‘महिलालाई जनताले पत्याउँछन्, दलले होइन’ | Khabarhub Khabarhub

‘महिलालाई जनताले पत्याउँछन्, दलले होइन’


६ बैशाख २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- आसन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकांक्षीमा तीन महिला छन् । तीमध्ये अहिलेकी उपप्रमुख रेणुका काउचा पनि एक रहेकी छन् । उनले प्रमुखमा चाहना मात्र गरेको नभई आफू सशक्त दाबेदार भएको सुनाइन्।

“उपप्रमुखका रूपमा पाँच वर्ष काम गरियो, धेरै कुरा सिकियो, अब प्रमुख भएर नगर हाँक्ने दृढता मसँग छ”, उनले भनिन्, “पार्टीले त हामी महिलालाई झट्टै पत्याउन गाह्रो छ, तर जनताको विश्वास हामी प्रति छ ।” काउचाले विसं २०७४ को स्थानीय तह चुनावमा महिला उम्मेदवारले लोकप्रिय मत लिएर जितेको स्मरण गरिन्।

उनले पनि प्रमुखको तुलनामा २८४ बढी मत लिएर गलकोटको उपप्रमुखमा विजयी बनेकी थिइन् । अबको चुनावमार्फत नगरप्रमुख बनेर गलकोटको नेतृत्व गर्ने काउचाको अठोटमा जति दम छ त्यत्तिकै जटिल र असहज छ उम्मेदवार बन्ने बाटो । योग्य हुँदाहुँदै पनि टिकट बाँडफाँटमा पछि परिने हो कि भन्ने संशयमा उनी छिन्।

“पार्टीमा आफ्नो दाबी दह्रोसँग राखिरहेकी छु, कार्यकर्ता र मतदाताको मन जित्छु भन्ने आत्मविश्वास छ”, काउचाले भनिन्, “ऐन, नियम केही नहुँदा पनि कर्मचारीका भरमा त काम गरियो, अहिले त जग बसेको छ, संरचना तयार छ, त्यसमै टेकेर नगरपालिका हाँक्न सकिन्छ ।”

उनले उपप्रमुख भएर काम गर्दा पनि अधिकारविहीन हुनु नपरेको बताइन्। कानुनी प्रबन्धबाटै प्रमुख र उपप्रमुखको काम, कर्तव्य नै तोकिएपछि जिम्मेवारी बहनमा पछाडि परेको अनुभव कहिल्यै नभएको उनको भनाइ छ । “कपितय ठाउँमा प्रमुख र उपप्रमुखबीच तालमेल नहुँदा विवाद पनि देखिए तर हामीले त्यस्तो हुन दिएनौँ”, काउचाले भनिन्, “जनता र सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्‍यौं।”

काउचालाई झैँ ताराखोला गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुनलाई पनि अध्यक्ष भएर गाउँपालिका चलाउने आँट र इच्छा थियो । तर अध्यक्ष पदको आकाङ्क्षीमा पुरुष अनुहार नै हाबी भएपछि उनि पुनः एकपटकलाई उपाध्यक्षमै दोहोरिने मनस्थितिमा पुगेकी छिन् । “जिम्मेवारी पाए नेतृत्व गर्न नसक्ने भन्ने त होइन, तर पार्टीको कुरालाई पनि मान्नै पर्नेरहेछ”, पुनले भनिन्, “महिलाले सक्दैनन् भन्ने पुरानो र पुरुषवादी सोच अझै हटेको छैन, समाजले पनि महिलालाई झट्टै अघि सार्न चाहँदैन ।”

स्थानीय तहको उपप्रमुख या उपाध्यक्ष हुनुलाई पनि महत्वपूर्ण उपलब्धि मान्नुपर्ने उनको बुझाइ छ । न्यायिक, राजस्व परामर्श, अनुगमन समिति, सामाजिक विकास, बजेट निर्माणलगायत क्षेत्रमा उपाध्यक्षको नेतृत्वदायी भूमिका हुने पुनले बताइन्। नेकपा (माओवादी केन्द्र) बाट चुनाव लडेर उपाध्यक्ष बनेको उनले असक्षम भएर या नचाहेर अध्यक्षको उम्मेदवार बन्ने दौडमा नलागेको नभई पार्टीको आन्तरिक परिस्थिति मिलाउन सहयोग गरेको रूपमा बुझ्नुपर्ने बताइन्।

महिला उपप्रमुख भएको अर्को नगरपालिका हो ढोरपाटन । त्यहाँ नेकपा (एमाले)बाट करमती पुनमगरले विसं २०७४ को स्थानीय तह चुनावमा उपप्रमुख पद जितेकी थिइन् । यसपालिको चुनावमा पुनमगर प्रमुखको उम्मेदवार बन्ने बाटो अब करिब बन्द भइसकेको छ । पार्टीले अहिलेका नगरप्रमुख देवकुमार नेपालीलाई नै पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको छ ।

पुनमगरलाई उपप्रमुख भएर काम गर्दाका अनुभव र आगामी चुनावमा उम्मेदवार बन्ने/नबन्ने विषयमा सोध्दा कुनै प्रतिक्रिया दिन चाहिनन् । यीबाहेक बरेङ, निसीखोला र तमानखोला गाउँपालिकामा पनि महिला उपाध्यक्ष छन् । ती गाउँपालिकामा पनि अहिले भएका महिला उपाध्यक्षले नै अध्यक्ष पदको टिकट पाउने कुनै सम्भावना छैन ।

विभिन्न दलबीच गठबन्धन गरेर चुनाव लड्ने तयारीले त झन् यो चुनावमा प्रमुख पदमा महिलाको नेतृत्व खुम्चने देखिएको छ । गत स्थानीय चुनावमा पनि दलहरूबीच गठबन्धन हुँदा महिला नेतृत्वमा आउनबाट बञ्चित भएका थिए । यहाँका बाँकी चार स्थानीय तहमा पुरुष उम्मेदवार नै उपप्रमुख र उपाध्यक्षमा निर्वाचित भएका थिए ।

राजनीतिमा महिला सहभागिता सुनिश्चित गर्न संवैधानिकरूपमै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनुपर्ने व्यवस्था भए पनि दलहरुबाटै त्यसको उल्लङ्घन हुँदै आएको छ । बाध्य भएर एउटा पद महिलालाई दिनुपरेका अवस्थामा पनि उपप्रमुख पदमा उम्मेदवार बनाउने गरिएको छ ।

गठबन्धनका नाममा महिलालाई मुख्य पदमा आउनबाट रोक्न नहुनेमा यहाँका राजनीतिक दलका महिला सङ्गठनले पनि ध्यानाकर्षण गराएका छन् । गत महिना अन्तरपार्टी महिला सञ्जालले पनि महिलालाई नेतृत्वदायी पदमा उम्मेदवार बनाउन माग गरेको थियो । राजनीतिमा आफूहरूलाई कम आँक्न नहुनेमा महिलाहरुको एकै स्वर छ । रासस

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  १ : ३६ बजे

‘वर्तमान सरकारले मुलुकका विभिन्न समस्या समाधान गर्नेछ’

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान स्थिर सरकारले मुलुकको विभिन्न

अध्यक्ष प्रचण्डद्वारा पार्टी प्रवेश गर्नेहरूलाई स्वागत

काभ्रे– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज काभ्रेपलान्चोक

जनकपुरधाम साहित्य महोत्सवमा, ‘जनकपुरधामका चुनौती र अवसर’ बारे बहस

जनकपुरधाम– जनकपुरधाम साहित्य महोत्सवको छैटौँ संस्करणको दोस्रो दिन ‘जनकपुरधामका चुनौती

खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ्चालन गर्न निर्देशन

काठमाडौं– सङ्घीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली

अछामको बयालपाटा अस्पताल : दुर्गमका विपन्न बिरामीको जीवनरक्षक !

धनगढी – बयालपाटा ! गरिब तथा विपन्न परिवारका बिरामीको पहिलो