वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो | Khabarhub Khabarhub

वाग्मती मनोहरा दोभानबाट पाँच मेट्रिकटन फोहर उठाइयो


७ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वाग्मती मनोहरा दोभान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइएको छ ।

वाग्मती सफाइ महाअभियानको ४५८औँ हप्तामा आज वाग्मती मनोहरा दोभानमा सफाइ गरी पाँच मेट्रिकटन फोहर उठाइए पनि व्यवस्थापन भने हुन नसकेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विगत केही दिनदेखि काठमाडौँ महानगरपालिकाले राजधानीबाट फोहर उठाउन नसक्दा सडक किनार, चोकमा फोहर थुप्रिएको छ । फोहरका कारण राजधानी काठमाडौँ दुर्गन्धित बन्न थालेको छ । फोहर व्यवस्थापनमा महानगरपालिकाले ध्यान नदिँदा बेलाबेलामा समस्या आउने गरेको छ ।

वाग्मती मनोहरा दोभानको सफाइमा नेपाली सिने जगतका कलाकार पुजा शर्मा, पल शाह, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, प्रमुख अभियानकर्मी लीलामणि पौडेल, काठमाडौं महानगरपालिका वडा नं ११ अध्यक्ष हीरालाल तण्डुकार, स्थानीयवासी, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलगायत विभिन्न सङ्घसंस्थाको सक्रियता रहेको थियो ।

वाग्मती सफाइका क्रममा आज माला खरेल एवं दुर्गा रावलको जन्मदिनको उपलक्ष्यमा नदी किनारमा वृक्षरोपण गरिएको थियो । सफाइ अभियानकर्मीको जन्मदिन परेका दिन नदी किनारमा वृक्षरोपण गर्ने गरिएको छ ।

अर्को हप्ता शनिबार पनि वाग्मती मनोहरा दोभानमै बिहान ७:३० बजेदेखि ९:३० बजेसम्म सफाइ गरिने जनाइएको छ । वाग्मतीको शङ्खमूल क्षेत्रमा अझै फोहरको थुप्रो देखिएको अभियानकर्मी चक्रबहादुर चन्दले जानकारी दिए ।

फोहरको थुप्रो देख्दा नौ वर्षदेखि के गरियो भन्ने प्रश्न उब्जिएको उनको भनाइ थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको ४२६औँ हप्तामा गोठाटार पुलको नदी क्षेत्रमा सफाइ गरिएको छ ।

मुहानदेखिकै वाग्मती सफाइ गर्दै आएको वाग्मती सुन्दरता सरोकार मञ्चको सक्रियतामा यस क्षेत्रको अभियान चल्ने गरेको छ । ‘फोहर शून्य नदी किनार सम्भव छ’ भन्ने नाराका साथ मञ्चले सफाइ गरिरहेको अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

मनोहरा सफाइ अभियानको २५७औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ जडिबुटीस्थित मनोहरा पुलमुनि दुई घण्टा सफाइ गरिएको छ । विभिन्न संस्थाका ५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ अभियान हप्तामा एक दिन शनिबार निरन्तर छ ।

‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ जारी सफाइ अभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल समयमा पनि जारी हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यकामा यसका सहायक नदी पनि सफाइ सुरु भएको छ ।

काठमाडौँ उपत्यकामा हाल २५ स्थानमा सफाइ भइरहेको छ ।

यसैगरी आज काठमाडौँ उपत्यकाका रुद्रमती, विष्णुमतीको माथिल्लो र तल्लो भेग, वाग्मतीका विभिन्न स्थान, चक्रपथको उत्तरी र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ गरिएको छ ।

यसैगरी वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई काठमाडौँ उपत्यका बाहिरका प्रमुख शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर १०९ भन्दाबढी स्थानमा सफाइ भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७८, शनिबार  ९ : ४५ बजे

जेन-जी आपसी विवादमा, सडकमा ओर्लिए दलका कार्यकर्ता

काठमाडौँ- जेन-जी युवाहरूबीच अन्तरिम सरकारको नेतृत्वलाई लिएर विवाद बढ्न थालेपछि

अन्तरिम सरकार गठन तयारीबीच राष्ट्रपति र सभामुखबीच वार्ता 

काठमाडौँ- केपी शर्मा ओली नेतृत्वको दुईतिहाइको सरकारको अकल्पनीय पतनपछि देशलाई

शीतलनिवासमै सुरक्षित छन् राष्ट्रपति, शुक्रबार बिहानसम्म सुशीला कार्की प्रधानमन्त्री बन्ने दाबी

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा संविधानविदहरुसँग पछिल्लो राजनीतिक संकटबारे

चल्न छाडे राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयका वेबसाइट

काठमाडौँ- जेन-जी पुस्ताको आन्दोलन भएको दुई दिन बितिसक्दा पनि देशमा

सांसद माधव सापकोटा भन्छन् : जंगीअड्डाले प्रचण्डलाई बोल्न दिएन, राष्ट्रिय संकट निम्त्याउँदैछ

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटा सुवोधले