काठमाडौँ- नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। सोमबार बिहान बालुवाटार पुगेर थापा र शर्माले देउवासँग पार्टी र सरकार सञ्चालन तथा सार्वजनिक सरोकारका विषयमा केन्द्रित रहेर छलफल गरेका हुन्।
पार्टी नीति महाधिवेशन, केन्द्रीय कार्यसमिति बैठक, विभागहरू गठन, भ्रातृ संघसंस्था पूर्णता र अधिवेशनबारे आन्तरिक छलफल गरिएको महामन्त्री थापाको सचिवालयले जनाकारी दिएको छ । उक्त विषयमा भोलि थप छलफल हुने छ । गत मंसिरमा १४ औँ महाधिवेशन गरेको काँग्रेसले अहिलेसम्म पार्टी संरचनालाई पूर्णता दिन सकेको छैन । काँग्रेसको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र सांगठनिक संरचनालाई पूर्णता दिनुपर्ने बाध्यात्मक व्यवस्था छ । तर काँग्रेसमा पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्ड पनि अपुरो छ ।
असार १० गतेभित्र अनुशासन समिति केन्द्रीय निर्वाचन समिति, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र केन्द्रीय विभागहरू गठनका लागि उनीहरूले पनि सभापति देउवाको ध्यानाकर्षण गराएका छन् । गत फागुन ३ गते केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाको कार्यसमिति भङ्ग गरेको थियो । साथै बैठकले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई छ । तर सभापति देउवाले फागुन ९ गते नेविसंघ र तरुण दलमा सभापति मनोनीत भए पनि बाँकी भ्रातृ संस्थामा नेतृत्व दिन सकेका छैनन् ।
नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघमा ४ महिनादेखि नेतृत्व छैन । आगामी केन्द्रीय समिति बैठकमा यी विषयलाई एजेण्डा बनाउने काँग्रेसको तयारी छ । मंगलबारको छलफलपछि केन्द्रीय समिति बैठकको टुङ्गो लाग्ने छ । काँग्रेसले स्थानीय निर्वाचनको समीक्षा बैठक समेत राखेको छैन । महामन्त्रीद्वय थापा र शर्माले प्रधानमन्त्री देउवालाई राष्ट्रिय राजनीति लगायतका विषयमा पनि छलफल गरेका थिए ।
महामन्त्री शर्माले एसपीपीमा सधैँको लागि च्याप्टर क्लोज गर्नुपर्ने सुझाव राखेको बताए । ‘एसपीपी सम्बन्धमा सरकारको तर्फबाट आवश्यक प्रक्रिया पुर्याएर सधैँलाई बन्द गरिदिनुस् । ‘साझा धारणा बनाएर एसपीपीलाई सधैँका लागि बन्द गरिदिनुस् सरकारका तर्फबाट पत्र पठाएर एसपीपीको विषय बन्द गरौँ,’ उनीहरूको भनाइ थियो ।
महामन्त्रीद्वयले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएकोले जनतालाई राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने माग गरेका थिए। त्यस्तै शेयर बजारमा देखिएको समस्या समाधानका लागि सरोकारवालासँग छलफल गर्न आग्रह गरे ।
प्रतिक्रिया