फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ  | Khabarhub Khabarhub

फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ 


२ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

घोराही–  जिल्लामा फूलखेती गरेका किसानलाई अहिले फूल टिपेर माला गाँस्न भ्याइनभ्याइ भएको छ । तिहार नजिकिएसँगै किसानले फूल टिपेर माला बनाउन थालेका हुन् । घोराही उपमहानगरपालिका–१४, झिगौरामा व्यावसायिकरूपमा फूलखेती गरेका लोकेन्द्र रोका मगर अहिले फूल टिपेर माला बनाउन थालेका छन् ।

 घोराही उपमहानगरपालिका–१३ मा सामूहिक फूलखेती गरेका इन्द्रा बूढा मगरले पनि तिहारका लागि फूलको माला बनाउन सुरु गरेकी छन् । उनीहरू जस्तै जिल्लामा अहिले फूलखेती गरेका किसानले तिहारका लागि तयारी सुरु गरिरहेका छन् । फूलको मालाको बढी माग हुने भएकाले तयारी थालिएको उनीहरूको भनाइ छ । 

माला बनाएर कोल्डस्टोरमा राखिने उनीहरूको भनाइ छ । जिल्लामा मात्र नभई जिल्ला बाहिरबाट समेत फूलको माग आउने गरेको घोराही उपमहानगरपालिका–१४, झिगौरामा जलजला पुष्पखेती फार्मका सञ्चालक लोकेन्द्रले बताए । बाहिर माग भए पनि पहिलो प्राथमिकता जिल्लामा नै दिने गरिएको उनले बताए । 

‘जिल्लालाई प्राथमिकता दिएको हुनाले माग भए पनि बाहिर पठाउने गरिएको छैन’, उनले भने। उनले डेढ बिघा जग्गा भाडामा लिएर फूलखेती गरेको बताए। उनले झिगौरासँगै सुनपुरमा पनि फूलखेती गरेका छन् । उनले विगतका वर्षदेखि फूलखेती गर्दै आएका छन् । रोजगारीको सिलसिलामा सात वर्ष कतारमा बिताएका लोकेन्द्रले जिल्लामा दसैंँ तिहारलगायतका पर्व एवं अन्य शुभकार्यका लागि फूलको माग देखेपछि फूलखेती गर्न थालेका हुन् ।

 ‘दाङमा व्यावसायिकरूपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिक रूपमा गरेको देखेको थिएँ, अनि यहाँ मैले गरेको हुँ’, रोकाले भने । रोकाले अहिले भारतको कोलकाताबाट अफ्रिकन मेरीगोल्ड जातको सयपत्रीको बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् । घोराही बजार नजिकै फूलखेती गरेपछि आफूलाई बजारको कुनै समस्या नभएको रोका बताउँछन् । जिल्लाको घोराही, तुलसीपुर, लमही र भालुवाङ सहरबाटसमेत फूलको माग हुने गरेको छ । ‘काठमाडौँंबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन’, उनले भने । अहिले उनले एउटा मालालाई रु एक सयमा बिक्री गर्दै आएको बताए ।

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले बाह्रैमहिना फूल उत्पादन सुरु गरेको बताए । वर्षाको समय र बढी चिसो समयमा भने केही समस्या हुने गरेको उनको भनाइ छ । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएका छन् । आफूसँगै परिवार तथा अन्य दुई जनालाई समेत रोजगारी प्रदान गरेको उनको भनाइ छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको छ । यसै गरेर विभिन्न औपचारिक कार्यक्रम, विवाह, पूजाआजाका लागि फूलको माग हुने गरेको उनको भनाइ छ ।

जिल्ला फूलखेतीका लागि उपयुक्त रहेकाले यसको सदुपयोग गर्नसमेत उनको आग्रह छ । पछिल्लो समय सरकारी निकायबाट समेत सहयोग प्राप्त गर्न सफल भएको उनले बताए । घोराही उपमहानगरपालिका–१३ डुम्मर गाउँमा पनि व्यावसायिकरूपमा फूलखेती गरिँदै आएको छ । इन्द्रा बुढाले विगत छ वर्ष पहिलेदेखि व्यावसायिकरूपमा फूल खेती गर्दै आएका हुन्  । उनले पनि अहिले फूले टिपेर माला बनाउन थालेका छन् । तिहारको लागि मागसमेत हुन थालेको उनको भनाइ छ ।

‘माग हुन थालेसँगै फूल टिपेर माला बनाउन सुरु गरेका छौँ’, उनले भने। माला बनाएर कोल्ड स्टोरमा राखिने उनले बताए । उनका अनुसार उत्पादन भएको फूलको धेरै खपत जिल्लामा नै हुने गरेको छ । माला रु एक सयदेखि तीन सयसम्म बिक्री गर्ने गरेको उनको भनाइ छ । मालाका डिजाइनअनुसार मूल्य बढी हुने गरेको छ । जिल्लामै व्यावसायिकरूपमा फूल खेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई समेत विस्थापित गर्न सकिन्छ भनेर यस व्यवसायमा प्रवेश गरेको उनले बताए ।

अहिले आठ कठ्ठा जग्गा भाडामा लिएर व्यावसायिकरूपमा सयपत्री, मखमली, गोर्धौली र चाया फूलको खेती गरेको उनले बताए । चाडपर्वसँगै पछिल्लो समय जिल्लामा हुने औपचारिक कार्यक्रममासमेत हजारीको फूलको मालाको माग बढ्दै गएको उनले बताए । 

– सुशीला ओली रासस

प्रकाशित मिति : २ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

हेटौँडा उपमहानगरद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन

बाग्मती– मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८०–८१ को १०

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने