कांग्रेसमा गगनले देउवाको पासा पल्टाउन सक्लान् ? | Khabarhub Khabarhub

कांग्रेसमा गगनले देउवाको पासा पल्टाउन सक्लान् ?

चुनावपछि प्रधानमन्त्रीको उम्मेद्वार बन्न कति सम्भव छ ?



नेपाली कांग्रेसका ‘सेलिब्रटी’ महामन्त्री गगन थापाले जारी केन्द्रीय समिति बैठकमा शनिबार भने, ‘म पार्टीको कार्यशैली हेर्दा सन्तुष्ट छैन। अब आफ्नै पार्टीको सरकारको बचाऊ गर्न सक्ने अवस्था रहेन।’

उनले थपेका थिए, ‘हिजो केपी ओलीलाई सरकार कसरी चलाउनु पर्छ ? भनेर प्रश्न गरेकोमा आज कांग्रेसको सरकार पनि त्यही बाटोमा हिँडेको छ। पार्टीमा केही व्यक्तिले सभापति देउवालाई खुसी बनाउन लागे पनि त्यसले पार्टीको हित हुँदैन।’

उनले देउवालाई प्रश्नको वर्षा गर्दै थप अगाडि भने, ‘सभापतिज्यू हामी पनि निर्वाचित भएका हौँ। हाम्रो अवमूल्यन नगर्नुहोस्, उनले एक कार्यक्रममा भनेका थिए।’

१४ औँ महाधिवेशनमा सभापतिमा पराजित शेखर कोइराला गुटमा रहेका उनले यसअघि गुटगत बैठकमा पनि सभापतिविरुद्ध सरकार सञ्चालनमा भ्रष्टाचार गरेको र पार्टीलाई पनि विधिसम्वत चलाउन नसकेको भन्दै गम्भीर आरोप लगाएका थिए।

यसैगरी अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि सभापति देउवाको चर्को आलोचना गरेका छन्। गगन र शेखर समर्थकले बैठक जारी रहेको बखत सानेपामा प्रदर्शन पनि गरे। सभापति देउवाको कटु आलोचना गर्नेमा अहिले शेखर गुट छ।

अर्का महामन्त्री विश्वप्रकाश शर्मा, बिमिलेन्द्र निधि, विजयकुमार गच्छदार लगायतका नेता पनि रहेका छन्। एक समय देउवाको कटु आलोचकको परिचय बोकेका वरिष्ठ नेता रामचन्द्र पौडेल भने देउवासँग् लुपुक्क बनेको देखिन्छ।

प्रधानमन्त्री बनेपछि सरकार संचालनमा पनि असफल बनेको, मन्त्रीले भ्रष्टाचार गर्दा पनि चुप लागेको, संस्थागत भ्रष्टाचार मौलाएको, पार्टीलाई विधिसम्मत चलाउन नसकेको, भातृसंगठनलाई पूर्णता दिन नसकेको लगायतका गतिविधिका कारण सभापति देउवाको कटु आलोचना भइरहेको छ। यसले कांग्रेसभित्रको आन्तरिक विवाद फेरि चुलिएको हो। देउवाको सबैभन्दा आलोचना गर्नेमा महामन्त्री गगन थापा अग्रपंक्तिमा छन्।

नेपाली कांग्रेसको राजधानीमा सम्पन्न १४ औं महाधिवेशनमा सर्वाधिक लोकप्रिय मतसहित महामन्त्रीमा विजयी बनेका नेता हुन्, गगन थापा। उसो त उनले त्यसअघि सम्पन्न पार्टीको चुनावमा पनि केन्द्रीय सदस्य पदमा विजयी हुँदा सर्वाधिक मत हासिल गरेका थिए।

पहिलो चुनावबाट केन्द्रीय सदस्य जितेपछि नेतृत्वमाथि आलोचना र भण्डाफोर गर्न उनको भूमिका कम भएन। तर, महामन्त्री बनेपछि भने केही समय थापा नेतृत्वमाथि आलोचक भएनन्। मौन रहे।

त्यसलगत्तै पार्टीले सरकारको नेतृत गर्ने अवसर पायो। सभापति देउवा प्रधानमन्त्री बनेपछि खासगरी गगन थापाले देउवाको त्यति आलोचना गरेनन्। केन्द्रीय समिति बैठक अघिसम्म उनी सभापतिविरुद्ध खासै बोलेका थिएनन्।

कुनै समय त उनी शेखरको गुटको भेलामा पनि सहभागी भएनन्। आगामी चुनावपछि प्रधानमन्त्री दाबी गर्ने भनेर उनले नेतृत्वसँग त्यो प्रकारको बार्गेनिङको आन्तरिक तयारी गरेका थिए।

उनको प्रधानमन्त्री दाबीलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छन्। यसपछि उनी थप हौसिएका थिए। तर, केन्द्रीय समितिमा खरो रुपमा नेतृत्वविरुद्ध लागेपछि थापा फेरि चर्चाको पात्र बनेका छन्।

नेविसंघको महामन्त्री बन्दै राजनीतिमा उदाएका थापा त्यतिखेरबाट बढी चर्चामा आए जतिखेर उनले गणतन्त्रको पक्षमा चर्को भाषण गरे। पार्टी संवैधनिक राजतन्त्रको पक्षमा रहेको बखत उनले गणतन्त्रको पक्षमा गरेको भाषणले उनी चर्चाको शिखरमा पुगे।

संविधान सभा चुनावमा प्रचण्डलाई आफूलाई हराउने लगायतका यस्तैयस्तै भाषणबाट उनी चर्चाको शिखरमा रहे। आफ्ना कुरा राख्ने क्रममा नेतृत्वलाई गाली गर्नबाट उनी कहिल्यैपछि हटेनन्।

विद्यार्थी राजनीतिमा नेविसंघको नेता हुँदा विद्यालय र विश्व विद्यालयमा चर्को भाषण गरेपछि उनी थप चर्चामा आएका हुन्। वि.सं. २०६४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट संविधान सभा प्रवेश गरेपछि त उनले भाषणबाटै सदन नै थर्काउन थाले।

आम नागरिकमाझ उनी थप लोकप्रिय बने। संसदमा होओस् वा सडकमा उनले गरेको भाषण निष्प्रभावी कहिल्यै भएन। पार्टीमा थिति भएन भनेर उनले धेरै पटक भाषण गरे।

भाषण गर्ने अब्बलतर्क र उदाहरण थापाको मुख्य विशेषता हो। यही विशेषताको कारण उनका हर भनाइहरु भाइरल हुन्छन्। तर, उनले जति भाषण गरे पनि पार्टीभित्र भने अराजक नेताको रुपमा चिनिन्छन्। उनका आजसम्मको भाषणले पार्टीमा न थिति बस्न सकेको छ न त उनको भनाइलाई नेतृत्वले स्थान दिन्छ। उनी नेतृत्वमा सधैँ कमजोर भए।

उनी पार्टीमा भिजन दिन खोज्छन्। तर, सबै गफमा सीमिति हुन्छन्। कुरा धेरै गर्ने तर काम नगर्ने नेताको रुपमा उनलाई पार्टीभित्र हेर्ने गरिन्छ। संविधानसभाले संविधान जारी गर्ने तयारी गर्ने बेलासम्म कांग्रेसभित्र प्रत्यक्ष कार्यकारीको वकालत गरिरहेका थिए उनले। तर, अझैसम्म पार्टीले यस कुरालाई स्वीकार गर्न सकेको छैन।

महामन्त्री भए पनि उनी पार्टीमा अहिले निरीह जस्ता छन्। कार्यकर्ता र सर्वसाधारणबीच उनी जति चर्चित र प्रभावशाली जति छन् पार्टीभित्र उत्तिकै कमजोर पनि छन्। महामन्त्रीपछिको समयको मूल्यांकन गर्दा यो प्रष्ट हुन्छ। सभापति देउवाले जे–जे निर्णय गर्छन् तिनैलाई स्वीकार गर्नु परेको छ। सभापतिको आलोचना गर्ने निर्वाचित दुई दुई सेलिब्रटी महामन्त्रीले कुनै प्रभाव जमाउन सक्ने गरेको देखिँदैन।

कांग्रेग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले गगनको बोल्ने बानी हो। उनी बोलिरहन्छन् भन्दै कटाक्ष गरे। उनले भने ‘गगनजीको बोलीको कुनै तुक छैन। हिजो पनि उनी बोलेरै चर्चामा आएका नेता हुनुहुन्छ। आज पनि उहाँ बोलिरहनु भएको छ। पार्टीको असन्तुष्टि राख्ने ठाउँ हुन्छ। उहाँले त्यो चिन्नु हुँदैन। जहाँ पायो त्यहाँ नेतृत्वको आलोचना गर्ने बानीले पार्टीभित्र उहाँको भनाइको कुनै अर्थ हुँदैन।’

‘सेलिब्रटी बन्ने गगन र विश्वप्रकाशको बानीले उहाँहरुलाई नै हानी गरिरहेको छ। उहाँहरुका फाल्तु भाषणले पार्टीलाई पनि नकारात्मक असर गरिरहेको छ। अहिलेको केन्द्रीय समितिमा उहाँहरुले हिजोकै आफ्नो बानी प्रस्तुत गर्नु भएको हो। उहाँहरुले भनेजस्तो पार्टीमा वेथिति छैन। केही कमजोरी होलान् तर पार्टी र सरकारका धेरै काम राम्रा छन्’, उनले थपे। थापा सेलिब्रटी बन्न खोजेर पदीय मर्यादा बिर्सिएको उनले बताए।

सभापतिविरुद्ध गरिएको चर्को आलोचनाको पछाडि गगनको स्वार्थ लुकेको वस्नेतले बताए। ‘गगनलाई फेरि मन्त्री चाहिएको छ। मन्त्री पदको लागि उनको यो चर्को भाषण हो। पार्टीको हितको लागि होइन। कहिले सभापतिको पक्षमा हुन्छन् कहिले आलोचना गरेर थाक्दैनन्। यहीँबाट थाहा हुन्छ उनको द्वैध चरित्र,’ उनले थपे।

सभापति देउवाले उनको भाषण र तर्कलाई कहिल्यै महत्त्व दिन्नन्। सभापतिले उनलाई पेलेर जान्छन्। लगातार दुई कार्यकाल ग्रहण गरेका सभापति देउवाले जे चाहान्छन्, त्यही हुन्छ। देउवाको पछिल्ला कार्यकालमा त्यो देखिन्छ। अहिले पनि देउवाले उसैगरी पदाधिकारी र केन्द्रीय समितिलाई पेलेर अघि बढिरहेका छन्।

आफ्नो चर्को आलोचना भएपछि देउवाले जारी केन्द्रीय समिति बैठकमा भनेका थिए ‘बढी बोल्नुभयो भने विधान संशोधन गरेर फेरि सभापति बन्छु।’ देउवाको यो भनाइको कसैले प्रतिवाद गर्न सकेनन्। इभन महामन्त्री थापा पनि मौन रहे। ‘बाहिर जति चर्को बोले पनि देउवाको अगाडि महामन्त्री गगन थापा कुकुरले पुच्छर लुकाएजस्तो लुत्रुक्क पर्छन्। थरथरी काँप्छन’, एक नेताले भने।

देउवाका कटु आलोचक चन्द्र भण्डारीले कांग्रेस लोकतान्त्रिक प्रजातान्त्रिक पार्टी भए पनि अझै प्रजातन्त्र संस्थागत हुन नसकेको बताउँछन्। सदस्यले बोल्न त पाउँछन्। तर, अन्तिममा बाध्यतावस सभापति देउवाले जे निर्णय गर्छन्। त्यो मान्ने पर्ने बाध्यतामा पदाधिकारी र अरु नेता छन्। पार्टीमा देउवाको त्यति पकड छ। वरिष्ठ नेता रामचन्द्र पौडेल उनको पक्षमा लागेपछि सभापति देउवा थप शक्तिशाली बनेका छन्, भण्डारीले भने। तर, यसविरुद्ध आवाज उठाउन जरुरी रहेको उनको भनाइ छ।

पार्टीभित्र चाँडोचाँडो सफलताको खुड्किलो उक्लन खोज्ने थापाको ठूलो महत्वाकांक्षा छ। यो पनि उनको प्रमुख कमजोरी हो। त्यसैले सस्तो लोप्रियताको लागि उनले नेतृत्वको बढी आलोचना गर्छन्।

पार्टीमा विधि र थिति खोज्ने थापाको भनाइ र गराइमा फरकपन छ। कतिपय खराब गतिविधिका कारण उनी आलोचनामा पर्दछन्।

प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके कुमार घैंटेको इन्काउन्टरको विरोधमा मानव अधिकारको कुरा उठाउने, बाख्रा फर्मको नाममा करोडौँ रुपैयाँ घोटाला गरेको, स्वास्थ्यमन्त्री हुँदा चलखेल गरेको लगायतका आरोप उनीमाथि छन्। बाहिर आलोचना गरेजस्तो गर्ने नेता कार्यकर्र्तालाई गुम्राहामा राखेर चोँचोमोचो मिलाउने उनको अर्को कमजोरी हो।

जसले गर्दा पार्टीमा उनी कमजोर छन्। पार्टीमा पुस्तान्तरण खोज्ने उनले सबै युवालाई एक ठाउँ संगठित गर्न सकेको पनि देखिँदैन। उनी लोकप्रिय मतसहित महामन्त्रीमा विजयी भए पनि कांग्रेसका युवा नेता नै फरकफरक गुटमा छन्। कित्तामा उभिएका छन्। गगन थापाको पूर्ण भरोसा छैन युवालाई यस्तै कमजोरीको कारण थापा महामन्त्री भएर पनि कमजोर छन्।

निर्वाचनबाट सर्वाधिक मतसहित महामन्त्रीमा विजयी भएपछि त नेतृत्वविरुद्ध हस्तक्षेपकारी भूमिका खेल्न सक्नु पर्ने दायित्व थापा र शर्मा दुवैलाई छ। सभापति देउवाको एकलौटी र मनोमानी हुँदा पनि कडा ढंगबाट प्रतिवाद र भण्डाफोर गर्न प्रयासरत मात्रै छन्। यद्यपि पछिल्लो समय उनीहरुले कडा शब्दमा चेतावनी दिँदै आएका छन्। त्यसबाट देउवा झस्केका पनि छन्।

सरकार भ्रष्टाचारको चङ्गुलमा फस्दासमेत उनीहरुले खासै आवाज उठाउन सकेनन्। रमिते बने। देउवाले गलत तवरले सरकार चलाएको हो भने कडा तवरले उनीहरुले प्रतिवाद गर्न सक्थे तर सरकारका गलत कामलाई उनीहरुले टुलुटुलु हेरेर बसिरहे। यसो गर्नुको पछाडि उनीहरुमा रहेको स्वार्थ र सत्तालिप्साले प्राथमिकता पाएको देखिन्छ।

वैशाख ३० गतेको चुनावको समीक्षा, गठबन्धनको भविष्य र अन्य पार्टीका गतिविधिको बारेमा निर्णय गर्न बसेको बैठकमा नेतृत्वविरुद्ध एक्कासी आलोचना गर्न उत्रनुले उनीबाट गरिएको आशाको दियो बाँकी नै छ भन्ने हो। त्यसको आश उनी कति जोगाउन सक्छन् वा सक्दैनन्, आगामी दिनमा उनको प्रस्तुतिले जवाफ दिनेछ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १२ : ३२ बजे

बंगलादेशमा धार्मिक र साम्प्रदायिक अल्पसङ्ख्यकमाथि आक्रमण जारी

काठमाडौं – गत अगस्टको पहिलो साता सत्ता परिवर्तन भएसँगै बंगलादेशमा

बीमा बापतको रकम प्राप्त नहुँदा अस्पतालको सेवा बन्द

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरअस्पतालमा बीमा

लेबनानमा हिजबुल्लाहका गढहरूमा इजरायली आक्रमणमा १८२ जनाको मृत्यु

बेरुत – लेबनानमा हिजबुल्लाहका गढहरूमा सोमबार गरिएको इजरायली हवाई आक्रमणमा

मेलम्ची भ्रष्टाचार प्रकरण : ४ जनालाई ८ वर्ष कैद र करोडौं जरिवाना

काठमाडौं – विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारको मुद्दामा

एअर इण्डियाले अस्ट्रेलियाको ब्रिसबेनमा हवाइ सेवा विस्तार गर्ने

काठमाडौं – भारतीय ध्वजावाहक हवाइ सेवा कम्पनी एअर इण्डियाका प्रमुख