सीको तेस्रो कार्यकाल कति सम्भव छ ? | Khabarhub Khabarhub

विश्लेषण

सीको तेस्रो कार्यकाल कति सम्भव छ ?

आर्थिक संकटको धक्कामा चिनियाँ राष्ट्रपतिको महत्वाकांक्षा



चिनियाँ राष्ट्रपति सी जिन्पिङ विश्वकै शक्तिशाली नेताको सूचीमा आउँछन् । सन् १९५३ मा साङ्शी प्रान्तको फुपिङ काउन्टीमा जन्मेका सीले सन् २०१३ यता चीनको शासन गरिरहेका छन् । राष्ट्रपतिका रुपमा उनी तेस्रो कार्यकालका लागि केही महिनापछि आयोजना हुने सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेसनबाट चयन हुने अपेक्षा गरिएको छ ।

कुनै समय मुलुकको उप प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका एवम् चिनियाँ क्रान्तिका नेता माओत्सेतुङका साझेदार मानिने सी झोङसुनका छोरा सीको बाल्यकाल भने सुखसयलमा नै बितेको विश्वास गरिन्छ । यद्यपि उनका पिताले कम्युनिष्ट पार्टीमा विश्वास गुमाएसँगै उनको परिवारलाई साङ्शी प्रान्तकै ग्रामीण क्षेत्रमा पठाइएको थियो । उनले त्यहाँको कृषि कम्युनमा ६ वर्षसम्म शारीरिक श्रम गरेका थिए ।

यही बेलाबाट राष्ट्रपति सीले ग्रामीण किसानहरुसँग निकटता कायम गरेको बताइन्छ । पछि कम्युनिष्ट पार्टीको नेतृत्वमा आउन उनलाई यसबाट समेत मद्दत मिलेको विश्वास गरिन्छ । सन् १९७४ मा कम्युनिष्ट पार्टीको औपचारिक सदस्यता लिएका सीले सन् १९७५ बाट राजधानी बेइजिङमा रहेको सिङ्गुवा विश्वविद्यालयमा रासायनिक इन्जिनियरिङको अध्ययन गरेका थिए ।

सन् १९७९ मा विश्वविद्यालयबाट दीक्षित भएपछि उनले चिनियाँ उपप्रधानमन्त्री एवम् राष्ट्रिय रक्षामन्त्री गेङ बियाओको सचिवको रुपमा काम गरेका थिए । तीव्र गतिमा पार्टीको नेतृत्व अनुक्रममा माथि चढ्दै गएका उनी सन् १९९५ मा सम्म आइपुग्दा फुजियान प्रान्तमा पार्टीको उपसचिव चयन भएका थिए । सन् १९९९ मा फुजियानमा कार्यवाहक गर्भनर चयन भएका उनलाई त्यसको एक वर्षपछि अर्थात् सन् २००० मा गर्भनरको जिम्मेवारी प्रदान गरिएको थियो ।

सन् २००७ मा चीनको वित्तीय राजधानी साङ्घाईमा पार्टी नेतृत्व भ्रष्टाचार प्रकरणमा मुछिएसँगै उनलाई सहरको पार्टी सचिवको जिम्मेवारी तोकियो । छोटो समयमा नै उनी सन् २००७ को अक्टोबर महिनामा उनी पार्टीको पोलिटब्युरोको स्थायी समितिमा सदस्य चयन भए । ९ सदस्यीय पोलिटब्युरो स्थायी समिति चिनियाँ कम्युनिष्ट पार्टीमा निकै शक्तिशाली एवम् प्रभावशाली मानिन्छ ।

यससँगै उनलाई तत्कालिन राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारीका रुपमा हेर्न थालिएको थियो । सन् २००८ मा उपराष्ट्रपतिमा चयन भएसँगै उनलाई भावी राष्ट्रपति हुने ढोका पनि खुल्यो । अक्टोबर २०१० मा उनी चीनको शक्तिशाली केन्द्रीय सैनिक आयोगको उपाध्यक्ष चुनिए । सन् २०१२ को नोभेम्बर महिनामा आयोजित पार्टीको १८ औँ महाधिवेशनबाट उनी पुनः पार्टीको नौबाट घटाएर सात सदस्यीय बनाइएको स्थायी समितिमा चयन भए । त्यसबेला राष्ट्रपति हुले सैनिक आयोग नेतृत्वको जिम्मेवारी पनि सीलाई नै हस्तान्तरण गरेका थिए ।

सन् २०१३ को मार्च १४ मा चीनको जनकंग्रेसबाट उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए । भ्रष्टाचारविरोधी अभियानमार्फत् पार्टी र मुलुकमा आफ्नो शक्तिलाई सुदृढीकरण गरेका उनलाई सन् २०१६ मा पार्टीले ‘मुख्य नेता’ को पदवी दिएको थियो । यसअघि यस्तो पदवी माओत्सेतुङ, देङ स्याओपिङ, जियाङ जेमिनजस्ता प्रभावशाली नेताहरुलाई मात्र प्रदान गरिएको थियो ।

त्यसको एक वर्षपछि पार्टीको संविधान मै उनको दर्शनलाई ‘नयाँ युगमा चिनियाँ लक्षणसहितको समाजवादबारे सी जिन्पिङ विचारधारा’ भनी उल्लेख गरिएको थियो । सन् २०१८ को मार्च महिनामा आयोजित चिनियाँ जनकङ्ग्रेसले उनको विचारधारालाई मुलुकको संविधानमा उल्लेख गर्नका लागि संविधान नै संशोधन गरेको थियो । यससँगै उनलाई दोस्रो कार्यकालका लागि पनि सर्वसम्मत चयन गरिएको थियो ।

सन् २०१८ मा नै चीनमा राष्ट्रपतीय कार्यकालको अवधि हटाइएको थियो । यससँगै धेरै चिनियाँ एवम् विदेशी विश्लेषकहरुले सीले नै आफ्नो कार्यकाललाई तेस्रो पटकसम्म पनि निरन्तरता दिने अपेक्षा गरेका छन् । सिद्धान्ततः उनी अनिश्चितकालसम्मका लागि पदमा रहिरहन सक्छन् । अबका केही महिनामा चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले २० औँ महाधिवेशनको आयोजना गर्दैछ । यसलाई धेरैले निकै चासोपूर्वक हेरेका छन् । तर पछिल्लो समय विकसित घटनाक्रमले भने सीमाथि चुनौतीका चाङ रहेको देखाएको छ ।

राष्ट्रपति सी अहिले आन्तरिक एवम् वाह्य समस्यासँग जुझ्न संघर्ष गरिरहे जस्तो देखिन्छन् । मुलुकभित्र कठोर तर असफल प्रायः शून्य कोभिड नीति, गिर्दो अर्थतन्त्र, घरजग्गा बजारमा देखिएको वित्तीय समस्या, युक्रेनमाथि रुसी आक्रमण, ताइवान स्टे«टमा भू राजनीतिक अस्थीरताले सी जिन्पिङलाई आफ्नो १० वर्षे कार्यकालको सबैभन्दा कठिन मोडमा उभ्याएको छ । यही वर्ष आयोजना हुने सत्तारुढ कम्युनिष्ट पार्टीको महाधिवेसनबाट तेस्रो पटक चिनियाँ नेतृत्व सम्हाल्ने दाउमा रहेका राष्ट्रपति सीका लागि यी घटनाक्रमहरु त्यती सुखद देखिँदैनन् ।

केही महिनाअघि नयाँ वर्षको शुभकामना दिनेबेला राष्ट्रपति सीले भनेका थिए– ‘महान् पुनर्ताजगीको बाटोमा चिनियाँ राष्ट्रले आत्मविश्वासी प्रगति गर्दैछ ।’ तर यथार्थ भने उनको नयाँ वर्षको सम्बोधनभन्दा बिल्कुल फरक देखिन्छ । सियान र साङ्घाईजस्ता सहरमा लागू गरिएको लकडाउनले अर्थतन्त्रलाई प्रभावित बनाइदिएको छ भने यसबाट आपूर्तिचक्रमा परेको प्रभावका कारण विश्व समुदायबाट चीनले चर्को आलोचना खेपिरहेको छ ।

यसबाहेक युक्रेनमाथि आक्रमण गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘असिम’ साझेदारी रहेको टिप्पणी गरिने सी पश्चिमा मुलुकको आलोचनाको तारो पनि पनि बनेका छन् । र अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले राष्ट्रपति सीलाई झस्काइदिएको समेत टिप्पणी हुँदै आएका छन् । स्वशासित राज्यव्यवस्था रहेको ताइवानमा चीनले लामो समयदेखि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

पेलोसीले ताइवानको भ्रमण गरेपछि ताइवान आसपास चीनले सैन्य अभ्यास गरेपछि यसले विश्वकै ध्यान खिच्यो भने केही पक्षले निन्दा समेत गरे । ताइवानमा देखिएको तनाव केही साम्य भएजस्तो देखिएको छ । यद्यपि विश्लेषकहरु भने ताइवानमा सीका लागि दीर्घकालीन समस्या बल्ल सुरु भएको टिप्पणी गर्छन् ।

‘गत साता भएका घटनाहरुबाट हामी दीर्घकालीन संकटतर्फ उन्मुख हुँदैछौँ भनी अमेरिका र चीन दुबै मुलुकले चाल पाइरहेका छन् ।’ अमेरिकाको वाशिंटन, डीसीमा रहेको सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज सीएसआईएसमा चीन अध्ययन संकायका स्वतन्त्र अध्यक्ष जुड ब्लान्चेटले भने, ‘यो संकट व्यवस्थापन गर्न बाइडेनलाई भन्दा सीलाई बढी चुनौती छ ।’

पेलोसीको ताइवान भ्रमणले चीन चिढिएको छ । हालै प्रकाशित श्वेतपत्रमा चीनले ताइवानलाई शान्तिपूर्ण रुपमा नै मुख्यभूमिमा विलय गराउने दृढता व्यक्त गरेको छ । ‘यद्यपि हामी बल प्रयोगको विकल्पलाई अस्वीकार गर्दैनौँ र आवश्यक सबै कदम चाल्ने विकल्प हामीसँग सुरक्षित छ ।’ श्वेतपत्रमा भनिएको छ । त्यस्तै, सन् १९९३ र सन् २००० मा प्रकाशित श्वेतपत्रमा लेखिएको ‘एकीकरण’ पछि चीनले ‘सैनिक वा प्रशासनिक अधिकारीलाई ताइवान नपठाउने’ भन्ने लाइन पछिल्लो श्वेतपत्रमा हटाइएको छ ।

तर, जेजस्तो बयानबाजी भएपनि राष्ट्रपति सी तत्काल अमेरिकासँग प्रत्यक्ष रुपमा जोरी खोज्न चाहिरहेका छैनन् । वाल स्ट्रिट जर्नलका अनुसार गत जुलाई २८ मा राष्ट्रपति सीले अमेरिकी समकक्षी जो बाइडेनसँगको कुराकानीका क्रममा पेलोसीको ताइवान भ्रमण स्थगित गर्न आग्रह गरेका थिए । जर्नलका अनुसार उनले अमेरिकासँग युद्धमा होमिने चाहना नरहेको संकेत गर्दै शान्ति र सुरक्षा कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

‘सर्वोच्च नेताका रुपमा सीलाई तेस्रो पटक चयन गर्ने अपेक्षा गरिएको महाधिवेसन आउँदै गर्दा उनको प्रमुख प्राथमिकता धेरै जोखिमको व्यवस्थापन गर्नु र स्थायीत्व कायम गर्नु रहेको छ ।’ शिकागो विश्वविद्यालयका चीनविज्ञ प्राध्यापक डाली याङले भने, ‘सी प्रायः स्थायीत्वको कुरा गरिरहेका हुन्छन्, तर उनीजस्तो शक्तिशाली व्यक्तित्वका लागि पनि मानिसहरुलाई कोभिड १९ पछि सबैकुरा ठीक छ भनेर आश्वस्त पार्न कठिन छ ।’

सीका लागि सबैभन्दा ठूलो टाउको दुखाइ भने मुलुकको गिर्दो अर्थतन्त्र नै हो । लगातारको लकडाउनका कारण चिनियाँ अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ । यही वर्षको मे महिनामा चिनियाँ प्रधानमन्त्री ले खछ्याङले रोजगार बजारमा देखिएको समस्याको सम्बोधन गर्न राष्ट्रिय बैठकको अयोजना गर्नु परेको थियो ।’ ‘चालु रोजगारीको अवस्था जटिल र खराब छ ।’ साना एवम् मझौला व्यवसायलाई सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले भनेका थिए ।

चीनले यो वर्ष मुलुकको कुल ग्राहस्थ उत्पादनमा ५ दशमलव ५ प्रतिशतको वृद्धि हुने अनुमान गरेको थियो । तर, प्रधानमन्त्री लीले साना एवम् मझौला व्यवसायलाई सहयोग आवश्यक रहेको भनी सम्बोधन गरेयता चीनको अर्थतन्त्र अझ नकारात्मक दिशामा अघि बढिरहेको छ । सरकारी तथ्यांकअनुसार जुलाई महिनामा चीनमा युवाहरुमाझ १९ दशमलब ३ प्रतिशत बेरोजगारी देखिएको छ ।

यो वर्षको अप्रिलदेखि जुन महिनासम्म चीनको कूल ग्राहस्थ उत्पादन केबल शून्य दशमलब ४ प्रतिशतले बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । हालै प्रकाशित नयाँ तथ्यांकले चिनियाँ अर्थतन्त्रको धुमिल छवि प्रस्तुत गरेको विश्लेषकहरुले टिप्पणी गरेका छन् । सन् १९९२ मा चीनले तथ्यांक राख्न थालेयता यो त्रैमासिकमा दोस्रो सबैभन्दा सुस्त आर्थिक वृद्धि रेकर्ड गरिएको रोयटर्सले जनाएको छ ।

यसअघि कोरोना भाइरसको महामारीका बेला सन् २०२० को पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र ६.९ प्रतिशतले संकुचित भएको थियो ।
तर, यतिसम्म हुँदा पनि चिनियाँ प्रशासनले शून्य कोभिड नीतिलाई पूर्ण रुपमा त्याग गर्न सकेको छैन । मे महिनामा प्रधानमन्त्री लीले आयोजना गरेको बैठकका क्रममा चिनियाँ उपप्रधानमन्त्री हु चुनहुवाले आफ्नो मुलुकले ‘क्रियाशील निकासको आम नीतिमा दृढतापूर्वक अडिग’ रहनुपर्ने बताएका थिए ।

प्राध्यापक डाली याङ भने कोभिड व्यवस्थापनको अर्को चरणमा के गर्ने भन्नेमा चीन दोधारमा देखिन्छ । ‘सन् २०२० मा कोभिडलाई नियन्त्रण गर्न सफल भएको चीनका सञ्चारमाध्यमले भाइरसको जोखिमलाई निकै बढाएर प्रचार गरेका थिए । यसबाहेक चीनले खोप रणनीतिमा पनि केही गलत कदमहरु चालेको छ । अहिले विश्व खुला हुँदै जाँदा चीन अझै पनि कठिन परिस्थितीमा अड्केको छ ।’

यस्ता घटनाले यस वर्षको अन्त्यतिर आयोजना हुने महाधिवेशनबाट तेस्रो कार्यकालको अपेक्षा गरेका सीलाई चुनौती थपेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १ : ३७ बजे

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण

मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं– मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित १३५ मेगावाट क्षमताको अर्धजलाशययुक्त

अबुधाबीस्थित नेपाली दूतावासमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं– आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने सरकारको

तनहुँको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ– धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन

हुम्ला– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण