सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन | Khabarhub Khabarhub

सिस्नेरी खोलाको पानी राजधानीमा ल्याउन प्रारम्भिक अध्ययन


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्द्रसरोवर (मकवानपुर)– काठमाडौँ उपत्यकामा खानेपानीको समस्या समाधानका लागि वैकल्पिकरूपमा मकवानपुरस्थित सिस्नेरी खोलाको पानी आपूर्ति गर्ने आयोजनाको पूर्व सम्भाव्यता अध्ययन सकिएको छ ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले सम्भाव्यता अध्ययन गरी दैनिक १५ करोड लिटर पानी लिफ्टिङ गरी राजधानीमा ल्याउन सकिने प्रारम्भिक प्रतिवेदन दिएपछि आज खानेपानीमन्त्री उमाकान्त चौधरीले सो स्थलको स्थलगत अध्ययन गरे ।

स्थलगत अध्ययनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले पाइपलाइन बिच्छ्याएपछि दैनिक ६ करोड लिटर पानी राजधानी लैजान सकिने बताए ।

मेलम्चीको विकल्पका रूपमा यो आयोजनालाई अघि बढाउन लागिएको उनले जानकारी दिए । यो आयोजनाको खर्च मेलम्चीको भन्दा कम लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

राजधानीमा याङ्री र लार्केको पानी आउनुअघि नै सिस्नेरीबाट पानी ल्याउने गरी विस्तृत परियोजना प्रस्ताव तयारी एवं वातावरणीय प्रभाव मूल्याङ्कनको काम अघि बढाउन लागिएको छ ।

यो आयोजना सम्पन्न गर्न रु २६ अर्ब लाग्ने सम्भाव्यता अध्ययनले देखाएको छ । विस्तृत परियोजना प्रस्ताव तयारी र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकी आर्थिक वर्ष २०८०/०८१ देखि नै काम सुरु गर्ने लक्ष्य मन्त्रालय लिएको पनि मन्त्री चौधरीले बताए ।

विसं २०७२ को संविधानले मौलिक हकमै खानेपानीलाई राखेपछि यसको पूर्तिका लागि पहिलो प्राथमिकता दिएर काम अघि बढाउन लागिएको हो । मेलम्चीको पानी बन्द भएका बेला पनि आपूर्ति नरोक्न वैकल्पिकरूपमा अन्य मुहान र स्रोतको पनि बोर्डले अध्ययन गरिरहेको छ । काठमाडौँ उपत्यकाका १८ वटै नगरपालिकाका मुहान संरक्षण गरी पानी सङ्कलन गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले जानकारी दिए ।

पानीका स्रोत र मुहानको संरक्षणको कार्यक्रमलाई पनि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकता दिएको छ । बोर्डले पानी सुरक्षाका नक्सा नै बनाएर काम गरेको जनाइएको छ ।

यहाँको पानी लैजान यहाँका इन्द्रसरोवर र भीमफेदी गाउँपालिकासँग समेत समन्वय भएको मन्त्रालयले जनाएको छ । दुवै पालिकाले राजधानीमा पानी लैजान सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यहाँको पानी राजधानी लैजाँदा प्रभावित स्थलमा कम बस्ती रहेकाले ठूलो प्रभाव नपर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

दुवै खोलाको पानी बाँध निर्माण गरिने स्थानभन्दा २०० मिटर तल वाग्मतीमै मिसिने भएकाले पनि पनि कसैलाई प्रभाव पर्दैन । वाग्मती बेसिनकै पानी भएकाले केही तल रहेको मध्य वाग्मती जलविद्युत् आयोजनामा पनि प्रभाव नपर्ने जनाइएको छ । काठमाडौँ उपत्यकामा आएको पानी प्रयोगपछि प्रशोधन गरेर फेरि वाग्मतीबाटै बाहिरिने भएकाले कुनै प्रभाव नपर्ने बोर्डका कार्यकारी निर्देशक राणाले बताए ।

वर्षाका समयमा सुरुङभित्र बाढी छिर्ने त्रासले मेलम्ची आयोजनाको पानी मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बुमै बन्द गर्नुपरेपछि खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा वैकल्पिक स्रोतको खोजी गरिरहेको थियो ।

स्रोत खोजी गर्ने क्रममा बोर्डले मकवानपुरका कुलेखानी खोला र सिस्नेरी खोलाको अध्ययन गरेको थियो । यो आयोजना स्थल फर्पिङस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पम्पिङ स्टेशनबाट १४ किलोमिटर दूरीमा पर्ने भएकाले पनि पानी ल्याउन सहज रहेको बोर्डका कार्यकारी निर्देशक राणाले जानकारी दिए । कुलेखानी खोलाको शाखा कोगतेको पानी पनि यसमा मिसिन्छ ।

यो आयोजनाअन्तर्गत सिस्नेरीमा बाँध निर्माण गरी कोगते र कुलखानी खोलाको पानी सङ्कलन गरिने छ । लिमिटेडको सैँबु भैँसेपाटीस्थित पानीपोखरीमा बाँधबाट पानी लगी काठमाडौँ उपत्यकामा वितरण गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित बाँधको लम्बाई ३४० मिटर र उचाई ६० मिटर रहने छ । बाँध निर्माण स्थल समुद्री सतहबाट एक हजार १२० मिटर उचाइमा रहने छ ।

सिस्नेरीमा जम्मा गरिने पानीलाई करिब दुई किमी उत्तरतर्फ रहेको दरवन डाँडा भनिने एक हजार १४० मिटर उचाइको स्थानमा ल्याई पानीपोखरी बनाएर प्रशोधन गरी काठमाडौँ उपत्यकामा पठाउने लक्ष्य राखिएको छ । पानीपोखरीबाट हाल निर्माणधीन द्रुतमार्गमा करिब १९ किमी पाइपलाइन बिच्छ्याइएर ‘ग्राभिटी सिस्टम’ बाट सैँबु पानीपोखरीमा ल्याउने प्रस्ताव गरिएको बोर्डका इञ्जिनीयर नवीन तिवारीले बताए ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ११ : २९ बजे

मुख्य तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं– समसामयिक राजनीतिक विषयमा छलफल गर्न मुख्य तीन दलका शीर्ष

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको