दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यी हुन् आजका मुख्य समाचारहरू

अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको निष्कर्ष

प्रतिनिधिसभाको विशेष छानबिन समितिले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज मेटिएको निष्कर्ष निकालेको छ ।

सीसीटीभी फुटेज नै नभेटिएपछि निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिने आजको कार्यतालिकासमेत सरेको छ ।

समितिका एक उच्च अधिकारीकाअनुसार अर्थ मन्त्रालयबाट दुवैपटक आएको सीसीटीभी फुटेजमा तत्कालीन अर्थमन्त्री जर्नादन शर्माले अनधिकृत व्यक्तिको प्रवेश गराएर बजेटमा करका दरमा चलखेल गरेको दिनको भिडियो फेला नपरेको हो ।

अर्थ मन्त्रालयले गत शुक्रबार सीसीटीभीको हार्ड ड्राइभ दिएको थियो । आज पूरै सिस्टम अर्थबाट आए पनि त्यसमा घटना भएको दिनको फुटेज नभेटिएको समिति स्रोतले जानकारी दिएको छ ।

छानविन समितिले गत शनिबार मन्त्रालयलको सिसिटीभी फुटेजमाथिको अध्ययन सुरु गरेको थियो । यस्तै अर्थ मन्त्रालयले अन्र्तगतका विभागसगँ सोधपुछ गरेको थियो । आर्थिक वर्ष २०७९ ÷२०८० को बजेट निमार्णका क्रममा निर्वतमान अर्थमन्त्री शर्माले मन्त्रालयमा अनधिकृत व्यक्क्तिलाई प्रवेश गराई करको दर हेरफेर गरेको भन्दै सो विषयमा छानबिन गर्न गत असार २२ गते ११ ससंदीय छानविन समिति गठन गरिएको थियो ।

नेपाली कांग्रेसले गठबन्धनलाई निरन्तरता दिने

नेपाली कांग्रेसले आगामी प्रदेश र संघर्षको निर्वाचनमा पनि गठबन्धनबीचको तालमेललाई निरन्तरता दिने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले संविधानको रक्षा लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्नका आगामी विर्नाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गरेको हो ।

गठबन्धनमा रहेका दलहरूका बीचमा तालमेल गर्दा संविधानको कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्धलगायतका विषयमा न्यूनतम साझा धारणा निर्माण गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महत्तले जानकारी दिए ।

उनले नेपाली जनतालाई पाँच वर्षमा स्थिर सरकारमार्फत जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने स्पष्ट कार्यक्रमको खाकासहित आमनिर्वाचनमा प्रस्तुत हुने निर्णय गरेको बताए ।

बैठकले देशको अर्थतन्त्रको अवस्थाबारे श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह गरेको छ भने संवैधानिक परिषद् लगाएत महत्वपूर्ण कानून बनाउँदा र निर्णय गर्दा संविधानको मर्म र भावनाको अनुरुप हुने गरी सरकारले निर्णय लिनुपर्नेमा जोड दिएको प्रवक्ता महतले बताए ।

बैठकले महामन्त्री गगन थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति, आनन्द ढुङ्गानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति र श्याम कुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले अवधि समाप्त भएर गठन हुन बाँकी रहेका र पूर्णता प्राप्त नगरेका पार्टी आवद्ध भातृ संघलाई यही साउन मसान्तभित्र गठन र पूर्णता दिने निर्णय गरेको छ भने आगामी नीति महाधिवेशनका सम्बन्धमा केन्द्रले आवश्यक तयारी गर्ने निर्णय पनि गरेको छ ।

दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस

न्याय परिषदले दुई जना न्यायाधीशलाई बर्खास्त गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ ।

न्यायपरिषदको आज बसेको बैठकले उच्च अदालत दिपालयको महेन्द्रनगर इजलासमा कार्यरत न्यायाधीश राकेश कुमार निधि र काठमाडौं जिल्ला अदालतमा कार्यरत न्यायाधीश अनिलकुमार शर्मालाई बर्खास्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

परिषदको सिफारिस कायम मुकायम प्रधानन्यायाधीशले कार्यान्वयन गर्नेछन् । दुई न्याधिशमाथि कार्यक्षमताको अभाव, खराब आचरण र पद अनुरुपको आचरण गर्न नसकेको भन्ने पुष्टि भएपछि बर्खास्तको सिफारिस भएको परिषदका प्रवक्ता मानबहादुर कार्कीले बताए ।

न्यायाधीश शर्मामाथि सिरहा जिल्ला अदालतमा बसेर काम गर्ने क्रममा नाबालिकाको बलात्कारमा थुनछेक आदेशमा बदनियत राखेको आरोप लागेको छ ।

साथै उनीमाथि कस्तुरीको विनासम्बन्धी मुद्दामा पनि कार्यक्षमताको अभाव रहेको भन्ने आरोप लागेको छ । । यस्तै न्यायाधीश निधिमाथि नाबालिकामाथि बलात्कार मुद्दामा खराब आचरण देखाएको र विदेशीले नेपाली नागरिकता पाएको विवादमा पनि कैफियतयुक्त फैसला गरेको आरोप छ ।

राष्ट्रियसभाको बैठकमा खानेपानी विधेयक स्वीकृत

राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको छ ।

बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ संविधानको मौलिक हक रहेकाले त्यसको व्यवस्थापन गर्नुपर्ने सरकारको दायित्व भएको बताउँदै हालसम्म जलस्रोत ऐनबाट काम गर्नुपरेकाले यो विधेयक अपरिहार्य भएको बताए ।

पहाडमा पानीका मुहान सुक्दै गएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले सार्वजनिकस्थल र विद्यालयमा शौचालय र पानीको उपलब्धतता नभएको स्थितिमा दिगो विकासका लक्ष्य पूरा गराउन यो विधेयक पारित भएपछि सहज हुने बताए ।

सांसद्हरुले स्थानीय खोलानालाको संरक्षण गरेर सहजरुपमा शुद्ध खानेपानीको उपलब्धताका लागि योजना ल्याउन तथा एक घर एक धाराको प्रबन्ध गर्न माग गरेका थिए ।

यसैबीच नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा प्रहरी ज्यादती भएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गर्नुभएको छ । राष्ट्रियसभाको बैठकमा भट्टराईले सो घटनामा डीएसपीले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पोखरीमा ढकेलेको देखिएको भन्दै प्रहरी अधिकारीलाई कारवाही गर्न माग गरेका थिए ।

उनले तिलोत्तमा प्रकरणको अनुसन्धान हुनुपर्ने र सत्यतथ्य जानकारी सदनलाई गराउनुपर्ने बताए ।

सङ्घीयतालाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने गरी सरकारले गतिविधि गरिरहेको उनले टिप्पणी गरे । त्यस्तै उनले नागरिकताको विषय धेरै गम्भीर विषय भएको भन्दै यसलाई द्रुत गतिबाट छिटो टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

बैठकमा बोल्दै कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले नेपालको परराष्ट्र नीति प्रष्ट र एकरुपता हुनुपर्नेमा जोड दिए । उनले एमसीसीका बारेमा भएका टिका टिप्पणीबारे सरकारको प्रष्ट धारणा आउनुपर्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का सांसद बिना पोखरेलले नागरिकता विधेयक राष्ट्रियतासँग जोडिएको संवेदनशील विषय भएको जनाउँदै नागरिकतासम्बन्धी विधि सरल भए पनि नीति कठोर हुनुपर्ने धारणा व्यक्त गरिन् ।

राष्ट्रियसभाको अर्काे बैठक यही साउन ४ गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक पोखरेलले दिए राजीनामा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

एआईजी पोखरेलले आज दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । आफूभन्दा जुनियर एआईजी धीरज प्रताप सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल वैशाख १९ गते मा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिट दायर भएको साढे दुई महिनापछि गत असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णय कानुन सम्मत भएका ठहर गर्दे पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो ।

पोखरेल महानिरीक्षकमा बढुवा भएको भए २०७९ चैतसम्म प्रहरी सेवामा थिए । सिंह आईजीपी बनेपछि पोखरेल एआईजीको उमेर हदका कारण आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यसअघि नै उनी सर्वोच्चको निर्णयप्रति असन्तुष्ट जनाउँदै नियमित काममा नफर्की राजीनामा दिएका हुन् ।

संवैधानिक परिषदसम्बन्धी विधेयकमा चर्चा आवश्यक छैनः सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदसम्बन्धी विधेयकका विषयमा चर्चा गर्न आवश्यक नभएको बताएका छन् ।

सिंहदरबारमा आज पत्रकारहरुसंग कुरा गर्दै सभामुख सापकोटाले संवैधानिक परिषदसम्बन्धी विधेयक अर्को सभामा दर्ता भएकाले विधेयकबारे चर्चा गर्नु मनासिव नभएको बताएका हुन् ।

उनले विभिन्न संसदीय समितिका सभापति पद रिक्त रहेका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको र प्रधानमन्त्रीका साथै पार्टीका नेताहरुसँग छलफल गरिरहेको समेत बताए । उनले ढिलै भए पनि उपसभामुखको निर्वाचन भएसँगै संसद्को काम अझ प्रभावकारी ढंगबाट अगाडि बढ्ने पनि बताए ।

सभामुख सापकोटाले अहिले नागरिकता, संघीय निजामति विधेयकलाई अघि बढाउन ध्यान केन्द्रीत गरेको र अरु महत्वपूर्ण विधेयक अघि बढाउन पहल भइरहेको जानकारी दिए ।

सभामुख सापकोटाले सङ्घीय सरकारका मन्त्री हेरफेरका कारण संसद् सचिवालयमा दर्ता भएका विधेयकमाथिको छलफल अगाडि बढाउन समस्या भएको बताए । उनले चालु अधिवेशनबाट १५ विधेयक पारित भएको र पाँच समितिका साथै विभिन्न संवैधानिक आयोगका प्रतिवेदन संसद्मा पेश भएको जानकारी दिए ।

हामीसँग भएको सहमति कार्यान्वयन भएनः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूसँग भएको सहमति कार्यान्वयन गर्न राज्यले इमान्दारिता नदेखाएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा विप्लवले राज्यले आफूहरूसँग तीन बुँदे सहमति गरे पनि इमान्दारिताका साथ कार्यान्वयन नगरेको बताएका हुन् ।

उनले अहिले पनि ४० जनाभन्दा बढी आफ्ना कार्यकर्ता जेलमा राखेर राज्यले षडयन्त्र गरेको जिकिर गरे । अहिले राज्यमा बसेर स्वार्थका आधारमा काम गर्ने बिरुद्ध लड्ने बेला आएको उनले बताए ।

विप्लवले देशको ढुकुटी डुबाउने, देशको अर्थतन्त्र तहस नहस बनाउने काम भएको र जनताको आवाज नसुन्ने प्रवृति हावी भएको जिकिर गरे ।

उनले दलाल पुँजीवादी जराहरु फाल्न अन्तिम लडाई हुने तर्क गरे । साथै उनले मुलुकमा आर्थिक क्षेत्रमा ठूलो संकट देखापरेको धारणा पनि राखे ।

मुक्त कमैया राख्नेलाई कारवाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैया, कमलरी, हरवा, चरुवा र हलिया श्रमिक राख्नेलाई कारवाही गर्न निर्देशन दिएका छन् ।

कमैया मुक्ति घोषणाको २२ वर्ष पुगेको अवसरमा बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले कसैले पनि कमैया, हरवाचरुवा वा बधुवा श्रमिक राख्न नपाउने भन्दै कसैले राखे कारवाही गर्न निर्देशन दिएका हुन् ।

त्यस्तै उनले कमैया श्रम निषेध गर्ने सम्बन्धी ऐनलाई कडाइपूर्वक लागू गर्न पनि निर्देशन दिए । हरवाचरुवा वा कमैयाको कुनै अवशेष बाँकी भएको भए दण्डनीय हुने उनको भनाइ छ।

प्रधानमन्त्री देउवाले हरवा चरुवालाई सामाजिक आर्थिक उन्नति र सम्मानजनक जीवन सुनिश्चित गर्नका लागि विशेष लक्षित कार्यक्रम ल्याउने बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालसम्म २७ हजार २१ मुक्त कमैया परिवारलाई जमिन र घर उपलब्ध गराएको जनाएको छ ।

राज्य विचौलियाको नियन्त्रणमा जान लाग्योः ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राज्य डरलाग्दो गरी विचौलियाको नियन्त्रणमा जान थालेको आरोप लगाएका छन् ।

काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले राजनीतिक गठबन्धनको आवरणमा खतरनाक वित्तीय गठबन्धन भइरहेको र यसले मुलुकलाई डरलाग्दो अवस्थामा पुराएको बताए ।

उनले वर्तमान सरकारको एक वर्ष देशको बबार्दीको बर्ष भएको तर्क गरे । सरकारले भ्रष्टाचार, कालाबजारीया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनको भनाइ छ ।

त्यस्तै ज्ञवालीले कालो धनलाई सेतो बनाउने प्रयासहरु नै गभर्नरमाथिको हमला भएको टिप्पणी गरे । गभर्नरलाई हटाउने यसअघिको प्रयास सफल नभएपछि अहिले विवाद निकाल्ने काम भएको उनले बताए ।

उनले सरकारकै कारण अहिले सबैभन्दा ठूलो समस्या उपभोक्तालाई परिरहेको पनि बताए । साथै उनले अहिले मुलुकको प्रमुख आर्थिक सुचकहरु हेर्दा मुलुक अझै अप्ठेरोमा जाने देखिएको धारणा राखे ।

प्रदेश १ को नामकरणबारे छलफल गर्न बैठक आह्वान

प्रदेश १ को नामकरणबारे छलफल गर्न सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

नामकरणका लागि दलहरू आ–आफ्नै अडानमा रहँदा सहमतिका लागि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाएका हुन् । उनले साउन ६ गतेका लागि बैठक डाकेको प्रदेशसभाका प्रवक्ता एवम् उपसचिव चन्द्रमणि भण्डारीले बताए ।

प्रदेश न १ क बाहेक अन्य ६ प्रदेशले नाम र राजधानीको टुङ्गो लगाइसकेका छन् । प्रदेश १ मा भने दलहरूबीच प्रदेश राजधानी र नामकरणको विषयमा सहमति जुट्न सकेको छैन ।

प्रदेशसभाको दशौं तथा बजेट अधिवेशनको २० औं बैठक साउन ८ गते दिउँसो १ बजेका लागि डाकिएको छ । यसअघि असार १९ गते अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गहना चोरी

काठमाडौंको नक्साल नागपोखरीस्थित सन्तोषी माताको मूर्तिमा जडित सुनचाँदीको गरगहना चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गर्दै असार २३ गते राति १ बजेको समयमा सन्तोषी माताको मन्दिरको ताल्चा फोडी चोरी गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा परिसर तथा प्रहरी बृत्त मालीगाउँबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

घटनाबारे जानकारी पाउनेबितिकै मन्दिरमा पुगी अनुसन्धानका विविध विधि र प्रविधिहरुको प्रयोग गरी घटनामा संलग्न अभियुक्तको पहिचान एवम् चोरी भएका गरहगनासहितको खोजी कार्य शुरु गरिएको र मुर्तीमा जडित सुनचाँदीको गरगहना लगायतका सामग्रीसहित नियन्त्रणमा लिइएको परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

उनीहरुबाट सुनको तिलहरी, चाँदीको करुवा, चुकुन्दा, मुकुट, गिलास लगाएतका सामाग्री फेला परेको मैनालीले बताए ।

पक्राउ गर्नेहरुलाई काठमाडाँै जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति लिई प्रहरी वृत मालीगाउँबाट थप अनुसन्धान भइरहेको मैनालीले जानकारी दिए ।

काठमाडौँ ट्राफिक व्यवस्थापन गर्न चौबीसै घण्टा जनशक्ति परिचालन

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी आवागमनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न २२ स्थानमा २४ घण्टा नै जनशक्ति परिचालन गरिएको जनाएको छ ।

कार्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंका विभिन्न ४० स्थानमा समेत चेकिङ्गको व्यवस्था मिलाएको समेत जनाएको छ ।

त्यस्तै अन्य आवश्यक स्थानमा चेक प्वाइन्ट राखेर सवारी चेकिङ तथा अनुमगन बढाउन लागिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयकी प्रमुख डीआइजी मीरा चौधरीले जानकारी दिइन् । लेन अनुशासन, नो हर्न लगायतका ट्राफिक नियमलाई बनाउने उनले बताइन् ।

त्यस्तै काठमाडौंको बढी सवारी चाप हुने स्थानमा सहज रुपमा आवागमनको व्यवस्था मिलाउनका पनि काम सुरु गरिसकेको उनको भनाइ छ ।

उनले पार्किङ स्थलको समस्या समाधानका लागि अन्य सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिइन् ।

नेपालमा थप ४ सय ५७ जनामा कोरोना पुष्टि

नेपालमा थप ४ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ४१ पीसीआर परीक्षणका क्रममा ३ सय ८६ जना र २ हजार ३ सय १० एन्टीजेन परीक्षणका क्रममा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । यस्तै थप ४८ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ७ सय ७६ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

शेयर बजारमा झिनो अंकको वृद्धि

शेयर बजार परिुसचक नेप्सेमा आज पनि केही अकंले सुधार आएको छ ।

नेप्से आज १८ दशमलव ३ अंकले बढेर २ हजार २९ दशमलव ४३ विन्दुमा पुगेको हो । आज २ सय ११ कम्पनीका ३१ लाख ४२ हजार ४ सय २ कित्ता शेयर कुल १ अर्ब ३१ करोड २९ लाख ६२ हजार ६ सय २९ रुपैँयामा कारोबार भएको छ ।

व्यापार र म्युच्अल फण्ड बाहेर अन्य समुहको शेयर आज सामान्य अंकले बढेको छ ।

बरुण हाइड्रो पावर र इमर्जिङ नेपालको शेयर मुल्य झण्डै १० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, एसियन लाइफ इन्स्योरेन्स, अपी पावर, माथिल्लो तामाकोसी र गोर्खा फाइनान्स क्रमश अगाडि रहेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७९, सोमबार  १० : ४१ बजे

नदीजन्य पदार्थको उपयोग गर्न संयुक्त कार्यदल गठन

लुम्बिनी– लुम्बिनी र सुदूरपश्चिम प्रदेशका बीचमा कर्णाली नदीको स्रोत उपभोग

रियलले जित्यो इन्टरकन्टिनेन्टल कप

काठमाडौं – रियल म्याड्रिडले फिफा इन्टर कन्टिनेन्टल कपको उपाधि जितेको

शान्तिसुरक्षा कायम गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

पाल्पा– गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन्

डाइलासिसले जीवन धानेकाको बिलौना- ‘सरकारी सुविधाले न गरी खानु, न मरी जानु बनायो’

भोजपुरको रामप्रसाद राई गाउँपालिका वडा नं २ बस्ने ३२ वर्षीय

हेटौँडा औद्योगिक क्षेत्रमा १२७ उद्योग सञ्चालनमा

मकवानपुर– मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा हाल दैनिक १२७ वटा विभिन्न