‘लोकतन्त्र र संघीयता जोगाउन मतदानमा सहभागी बनौँ’ « Khabarhub

‘लोकतन्त्र र संघीयता जोगाउन मतदानमा सहभागी बनौँ’


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

हनुमाननगर– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका यादव हाल चुनाव प्रचारका क्रममा आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय रहेका छन् ।

अन्तिम चरणको घरदैलो अभियानमा रहेका जसपा अध्यक्ष यादवले आज बिहान रासससँगको कुराकानीका क्रममा चुनावप्रति आम सप्तरीवासी र समग्र जनतामा ठूलो उत्साह रहेको बताए । 

‘संघीयतालाई परिस्कृत गर्दै संस्थागत गर्न, अधिकार र पहिचानको सङ्घर्षलाई मूर्तरूप दिन, संविधान संशोधन गर्न, आफ्नै मुलुकमा नागरिकताबाट वञ्चित मधेशी युवाहरूको नागरिकता समस्या समाधान गर्ने लगायतका दृष्टिले आगामी चुनाव निकै महत्वपूर्ण रहेको भनी आम मधेसीको बुझाइ छ’, उनले भने, ‘आफ्नो भाग्य र भविष्यका लागि आम मधेशी आफ्नो सङ्घर्ष अझै जारी राखेका छन् र ती सङ्घर्षका उपलब्धिलाई संरक्षित गर्दै थप उपलब्धि प्राप्त गर्न आगामी मङ्सिर ४ को निर्वाचन निकै महत्व राख्छ ।’

लोकतान्त्रिक समाजमा आम मतदाताको सबैभन्दा ठूलो शक्ति नै मतदान हो भन्दै अध्यक्ष यादवले भने,  ‘आम नेपालीले गरेको कठोर सङ्घर्ष र त्यागको फलस्वरुप हामीले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता लगायतका उपलब्धि प्राप्त गर्न सकेका छौँ र यी उपलब्धिलाई जोगाएर राख्दै संस्थागत गर्न मताधिकारको प्रयोग सबैभन्दा आवश्यक रहेको तथ्य हामी कसैबाट लुकेको छैन ।’ 

मुलुकमा प्राप्त विभिन्न राजनीतिक उपलब्धि समाप्त पार्न विभिन्न खाले षड्यन्त्रसमेत भइरहेको भन्दै यादवले आम मतदातालाई सचेत हुन आग्रह गरेका छन् ।

‘चुनाव भनेको लोकतन्त्रको महापर्व हो, यसमा सहभागी भएनौँ भने हामी कस्तो लोकतन्त्रवादी ?’, यादवले भने, ‘लोकतन्त्र, संघीयता, धर्म निरपेक्षता  जोगाउनु छ भने मतदानमा सहभागी हुनुहोस् ।’ उनले मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने समय निर्वाचन भएको भन्दै  मतदानमा उत्साहका साथ सहभागी हुनुपर्ने बताए । 

आगामी चुनावबाट जसपा मधेशको मुख्य पार्टी मात्रै नभइ राष्ट्रिय राजनीतिकै मुख्य शक्तिमध्ये एक यादवको दाबी छ । मधेशको नाममा नानाथरिका षड्यन्त्र गर्ने दललाई थ्रेसहोल्ड जोगाउन पनि गाह्रो हुने बताउँदै यादवले भने, ‘जसपालाई आम मतदाताले उसको नीति सिद्धान्त तथा विगतका दिनमा गरेका कामको आधारमा रुचाएको छन्, हामी झुठो आश्वासन बाँड्ने काम गरेका छैनौँ ।’ 

राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश कृषि विश्वविद्यालय, नर्सिङ कलेज भवन निर्माण, इञ्जिनीयरिङ कलेज भवन निर्माण लगायतका काम सप्तरीको पुरानो पहिचानलाई पुनःस्थापित गर्न गरिएका प्रयास भएको उनको भनाइ छ । 

‘जनप्रतिनिधिले गरेका कामको मूल्याङ्कन गर्नुस्, उसले अतीतमा गरेका सङ्घर्षलाई सम्झिदिनुस्, मधेशको पहिचान र स्वाभाविनाको सङ्घर्षमा क-कसले के कस्ता योगदान दिए स्मरण गरिदिनुस् र लोकतन्त्रको महापर्वमा उत्साहका साथ मतदानमा सहभागी भइदिनुस् आम मतदातामा मेरो विनम्र अनुरोध छ’, उनले मतदातासँग आग्रह गर्दै भने ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ४ : ५८ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर