म्याग्दीको ऐतिहासिक कोतघरको पुनःनिर्माण सम्पन्न « Khabarhub

म्याग्दीको ऐतिहासिक कोतघरको पुनःनिर्माण सम्पन्न


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक कोतघरको पुनःनिर्माण भएको छ ।

बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा सोह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण बनेको थियो । बेनी नगरपालिका र विभिन्न दाताको सहयोगमा कोतघर पुनःनिर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अनोद श्रेष्ठले बताए ।

पुनःनिर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७८-७९ मा रु आठ लाख विनियोजन गरेको थियो । नगरपालिकाको अनुदानको अतिरिक्त कोतघरमा केही सामग्री दाताले पनि सहयोग गरेका छन् । ‘छानो चुहिने, भुइँमा पानी जम्ने र पर्खाल चिरा पर्न थालेको थियो’, उनले भने, ‘पुरानो स्वरुप कायम रहने गरी संरचना बनाएका छौँ ।’ गत फागुनको तेस्रो हप्तादेखि कोतघरको पुरानो छाना र पर्खाल भत्काएर नयाँ निर्माण थालिएको थियो ।

छानोमा तीनवटा गजुर राखिएको कोतघरको झ्याल, ढोका र टुडाल कलात्मक शैलीका छन् । भक्तपुरबाट इँटा, काठ र मजदुर ल्याएर कोतघर बनाएको उपभोक्ता समितिका अध्यक्ष श्रेष्ठले बताए । कोतघर वरपर घुम्न मिल्ने र बत्ती बाल्ने ठाउँ बनाइएको छ ।

विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनी थियो । तत्कालीन पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेका थिए । ऐतिहासिक महत्वका तोप, खुकुरी, तरबारलगायतका हतियार भएको कोतघर परिसरमा तत्कालीन राज्य सञ्चालकले धातुका सिक्का बनाउने टक्सार बनाएका थिए । पौराणिक महत्व, मौलिकता र इतिहास ननासिने गरेर कोतघर पुनःनिर्माण भएको बेनी नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष रामकृष्ण बराइलीले बताए ।

‘ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षण गरिएको हो’, उनले भने, ‘रु पाँच लाख बजेटबाट पहिलो चरणमा कोतघर परिसरको सार्वजनिक जग्गालाई व्यवस्थित र संरक्षण गर्न पूर्वाधार निर्माण भएको छ ।’

सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा पेभर इटा राखेर आकर्षक बनाइएको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ । साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी भएको छ ।

यस कोतघरमा बडादसैँ र चैतेदसैँमा पूजाआजा तथा बलि चढाउने गरिन्छ । कोतघरलाई बेनीमा भित्रने पर्यटकका लागि आकर्षक गन्तव्य बनाउन पहल गर्ने बेनपा–८ का अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए। म्याग्दी र मुस्ताङ घुम्न आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : १० बजे

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको तीन लाख नाघ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ

हात्तीपाइलेविरुद्धको दशदिने औषधि सेवन अभियान

खजुरा– जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सुरु भएको

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन