विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : 6 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

आज असोज २, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १८, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्:

अडियो सुन्नुहोस्-

ताजिकिस्तान र किर्गिस्तानका सुरक्षाकर्मीबीच सीमाक्षेत्रमा झडप, ३६ जनाको मृत्यु

मध्य एसियाली मुलुक ताजिकिस्तान र किर्गिस्तानबीच पुनः तनाव पैदा भएको छ । हालै यी दुई मुलुकका सुरक्षाबल बीच सीमा क्षेत्रमा झडप भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ताजिकिस्तानसँगको सीमाक्षेत्रमा हालै भएको झडपमा परी ३६ जनाको मृत्यु भएको किर्गिज स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ ।

मध्य एशियाका छिमेकीबीचको पछिल्लो सयम हिंसा बढेको बताइएको छ । मध्य एसियामा रणनीतिक रुपमा निकै महत्वपूर्ण मानिने फर्गाना उपत्यकास्थित किर्गिस्तानको दक्षिणी बाटकेन क्षेत्र र ताजिकिस्तानको उत्तरी सुगद क्षेत्रमा दुई मुलुकका सैनिकबीच झडप भएको बताइएको छ ।

झडपका क्रममा मृत्यु हुनेको कुल सङ्ख्या ३६ पुगेको र अन्य एक सय ३४ जना घाइते भएको किर्गिज स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

मन्त्रालयले यसअघि दिएको जानकारीमा मृत्यु हुनेको संख्या २४ पुगेको थियो । ताजिकिस्तानको आन्तरिक मन्त्रालयले शनिबार भएको झडपमा सर्वसाधारण मारिएका बताए पनि तथ्याङ्क भने दिएको छैन ।

शुक्रबार युद्धविराम गर्न सहमत भएपनि दुबै पक्षले एक अर्काविरुद्ध यस युद्धविराम सम्झौताको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन् ।

शनिबार थप झडपपछि रात भने केही घटनाबिना शान्तपूर्वक बितेको किर्गिज सीमा अधिकारीले आइतबार बिहान जानकारी दिएका छन् ।

देशको नेतृत्वले स्थितिलाई स्थिर बनाउन र द्वन्द्वको अवस्थालाई रोक्नका लागि शान्तिपूर्ण तरिकाले सबै उपाय अबलम्बन गरिरहेको सीमा अधिकारीले बताएका छन् ।

शनिबार, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुबै पक्षका नेतृत्वलाई स्थायी युद्धविरामका लागि वार्तामा संलग्न हुन आह्वान गरेका थिए ।

तत्कालिन सोभियत संघको पतनपछि स्वतन्त्र भएका यी दुई मुलुकबीच सीमासम्बन्धी विवादका कारण बेलाबेला झडप हुँदै आएका छन् ।

चीनको फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु

चीनमा एउटा फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको छ । राजधानी बेइजिङबाट करिब एक सय ६० किलोमिटर पूर्वमा अवस्थित हेबेइ फलाम खानीमा बाढीको पानी पसेको हो ।

उक्त फलाम खानीमा बाढीको पानी पस्दा १४ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । घटनामा अरु एक जना हराइरहेको बताइएको छ ।

यो महिनाको प्रारम्भमा त्यहाँ बाढीको पानी पसेर उक्त हताहती भएको तथा घटनास्थलमा खोज तथा उद्धारका काम स्थगन गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् ।

खानीमा के कारणले बाढीको पानी पस्यो भन्नेबारे अनुसन्धान भइरहेको ताङसान नगर सरकारले एक सङ्क्षिप्त विज्ञप्ति निकालेर जानकारी दिएको छ । हेबेइ फलाम र इस्पात खानीका निम्ति प्रसिद्ध छ ।

चीनमा हरेक वर्ष खानी दुर्घटना हुने गरेका छन् । खानी क्षेत्रमा सुरक्षाको उचित व्यवस्था नहुँदा यस्तो दुर्घटना हुने गरेको बताइन्छ ।

पाकिस्तानमा बाढीको कहर रोकिएन, हालसम्म १५ सयभन्दा धेरैको मृत्यु

पाकिस्तानमा मध्य जुनदेखि हालसम्म जारी अविरल वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको कुल सङ्ख्या १५ सय भन्दा बढी पुगेको छ । यस प्रकोपमा परी १२ हजार भन्दा बढी घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।

एनडीएमएले जारी गरेको पछिल्लो प्रतिवेदनअनुसार देशमा छुट्टाछुट्टै वर्षा वा बाढीजन्य दुर्घटनामा ज्यान गुमाउनेमा पाँच सय ५२ बालबालिका र तीन सय १५ महिला रहेका छन् । बाढीबाट देशको दक्षिणी प्रान्त सिन्ध सबैभन्दा बढी प्रभावित भएको छ । यस प्रकोपमा परी सिन्धमा मात्रै छ सय ७८ जनाको मृत्यु भएको बताइएको छ ।

सिन्धपछि उत्तरपश्चिम खैबर पख्तुनख्वा र दक्षिणपश्चिम बलुचिस्तान प्रान्तहरू सबैभन्दा प्रभावित छन् । यी प्रान्तहरुमा क्रमशः तीन सय ६ दुई सय ९९ जनाको मृत्यु भएको जनाइएको छ । यसबाहेक, पाकिस्तानका विभिन्न भागहरूमा १९ लाख ४३ हजार नौ सय ७८ घरहरू ध्वस्त भएका र नौ लाख ४३ हजार नौ सय नौ पशुधनको मृत्यु भएको जनाइएको छ ।

यस मौसमी वर्षा र बाढीका कारण १२ हजार सात सय ३५ किलोमिटर सडक र तीन सय ७५ पुलमा क्षति पुगेको उल्लेख गरिएको छ । यसका अतिरिक्त ८१ जिल्ला र अनुमानित तीन करोड ३० लाख ४६ हजार तीन सय २९ मानिस बाढीबाट प्रभावित भएका एनडीएमएले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

बाढी प्रभावित क्षेत्रमा एनडीएमए, अन्य सरकारी संस्था, स्वयंसेवी र गैरसरकारी संस्थाहरूद्वारा उद्धार र राहत कार्य जारी रहेको छ ।

यसैबीच पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको हो ।

बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।

बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । यसलाई टार्न सकिने उनको भनाइ थियो ।

‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तीमा ३४ लाख बालबालिका तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ ।’

बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तर्राष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ। बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडा र जापानलगायतका देशहरुले सहयोग प्रदान गरेका छन् ।

ताइवानमा भूकम्प

ताइवानमा शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्र (युएसजीएस) ले जनाएको छ । भूकम्प तटीय सहर ताइतुङबाट करिब ५० किलोमिटर (३० माइल) उत्तरमा १० किलोमिटर गहिराइमा गएको युएसजीएसले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । तथापि, स्थानीय सञ्चार माध्यमहरुले भूकम्पले खासै क्षति नपु¥याएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ताइवानको केन्द्रिय मौसम व्युरोले भूकम्प ६ दशमलव ४ म्याग्निच्युड रहेको जनाएको छ । दुईओटा टेक्टानिक प्लेटको बिचमा रहेको ताइवानमा बारम्बार भूकम्प जाने गर्छ । ७ म्याग्नेच्युडको भूकम्प नजाँदासम्म सामान्यतया सुनामीको चेतावनी दिइँदैन ।

अमेरिका उडिरहेका दुई विमान आकाशमा ठोक्किँदा तीन जनाको मृत्यु

अमेरिकाको कोलोराडो राज्यमा दुई वटा साना विमान आकाशमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । शनिबार भएको उक्त दुर्घटनाको बोल्डर काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

सेस्ना १७२ र सोनेक्स जेनोक्स नामक दुई विमान बीच आकाशमा ठोक्किएर दुर्घटना भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

कोलोराडो राज्यको लङ्गमनस्थित भान्स ब्राण्ड विमानस्थल नजिकै दुर्घटना भएको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

बेग्लाबेग्लै स्थानमा विमानका भग्नावशेष भेटिएका काउन्टी शेरिफको कार्यालयले बताएको छ । एउटा विमानमा दुई जना र अर्कोमा एक जनामात्र सवार थिए । युएस नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डले दुर्घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

सोमाली सेनाको कारवाहीमा ४३ अल शबाब लडाकु मारिए

अफ्रिकी मुलुक सोमालियाको एबोरे क्षेत्रमा गरिएको कारवाहीका क्रममा इस्लामिक लडाकु संगठन अल शबाबका ४३ लडाकु मारिएका छन् ।

सोमाली सेनाको कारवाहीका क्रममा उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अल शबाबका लडाकुहरुले उक्त क्षेत्रमा केही समय यतादेखि हिंसा मच्चाइरहेको सूचनाका आधारमा सेनाले हवाई कारवाही गरेको हो ।

उक्त कारवाहीका क्रममा शनिबार राति ती लडाकु मारिएको सोमाली राष्ट्रिय रेडियो, एसएनए रेडियोले जनाएको छ ।

एबोरे क्षेत्रको बुला बार्ता जिल्लामा अल–शबाबका लडाकुहरुले आश्रय लिएर तालिम केन्द्र सञ्चालन गरेको सूचना त्यहाँका सूचना मन्त्रालयले प्राप्त गरेको जनाइएको छ ।

सोही सूचनाका आधारमा सेनाले हवाई आक्रमण गरी कारवाही थालेको र शनिबार रातिको सो कारबाहीका क्रममा ती लडाकु मारिएको बताइएको छ ।

त्यस कारवाहीका क्रममा उनीहरुको आश्रयस्थल नष्ट भएको र केही लडाकु घाइते भएका पनि बताइएको छ । सोमाली सरकारले आतङ्ककारी घोषणा गरेको अल शबाब समूहका विरुद्धमा सेनाले केही हप्तादेखि प्रतिरक्षात्मक कारवाहीलाई जारी राखेको छ ।

सो कारवाहीमा केही सामुदायिक समूहको पनि संलग्नता रहेको पनि सेनाले जनाएको छ । एबोरे क्षेत्रमा अल शबाबले आफ्नो तालिम केन्द्र सञ्चालनमा ल्याएको बताइएको छ । सो क्षेत्रमा उनीहरुको बढी मात्रामा प्रभाव रहेकाले सरकारले यस क्षेत्रमा हमला गर्ने गरेको बताइएको छ ।

आँधीपछि जापानमा लाखौँ मानिसलाई सुरक्षित स्थानमा जान आह्वान

आँधीपछि दक्षिणपश्चिम जापानका लाखौँ मानिसलाई सुरक्षित क्षेत्रतर्फ जान आह्वान गरिएको छ ।

आइतबार शक्तिशाली टाइफुन नान्माडोल उक्त क्षेत्रतर्फ पुगेपछि अधिकारीहरुले झन्डै ३० लाख बासिन्दाहरूलाई सुरक्षित क्षेत्रतर्फ जान आग्रह गर्न आग्रह गरेका हुन् ।

आँधीले विभिन्न क्षेत्रमा असर गरेको छ । आइतबार बिहानसम्म कागोशिमा र छिमेकी मियाजाकीमा साढे २५ हजार घर विजुलीविहीन भएका छन् । त्यस्तै, क्षेत्रीय रेल सेवाहरू, उडानहरू र फेरी सेवा पनि रद्द भएका छन् ।

दिवंगत महारानीको अन्त्येष्टिमा सहभागी हुन भारतीय राष्ट्रपति बेलायत प्रस्थान

भारतकी राष्ट्रपति द्रोपदी मुर्मु बेलायत प्रस्थान गरेकी छिन् । बेलायतकी दिवंगत महारानी एलिजावेथ द्वितीयको अत्येष्टिमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनले अन्त्येष्टि समारोहमा सहभागी भई भारतको तर्फबाट महारानीप्रति श्रद्धाञ्जील अर्पण गर्दै बेलायती राजपरिवार र बेलायती जनताप्रति सहानुभूति व्यक्त गर्ने छिन् । उनले सोमबार ल्यानक्यास्टर हाउसमा रहेको शोक पुस्तिकामा हस्ताक्षर समेत गर्ने जनाइएको छ ।

अन्त्येष्टि समारोहमा चीनको तर्फबाट भने उपराष्ट्रपति वाङ चिशानले सहभागीता जनाउने छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको विषेश प्रतिनिधिका रुपमा उनले सहभागीता जनाएउने भएका हुन् ।

त्यसैगरी अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन पनि अन्त्येष्टिमा सहभागी हुन बेलायत पुग्नेछन् । बेलायत सरकारको महारानीको अन्त्येष्टि समारोहमा आतिथ्यता ग्रहण गर्न आग्रह गर्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरूलाई निमन्त्रणा गरेको थियो ।

बेलायतको निमन्त्रणा अनुसार नै धेरै देशका सरकार तथा राष्ट्रप्रमुखहरु अहिले लण्डन प्रस्थान गर्दै छन् । महारानी एलिजावेथ द्वितीयको अन्त्येष्टि यही सेप्टेम्बर १९ मा लण्डनमा भव्य समारोहका साथ गर्ने तयारी बेलायती सरकारले गरेको छ । विभिन्न देशबाट आएका पाहुनाहरु बेलायतका नयाँ राजा चार्लसद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने छन् ।

महारानी एलिजाबेथको सेप्टेम्बर ९ मा निधन भएको थियो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानीको ९६ बर्षको उमेरमा निधन भएको हो ।

६३ वर्षे साउदी पुरुषद्वारा ४३ वर्षको अन्तरालमा ५३ पटक विवाह

साउदी अरबमा एकजना पुरुषले ५३ पटक विवाह गरेको दाबी गरेका छन् । ६३ वर्षे साउदी नागरिक अबु अब्दुल्लाहले ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको दाबी गरेका हुन् ।

उनले व्यक्तिगत खुशीका लागि भन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै पटक विवाह गरेको जनाएका छन् ।

६३ वर्षीय अबु अब्दुल्लाले आफूले २० वर्षको उमेरमा पहिलो पटक विवाह गरेको जनाएका छन् । उनकी प्रथम श्रीमतीको उमेर उनकोभन्दा ६ वर्ष धेरै रहेको थियो । त्यसको तीन वर्षपछि उनले २३ वर्षको उमेरमा दोस्रो विवाह गरेका थिए ।

‘जब मैले पहिलो पटक विवाह गरे, मैले एकभन्दा बढी महिलासँग विवाह गर्ने योजना बनाएको थिइन किनकी म खुशी थिएँ’, उनले भने, ‘तर, केही समयपछि समस्या देखियो । २३ वर्षमा पुग्दा मैले पुनः विवाह गर्ने निर्णय गरेँ र मेरो निर्णय श्रीमतीलाई सुनाएँ ।’

गल्फ न्युजका अनुसार उनको वैवाहिक जीवनमा समस्या तब सुरु भयो जब उनको पहिलो र दोस्रो श्रीमतीसँग झगडा हुन थाल्यो । यही कारण उनी तेस्रो र चौथो पटक दोस्रो विवाह गर्न बाध्य भए ।

अन्ततः पहिलो, दोस्रो र तेस्रो पत्नीसँग उनको सम्बन्धविच्छेद भयो । ‘लामो समयावधिमा मैले ५३ जना महिलासँग विवाह गरे । पहिलो पटक मैले २० वर्षको उमेरमा विवाह गरे । उनी मभन्दा ६ वर्ष जेठी थिइन्’, अब्दुल्लाहले भने ।

उनको सबैभन्दा छोटो विवाह एक रात मात्र टिकेको छ ।

उनलाई ‘शताब्दीकै बहुविवाहक’ को संज्ञा दिइएको छ । हालसालै स्थानीय टेलिभिजनमा अन्तवार्तामा देखा परेका उनले हालै एक महिलासँग विवाह गरेको र पुनः विवाह गर्ने कुनै मनसाय नभएको बताएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : १२ बजे

सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सेनाको आग्रह

काठमाडौँ – नेपाली सेनाले परिस्थितिलाई थप जटिल हुन नदिन सामाजिक

लुटिएका ३१ नाल हतियार र गोलीगट्ठा बरामद

काठमाडौँ – नेपाली सेनाले आन्दोलन क्रममा अराजक भिडले मङ्गलबार लुटेको

ड्रोनबाट देखिएको काठमाडौं (फोटो फिचर)

तस्बिरः नेपाल फोटो लाइब्रेरी काठमाडौं – बिहीबार प्रदर्शनकारीले संघीय संसद

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार