तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो | Khabarhub Khabarhub

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो


३१ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

भादगाउँ–  तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हःपूजाको लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।

लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अहिलेदेखि नै कामदार राखेर फूल टिप्ने गरेको भक्तपुरको चाँगुनारायण नगरपालिका–८ वागेश्वरीमा व्यावसायिकरुपमा पुष्पखेती गर्दै आएका युशव मताङ्गीले बताए । 

उनले भने, ‘गएको वर्षमा भन्दा यसपालि फूलको माग बढी छ, तिहार आउन हप्ता दिनमात्र बाँकी छ, मागअनुसार बजारमा फुल पठाउन सकेको छैन, यसपालि बेमौसमी वर्षाले फूलखेतीमा धेरै क्षति पुगेको छ, त्यही भएर उत्पादन भएका फूलहरू समयमै टिपेर माला उनेर काठमाडौँ पठाएको हो ।’

तिहारमा लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा सयपत्री फूलको मालाले सजाएर दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा नेवार समुदायले धनकी देवी लक्ष्मीको पूजा गर्दा लक्ष्मीलाई घरमा भित्र्याउन पालाको दियो राख्ने स्थानमा सयपत्री फूल, मखमली, गोदावरीलगायत पञ्चरङ्गी फूलको टुक्रा, ताय, जुङ्गेधान र अबिर आसन राखेपछि मात्र दियो बाल्ने परम्परा रहेको छ ।

भक्तपुरको गुण्डु र ताथलीलाई मखमली, सयपत्री, गोदावरीलगायतका फूलको गाउँ भनिए पनि पछिल्लो समय भक्तपुरका चारै नगरपालिकामा व्यावसायिकरुपमा पुष्प व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । केही वर्ष पहिला तिहारका लागि भक्तपुरको बजारमा गुण्डु र ताथलीबाट मात्र फूल बेच्नका लागि आउँथे । अहिले यी दुई ठाउँका मात्र सीमित नभएर चारै नपाका विभिन्न ठाउँबाट बजारमा फूल बेच्ने व्यवसायीले बजार ओगटेको अर्को व्यवसायी श्रीमाया वनमालाले बताइन् । 

पुर्ख्यौली पेशा नै फूल व्यवसाय गर्दै आउनुभएका वनमालाले पछिल्लो समय तिहारमा आधुनिक फूलको मालाभन्दा सयपत्री फूलको मालाकै माग बढी रहेको बताइन्। तिहारमा प्लास्टिक र कपडाका रङ्गीचङ्गी फूलभन्दा किसानले उत्पादन गरेका सयपत्री र गोदावरी फूलको प्रयोग अत्यधिक हुने भएकाले माग झन झन बढ्दै गएको वनामालाले बताइन् । 

‘विभिन्न आधुनिक प्लास्टिक र कपडाका रङ्गीन फूलभन्दा हामीले उत्पादन गरेका फूल चोखो, पवित्र र सुन्दर हुनुका साथै सुकेपछि यसलाई बीउकारुपमा पुनःप्रयोग गरी फूलको बोट उत्पादन गर्न मिल्ने भएकाले यसले बजार लिएको हो’, वनमालाले भने।

भक्तपुरका पुष्प व्यवसायीले अहिले तिहारका लागि मात्र नभएर विभिन्न भोजभतेर, सेमिनार, पुष्पगुच्छा र विवाहमा गाडी सजाउन मिल्ने बाह्रमहिना उत्पादन हुने जातका सयपत्री, गोदावरी, जरवेराकार्नेश फूलखेती गरेको देखिन्छ ।

भक्तपुरमा उत्पादन गरिएका फूल यहाँका बजारमा मात्र सीमित नभएर काठमाडौँका थोक व्यापारीलाई बिक्री गर्ने र त्यहीँबाट सहरका विभिन्न स्थानमा बिक्रीका लागि जाने गरेको छ । त्यसैगरी यहाँ उत्पादन गरेका अधिकांश सयपत्री फूल पशुपतिमा पठाउने व्यवसायी बताउँछन् । 

– लक्ष्मी गारु रासस

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  १ : ०३ बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये