...त्यसैले छोरीको सिउदो रंगाउन हतार नगरौँ | Khabarhub Khabarhub

…त्यसैले छोरीको सिउदो रंगाउन हतार नगरौँ



काठमाडौँ – मंसिर महिनाको अन्तिम लगनको दिन। घडीमा तीन बजेर बीस मिनेट गएको रहेछ। तीन दिनको गाडीको यात्राले होला केही असहज महसुस भयो। अफिसमा बसेर काम गर्न नसक्ने भएपछि घर गएको थिएँ।

घर पुग्ने बित्तिकै मोबाई बज्न थाल्यो। घरबाट पो फोन आयो कि भनेर हतार हतार मोबाइल निकाले। तर घरबाट नआएर साथीको घरबाट आएको रैछ। घेरै मिल्ने साथी घरमा पनि सबैले राम्रोसँग चिन्ने भएर होला आफ्नै परिवार जस्तो लाग्ने। सबै कुरा सेयर हुने।

साथीसँग केहीबेर कुरा गर्न नपाउँदै ममीले मलाई देख्न मन लागेको छ। भिडियो अन गर भन्नु भयो। गाउँगाउँमा नि यो सुविधा पुगेको देखेर खुसी हुदै भिडियो अन गरे। कुरा त यै हुन्छ भन्ने थाहा थियो। किनकी जहिल्यै पनि साथीको ममीको गुनासो हुन्थ्यो, छोरीले बिहे गर्न मानिन् लौन सम्झाइदेउ। आज पनि सुरु भैहाल्यो।

नानी, ‘यो मंसिर पनि सकियो। बल्ल बल्ल घर आकी त्यै नि जस्तो केटा आए नी मन परेन भन्छे, लौन सम्झाईदेउ।’ के जवाफ फर्काउने, एकछिन त बोल्नै सकिन। केही त बोल्नै पर्ने थियो। ‘ममी हतार नगर्नुस समय छ नि। तपाईको छोरी नबुझ्ने छैन, सबै कुरा बुझेर गर्छे नि। अहिल्यै आत्तिनु पर्ने के नै छ र ?’ मैले प्रति प्रश्न गर्न नपाउँदै उहाँको जवाफ आयो।

‘मेरो ठाउँमा तिमी भएको भए थाहा हुन्थ्यो। कति पीडा भएको छ भनेर, तिमी त मेरो छोरी भन्दा नि बुझ्ने छौ भनेको थिए तर आज त उस्तै कुरा गर्यौ है’ उनले भनिन्। मैले जबर्जस्त भए पनि केही कुरा सम्झाउनु थियो।

उहाँले केही मधुर स्वरमा भने, ‘तपाईको छोरीलाई सबै भन्दा पहिला आत्मनिर्भर बन्न दिनुस्। अहिले उसले गरि रहेको काम पनि छोडेकी छ। उसलाई पूर्ण रूपमा अर्को व्यक्तिमा निर्भर भएर कमजोर आत्मबलका साथ नयाँ सम्बन्ध जोड्न हतार नगनुर्स। किनकी उ आफै खुसी नभएसम्म अरुलाई खुसी दिन सक्दिनँ। यो मलाई उमेरले अनि भोगाइले सिकाई सकेको छ।’

उमेर बढ्ने कुरा हो, बढ्छ। छोरीको उमेर विवाह गर्नका लागि मात्रै होइन, समाजका कुरा बुझ्न तथा जिम्मेवारी र व्यवहारिक हुन पनि हो। यो विवाह गर्ने उमेर भयो भन्नेलाई अब बुझ्ने उमेर भयोमा परिणत गर्न आवश्यक छ भनेर पनि सम्झाएँ।

हामी समयसँगै परिवर्तन हुनु पर्छ। सोचाइको क्षमता बढाउनु पर्छ। बाटो देखाउनु राम्रो हो तर’ त्यही बाटो हिँड्नुपर्छ, हामी यही बाटो हिँडेको’ भन्नु अहिले उपयुक्त हुदैन्। तपाईको छोरीको बढ्दो उमेरको चिन्ताभन्दा पनि उसको भविष्यको चिन्तामा लाग्नु पर्छ भनेर पनि भनिदिएँ।

आखिर श्रृंगारले चम्किएको मुहार भन्दा सफलताले निखारिएको मुहार सुन्दर हुनेगर्छ नि। यति भन्दै गर्दा रसाएका आँखा मिच्दै रुन्चे मुहारमा मुस्कान लेराउँदै उनले भनिन्, ‘यति भन्दा नि मन हल्का भयो। ल अब जे गर्छे उसैले गर्छे छोरी, आफ्नो ख्याल राख्नु’ भनेर फोन राख्नुभयो। तर मलाई यो कुराले बिझाइरह्यो।

हरेक बीस बर्ष कटेका युवतीलाई सोधिने प्रश्न हो, बिहे कहिले गर्ने ? अझै पनि हाम्रो समाजले छोरीको संसार घरगृहस्थी, परिवार, श्रीमान र बालबच्चाबाट बाहिर पनि छ भनेर सिकाउनै सकेको छैन।
शिक्षित परिवारमा पनि विवाहपछि श्रीमतीले घर सम्हाल्ने र श्रीमानले पैसा कमाएर ल्याउने भन्ने परम्परागत सोच बदलिन सकेको छैन।

जसले गर्दा कतिपय छोरीेको पढाइ माटोमै गएर मिल्ने गर्छ। बिहे गरेर गए पछि सबैको सम्मान गर्नुपर्छ। घरगृहस्थीका सम्पूर्ण काम राम्रोसँग जान्नुपर्दछ अझै पनि समाजको सिकाइ यही हो छोरी मान्छेको लागि। अनपढ, अशिक्षित हुँदा त घरव्यवहारको काम सिकाउनु पनि ठिकै थियो।

तर स्नातकोत्तरसम्म पढेकी छोरीलाई समेत ढुंगेयुगका छोरीलाई जसरी अर्काको घरमा गएर सेवा गर्न सिकाएपछि कस्तो समाजको कल्पना गर्न सकिएला ! अनि हाम्रा परिवर्तको के अर्थ रहला र ?

हाम्रा आमाबाबालाई छोरीको पढाई अनि उज्जल भविष्यको होइन, चिन्ता हुन्छ राम्रो ज्वाइँ कहाँबाट खोज्ने ? ज्वाइँ राम्रो भए त छोरीले किन जागिर खानुप¥यो। नेपालमा भए सरकारी जागिर खाने, वा काठमाडौंमा टन्न धनसम्पत्ति भएको कुलघरानको होस्, नभए पनि राम्रो देसमा गएको होस् यस्तै, यस्तै।

छोरीको लागि राम्रो कुलघरान र धनी ज्वाइँ खोज्ने समाजले छोरीलाई भने आफ्नै खुट्टामा उभिन अझै पनि सिकाउन सकेको छैन। ज्वाइँ राम्रो खोज्नुभन्दा वा विवाह गरिदिन हतार गर्नुभन्दा छोरीलाई सक्षम बनाएर केही गर्न प्रेरित गरेरमात्रै विवाह गराइदिने हो भने छोरीलाई मात्रै होइन, बावुआमालाई समेत धेरै सहज हुन्छ होला।

एउटी महिला शिक्षित सक्षम भइन् भने संसार नै शिक्षित हुन्छ र परिवर्तन हुन्छ। यो भनाईकै आधारमा पनि छोरीलाई छोरीबाट बुहारी बनाउनुभन्दा पहिला सक्षम बनाउनु आवश्यक छ। हतार हतारमा छोरीको सिउदो रंगाएका आमाबाबुले केही बर्षमा नै आफ्नै टाउको समाउनु परेको उदाहरण हाम्रो सामु छन्।

छोरीको सिउदो रंगिन बनाउँदैमा उसको बाँकी जीवन रंगिन नहुन पनि सक्छ। उसको इच्छा चाहनाको तिलान्जली दिएर बाच्नु परेको पनि हुन सक्छ। त्यसैले छोरीलाई सक्षम बनाउँन हतार गरौ, सिउदो रंगाउन होइन।

प्रकाशित मिति : २ पुस २०७९, शनिबार  १० : ४७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र