नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित) | Khabarhub Khabarhub

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)


४ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आसन्न स्थानीय तह चुनावको निर्वाचन कार्यक्रम स्वीकृत
निर्वाचन आयोगले आसन्न स्थानीय तह चुनावका लागि निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि मनोनयनपत्र दर्तादेखि मतदानसम्मको निर्वाचन कार्यक्रम स्वीकृत भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन कार्यक्रमअनुसार आगामी वैशाख ११ देखि १२ गतेसम्म उम्मेदवारको मनोनयपत्र दर्ता, वैशाख १२ गते मनोनयन दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय भएको छ । आगामी वैशाख १४ र १५ गते मनोनयपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम स्वीकृत भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा
विभिन्न संवैधानिक आयोगका पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ आज हेर्दाहेर्दैमा परेको छ । संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ बुधबार हुने गरी हेर्दाहेर्दैमा राखिएको हो । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताहरू भीमार्जुन आचार्य र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।बहसका लागि रीट निवेदन पक्षका कानुन व्यवसायीहरूलाई १–१ घण्टाको समय दिइएको छ ।

बहसमा सहभागी कानुन व्यवसायीहरूले संवैधानिक निकायहरूमा गरिएको नियुक्ति असंवैधानिक र सत्ताकब्जाको उद्देश्यबाट प्रेरित भएको आरोप लगाएका छन् । संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

केहिले राजनीतिलाई पेशा व्यवसाय बनाएकाले विश्वास घट्दै गयोः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केही दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् । आज काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरू नराम्ररी परााजित हुने पनि बताए ।

उनले अव राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरू काँग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नुहुँदैन भन्नेहरू आफ्नो पक्षमा रहने धारणा राखे । त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली विदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।

बैंकिङ र व्यावसायिक क्षेत्रमा समस्या व्यवस्थापन गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले बैंकिङ र व्यवसायीक क्षेत्रमा समस्या देखिएको भन्दै यस क्षेत्रको व्यवस्थापन गर्न चुनौती रहेको बताएका छन् । आज ललितपुर उद्योग वाणिज्य महासंघको ५५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको बैंकिङ र व्यावसायिक क्षेत्र सबै ढालेमाले भएको र समस्या पैदा भएको भन्दै यसको चुनौतीपूर्ण व्यवस्थापनका लागि सुझाव आवश्यक रहेको बताए ।

उनले अहिले आयातमा निकै बृद्धि भएको अन्तराष्ट्रिय क्षेत्रको हरेक बस्तुमा मूल्यवृद्धि हुनुले बैंकिङ र व्यावसायिक क्षेत्रमा असर परेको धारणा राखे । उनले आयात प्रतिस्थापन गर्नका लागि ठोस र मुर्त रूपमा क्षेत्रहरू निर्धारण गरेर नै काम गर्नुपर्ने उल्लेख गरे ।

मुलुकको परिवर्तनको महशुस गर्ने गरी सरकारले काम गर्छः मन्त्री श्रेष्ठ
भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले जनताले मुलुकको परिवर्तनको महशुस गर्ने गरी सरकारले काम गर्ने बताएका छन् । आज नापी कार्यालय भक्तपुरद्वारा मध्यपुर थिमिमा आयोजित लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताले परिवर्तनको वास्तविक महशुस गराउनका लागि सरकार र जनप्रतिनिधि इमान्दार हुनुपर्ने बताए ।

जनतालाई परिवर्तनको बोध अनुभूति हुने गरी विकास निर्माण र सेवा सुविधा प्रदान गर्ने कार्यमा सवै जनप्रतिनिधि लाग्नु पर्ने उनको भनाइ छ । उनले नापी र मालपोतका कर्मचारी भन्ने बित्तिकै जनताले मुख फर्काउने काम गरेको इमान्दार भएर जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई सुझाव दिए ।

कक्षा १२ को परीक्षा जेठ १६ देखि हुने
कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १६ गतेदेखि परीक्षा संचालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

अनलाइनबाट प्रश्नपत्र पठाएर तोकिएका परीक्षा केन्द्रमा नै परीक्षा संचालन गर्ने बोर्डको तयारी छ । गत दुई वर्ष कोभिडका कारण होमसेन्टरमा परीक्षा संचालन गरिएको थियो ।

जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न
मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन आज जनकपुरधाममा पञ्चकोषी (अन्तरगृह) परिक्रमा सम्पन्न भएको छ । अन्तरगृह परिक्रमामा लाखौँ श्रद्धालुहरूको सहभागिता रहेको थियो । अन्तरगृह परिक्रमा घुम्ने क्रम बिहीबार मध्यरातदेखि नै सुरु भएको थियो ।

परिक्रममा सहभागी श्रद्धालुहरूले सडकमै गरिब विपन्नलाई दान गरेका छन् । १५ दिने मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त एवं भक्तजनहरूको लावालस्कर हिजो साँझ जनकपुरधाम आइपुगेको थियो ।

राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजियोः विद्यासुुन्दर शाक्य
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको कार्यपालिका र नगरसभाले पारित गरेका योजना कार्यान्वयनमा राजनीतिक पूर्वाग्रहका आधारमा बाधा सिर्जना गर्न खोजेको गुनासो गरेका छन् ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै शाक्यले बसन्तपुर डबलीको पुनर्निर्माणलगायत अन्य योजना कार्यान्वयनमा केही जनप्रतिनिधिहरूले राजनीतिक पूर्वाग्रहका आधारमा नै नियोजित रूपमा अवरोध गर्ने गरेको गुनासो गरे । उनले आफ्नो कार्यकाल सफल भएको र महानगरका जनता खुशी रहेको पनि दाबी गरे ।

कडा कदम चाल्ने नेपाल निर्माण व्यवसायी संघको चेतावनी
नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावली २०६४ को ११ औँ संशोधन निर्माण व्यवसायीमैत्री नभए कडा कदम चाल्ने चेतावनी दिएको छ । महासंघले आज पत्रकार स्म्मेलनमार्फत २३ औँ साधारण सभाले पारित गरेको २२ बुँदे काठमाडौँ घोषणापत्र सार्वजनिक गर्दै उक्त संशोधनमा महासंघको सहमतिको खाका बमोजिम एवं निर्माण व्यवसाय मैत्री नभएको खण्डमा कडा भन्दा कडा कदम चालि आवश्यक कार्यक्रम तय गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन २०६३ को दोश्रो संशोधन सदनमा दर्ता रहेकोमा उक्त बिधेयकका थुप्रै दफाहरू निर्माण मैत्री नभएको र आवश्यक संशोधन गर्नुपर्ने बताए ।

चुनावमा जान विप्लवको प्रस्ताव
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठकमा स्थानीय चुनावलाई उपयोग गरेर जानुपर्ने प्रस्ताव पेस भएको छ । कपिलवस्तुको शिवगढीमा आज सुरु भएको बैठकमा महासचिव विप्लवले चुनाव उपयोग गरेर जानुपर्ने मतसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्ययनका लागि राजनीतिक प्रतिवेदन वितरण गरिएको र भोलिसम्म अध्ययन गरेर पुनः छलफल सुरु हुने एक केन्द्रीय सदस्यले जानकारी दिए । केन्द्रीय सदस्यहरूले प्रतिवेदन अध्ययन सुरु गरेका छन् ।

शिक्षक सेवाको परीक्षा दिन जाँदा परिचय खुल्ने प्रमाणपत्र साथमा हुनुपर्ने
शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको विभिन्न तहका शिक्षक पदको लागि परीक्षा दिन जाने व्यक्तिले प्रवेश पत्रसँगै परिचय खुल्ने प्रमाणपत्र लिएर जानु पर्ने भएको छ ।

आयोगले सूचना जारी गर्दै चैत १५, १७, १९ र २१ गते सञ्चालन हुने खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका उम्मेद्वारले प्रवेश परीक्षाको साथमा परिचय खुल्ने नागरिकता प्रमाणपत्र वा अध्यापन अनुमतिपत्र लिएर जान अनुरोध गरेको छ । आयोगले खुलातर्फ माध्यामिक तहमा एक हजार ४२, निम्न माध्यामिक तहमा एक हजार ९१३ र प्राथमिक तहमा नौ हजार ६०१ रिक्त दरबन्दीमा विज्ञापन खोलेको छ ।

घुस लिएर सवारी लाइसेन्स दिने ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मासहित ९ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

सवारी चालक अनुमति पत्रका लागि लिइएको परीक्षामा अनुत्तिर्ण भएका व्यक्तिलाई पनि लाइसेन्स दिएको आरोपमा शर्मासहित ९ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै गण्डकी प्रदेश पोखराका शाखा अधिकृत हरिप्रसाद गौतम, तत्कालीन समयमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र पोखरामा कार्यरत भरतराज काफ्ले विरुद्ध मुद्दा दायर गरिएको छ । यसैगरी प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बरालसमेत रहेका छन् ।

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको आदेश
तनहुँ जिल्ला अदालतले बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धानमा पल शाहलाई थप ५ दिन हिरासतमा राख्न आदेश दिएको छ । आज अदालतले पाँच दिनको समय दिएको तनहुँ जिल्ला प्रहरी प्रवक्ता युवराज खड्काले जानकारी दिए ।

यसअघि पहिलोपटक ८ दिन र दोस्रोपटक १२ दिनको समय दिइएको थियो । यसपटक दिइएको समयभित्र प्रहरीले सरकारी वकिल कार्यालयमार्फत अदालतमा अभियोग पत्र दर्ता गरिसक्नुपर्ने छ । तनहुँ अदालतबाट म्याद लिइरहेकै समयमा पू्र्वी नवलपरासी प्रहरीले पनि शाहविरुद्ध अनुसन्धान सकेर हिँजो अदालतमा मुद्धा दर्ता गरेको थियो । उनीविरुद्ध तनहुँ र पूर्वी नवलपरासी प्रहरीमा उजुरी दिएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ५१ जनामा कारोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ५ सय ९२ पीसीआर परिक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो । त्यस्तै आज ३ सय ९२ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

उपचार गर्न अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था तथा अस्पतालमा उपचारका लागि जाँदा अब पीसीआर परीक्षण गर्नु नपर्ने जनाएको छ । मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका र कोभिड–१९ को सङ्क्रमणको लक्षण नदेखिएका व्यक्तिले अस्पतालमा उपचारका लागि पिसिआर परीक्षण गराउनु नपर्ने जनाएको हो ।

यसअघि अस्पतालमा उपचारका लागि जाँदा पीसीआर परीक्षण अनिवार्य गर्नुपर्ने प्रावधान थियो । सरकारले पिसिआर परीक्षणको शुल्क आठ सय रूपैयाँ तोकेको छ । अस्पतालमा जाँदा खोप कार्ड भने अनिवार्य रूपमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।

गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि खुला गर्ने तयारी
विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । गद्दी बैठक पूर्णरूपमा खोल्ने तयारी पूरा गरेर केही दिनमै हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट यससम्बन्धी निर्णय गर्न लागिएको हो ।

गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनस्र्थापना एवं सशस्त्र द्वन्द्वकालका दस्तावेज र पृथ्वीनारायण शाहकालीन हातहतियार प्रदर्शनमा राखिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । सङ्ग्रहालय प्रवेशकै टिकटले विशेष प्रदर्शनी र गद्दी बैठकमा पनि जान दिने तयारी कार्यालयले गरेको छ ।

२१ गते भित्र हतियार बुझाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय धादिङले इजाजत प्राप्त हतियार चैत २१ गते भित्र प्रहरीलाई बुझाउन आग्रह गरेको छ । प्रशासनले सूचना जारी गर्दै वैशाख ३० गते हुने चुनावका लागि भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्थापना गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले इजाजत प्राप्त हतियार नजिकैको प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको हो ।

मकवानपुरमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–६ भुलचोकस्थित सडकमा याुत्रबाहक बस आज बिहान दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा बसका सहचालक नुवाकोट तार्केश्वर गाउँपालिका–४ बस्ने २२ वर्षीय सुभाष श्रेष्ठ र सोही ठाउँ बस्ने २९ वर्षीय शम्भु दराई रहेका छन् । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । उनिहरूको चितवनको भरतपुरमा उपचार भैरहेको छ ।

यसैबीच, कास्कीको माछापुच्छ«े गाउँपालिका–८ घलेलमा आज स्करपियो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सोही गाउँपालिकाको अस्ताम निवासी ४६ वर्षीय बलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कैलालीमा होलीको दिन मोटरसाइकल दुर्घटना, २ युवकको मृत्यु
कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । आज टीकापुर नगरपालिका ४ असनेरीमा दुइ मोटरसाइकल एकआपसमा ठोक्किदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा १७ वर्षीय अन्जील कार्की र प्रजापती चौधरीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । यस्तै अर्का दिवस चौधरी घाइते भएको बताइएको छ ।

मलामी गएका एक जनाको डुबेर मृत्यु
अछाममा मलामी गएका एक जनाको खोलामा डुबेर मृत्यु भएको छ । जिल्लाको मङ्गलसेन नगरपालिका वडा नम्बर ३ लाछिमनाका करिब २८ वर्षका मीन बहादुर ढोलीको खोलामा डुबेर मृत्यु भएको हो । अस्तु सेलाउने क्रममा एक्कासि चिप्लिन गई ढोलीको मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले जानकारी दिए ।

एडीबीलाई परियोजनाका काम तत्काल अघि बढाउन मन्त्री झाँक्रीको आग्रह
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एसियाली विकास बैंक (एडीबी) लाई आयोजनाहरूको काम अघि बढाउन आग्रह गरेकी छन् ।

आज मन्त्रालयमा एडीबी प्रतिनिधिसँगको छलफलमा मन्त्री झाँक्रीले एडीबीको सहयोगमा बनाइने आयोजना द्रुत गतिमा अघि बढाउनुपर्ने बताइन् उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहेपनि सीमित स्रोत साधनबाट काम गरिरहेको बताइन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  १० : १० बजे

दशहरा मेलामा रावण बध गरिँदै

खजुरा – नेपालगन्जको रामलीला मैदानमा विजयादशमीको घटस्थापनादेखि सुरु भएको रामलिला

दसैँको दिन बेपत्ता छोराको बाटो हेर्दै गुरुङ दम्पती

नवलपुर– आज बडादसैँको टीकाको दिन । गाउँलेहरू हर्षोल्लासका साथ दसैँ

बाला त्रिपुरासुन्दरीको पूजापछि मात्र त्रिपुराकोटमा दसैँको टीका

काँक्रेविहार – डोल्पाको त्रिपुराकोटमा दसैँको टीका जमरा आफ्नै साइतमा लगाउने

मुख्यमन्त्री कार्कीद्वारा आमाको हातबाट टीका ग्रहण

 मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ९० वर्षीया आमा

दशैँको उल्लासमा छोपिन्छ घरेलु हिंसा, कसरी रोक्ने ?

काठमाडौं – यतिखेर नेपालीहरूको सबैभन्दा ठूलो पर्व दशैँको नवरात्र चलिरहेको