना अघि रहेको बताइन्छ।

कोचिन बन्दरगाहकी अध्यक्ष एवम् प्रबन्ध निर्देशक मधु नैरका अनुसार ढिलाईका बावजुद विक्रान्तको निर्माणले उनीहरुलाई थप आत्मविश्वास दिलाएको छ। ‘१३ वर्ष लाग्नु राम्रो हो भन्दिन, हामी अझै राम्रो गर्न सक्छौँ।’ उनले बीबीसीलाई भनिन्, ‘तर हामी पहिलो पटक यस्तो काम गर्दैछौँ भन्ने हामीले बुझ्नुपर्छ, त्यसैले म बेखुश छैन।’

यस युद्धपोतमा जडान गरिएका ७६ प्रतिशत पार्टपुर्जा भारतबाटै उपलब्ध गराइएको हो। यसमा ५ सयभन्दा धेरै भारतीय कम्पनीहरुको संलग्नता रहेको छ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ११ : १३ बजे

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका

‘होल्डिङ सेन्टरमा बालकबालिकाका लागि सरकारको पहल सकारात्मक’

काठमाडौं– विभिन्न ‘होल्डिङ सेन्टर’मा रहेका बालबालिकाको आवास, मनोरञ्जन र शिक्षाका

भारतमा जुन २२–२३ मा ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठक

नयाँदिल्ली– भारतले जुन २२ र २३ मा ब्रिक्स राष्ट्रहरूको राष्ट्रिय