एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा | Khabarhub Khabarhub

एघार महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।

गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले रु १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।

साढे १७ खर्बको आयात

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।

यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा रु एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।

साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात

चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा रु दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बाहिरिएको हो । जसमा सबैभन्दा धेरै डिजेल आयातमा रु एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा रु ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा रु ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।

एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, रु ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र रु ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ ।

यस्तै, एघार महिनाको अवधिमा नेपालबाट रु एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, रु ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।

-रासस

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ३२ बजे

स्वयम्भू मेलामा दुई लाख बढीले गरे अवलोकन

काठमाडौं– स्वयम्भूमा जारी एकमहिने मेलामा दुई लाख बढी भक्तजनले दर्शन

झोलुङ्गे पुल बनेपछि यात्रा सहज

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–४ को न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि

फोहरमैला व्यवस्थापन केन्द्रमा तालाबन्दी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ११ स्थित फोहरमैला व्यवस्थापन केन्द्रमा सामुदायिक

आर्यन खानको निर्देशकीय डेब्यू : शाहरुख खानको वंशजबाट नयाँ पिँढीको संकेत

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले आफ्नो पहिलो

वेम्बली ओभो एरिनामा मुखर नेपाल !

ढल्किँदै गरेको युकेको सम रयाम, अगष्ट महिनाको दोस्रो हप्ता, लण्डन