अडियो सुन्नुहोस्ः
एमालेले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो शनिबार लगाउने
प्रमुख प्रतिपक्षी नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरका उम्मेदवारहरूको निर्णय शनिबार गर्ने भएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज बसेको एमाले सचिवालय बैठकमा प्रदेशबाट सिफारिस भएर आएका नामहरूबारे छलफल भएको र यस विषयमा आगामी बैठकले टुङ्गो लगाउने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनले सातवटै प्रदेश कमिटीले गरेको सिफारिसका नाममा नै छलफल भएको बताए । गुरुङले भरतपुर महानगरबाट विजय सुवेदी, वीरगंजबाट विजय सरागवी र ललितपुरबाट हरिकृष्ण व्यञ्जनकारको नाममात्र सिफारिस भएको बताए । पोखराबाट १२ जनाको नाम आएको भन्दै उनले गण्डकी र लुम्बिनीमा प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने बताएका छन् ।
कांग्रेसले खराब प्रवृत्तिका व्यक्तिसँग गठबन्धन गरेको अध्यक्ष ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले खराब प्रवृत्तिका व्यक्तिहरूलाई साथमा लिएर गठबन्धन बनाएको बताएका छन् । आज काठमाडौंमा एमाले केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै ओलीले कांग्रेसले हाप्सिलो बोकेर हिँडेको र यसले कांग्रेसलाई नै सिद्धयाउने बताए । पाँच दलीय गठबन्धन राजावादी राप्रपालाई लिएर ६ दलीय गठबन्धन भइसकेको र यसको उद्देश्य एमाले र ओलीप्रति लक्षित भएको उनको बताए । त्यस्तै ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति भुलेर पनि नदिन आफ्नै पार्टीका नेताहरूलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको उनको भनाइ छ ।
रेशम चौधरी निर्दोष छन् : दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा दोषी ठहरिएका रेशम चौधरीलाई ‘निर्दोष’ भएको बताएका छन् । माओवादी केन्द्रले कैलालीको गौरिगंगा नगरपालिका स्थित मसुरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले रेशम चौधरीको टीकापुर घटनामा कुनै संलग्नता नरहेको र उनी निर्दोष रहेको तर उनलाई फसाइएको दावी गरे । एक नाबालकसहित ८ सुरक्षाकर्मीको ज्यान जानेगरी २०७२ भदौमा भएको घटनामा संलग्न भएको पुष्टि गर्दै रेशमलाई आजीवन कारावासको सजाय सुनाइएको छ । त्यस्तै दाहालले सत्तारुढ दलहरूबीचको गठबन्धन जसरी पनि बचाउनुपर्ने भन्दै आवश्यक परेको ठाउँमा तालमेलका लागि लचक हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च भयो : लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले देशलाई बचाउन र समृद्धिको बाटोमा लैजान सही नेतालाई चुनेर भोट दिन नेपाली जनतालाई अपिल गरेका छन् । आज राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल उपमहानगर समितिले बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै देश अत्यन्त्यै गम्भीर अवस्थामा पुगेकोले देशलाई बचाउन अब नेपाली जनताले ठिक पार्टी र ठिक मान्छे छनौट गर्न अपिल गरे । उनले नेताहरूले राजनीतिलाई लुटेर खाने पेशा बनाएको भन्दै देशको समस्या समाधान गर्ने वैकल्पिक पार्टीको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि आएको दाबी गरे ।
झलनाथको आरोप– कांग्रेसले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर देशलाई परनिर्भर बनायो
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले राष्ट्रिय उद्योग र कलकारखानाहरू बेचेर नेपाली कांग्रेसले देशलाई परनिर्भर बनाएको आरोप लगाएका छन् । इलामको माइजोगमाई गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले सत्य तीतो भए पनि कांग्रेसले देशका उद्योग र कलकारखाना सिध्याएको आरोप लगाए । खनालले अहिलेको पाँच दलीय गठबन्धन केपी ओलीको तानाशाही प्रवृत्तिलाई परास्त गर्न बनेको भन्दै आउने चुनाव प्रतिगमनविरुद्धको निर्णायक लडाइँ हुने पनि भनाइ राखे ।
निर्वाचनलाई भयरहित शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकारको आवश्यक तयारी
सरकारले स्थानीय तहको निर्वाचनलाई भयरहित शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक तयारी गरेको छ । सिंहदरबारमा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनको तयारीका साथै शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको हो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मातहतका सवै निकाय लाग्ने र निर्वाचनलाई बिथोल्न खोज्नेलाई कारवाही गरिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले समग्र उम्मेदवारको मनोनयनदेखि मतपरिणाम नआएसम्मका लागि विशेष सुरक्षा योजनाका साथ अघि बढ्ने विषयमा छलफल भएको जानकारी दिए ।
हालसम्म १ करोड १९ लाख मतपत्र छापिसकिएको छः निर्वाचन आयोग
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हालसम्म १ करोड १९ लाख मतपत्र छापिएको छ । आज काठमाडौंमा आयोजित नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगले हालसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापिसकिएको जानकारी दिएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि द्रुत रुपमा मतपत्र छापिने क्रम जारी रहेको जानकारी दिए । त्यस्तै बाजुरा, अछाम, सोलुखुम्बु, मुगु सहितका जिल्लाहरूमा निर्वाचन सामग्री पठाउने क्रम सुरु भइसकेको उनले बताए । सडक सञ्जाल जोडिएका स्थानमा सडक मार्गबाट र डोल्पा र मुगुमा भने द्रुत मार्ग वा हवाई मार्गबाट मतपत्र ढुवानी वैशाख १४ बाट सुरु हुने पौडेलले बताए ।
सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने
सत्तारुढ पाँच दलीय गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । गठबन्धनको तयारी एवं अनुगमन समितिको आज बसेको बैठकले बैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । चुनावी सभालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्नेछन् । गठबन्धनका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ६ जना शीर्ष नेताले सम्बोधन गर्नेगरी चुनावी सभाको तालिका सार्वजनिक गरिएको छ । जसअनुसार बैशाख १८ गते धनगढी र सुर्खेत, बैशाख १९ गते बुटवल र पोखरा, बैशाख २० गते विराटनगर र जनकपुर तथा बैशाख २२ गते काठमाडौंमा संयुक्त चुनावी सभा हुनेछ ।
डब्ल्यूएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच भेट
नेपाल भ्रमणमा रहनुभएका विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओे) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयसस र स्वास्थ्यमन्त्री विरोध खतिवडाबीच भेटवार्ता भएको छ । आज मन्त्रालयमा भएको भेटमा मन्त्री खतिवडाले महानिर्देशक डा टेड्रोसले दोस्रो कार्यकालका लागि दिएको उम्मेदवारीमा नेपालको समर्थन रहेको बताएका थिए । मन्त्री खतिवडाले नेपाली जनताको स्वास्थ्य आवश्यकताहरू सम्बोधन गर्न नेपाल सरकारलाई सहयोग गरेकोमा धन्यवाद दिए । उनले औषधिको गुणस्तर नियन्त्रण र पहुँच, उन्नत प्रयोगशाला, नियामक क्षमता, मानव संशाधन विकास, प्रविधि स्थानान्तरण र चिकित्सा अनुसन्धान तथा निदानलगायतका क्षेत्रमा नेपाललाई डब्लुएचओबाट सहकार्य आवश्यक रहेको धारणा राखे ।
भरतपुरको मेयर उठ्न प्रदेशसभा सदस्यद्वारा राजीनामा
भरतपुर महानगरको प्रमुखका लागि उम्मेदवारी दिन बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पदबाट राजीनामा दिएका छन् । आज सुवेदीले प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठसमक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेकोले प्रदेशसभा सदस्यबाट राजीनामा दिएको उनले बताए । सुवेदी एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उठ्न लागेका हुन् । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनैपर्ने बाध्यकारी नियम लगाएको छ ।
भोलिदेखि सुरु हुने एसईईको तयारी पूरा
भोलिदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ यो वर्षको एसईई परीक्षा सुरु हुन लागेको हो । कोरोना महामारीका कारण शैक्षिक सत्र २०७६ र २०७७ मा विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमै एसईई सञ्चालन गर्ने गरी तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । परीक्षाका लागि केन्द्रहरूमा आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री जिल्ला–जिल्लामा पठाइसकेको उनले जानकारी दिए ।
तत्कालीन प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा
१३ वटा सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्ट र देवराज जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । अख्तियारले गोदावरी नगरपालिकाका तत्कालीन प्रमुख इन्जिनियर पूर्ण कुँवर, सब इन्जिनियर ज्ञानेन्द्र बुढा, सब इन्जिनियर नरेन्द्र शाही, प्राविधिक पूर्वाधार कार्यालयमा कार्यरत ल्याब टेक्निसियन धनबहादुर विष्ट र निर्माण व्यवसायी गणेश विष्ट विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पीसीआर परीक्षणका क्रममा १२ जना र १ हजार ४ सय ६४ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ३२ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ४ सय ५६ जना निको भएका छन् । हाल नेपालमा २ सय ९८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
ललितपुरको अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो
ललितपुरमा लगनखेलमा रहेको औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकजनाको मृत्यु भएको छ । आज बिहान भएको विस्फोटमा मृत्यु हुनेको संख्या योसँगै दुई पुगेको छ । ललितपुर प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा भारत घर भइ ललितपुर– १८ बस्दै आएका २५ वर्षीय राजकुमार महतो रहेका छन् । उपचारको क्रममा उहाँको मृत्यु भएको प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए । यसअघि विस्फोटमा परी ग्यास भर्न पालो कुरेर बसेका भारतीय कामदार ब्रिज महतोको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा ७ जना घाइते भएको र केही सामान्य उपचारपछि घर फर्केको प्रहरीले बताएको छ ।
चुनावमा उम्मेदवार बन्ने पत्रकारले महासंघको सदस्यता त्याग्नुपर्ने
नेपाल पत्रकार महासंघले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न पाउने भएका छन् । आज गरिएको भर्चुअल बैठकका माध्यमबाट सम्पन्न केन्द्रीय समितिको पाँचौँ पूर्ण बैठकले निर्वाचनमा उम्मेदवार बन्न महासंघको सदस्यता परित्याग गर्नुपर्ने निर्णय गरेको हो । बैठकले आसन्न स्थानीय निर्वाचनमा महासंघका सबै सदस्यहरूलाई पत्रकार आचारसंहिताको पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न पनि अपिल गरेको महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
भारतमा कोरोना संक्रमण बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ । मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा संख्यात्मक रूपमा संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको जनाएको छ । मन्त्रालयले कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन र पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि अनुरोध गरेको छ ।
जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका ४ चोहर्वामा जन्ती बोकेको बस र टिपर ठोक्किँदा ३१ जना घाइते भएका छन् । सप्तरीबाट महोत्तरीको भंगाहा जन्ती बोकेर फर्किरहेको बस र विपरीत दिशाबाट आइरहेको टिपर गएराति साढे १० बजेतिर ठोक्किँदा ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । प्रहरीका अनुसार घाइते सबै बसमा सवार जन्तीहरू हुन् । इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीका अनुसार घाइतेहरूको स्थानीय लाइफ लङ्ग हस्पिटल र गोलबजार हेल्थ केयर सेन्टरमा उपचार भइरहेको छ ।
सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य सुधार
सेयर बजार परिसूचक नेप्सेमा आज सामान्य सुधार भएको छ । साताको अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ४ दशमलव ९४ अंकले सुधार भएको हो । नेप्से परिसूचक २३ सय २५ दशमलव ४५ अंकमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव ६ अंकले बढेर चार सय ४३ दशमलव १४ अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३९ लाख ९१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६२ करोड ९१ लाख ६२ हजार आठ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा बुधबार ३६ दशमलव ७३ अंकले गिरावट आएको थियो भने एक अर्ब ४५ करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
विश्व बैंक प्रक्षेपण : नेपालको आर्थिक वृद्धिदर यो वर्ष ३.७
विश्व बैंकले यस वर्ष अर्थात् सन् २०२२ मा नेपालले ३.७ प्रतिशत बराबर मात्रै आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । नेपालले चालु आर्थिक वर्षका लागि ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । नेपालको प्रक्षेपणभन्दा करिब आधा बराबर मात्रै आर्थिक वृद्धिदर देखिने र यस्तो संकुचन अघिल्ला वर्षहरूमा पनि देखिनेछ । विश्व बैंकका अनुसार नेपालको आर्थिक वृद्धिदरमा संकुचन यस वर्ष मात्र नभई आगामी २ वर्षसम्मै देखिनेछ । नेपालले सन् २०२३ मा ४.१ प्रतिशत र सन् २०२४ मा ५.८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण विश्व बैंकको छ ।
प्रतिक्रिया