काठमाडौं– अङ्ग्रेजीमा एउटा उखान छ, ‘बन्दुकको लडाइमा चक्कु ल्याउनु’ । अर्थात् कुनै तयारीबिना चुनौतीको सामना गर्न अघि सर्नु । तर अमेरिकामा भने एकजना निहत्था पहलवानले नै बन्दुकधारीलाई नियन्त्रणमा लिन सफल भएका छन् ।
अमेरिकामा टेक्सास राज्यको ह्युस्टन शहरस्थित एक सुसी रेष्टुरेन्टमा भोजन गरिरहेका युएफसीका पहलवान केभिन होल्याण्डले बन्दुकधारीलाई नियन्त्रणमा लिएका हुन् । अल्टिमेट फाइटिङ च्यालेन्ज युएफसीले अमेरिकामा मिक्स मार्शल आट्र्स खेलाउँछ ।
होल्याण्डले केपीआरसी टेलिभिजनलाई बताएअनुसार ‘रा सुसी रेष्टुरेन्ट’ मा भोजन गरिरहेका बेला एक्कासी केही पड्किएको जस्तो आवाज आएको थियो । ‘मलाई लाग्यो कसैले स्याम्पेनको बोतल उघारेको होला, किनकी त्यहाँ जन्मदिनको पार्टी आयोजना भइरहेको थियो ।’ उनले भने, ‘त्यसपछि थाहा पाएँ, त्यो त स्याम्पेन होइन रहेछ, फर्केर हेर्दा मानिसहरूको भागदौड देखेँ ।’
सोही ठाउँमा अर्को मानिसले बन्दुकधारीसँग बन्दुक खोस्न लागिरहेको देखेपछि आफू गएर सहयोग गरेको उनले बताए । ‘मैले उसको बन्दुक समातेर भुईँतिर तेर्स्याएँ । तर हामी त माथिल्लो तल्लामा थियौँ त्यसैले भुईँतिर बन्दुक तेर्स्याउनु हुन्न भनेर फेरि माथितिर तेर्स्याएँ ।’ उनले सुनाए ।
‘त्यसपछि बन्दुकधारीको नाडीमा हिर्काएर बन्दुक खोस्न सफल भएँ ।’ उनले भने । अनि बल्ल बन्दुकधारीलाई पछाडिबाट ङ्याकेर नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ ।
२९ वर्षे पहलवान होल्याण्डले हालसम्म युएफसीमा हालसम्म २२ खेलमा जीत र ७ खेलमा हार व्यहोरेका छन् ।
ह्युस्टन शहरको प्रहरीले भने साक्षीको पहिचान गोप्य राख्ने प्रावधानका कारण होल्याण्डको दाबी पुष्टि गरेको छैन । यद्यपि सोही सुसी रेष्टुरेन्टबाट २४ वर्षे संदिग्धलाई मानिसहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको भने पुष्टि गरेको छ ।
घटनामा कुनै मानवीय क्षति भने नभएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया