दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर नागरिकता विधेयक प्रमाणीकरणबारे छलफलमा राष्ट्रपति भण्डारी, नागरिकता विधेयक प्रमाणीकण गर्नुपर्ने मागसहित प्रदर्शन, नागरिकता विधेयक प्रमाणीकणर गर्नुपर्ने मागसहित प्रदर्शन, जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह, देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

नागरिकता विधेयक प्रमाणीकरणबारे छलफलमा राष्ट्रपति भण्डारी
नागरिकता विधेयक प्रमाणीकरण गर्ने समय घर्किएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी विधेयक प्रमाणीकरणका विषयमा के गर्ने भनेर छलफल गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले विभिन्न व्यक्तिहरूसँग छलफल गरिरहेको जानकारी दिए ।

संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरकिता (पहिलो संशोधन) ऐन, २०७९ लाई संवैधानिक व्यवस्थाअनुसार प्रमाणीकरण गर्नैपर्ने सीमा पुगेको दिन राष्ट्रपति छलफलमा जुटेकी हुन । प्रवक्ता आचार्यले नागरिकता विधेयकको अवस्था के हुन्छ भन्ने विषयमा छलफल भइरहेको बताए ।

नागरिकता विधेयक प्रमाणीकणर गर्नुपर्ने मागसहित प्रदर्शन
नागरिकताविहिन युवाहरुले नागरिकता बिधेयक प्रमाणीकरण गर्नुपर्ने भन्दै काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । नागरिकता सम्बन्धी कानून अघि नबढ्दा आफुहरु नागरिकताविहिन हुन पुगेको भन्दै उनीहरुले धर्ना दिएका हुन् ।

उनीहरुले नागरिकता विधेयक, २०७९ शिघ्र राष्ट्रपतिद्वारा प्रमाणीकरण हुनुपर्ने एकसुत्रीय माग राखेका छन् । प्रदर्शनमा सहभागी युवाहरुले बुबा आमा दुवै नेपाली नागरिकताका सन्तान अनागरिक अहिलेसम्म ? , नेपाली आमाको सन्तान अनागरिक अहिलेसम्म भन्दै प्रश्न गरेका छन् । नागरिकता विहिन संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले आफ्ना मागहरु संविधान अनुरुप नै भएको बताए ।

जलविद्युत् र पर्यटनमा लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन्।

आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन्।

प्रधानमन्त्रीलाई उद्धृत गर्दै भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गरेको पनि बताए ।

देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन
संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको आज सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

दशैं, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

उनले बस काउन्टरहरुको आवश्यक व्यवस्था मिलाउन, बसको भाडादरलाई व्यवस्थित बनाउन पनि सरकारलाई निर्देश दिएको बताए । समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ ।

त्यस्तै शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन र कालो बजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न गृह मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ । सांसद एवम् पूर्वगृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरुमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

आयात प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन वृद्धि गर्नुपर्नेमा अर्थमन्त्रीको जोड
अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताएका छन् । आज काठमाडौँमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजारमात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताए ।

अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन
निर्वाचन आयोगले अस्थायी मतदाता नामावली संकलनको तालिका प्रकाशन गरेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत हुने निर्वाचन प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन हुन लागेको हो ।

असोज ६ देखि ८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन हुने आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारीका अतिरिक्त व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी अस्थायी मतदाताका रुपमा सूचीकृत हुन पाउने छन् ।

यस्तै, निर्वाचनमा खटिने कर्मचारी र सुरक्षाकर्मी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिइ सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुलाई पनि अस्थायी मतदाता नामावलीमा समावेश हुन योग्य मानिएको छ ।

अस्थायी मतदाता नामावलीका लागि सम्बन्धित कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने व्यवस्था गरिएको आयोगले जनाएको छ । आयोगले असोज ८ देखि २६ गतेसम्म सम्बन्धित निकायका प्रमुखले मतदाता नामावलीमा समावेश हुने व्यक्तिहरुको नामावली प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा पठाउने तालिका निर्धारण गरेकोे छ ।

दसैंका लागि काठमाडौंमा तीन हजार प्रहरी परिचालन हुने
चाडपर्वको समयमा देशको काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन हुने भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्युनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको जानकारी दिए ।

प्रवक्ता मैनालीले सुरक्षा निकायबीच उच्च समन्वयमार्फत् प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्युनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताए ।

अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना संकलन तथा प्रहरी परिचालन गरिने भएको प्रहरीले जनाएको छ ।

गोविन्द केसी काठमाडौं आउन मानेनन्
धनगढीमा विगत ९ दिनदेखि अनशनरत डा। गोविन्द केसीलाई उपचारका लागि काठमाडौं लैजान गएको नेपाली सेनाको स्काई ट्रक त्यत्तिकै फर्किएको छ ।

केसीले उपचारको लागि काठमाडौं आउन अस्वीकार गरेपछि गृह मन्त्रालयले पठाएको स्काई ट्रक फर्किएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । थापाले माथिको आदेशअनुसार उनलाई थप उपचारको लागि काठमाडौं पठाउने तयारी भएपनि जान नमानेको बताए।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले हिजोदेखि नै विशेष सूचना जारी गर्दै थप उपचारको लागि उनलाई बहुसुविधायुक्त अस्पतालमा स्थानान्तरण गर्नुपर्ने सुझाव दिएको थियो । तर आफ्नो माग सम्बोधन नभएसम्म आफू कतै नजाने उनको अडान छ । केसी स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै अनसनमा बसेका हुन् ।

लाल मोहम्मदको शरीरमा ४ राउण्ड गोली
काठमाडौंको गोठाटारमा गोली लागेर उपचारको क्रममा मृत्यु भएका सर्लाही घर भएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको शरीरमा चार गोली लागेको पुष्टि भएको छ ।

त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले उनको शरीरमा ४ गोली लागेको बताएका हुन् । पोस्टमार्टममा संलग्न चिकित्सकहरूका अनुसार मोहम्मदको टाउकोमा २ गोली लागेको हो ।

दाहिने छातीमा १ गोली र दाहिने तिघ्रामा १ गोली लागेर उनको मृत्यु भएको चिकित्सकको प्रारम्भिक पोस्टमार्टम रिपोर्टमा उल्लेख छ ।

नाकामा विशेष जाँच हुने
ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरी उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले चाडपर्वको अवसरमा सवारीसाधनबाट हुन सक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’को व्यवस्था गर्न लागेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले थानकोट, नागढुंगा, जगाति, फर्पिङ, बाइपास, बालाजुलगायत स्थानमा लामो दूरीका सवारीसाधनलाई विशेष जाँचको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

थप ७४ जनामा कोरोना संक्रमण पुष्टि
आज नेपालमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ३५ पिसिआर परिक्षणका क्रममा ३९ जना र १ हजार ९ सय ७७ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १ सय ६० संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ६ सय १९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

याङ्री र लार्केको पानी वितरणका लागि पाइप विच्छ्याउन सुरु
मेलम्चीपछि याङ्री र लार्के खोलाको पानी काठमाडौँ उपत्यकामा वितरणका लागि ठूला पाइप विच्छ्याउन थालिएको छ ।

सुन्दरीजलबाट चाबहिलसम्मको ११ किमी दूरीमा मेलम्ची आयोजनाको दोस्रो चरणको पानी वितरणका लागि एक हजार छ सय र एक हजार आठ हजार मिलिमिटरका ठूला पाइप विच्छ्याउन थालिएको हो । दोस्रो चरणमा याङ्री र लार्केको पानी पनि ल्याउने तयारी भएसँगै पानी वितरणका लागि राजधानीमा ठूला पाइप विच्छ्याउन थालिएको हो ।

पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट चाबहिलसम्म विसं २०६९ मा एक हजार चार सय मिलिमिटरको पाइप विच्छ्याइएको थियो । यो पाइपबाट दैनिक २२ करोड लिटर पानी पठाउन सकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ३१ बजे

प्रचण्डको हिसाब- अहिलेको सरकार जति लामो टिक्छ, उति धेरै फाइदा माओवादीलाई हुन्छ

नेपालगञ्ज- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

कैलाली– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

व्यावसायिक रूपमा नौमती बजाउँदै महिला

 इलाम– यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक

गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट– रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा