विश्वका ३२ राष्ट्रमा देखियो मङ्कीपक्स भाइरस, वैज्ञानिकहरू भन्छन्– कोभिडजस्तो संक्रामक छैन | Khabarhub Khabarhub

विश्वका ३२ राष्ट्रमा देखियो मङ्कीपक्स भाइरस, वैज्ञानिकहरू भन्छन्– कोभिडजस्तो संक्रामक छैन



कोरोना महामारीबाट संसार मुक्त हुन नपाउँदै अर्को भाइरल संक्रमणका कारण त्रास उत्पन्न हुन थालेको छ । युरोप, उत्तर अमेरिका, अफ्रिका लगायतका ३२ भन्दा धेरै देशहरुमा हालसम्म मङ्कीपक्स भाइरसका संक्रमितहरु फेला परेका छन् । विगत केही सातामा विश्वभर सयौँमा उक्त रोग पुष्टि भइसकेको छ ।

यद्यपि नेपालसहित दक्षिण एसियाका कुनै देशमा मङ्कीपक्स फेला परेको हालसम्म पुष्टि भने भएको छैन । मङ्कीपक्स संसारका धेरै देशमा देखिन थालेपछि यसले मानिसहरु भयभीत समेत हुन थालेका छन् । कतिपय देशमा त फेरि लकडाउन हुने हो कि भन्ने चिन्ता पनि उत्पन्न हुन थालेको छ । तर, धेरै वैज्ञानिकले यो भाइरस कोभिड जस्तो सङ्क्रामक नभएका कारण लकडाउन नै गर्नुपर्ने अवस्था नरहेको तथा भयभीत हुन आवश्यक नरहेको बताइसकेका छन् ।

मङ्कीपक्स प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कटका रूपमा वर्गीकरण गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय गर्न विश्व स्वास्थ्य संगठन डब्लूएचओले आपतकालीन बैठक गर्न लागेको छ । त्यस्तो वर्गीकरण संयुक्त राष्ट्रसङ्घले दिने सबैभन्दा ठूलो चेतावनी हो । यसअघि स्वाइन फ्लू, पोलियो, इबोला, जीका र कोभिड रोगलाई मात्र त्यस्तो वर्गमा राखिएको छ ।

‘मङ्कीपक्स फैलिनु असामान्य र चिन्ताको विषय हो’ डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ, ‘त्यसैले यो महामारी अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य सङ्कट हो कि हैन भनेर निक्र्यौल गर्न अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अन्तर्गत मैले आपतकालीन समितिको बैठक बोलाउने निर्णय गरेको छु ।’

यस्तै डब्लूएचओले यसको नयाँ नाम राख्न समेत प्रस्ताव गरेको छ । मङ्कीपक्स रोगको नयाँ नाम राख्न विज्ञहरूसँग मिलेर काम भइरहेको डब्लूएचओले जनाएको छ । गत साता ३० भन्दा बढी वैज्ञानिकहरूले यस भाइरस र त्यसबाट हुने रोगको अविभेदकारी र सर्वस्वीकार्य नाम तत्काल आवश्यक भएको औँल्याएका थिए ।

निरन्तर रूपमा मङ्कीपक्स भाइरसलाई ‘अफ्रिकी’ भनिनु र बाँदरसँग यो रोगको नाम जोडिनु यथार्थपरक नभएको र यो विभेदकारी समेत भएको उनीहरूको भनाइ थियो । ‘हामी अहिले फरक अवस्थामा छौ । यो आश्चर्य र चिन्ताको विषय हो’ अक्सफोर्डको पेन्डेमिक साइन्स इन्स्टिच्युटका निर्देशक पिटर हर्बीले भनेका छन् । यो रोगको उपचार गरिरहेका डा. हग अल्डरले पहिलेभन्दा अहिले यो भाइरसको स्वरूप परिवर्तन भएको बताएका छन् । यो फैलने क्रम पनि फरक रहेको जनाइएको छ ।

दादुरा, बिफरजस्ता भाइरसकै प्रजाति रहे पनि यसबाट संक्रमणको जोखिम कम रहेको विशेषज्ञहरू बताउँछन् । नोटिङ्घाम विश्वविद्यालयका मोलिक्युलर भाइरोलोजीका प्राध्यापक जोनाथन बलले भने– ‘सुरुमा मङ्कीपक्स भएका संक्रमितको सम्पर्कमा रहेका ५० जनामध्ये केबल एक जनामा मात्र यो भाइरस सर्नुले यो कति कमजोर रहेछ भन्ने पुष्टि हुन्छ । त्यसैले अहिले नै यसले महामारीकै रुप लिन्छ भन्ने सोच्नु गलत हुन्छ ।’

मङ्कीपक्स भाइरसका संक्रमित प्रायः मध्य तथा पश्चिम अफ्रिकामा भेटिन्छन् । अहिले विश्वभर फैलिरहेको यो भाइरसको किसिम भने पश्चिम अफ्रिकामा पाइने र सामान्य किसिमको रहेको छ । कुनै यात्रा नगरेका मानिसमा पनि भाइरसको संक्रमण देखिनुले यो भाइरस समुदायमै फैलिसकेको पुष्टि गर्ने बीबीसीले जनाएको छ । यो संक्रमण भएका व्यक्तिमा ज्वरो आउने, शरीरमा बिमिरा देखिने, शरीर दुख्ने, थकान महसुस हुने लक्षण देखिन्छ । ज्वरो आउनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्रमा छालामा दाग देखिनु, अनुहार, हल्केला र पैतालामा डाबर देखापर्नु, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किनुजस्ता यस रोगमा लक्षण देखिन्छ ।

यो रोग लागेको खण्डमा सुरुमा हल्का ज्वरो आउने र प्रायः सुरुमा अनुहारमा बिमिरा देखापर्छ । सुरुमा अनुहारमा देखिएका बिमिरा विस्तारै हत्केला, पैताला र अन्य अङ्गमा फैलिँदै जान्छ । यो बिमिरा अत्यन्त चिलाउने र दुख्ने किसिमको हुन्छ । बिमिराले विभिन्न चरण पार गर्दै फोकामा परिणत हुन्छ । फोका फुटेपछि पाप्रा लाग्छ । मङ्कीपक्स भएमा टाउको, ढाड र मांसपेशी दुख्ने, शरीरका ग्रन्थी बढ्ने जस्ता लक्षण पनि देखिन्छ ।

बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा आँखामा संक्रमण र दृष्टि गुम्नु, अन्य जीवाणुको संक्रमण, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जानु र मृत्युजस्ता सम्भावित जटिलता देखा पर्ने जनाइएको छ । प्राय ६ देखि १३ दिनमा यो रोगको धेरै लक्षण देखिन्छ । तर, विज्ञहरुले भने ५ देखि २१ दिनलाई यसको लक्षण देखिने समयावधि मानेका छन् ।

मङ्कीपक्स भाइरस संक्रमित व्यक्ति तथा पशुसँग नजिकको सम्पर्कमा आउँदा वा तिनको ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ अर्को व्यक्तिसम्म पुग्दा यो भाइरस सर्ने गर्दछ । मानिस तथा जनावरसँगको नजिकको सम्पर्कबाट रोग फैलिन्छ । यस्तै श्वासनली, आँखा, नाक वा मुख काटिएको, टोकिएको वा फुटेको छालाजस्ता अङ्गबाट भाइरस शरीरमा प्रवेश गरेर पनि सर्ने गर्दछ ।

बाँदर, मुसा, लोखर्केलगायत जनावर, भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस सर्ने गर्दछ । यस भाइरसका कारण मानिसको मृत्यु नै हुने शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकको अनुरोध छ । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका अनुसार भाइरस संक्रमित अधिकांश व्यक्ति केही हप्ताभित्र निको हुन्छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : १७ बजे

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र