ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा | Khabarhub Khabarhub

ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ ओझेलमा


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

झापा– भद्रपुर विमानस्थलबाट उत्तर साढे तीन किलोमिटरको दूरीमा ऐतिहासिक एवं पुरातात्विक महत्वको चन्द्रगढ पर्यटकीयस्थल रहेको छ । जुन क्षेत्रको पर्याप्त विकास हुन नसक्दा वार्षिक रु पाँच करोडभन्दा बढीको आम्दानी गुम्नुका साथै ओझेलसमेत परेको छ। 

भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढी सामुदायिक बनभित्र रहेको यस स्थानमा राणाशासन कालमा चन्द्र शमशेर आएर सैनिक किल्ला कायम गरेको स्वतन्त्र विश्वकोश विकिपिडियामा उल्लेख छ तर, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गा भट्टराईले यसको इतिहासबारे अन्योल रहेको बताए । 

उनका अनुसार सो क्षेत्रमा पानी नभएको दुईवटा पोखरी, थुम्की र इनार भग्नावशेषको रुपमा पाइन्छ । चार सय ३० हेक्टर क्षेत्रमा रहेको सामुदायिक वनभित्र रहेको चन्द्रगढमा विसं २०५५-०५६ तिर पुरातत्व विभागले उत्खननसमेत गरेको उनको भनाइ छ । उनले उत्खननका क्रममा पोखरी आसपास क्षेत्रभित्र माटाको भाँडाकुँडा भेटिएको कार्यालयको अभिलेखमा रहेको जानकारी दिए ।

वन क्षेत्रको ४२ हेक्टर जमिनमा फैलिएको चन्द्रगढलाई पर्यटकीयस्थलमा विकास गर्नका लागि विसं २०६१-०६२ मा तत्कालीन मोरङ बहुमुखी क्याम्पसका प्रा डा सोमप्रसाद खतिवडा र इटहरीका चित्रकार विक्रम श्रीलगायतको विज्ञको टोलीले अवधारणा पत्रसमेत बनाएको थियो तर, सोअनुरुप बजेट अभावमा भने काम हुन नसकेको अध्यक्ष भट्टराईको भनाइ छ ।

भद्रपुर नगरपालिकाको पुष्पलाल मार्गको रिङरोडभित्र रहेको चन्द्रगढकै नामबाट झापाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको अधिकांश पुराना मानिस बताउँछन् । सो क्षेत्रमा सुरुमा बस्ती र हालको जीवन ज्योति प्राथमिक विद्यालय रहे तापनि विसं २०३६ मा तत्कालीन सरकारले जग्गा सट्टा भर्ना गराएर सबै स्थान्तरण गरेको उनको भनाइ छ । उनले सो क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि सामुदायिक वनले २३ वटा आधार बनाएर काम गरिरहेको बताए । वनलाई हराभरा बनाउने, पोखरीको थप उत्खनन गरी पानी भर्ने, पोखरीमा डुङ्गा चलाउने, वनभोजस्थललाई व्यवस्थित बनाउनेलगायतका काम गर्न नगरसँग समेत समन्वय भइरहेको बताए । 

‘पर्यटकीय क्षेत्रको हिसाबले जिल्लाकै सबैभन्दा धनी सामुदायिक वन हो चन्द्रगढी’, उनले भने, ‘विकास गर्न बाँकी छ । स्थानीय, प्रदेश र संघीय सरकारको भौतिक पूर्वाधार निर्माणमा सहयोग रहेमा आन्तरिक र बाह्य पर्यटकबाट मात्र वार्षिक पाँच करोड आम्दानी गर्न सकिन्छ ।’ उनले सो क्षेत्रको विकासलाई व्यवस्थित र आकर्षक बनाउन थप डिपिआर र गुरुयोजना निर्माणका लागि चालु आर्थिक वर्षमा पाँच लाख छुट्याएको बताए । 

वनको आम्दानीको २५ प्रतिशत पूर्वाधार विकासमा खर्च गरिने नियमबमोजिम पर्यटन प्रवर्द्धनका लागि आठ हेक्टर जमिनमा धार्मिक तथा पर्यटकीय क्षेत्रलाई निर्माणको कार्य अघि बढाइएको छ । जसअन्तर्गत सो क्षेत्रमा एक हजार वटा आँपका बिरुवा रोप्नुका साथै तीन वटा गोलघर निर्माण गरिएको छ ।  अहिलेसम्म हात्ती नियन्त्रणका लागि तारको घेराबारा गर्दै छ किलोमिटरको क्षेत्रमा करेन्ट प्रवाह गरिसकिएको, वनभोजस्थलको निर्माण, शौचालय निर्माणलगायतका विभिन्न कार्यमा रु १५ लाख बराबरको खर्च भइसकेको छ । भद्रपुर नगरपालिकाबाट हालसम्म १६ वटा सोलार बिजुलीको पिलर जडान गरिदिए पनि बाँकी सबै खर्च भने वन समूहकै भएको समितिको कार्यालयले जनाएको छ ।

करिब दुई हजार दुई सय वर्ष पुरानो अवशेष रहेको यस क्षेत्रमा प्राकृतिकरूपमा १६ वटा थुम्की, दुई वटा पोखरीलगायतको सुन्दर हरियाली जमिन रहेको छ । पूर्वपश्चिम राजमार्गको चारआली बजारबाट करिब तीन किलोमिटर दक्षिण क्षेत्रमा रहेको वन क्षेत्र पुग्न कालोपत्रे सडक निर्माण भइसकेको छ ।

हाल सामुदायिक वनको उपभोक्ता मात्र दुई हजार तीन सय छन् । उनीहरूलाई वार्षिकरुपमा एक दिन वनभित्रका झाडी सरसफाइका लागि श्रमदान गर्नुपर्ने वा सो अभियानमा सहभागी नहुने उपभोक्ताले रु पाँच सय जरिवानाबापत तिर्नुपर्ने वनले नियम बनाएको छ । सो नियमको पालना उपभोक्ताले प्रतिबद्ध भएर गरिरहेको उहाँको भनाइ छ । चन्द्रगढ क्षेत्रको आसपासमा सन्थाल, थारुलगायत बहुजाति, बहुभाषीको बसोबास छ । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  १२ : ४८ बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले