सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी | Khabarhub Khabarhub

सडक कालोपत्रेको काम सुचारु नभए मेयर-उपमेयरलाई नै थुन्ने चेतावनी


१ मंसिर २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाका स्थानीयले दिक्तेल–आहाले सडक कालोपत्रेको काम तत्काल सुचारु नगराए नगरप्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्ने चेतावनी दिएका छन् ।

स्थानीय हाटडाँडा टोल पूर्वाधार विकास तथा व्यवस्थापन प्रवर्द्धन समितिको अगुवाइमा गएको स्थानीयले गत १९ भदौमा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र वडा कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको अवरुद्ध काम तत्काल सुचारु गर्न/गराउन माग गरेका थिए । सो मागको सुनवाई नभएको भन्दै दिपेन्द्र बस्नेत, बिनोद खड्का लगायतका स्थानीय युवाले बिहीबार मेयर तीर्थराज भट्टराईलाई ज्ञापन-पत्र बुझाउँदै सडक कालोपत्रेको काम यथाशीघ्र सुचारु नगराए हड्तालमा उत्रने चेतावनी दिएका हुन् ।

ज्ञापन-पत्रमा कालोपत्रेको काम तत्काल सुरु नभए दिक्तेलबजारमा सवारी आवागमन बन्द गर्ने, हड्ताल गर्नेदेखि नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा थुन्नेसम्ममा आन्दोलन गर्ने उल्लेख गरेका छन् । कालोपत्रेको काम अलपत्र हुँदा स्थानीयलाई हिँडडुल गर्नै नहुनेगरी वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडक भएको बस्नेतले बताए । यस्तै कालिका मन्दिर र महादेवगुफा जानेआउने दर्शनार्थीलाई समेत असहज भइरहेको जनाइएको छ । मेयर भट्टराईले ‘आफैलाई थुन्ने’ ज्ञापन-पत्र मुसुमुसु हाँस्दै बुझेका थिए ।

२०७५ सालमा १८ महिनाभित्र पूरा गर्नेगरी ठेक्का लागेको डिबिएसटी कालोपत्रेको काम अलपत्र परेपछि स्थानीय विरोधमा उत्रिएका हुन् । पटक-पटक म्याद थप गर्दा पनि निर्माण कम्पनी याक्थुङहाङरसापरसिरुवा जेभीले कालोपत्रेको काम अलपत्र पारेको भन्दै स्थानीयले गत २६ भदौभित्र काम सुचारु गराउनका लागि ध्यानाकर्षण गराएका थिए । तर ध्यानाकर्षण बुझाएको दुई महिना बितिसक्दा पनि काम अघि नबढेको स्थानीयले बताएका छन् ।

दिक्तेलबाट खानीडाँडा विमानस्थल हुँदै उदयपुरको गाईघाट जोड्ने छोटो दुरीको मार्गका रुपमा स्थापित हुने सडक राष्ट्रिय पुननिर्माण प्राधिकरणको भ्याट सहित २१ करोड १ लाख ८८ हजार खर्चमा कालोपत्रे सुरु गरिएको हो । निर्माण कम्पनीले २०७६ साल चैत ७ गतेभित्र सम्पन्न गर्नेगरी २०७५ साल असोज १ गते सडक कालोपत्रेको सम्झौता गरेको थियो । तर हालसम्म कालोपत्रेको करिब ६० प्रतिशत मात्र प्रगति भएको छ ।

दिक्तेलको अस्पतालचोकबाट खानीडाँडा बिनानस्थल हुँदै रेग्मीटार पुग्ने सडकको दिक्तेलतर्फबाट ९ जेठ २०७८ देखि आरसिसि ढलान सुरु गरिएको थियो । अस्पतालचोकबाट हाटडाँडा सम्म आरसिसि ढलान तथा सो स्थानदेखि आहालेसम्मको खण्डमा डिबिएसटी कालोपत्रे गर्ने सम्झौता छ । 

निर्माण कम्पनीले ७ चैत २०७६ सम्मको म्याद गुजारेपछि २९ बैशाख २०७८ सम्मका लागि प्रथम पटक म्याद थप गरिएको थियो । सडक कालोपत्रेको काममा ढिलासुस्ती भएपछि निर्माण कम्पनीका प्रमुख शिवप्रसाद चौंलागाईलाई ५ कात्तिक २०७६ मा दिक्तेलमा आयोजना गरिएको बैठकमा बोलाइएको थियो । तर, चौंलागाईले गरेका प्रतिवद्धता अनुसार काममा प्रगति भएनन् । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले १ मंसिर २०७५ मा आयोजना शिलान्यास गरेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईको कार्यालय खोटाङले सो आयोजना हेर्दै आएको थियो । सो कार्यालयलाई प्राधिकरणले स्थानीय पूर्वाधार बिभागलाई हस्तान्तरण गरेपछि काममा समस्या भएको निर्माण कम्पनीका प्रतिनिधि खगेन्द्र राईले बताए ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार  ६ : ३१ बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१