त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु « Khabarhub

त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला सुरु


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसीमा ‘बोलबम’ मेला सुरु भएको छ । साउन महिनाभर हलेसीमा लाग्ने बोलबम मेलाको पहिलो दिन आज (सोमबार) बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलाका अवसरमा पैदल तथा यातायातका सवारीसाधनमार्फत गेरुबस्त्रधारी दर्शनार्थी हलेसी आउने गरेका छन् । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गम स्थल हलेसीमा लाग्ने बोलबम मेलामा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, विराटनगर, इलामसहित भारतको सिक्किम, दार्जिलिङ, गान्तोक, भुटान, चीनको तिब्बतलगायतबाट दर्शनार्थी आएका छन् ।

 मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ हलेसीमा साउनको प्रत्येक सोमबार विभिन्न नदीबाट ल्याइएका जल चढाउने गरिन्छ । हलेसीमा देश तथा विदेशबाट आएका हिन्दु धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव, पार्वती र गणेशलाई जल चढाउने गर्छन् ।

हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजा अर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

बोलबमका अवसरमा हलेसी आएका दर्शनार्थीका कारण अहिले हलेसीका साना तथा ठूला होटल भरिएका छन् । साउन लागेयता हलेसी र जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाराहा पोखरीमा हरियो कपडा, चुरा र मेहन्दीमा सजिएका महिला तथा रातो गेरु रङको पहिरनमा सजिएका पुरुषको समेत चहलपहल बढेको छ ।

हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिक रुपमा ‘बोलबम’ उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै देखिन्छ । स्थानीयका अनुसार हलेसी र बराहा पोखरीमा बोलबम मेला लाग्ने प्रचलन भने पाँच/छ वर्षअघिदेखि मात्र सुरु भएको हो ।

तराईबाट हलेसीसम्म आउने र जाने सडक बिस्तार भएपछि मात्र हलेसीमा बोलबम मेला लाग्न थालेको हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले बताउनुभयो । तराईबाट सिधै कटारी–घुर्मी–जयराम हुँदै हलेसीसम्मको यातायात सेवा बिस्तार भएपछि बोलबमका अवसरमा दर्शन गर्न र मेला भर्न जिल्ला आउने दर्शनार्थीको सङ्ख्या बर्सेनि बढ्दो रहेको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

हलेसीमा लागेको मेलालाई व्यवस्थित गर्न सुरक्षाकर्मी, मन्दिर व्यवस्थापन समिति तथा स्थानीय क्लबमा आबद्ध पदाधिकारी बिहानैदेखि खटिएका छन् । तराईलगायत राजधानी काठमाडौँबाट सिधै यातायातमार्फत आउने दर्शनार्थी सोही दिन फर्कने गरेका छन् ।

यसैबीच हलेसीस्थित मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला चार वर्षपछि खोलिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले बनाएको एउटा र गुठी संस्थानले बनाएको अर्को मन्दिर व्यवस्थापन समिति दुवै अस्तित्वमा आएपछि विवाद चर्किदा विसं २०७५ भदौ २६ गते लागेको ताला आइतबार साँझ खोलिएको हो ।

लामो समयदेखि हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको कार्यालयमा लागेको ताला नगरप्रमुख विमला राईको पहलमा आइतबार साँझ खुलाइएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । नगरउपप्रमुख रमेश राउत, वडाध्यक्ष कमल गिरी, हलेसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेल, इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक सुनिल धाँजु लगायतको उपस्थिति ताला खोलिएको हो ।

हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा ताला लागेको विषयले नकरात्मक सन्देश गइरहेकाले ताला खोल्न सहमती भएको  नगरप्रमुख राईले बताउनुभयो । नगरपालिका र प्रशासनको सिफारिसमा गुठी संस्थानले बनाएको दुवै मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा हर्कराज राई भए पनि अन्य पदाधिकारी र सदस्य हेरफेरले विवाद निम्तिएको थियो ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  ७ : ४३ बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै