अडियो सुन्नुहोस्ः
सिट बाँडफाँटका लागि बसेको गठबन्धन बैठक दोस्रोपटक पनि निष्कर्षविहीन
महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटका लागि सोमबार दोस्रोपटक बसेको सत्ता गठबन्धनको बैठक भागबण्डा टुंगो नलगाई स्थगित भएको छ । आज साँझ बालुवाटारमा बसेको बैठकमा प्रस्तावित सिट बाँडफाँटको मस्यौदामाथि छलफल भए पनि कतिपय पालिकाको विषयमा दलहरूको आ आफ्नै दाबी रहेको कारण सहमति नभएको हो । बैठक भोलि बिहान फेरि बस्नेगरी स्थगित भएको माओवादी अध्यक्ष दाहालका स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य रमेश मल्लले जानकारी दिए । यसअघि आइतबार बेलुकी ६ महानगर र ११ उपमहानगरमा हुने सम्भावित शक्ति बाँडफाँटको खाका बनेको थियो ।
चुनाव सार्ने षड्यन्त्र भए एमालेले आँधिबेहरी ल्याउँछः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले स्थानीय तहको निर्वाचन सारे देशभर आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् । आज सोलुखुम्बुमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पाँचदलीय गठबन्धन विप्लवलाई देखाएर आफ्नो स्वार्थको लागि निर्वाचन रोक्ने खेलमा लागेको आरोप लगाए । विप्लव हिंसाबाट पार नलाग्ने देखेपछि शान्तिपूर्ण राजनीतिमा आएको समेत बताए । निर्वाचन नरोक्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आफूले सन्देश पठाएको समेत उनको भनाई छ । वैशाख ३० मा निर्वाचन नभए एमाले मौन नबस्ने चेतावनी पनि दिए ।
स्थानीय तहको निर्वाचन कुनै हालतमा सर्दैनः प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने स्पष्ट पारेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहालले देश निर्वाचन प्रक्रियामा होमिसकेको भन्दै वैशाख ३० गते नै निर्वाचन हुने बताए । त्यस्तै उनले तोकिएको समयमा नै निर्वाचन गर्न गठबन्धन दृढ रहेको भन्दै नेपालमा चुनावकै दिन बिहान पनि निर्वाचन सर्छ भन्ने हल्ला चल्ने गरेको जिकिर गरे । दाहालले चुनावी तालमेलमा गठबन्धन दलबीच सहमति हुने भन्दै सहमति नभए एक्लै चुनाव लड्न आफू तयार रहेको धारणा राखेका छन् ।
निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४६ जिल्लाको मतपत्र छपाइ भइसकेको जनाएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ४६ जिल्लाका लागि मतपत्र ९५ लाख थान मतपत्र छपाई भइरहेको जानकारी दिए । उनले स्थानीय तह निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भन्ने समाचार र सूचनाका आधारमा आयोगले विभिन्न राजनीतिक दल र सम्बन्धित नेतालाई स्पष्टीकरण सोधिएको र जवाफ आउनेक्रममा रहेको बताए । प्रवक्ता पौडेलले विदेशी दातृ संस्थाबाट निर्वाचन प्रयोजनका लागि सहयोग प्राप्त नभएकाले सरकारले उपलब्ध गराएको बजेटबाटै निर्वाचन सामाग्रीहरू खरिद गरिएको जानकारी दिए ।
देशको नयाँ विकल्प राप्रपा भएको अध्यक्ष लिङ्देनको दाबी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरू जनताबाटै धेरै टाढा भइसकेको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले ठूला राजनीतिक पार्टी भन्नेहरूबाट देशको सुधार र विकास सम्भव नभएको समेत बताए । उनले ठूला दलहरू असफल भइसकेको अवस्थामा देशको नयाँ विकल्प राप्रपा भएको दावी गरे । पछिल्लो समय आम जनतामा राप्रपा प्रति नयाँ आशा र विश्वास बढ्दै गएका उनको भनाई छ ।
कांग्रेसका कुनै नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा छैनन्ः कांग्रेस नेता थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा कांग्रेसका कुनै नेता कार्यकर्ता चुनावी तालमेलको पक्षमा नरहेको बताएका छन् । कांग्रेस क्षेत्र नम्बर ४ प्रदेश क क्षेत्रीय कार्यसमितिले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा थापाले निर्वाचनमा तालमेल गर्न नहुने विषय आफूले पहिलेदेखि नै उठाउँदै आएको र कांग्रेस कार्यकर्ताहरू पनि तालमेलको पक्षमा नरहेको बताए । उनले आफूले पछिल्ला दिनहरूमा ५० भन्दा बढी जिल्लाका कांग्रेस नेता कार्यकर्तासँग रायसुझाव लिँदा तालमेल गर्न नहुने कुरा आएको जिकिर गरे । थापाले जित्नकै लागि भनेर तालमेल गर्नु बेठीक हुने धारणा पनि राखे ।
निलम्बित गभर्नर अधिकारीद्वारा सरकारविरुद्ध दायर रिट सर्वोच्चमा दर्ता
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । रिट दर्तासँगै रिटको पेसी पनि भोलिका लागि तोकिएको छ । हिजो अधिकारीले अदालतमा पेस गरेको रिट निवेदन आज दर्ता भएको हो ।सरकारले गैरकानुनी तवरबाट आफूलाई कारबाही गरेको अधिकारीको आरोप छ । गत चैत २४ गते बसेको मन्त्री परिषदको बैठकले सरकारलाई सहयोग नगरेको, गोप्य सूचनाहरु चुहावट गरेकोलगायत आरोप लगाएर अधिकारीलाई निलम्बित गरेको थियो ।
विवादास्पद फैसला गर्ने अछामका न्यायाधीश तानिए सर्वोच्च
प्रधानन्यायाधीश दीपककुमार कार्कीले बलात्कार पीडित महिलालाई साढे तीन वर्ष कैद सजायको फैसला गर्ने अछामका न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा काजमा सरुवा गरेका छन् । दबाब र प्रभावमा पारेर बयान फेर्न बाध्य पारिएकी महिलालाई सजाय गर्ने तर अभियुक्तलाई सफाइ दिने विवादास्पद फैसला गरेका जोशीमाथि न्याय परिषद्ले पनि छानबिन गरिरहेको छ । गत चैत १३ मा हुँदै नभएको कानुनी व्यवस्थालाई उद्धृत गर्दै पीडित महिलालाई प्रतिरक्षाको मौकासमेत नदिई कैद सजाय हुने फैसला गरेको थियो । त्यसविरुद्ध महिलाले दिपायल उच्च अदालतमा पुनरावेदनको निवेदन दिने तयारी गरेकी छन् ।
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कर्मचारी आन्दोलनमा
शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सेवा सर्त र सुविधा सम्बन्धी नियमावली २०५८ को छैठौं संशोधन प्रक्रिया नटुङ्गिएको भन्दै कर्मचारीहरूले विरोधस्वरूप कालो पट्टी बाँधेर आज विरोध जनाएका हुन् । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र कर्मचारी संघका अध्यक्ष आत्माराम तिमल्सिनाले छैटौँ संशोधन प्रक्रिया नटुङ्गिदा कर्मचारीहरूको वृत्ति विकास र बढुवा हुन नसकेको भन्दै आन्दोलनमा उत्रिनुपरेको बताए । विरोध स्वरुप उनीहरूले हातमा कालो पट्टी बाँध्ने कार्यक्रमसहित पाँच बुँदे आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो
भक्तपुरमा आठरात नौ दिनसम्म मनाइने बिस्केट जात्राको अन्तिम दिन आज स्थानीय कुमाले टोलमा हात नभएको लिङ्गो ढालिएको छ । प्रत्येक वर्ष चैत मसान्तका दिन बिहान तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी कुमाले टोलमा उभ्याइएको सो लिङ्गो आज विधिपूर्वक रूपमा पूजाअर्चना गरेर ढालिएको हो । बिस्केटामा उठाइने लिङ्गो हेर्नाले शत्रु नाश हुने र बैभव प्राप्त हुने जनविश्वस रहेको जानकारहरूको भनाइ छ । बिस्केट जात्रा भित्रको महत्वपूर्ण जात्रा लिङ्गो उठाउने जात्रा भएकाले विधिपूर्वक पूजापाठ गरी लिङ्गो ढालिएको जनाइएको छ ।
पछिल्लो २४ नेपालमा १० जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ नेपालमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ६ सय पीसीआर परीक्षणका क्रममा ९ जना र १ हजार ९१ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप ३४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ३ सय ७३ जना निको भएका छन् । हाल नेपालमा ३ सय ५० सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने सरकारको लक्ष्य
सरकारले यस वर्ष ७ वटा जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य लिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले यसका लागि अहिले तयारी गरिरहेको जनाएको हो । हालसम्म ५७ जिल्ला साक्षर घोषणा भइसकेका विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले बताए । यस वर्षभित्र लुम्बिनी प्रदेशको कपिलवस्तु, बाँके, सुदूरपश्चिम प्रदेशको बाजुरा, डोटी, बझाङ, कैलाली र कञ्चनपुर गरी ७ जिल्ला साक्षर घोषणा गर्ने लक्ष्य रहेको उनले बताए । सोलुखुम्बु जिल्लाका सबै स्थानीय तहमा साक्षर घोषणा तयारी भइसके पनि औपचारिक रुपमा भने गर्न बाँकी रहेको विकास केन्द्रले जनाएको छ ।
बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाइने
सरकारले दुई दिन बालबालिकालाई ‘भिटामिन ए’ र जुकाको औषधि खुवाउने भएको छ । भोलि र पर्सि देशव्यापी रूपमा राष्ट्रिय ‘भिटामिन ए’ कार्यक्रम सञ्चालन हुन लागेको हो । ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई ‘भिटामिन ए’ र १२ देखि ५९ महिना उमेरसमूहका बालबालिकालाई ‘भिटामिन ए’ साथै जुकाको औषधिसमेत खुवाइन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशव्यापी रूपमा सञ्चालन हुने अभियानमा सो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा गई जनस्वास्थ्य मापदण्डको पूर्ण पालना गरी ‘भिटामिन ए’ र जुकाको औषधी खुवाउन जनस्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
विमानस्थलबाट १० लाख मूल्य बराबरको सामानसहित एक जना पक्राउ
प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्यापटपसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलारी गाउँपालिका–८ घर भएका भागदेव कठरिया थारु रहेका छन् । जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट आज पक्राउ गरेको हो । प्रहरीले भागदेवले ल्याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्याक्स र आइफोन ११ प्रो म्याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्य बराबरको सामान बरामद गरेको छ ।
भिसा शुल्क भुक्तानी गर्न २ सय डलर बोक्नुपर्ने प्रावधान खारेज
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आगमन गर्ने विदेशी नागरिकका लागि अनअराइभल भिसा शुल्क वापत भुक्तानी गर्न २ सय अमेरिकी डलर साथमा लिएर आउनु पर्ने प्रावधान खारेज गरेको छ । विमानस्थल अध्यागमनमा राखिएका बैंकका एटीएममा बारम्बार समस्या आएको र भिसा वापत रकम भुक्तानीमा समय लागेको कारण देखाउँदै विमानस्थल अध्यागमन कार्यालयले शुक्रबारबाट विदेशी नागरिक विमानस्थलबाटै अनअराइभल भिसा लिने गरी आउँदा २ सय डलर साथमै बोक्नुपर्ने प्रावधान ल्याएको थियो । त्यसप्रति चौतर्फी आलोचना भएपछि गृह मन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयबाट भएको निर्णय खारेज गर्दै पहिलेकै सेवा छिटो र चुस्त बनाउन निर्देशन दिएको हो ।
६६ करोडको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा तीन पक्राउ
पछिल्लो दुई बर्षमै ६६ करोड ७९ लाख रुपैँयाको प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको भन्दै प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले २२ वर्षीय अनुप मिश्र, २४ वर्षीय दिपेश थापा र २७ वर्षीय राहुल चचानलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार अनुप मिश्रले सन् २०२१ देखि कारोबार गरेको र उनी एक्लैले यो अवधीमा ३५ करोड ४६ लाख रुपैयाँभन्दा धेरैको कारोबार गरेको जनाएको छ । पक्राउ परेका दिपेश थापाले पनि सन् २०२१ देखि नै क्रिप्टोकरेन्सीको कारोबार गरेको र उनले २४ करोड ७९ लाख भन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको जनाएको छ । पक्राउ परेका अर्का राहुल चाचानले भने पछिल्लो एक वर्षदेखि क्रिप्टोकरेनसीको कारोबार गरेको र उनले ६ करोड ५३ लाखभन्दा धेरैको कारोबार गरेको अनुसन्धानमा देखिएको छ ।
पृथ्वी शाहको बैंक खाता फुकुवा गर्न सर्वोच्चद्वारा अस्वीकार
पृथ्वी शाहको कारोबार शंकास्पद देखिएपछि बैंक खाता सञ्चालनमा लगाइएको रोकविरुद्ध उनले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत खाता फुकुवा गर्न अस्वीकार गरेको छ । न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार चुडालको इजलासले वर्ल्ड एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिको प्रभु बैंकमा रहेका खातामा अमेरिकाबाट आएको चार करोड ८० लाख रुपैयाँ फुकुवाका लागि शाहले गत साउन १२ मा दिएको निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा शाह, उनका नातेदार र कम्पनीको नाममा रहेको खाता रोक्का राखेर अनुसन्धान थालेको थियो ।
आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णय कार्यान्वयनमा
सरकारले आजबाट २० प्रतिशत इन्धन खर्च कटौती गर्ने निर्णयलाई कार्यन्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयले आज सूचना जारी गर्दै विभिन्न मन्त्रालय/निकाय तथा सरकारसँग सम्वद्ध सार्वजनिक संघ संस्थाले बाँकी बजेटको २० प्रतिशतले कटौती गर्ने जनाएको छ । यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आसन्न स्थानीय निर्वाचन प्रयोजनका लागि भने लागु नहुने अर्थ मन्त्रालयले जनाएको छ । अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत वक्तव्यको बुंदा नं. १५ मा प्रशासनिक र इन्धन खर्चमा १० प्रतिशतले कटौती गर्ने उल्लेख छ ।
शेयर बजार नेप्से परिसूचकमा आज दोहोरो अकंल गिरावट
शेयर बजार नेप्से परिसूचक आज दोहोरो अकंले घटेको छ । नेप्से आज ४१ दशमलव ७७ अकंले घटेर २ हजार ३ सय ४३ दशमलव ८७ बिन्दुमा पुगेको हो । आज कुल ३८ लाख ७६ हजार ३ सय २ कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९ सय ५६ रुपैयाँमा कारोबार भएको छ । आज सबै उपसमूहका शेयर ओरालो लागेको छ । आज नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढ्दा दिव्यश्वरी हाइड्रोको करिब ८ प्रतिशत बढेको छ ।
अवैद्य लागूऔषधसहित एक जनालाई पक्राउ
प्रहरीले अवैद्य लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–उपमहानगरपालिका १६ घर भई नरेफाँट बस्ने २६ वर्षीय कविर लामा रहेका छन् । प्रहरीले उनको साथबाट ५० एमजीको ४२ हजार ५०० थान ट्रामाडोल हाइड्रोक्लोराइड क्यापसुल र ५० एमजीकै १० हजार थान ट्रामाडेक्स हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरेको हो । उपत्यकाका विभिन्न स्थानहरुमा लुकाई छिपाइ विक्रिभइरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको नरेफाँटबाट पक्राउ गरेको हो ।
प्रतिक्रिया