किवी खेतीबाटै वार्षिक दुई लाखभन्दा बढी आम्दानी « Khabarhub

किवी खेतीबाटै वार्षिक दुई लाखभन्दा बढी आम्दानी


२ मंसिर २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


396
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी बेनी नगरपालिका वडा नं ३ मा लछु पुनले आठ वर्षअघि किवी खेती भित्र्याए । कोदो र मकै फल्ने बारीमा किवी खेती सुरु गरेका उनले अहिले यसबाट राम्रो आम्दानी गर्न थालेका छन्  । पुनका अनुसार किवी खेतीबाट अहिले वार्षिक दुई लाखभन्दा बढी आम्दानी भइरहेको छ । उनले ३५ वटा बोटबाट किवी खेती सुरु गरेका थिए ।

‘वर्षमा १० पाथी कोदो फल्ने बारीमा लगाएको किवीबाट अहिले राम्रो आम्दानी भइरहेको छ’, उनले भने, ‘धेरै दुःख गर्न पनि नपर्ने र गाउँबाटै बिक्री हुने भएकाले कोदो, मकै लगाउन छाडेर किवी खेतीमा सुरु गरेको हुँ ।’

पुनले चार वर्षअघि कोदो र मकै नरोपी बारीमा थप ४० बोट किवी लगाएका छन्। जसले यसै वर्षदेखि प्रतिफल दिन थालेको छ । पुनले यसवर्ष समग्रमा दुई लाख बराबरको छ सय किलो किवी फलेको बताए। अनुकूल हावापानी, खेती गर्न सजिलो र छिटो आम्दानी लिन सकिने भएकाले यहाँका भकिम्ली, मुसुङ, डोले, मड्केना, छाप टोलमा व्यावसायिक किवी खेती बढिरहेको छ ।

आयआर्जनको राम्रो सम्भावना भएकाले किवी खेतीतर्फ आकर्षण बढेको कृषक खिम पुनको भनाइ छ । आठ रोपनी बारीमा चार वर्षअघि पुनले लगाएको किवीले उत्पादन दिन थालेको छ । ‘हाम्रो वडामा करिब ४० जनाले व्यक्तिगत र सामूहिकरुपमा किवी खेती गरेका छन्’, पुनले भने, ‘२० हजार बोटमध्ये हाल पाँच हजार बोट फलेका छन् ।’ छापटोलका बासिन्दाले बारीमा अन्य बालीको विकल्पमा गत वर्ष एक हजार किवीका बिरुवा रोपेर सामूहिक खेती सुरु गरेका थिए । गत वर्ष एक सय किलो किवी बिक्री गरेका लालबहादुर पुनले यसपटक तीन सय किलो उत्पादन भएको बताए। 

‘पोखराका व्यापारीसँग प्रतिकिलो रु दुई सय ५० का दरले किवी बेच्ने सहमति भएको छ’, उनले भने, ‘अहिलेसम्मका लागि किवी बेच्न बजारको समस्या छैन ।’ पुनको बगैँचाका एक सय ३५ किवीका बोट फलेका छन् । गत वर्ष २५ वटा नयाँ बिरुवा लगाएका पुनले यसपटक २० रोपनीमा किवी खेती विस्तार गर्ने योजना बनाएका छन् । मडकेनाका खिमबहादुर घर्तीले पनि परम्परागत खाद्यबालीको विकल्पमा किवी खेती गरेका छन् । 

बेनी नगरपालिका-३ का वडाध्यक्ष पदम पुनका अनुसार चार वर्षअघि ४२ जना कृषकलाई आठ सय १५ वटा किवीका बिरुवा अनुदानमा वितरण गरिएको थियो । तल्लो क्षेत्रमा सुन्तला र माथिल्लो क्षेत्रमा किवी खेतीमा जोड दिइएको उनले बताए । 

धेरै पौष्टिकतत्व पाइने किवीको बजारमा माग र खपत पनि दुबै राम्रो छ । खेती गर्न सुरु गरेको तेस्रो वर्षबाट एउटा बोटमा ५० देखि ७० किलोसम्म किवी फल्छ । कृषि प्राविधिकका अनुसार समुद्री सतहदेखि एक हजार पाँच सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्न सकिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । 

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फलको रुपमा चिन्ने गरिएको छ । किवी चीनमा विकास भएको फलफूल हो । न्युजिल्यान्डले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलीसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दरअनुसार प्रतिगोटा रु एक सय पर्छ । निजी नर्सरीबाट रु तीन सयसम्ममा बिक्री हुन्छ । 

प्रति आठ वटा पोथी बिरुवा बराबर एक वटा भाले किवीका बिरुवा लगाउनुपर्छ । लहरा भएर फैलिने किवी एक रोपनीमा १५ वटासम्म बिरुवा लगाउन सकिन्छ । फूल खेल्ने बेलामा असिनाबाट जोगाउनु किवी खेतीको मुख्य चुनौती हो ।

प्रकाशित मिति : २ मंसिर २०७९, शुक्रबार  १ : २७ बजे

म्याग्दीको गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको छ

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान