निर्वाचनको तयारीमा राजनीतिक दलहरू « Khabarhub

निर्वाचनको तयारीमा राजनीतिक दलहरू


३ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उनीहरु गाउँ पसेका हुन् । 

नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा (एमाले) ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियानको तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारसमेत सिफारिस गरेको छ । 

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छवटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताए। उनले अन्नपूर्ण गाउँपालिका–८ राम्चेबाट वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको बताए ।

एमाले निकट अनेमसङ्घले पनि पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । कांग्रेस म्याग्दीका सचिव भरत रकालले बुधबार रघुगङ्गाको मौवाफाँट र बिहीबार मङ्गलाको बाबियाचौरमा पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण भएको जानकारी दिए । बाँकी चारवटा पालिकामा पनि कार्यकर्ता प्रशिक्षण हुने उनले बताए । 

नेकपा (माओवादी केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली (सुवीन) ले जनवर्गीय सङ्गठनको बैठक सञ्चालन भइरहेको र आगामी हप्ता जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको जानकारी दिए । पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गरिने उनले बताए । 

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष वीरबहादुर थापा क्षेत्रीले यसै हप्ता बेनीमा बसेका बैठकले प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क) मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम सिफारिस गरेको जानकारी दिए । 

उम्मेदवारका आकाङ्क्षीको पहिचान, आकाङ्क्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावनालगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् । 

जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क) मा माओवादीका विनोद केसी र क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन विजयी भएका थिए । त्यो चुनावमा एमाले र माओवादी तथा कांग्रेस र राप्रपाले तालमेल गरेका थिए । 

गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार  पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७  वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र छ  वडा जितेका थिए । 

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार  १२ : ३३ बजे

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति