बाघ आक्रमणको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा « Khabarhub

बाघ आक्रमणको त्रासमा मध्यवर्ती क्षेत्रका बासिन्दा


२ भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित जङ्गलमा घाँस काट्न गएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीका दुई जनाको आइतबार बाघको आक्रमणबाट मृत्यु भयो ।

निकुञ्जसँग जोडिएको जङ्गलमा मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउँदै बुधबार बिहानै सल्यानको कालीमाटी गाउँपालिका–७ बाटुलेमा बाघ प्रवेश गर्‍यो । बाघले स्थानीय तुलसीकुमारी घर्तीका दुई गोरु मार्नुका साथै एकलाई घाइते बनायो । निकुञ्ज छाडेर बाघ बस्ती प्रवेश गर्न थालेपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।

प्रायः निकुञ्जको दक्षिणी भेगमा भेटिने बाघ उत्तरतर्फ उक्लिन थालेपछि मध्यवर्ती क्षेत्रका बासिन्दा त्रसित भएका छन् । भेरीगङ्गा नगरपालिका– ५ का वडाध्यक्ष प्रेमबहादुर सारुले बाघ बस्ती छिर्न थालेपछि स्थानीय बासिन्दामा त्रासमा बढेको गुनासो गरे। “एउटा बाघलाई निकुञ्जले नियन्त्रणमा लिए पनि अरू थुप्रै बाघ छन्, यहाँ मानिसमा त्रास बढेको छ, बस्ती बाहिर निस्किन डराइरहेको अवस्था छ,” उनले भने, “निकुञ्ज प्रशासनले बाघलाई बस्तीमा जान नदिन निगरानी बढाउनुपर्छ, बाघ उकालो चढिरहेकाले निकुञ्जले यसतर्फ पनि ध्यान दिनुपर्थ्यो ।”

मध्यवर्ती क्षेत्रमा पर्ने जङ्गलमा बाँस काट्न गएका भेरीगङ्गा गेरवानीका ४८ वर्षीय रामबहादुर चन्द र ६७ वर्षीय कवि ओलीको आइतबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । जङ्गलमा मानिसलाई आक्रमण गरेको तीन दिनपछि बाघ गेरवानीसँगै जोडिएको सल्यानको कालीकाटी गाउँपालिकाको बाटुले गाउँ पुगेको थियो । सोही बाघलाई बुधबार निकुञ्ज कर्मचारी, सुरक्षार्थ नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

बाटुले र गेरवानी निकुञ्जसँग सीमा जोडिएका (मध्यवर्ती क्षेत्र) गाउँमा पर्दछन् । प्रायः निकुञ्जको दक्षिणी भागमा भेटिने बाघ पछिल्लो समय उत्तरतर्फ बढेपछि आक्रमणको जोखिम बढेको स्थानीयवासी बताउँछन् । गेरवानीका स्थानीयवासी केशव चन्दले निकुञ्जले बाघको निगरानीमा बेवास्ता गरेको आरोप लगाए।

उनले भने, “निकुञ्जमा बाघको सङ्ख्या धेरै छ, मानिसको सिकार खोज्दै जति बेला पनि गाउँ आउने जोखिम बढ्यो, बाघलाई बस्ती प्रवेशमा रोक्न निकुञ्जले निगरानी बढाएको देखिँदैन ।” मध्यवर्ती क्षेत्रका स्थानीयवासीले निकुञ्जबाट बाहिरिने वन्यजन्तुको सुरक्षाको व्यवस्था मिलाउन निकुञ्ज कार्यालय, सम्बन्धित स्थानीय सरकार, सल्यान र सुर्खेत जिल्लाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

निकुञ्ज कार्यालयका अनुसार सल्यानबाट नियन्त्रणमा लिइएको समस्याग्रस्त पाटे बाघ १२ वर्ष बूढो हो । बूढो एवं शारीरिक रूपले अशक्त बाघले जङ्गलमा सिकार गर्न नसकेपछि मानिस र पशु चौपायाको खोजी गर्ने निकुञ्जका कर्मचारी बताउँछन् । जसलाई निकुञ्जले ‘समस्याग्रस्त बाघ’का रूपमा उद्धार गर्दै बाँके राष्ट्रिय निकुञ्जमा राखिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा पनि यस्तै समस्याग्रस्त तीन वटा बाघ उद्धार केन्द्रमा राखिएको छ ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठले घाँस काट्न गएका स्थानीयवासीलाई आक्रमण गरेपछि बाघको निगरानी बढाएको बताए । “उक्त घटनापछि हाम्रो विशेष टोली गेरवानी आसपासमा खटिएर बाघको खोजी गरिरहेको थियो,” उनले भने, “मानिसलाई आक्रमण गर्ने बाघ त्यहीँ क्षेत्र आसपासमा हुन्छ, किनकि बाघ सिकार गरेको क्षेत्रमै रहन्छ, बुधबार बिहान सल्यानमा दुई पशु चौपायालाई मारेपछि पत्ता लगाउन सजिलो भयो ।”

गोरु मारेको करिब २०० मिटर दूरीमा रहेको बाँसघारीमा आराम गरिरहेको अवस्थामा बाघ भेटिएको थियो । बाघलाई बेहोस बनाउने सुईको प्रयोग गरी नियन्त्रणमा लिइएको थियो ।

निकुञ्ज कार्यालयले माथिल्लो भेगमा निगरानी बढाएको दाबी गरेको छ । “गस्ती बढाउनुका साथै जङ्गली जनावरको आक्रमणबाट सुरक्षित रहन सावधानी अपनाउन व्यवहार परिवर्तनसम्बन्धी अभियान सञ्चालन गरिरहेका छौँ,” प्रमुख संरक्षक अधिकृत श्रेष्ठले भने, “निकुञ्जसँग जोडिएका बस्तीका मानिस आफै सचेत भएमा यस्ता घटनाबाट सुरक्षित रहन सकिन्छ ।” उनका अनुसार निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, सामुदायिक वन जहाँ भए पनि वन्यजन्तुको आक्रमण दिउँसोको समयमा भएकाले सचेत भएमा आक्रमणबाट बच्न सकिने उनको भनाइ छ । निकुञ्ज कार्यालयले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा १३ रणनीतिक योजना बनाएको जनाएको छ । प्रमुख संरक्षक अधिकृत श्रेष्ठले उक्त योजना अनुसार कार्यक्रम सञ्चालन गरी क्षति न्यूनीकरण गर्ने बताए।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार  ६ : ०६ बजे

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प