विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज साउन ५, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २१, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अडियो सुन्नुहोस्- 

नवनिर्वाचित श्रीलंकाली राष्ट्रपति विक्रमासिंघेद्वारा शपथ ग्रहण

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले शपथ लिएका छन् । ६ पटक प्रधानमन्त्री बनेका विक्रमासिंघले राजधानी कोलम्बोमा आयोजित एक कार्यक्रममा बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । विक्रमासिंघेले प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष शपथ लिए ।

श्रीलंकाका प्रहरी प्रमुख र उच्च सैन्य अधिकारीहरू नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सरिक भएका थिए ।

यसैबीच, संकट व्यवस्थापन गर्न श्रीलंकामा मिलीजुली सरकार गठनको प्रयास भइरहेको जनाइएको छ । विक्रमासिंघेले आफ्ना सहपाठी तथा पूर्वसार्वजनिक प्रशासन मन्त्री दिनेश गुणवर्देनालाई मिलीजुली सरकारमा प्रधानमन्त्री बन्न आमन्त्रित गर्ने अपेक्षा गरिएको छ । यसैबीच, सिंगापुरले श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षेलाई १४ दिने भ्रमण पास गरेको जनाएको छ ।

जुलाई १४ मा ‘निजी भ्रमण’मा देश प्रवेश गरेपछि छोटो अवधिको भ्रमण पास गरेको सिंगापुरका अध्यागमन अधिकारीहरूले जनाएका छन् ।

७३ वर्षीय राजापाक्षे १३ जुलाईमा श्रीलंकाबाट माल्दिभ्स र त्यसपछि सिंगापुर भागेका थिए । आर्थिक संकट निम्त्याएको आरोप लगाउँदै सरकारविरुद्ध जनआन्दोलन चर्किएपछि उनले राजीनामा दिएका थिए।

राजापाक्षको सिंगापुर भ्रमणको बारेमा जारी गरिएको विज्ञप्तिमा उनलाई आगमनमा छोटो अवधिको भ्रमण पास (एसटीवीपी) प्रदान गरिएको जनाइएको छ ।

उनी १४ सिंगापुरमा पुगेपछि राजापाक्षेलाई १४ दिने भिजिट पास गरेको दी स्ट्रेस टाइम्स पत्रिकाले जनाएको छ । राजापाक्षेले शरण नमागेको र उनलाई शरण नदिइएको विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।

सुडानमा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या १०५ पुग्यो

अफ्रिकी मुलुक सुडानको ब्लू नाइल राज्यमा भएको जातीय भिडन्तमा परी १०५ जनाको मृत्यु हुनुका साथै २९१ जना घाइते भएका राज्यका स्वास्थ्य मन्त्रीले बताएका छन् ।

जुलाई ११ मा बर्ती र हाउसा जातीय समूहका सदस्यहरूबीच इथियोपिया र दक्षिण सुडानसँगको सिमानास्थित सुडानी भूमिमा लडाइँ हुँदा दर्जनौँ मानिसले ज्यान गुमाएका हुन् ।

राज्यका स्वास्थ्य मन्त्री जमाल नासरले एएफपीसँग राजधानी अल–दमाजिनबाट टेलिफोनमार्फत दिएको जानकारीमा भने, “अहिले स्थिति शान्त भएको छ । सेनाको तैनाथीले शनिबारदेखि लडाइँलाई कम गरेको छ ।”

विशेष गरी दशकौँको गृहयुद्धबाट बाँकी रहेका हतियारहरूले भरिएको सुडानका कतिपय क्षेत्रमा जमिन, गाईवस्तु, पानी र चरनको विषयलाई लिएर पटक पटक यस्ता घातक झडपहरू हुन्छन् ।

स्पेनमा प्रचण्ड गर्मीका कारण ६७९ जनाको मृत्यु

युरोपेली मुलुक स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार जुलाई १० देखि १७ सम्ममा गर्मीका कारण ६७९ जनाको ज्यान गएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको छ । त्यहाँको एक स्वास्थ्य संस्थाले गरेको अनुसन्धानबाट तातो हावाबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिकहरुको ज्यान गएको पाइएको छ ।

उक्त अनुसन्धानबाट स्पेनमा बुधबारसम्म ज्यान गएका ६७९ मध्ये ४३० जना ८५ वर्षभन्दा माथिका नागरिक रहेका देखिएको छ । देशका विभिन्न भागको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ र गर्मीका कारण मानिसहरुको ज्यान जाने क्रम रोकिएको छैन ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुले गर्मी अझै बढ्ने अनुमान गरिएको जनाएका छन् । उनीहरुका अनुसार तातो हावाबाट ज्यान जानेको संख्या थप बढ्न पनि सक्दछ ।

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५७ करोड नाघ्यो

विश्वभर कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५७ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख ५५ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ५७ करोड ४ लाख नाघेको हो ।

अहिलेसम्म सङ्क्रमण पुष्टि भएका मध्ये ५४ करोड १४ लाख निको भएका छन् । २४ घण्टामा मात्रै ६ लाख ९८ हजार सङ्क्रमित निको भएको वल्डोमिटरले जनाएको छ ।

२४ घण्टामा १४ सयभन्दा धेरैको मृयु भएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६३ लाख ९३ हजारभन्दा धेरै भएको छ ।

अझै २ करोड २५ लाख सक्रिय सङ्क्रमित रहेकामा ४० हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । पछिल्लो समय विश्वभर संक्रमण बढ्दै गएको छ। त्यसको प्रभाव नेपालमासमेत देखिन थालेको छ । यस्तै, भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका त्यहाँको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ ।

हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको सङ्ख्या चार करोड ३१ लाख ५० हजार चार सय ३४ पुगेको छ ।

कोरोना महामारीबाट हालसम्म पाँच लाख २६ हजार जना भन्दा बढीको मृत्यु भएको छ । महामारी शुरु भएयता हालसम्म ८६ करोड ८९ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको हो । हालसम्म कोरोनाविरुद्ध दुई अर्ब ९१ लाख मात्रा भन्दा बढी खोप लगाइएको छ ।

यसैबीच पाकिस्तानमा पछिल्लो २४ घण्टामा पाँच सय ९९ कोभिड–१९ का थप सङ्क्रमित थपिएका स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

यसैसँग कूल सङ्क्रमितको संख्या १५ लाख ४८ हजार तीन सय ९४ पुगेको छ । पाकिस्तानमा कोभिड–१९ बाट ३० हजार चार सय ५५ जनाको मृत्यु भएको छ भने थप तीन जनाको मृत्यु भएको छ ।

युक्रेनमा हालसम्म १५ हजार रुसी सैनिकको मत्यु

युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ ।

त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् ।

‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको तीन गुणा घाइते भएका छन् । तसर्थ रुसी हमलामा धेरै ठूलो क्षति भएको छ’ कोलोराडोको एस्पेन सुरक्षा फोरममा बर्नसले भने ।

युक्रेनले ठूलो पीडा सामना गरेको पनि उनले बताए ।

राष्ट्रसंघद्वारा निन्दा

इराकको एक रिसोर्टमा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसङ्घले निन्दा गरेको छ । इराकको डुहोक प्रान्तको एक रिसोर्टमा बुधबार भएको हिंसात्मक हमलाको इराकका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनले निन्दा गरेको छ ।

सो रिसोर्टमा भएको हमलामा परी नौ जनाको ज्यान गएको थियो भने अरु २३ जना घाइते भएका थिए । ती सबै जना पर्यटक रहेका इराकको गृह मन्त्रालयले जानकारी दिएको छ । इराकी सरकारी समाचार समितिका अनुसार इराकका लागि संयुक्त राष्टसंघीय मिसनले एक विज्ञप्ति प्रकाशन गरेर सो हमलाको निन्दा गरेको जनाएको छ ।

सो मिसनले प्रकाशन गरेको विज्ञप्तिमा उक्त हिंसात्मक हमलाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न पनि माग गरेको छ । यस्ता हिंसात्मक हमलाहरु तत्कालै रोक्न भन्दै सो विज्ञप्तिमा नागरिकको सुरक्षित रुपमा बाँच्ने अधिकारको सम्मान गर्न पनि माग गरिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा सोनिया गान्धीसँग फेरि सोधपुछ

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस अध्यक्ष सोनिया गान्धी आज बिहीबार प्रवर्तन निर्देशनालय ‘ईडी’मा उपस्थित भएकी छिन् । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाको सम्बन्धमा सोधपुछको लागि नेतृ सोनिया दिल्लीको प्रवर्तन निर्देशनालय (ईडी) मुख्यालयमा उपस्थित भएकी हुन् । उनलाई सोधपुछ गर्ने कार्य बिहीबारका लागि सकिएको भारतीय अखबार इण्डिया टुडेले जनएको छ ।

यसअघि सोही मुद्दामा राहुल गान्धी पटक पटक इडीमा उपस्थित भएका थिए । उनलाई त्यहाँ घन्टौंसम्म सोधपुछ गरिएको थियो । यसअघि सोनियालाई राहुलसँगै सोधपुछ गर्ने तयारी गरिएको थियो । तर, उक्त समयमा सोनियालाई बिरामी भएर अस्तपाल भर्ना गरिएको थियो । कोभिडबाट भर्ना भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् ।

निर्देशनालयमा उनको सोधपुछलाई लिएर कंग्रेस कार्यकर्ताले विरोध गर्दै आएका छन् । आफ्ना नेताविरुद्धका आरोप आधारहीन भएको र भाजपाले प्रतिशोधको राजनीति गरेको कंग्रेसले आरोप लगाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र अमित साहले फसाउन खोजेको उनीहरूले आरोप लगाउँदै आएका छन् ।

थाइल्याण्डमा डुङ्गा दुर्घटना

थाइल्याण्डमा डुङ्गा दुर्घटना भएको छ । थाइल्याण्डको खाडीमा इन्जिन विस्फोट भई स्पीडबोटमा आगलागी हुँदा २० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

थाई पत्रिका म्याटिचोनले दिएको जानकारीअनुसार उक्त डुङ्गा दक्षिणी चुम्फोन प्रान्तबाट कोह ताओ टापुका लागि प्रस्थान गरेको केही समयपछि दुर्घटना भएको हो ।

घाइतेमध्ये १८ यात्रु र दुई चालक दलका सदस्यहरू स्थानीय अस्पतालमा उपाचाररत छन् । तीमध्ये दुईजना गम्भीर घाइते भएका छन् भने धेरैजसोलाई सामान्य चोट लागेको बताइएको छ ।

विश्वको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु

हङकङमा संसारको सबैभन्दा वृद्ध पाण्डाको मृत्यु भएको छ । मानव हेरचाहमा रहेको संसारको सबैभन्दा बुढो पाण्डा एनएनको बिहीबार ३५ वर्षको उमेरमा मृत्यु भएको हो । उक्त पाण्डाको उमेर मानिसका उमेरको अनुपातमा १०५ वर्ष बराबर रहेको हङकङ थिम पार्कले जनाएको छ ।

एनएनको स्वास्थ्य विगतका केही हप्ताहरूमा लगातार खराबी हुँदै गएको थियो । उसले थोरै खान थालेको उक्त पाण्डा बस्दै आएको ओसियन पार्कले जनाएको छ ।

विगत केही सातायाता एनएनको स्वास्थ्य बिग्रदै जाँदा उसले हिँडडुल गर्न मात्र छाडेन, चारोसमेत खाएन । हङकङको ओसन पार्कले एनएनको स्मृतिमा उसकै खोरमा शोक पुस्तिका राख्ने भएको छ । एनएनलाई उसको चलाखी र चञ्चलताका निम्ति क्लबले सधैँ सम्झिइरहने बताएको छ ।

संसारमा सबैभन्दा लामो समय जीवित रहेको जियाजिया नामको पोथी पाण्डासँगै ११ मार्च १९९९ मा पार्कमा एनएनलाई ल्याइएको थियो । एनएनलाई चीनको दक्षिणपश्चिमी प्रान्त सिचुवानबाट ल्याइएको बताइएको छ । सन् २०१६ मा ३८ वर्षको उमेरमा जियाजियाको मृत्यु भएपछि एनएनले एक्लोपन महसुस गर्न थालेको थियो ।

बेलायतले हङहङलाई मुख्यभूमि चीनसमक्ष हस्तान्तरण गरेको अवसर पारेर पाण्डा संरक्षण तथा अनुसन्धान केन्द्रबाट केन्द्र सरकारले हङकङ विशेष प्रशासन क्षेत्रलाई विशाल पाण्डा अध्ययन–अनुसन्धानका निम्ति प्रदान गरेको थियो ।

प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुने गरेको छ भने मानव स्याहार पाउँदा थप १० वर्ष बाँच्नसक्ने अध्ययनले देखाएको छ । पर्यावरणीय सन्तुलन एवम् जैविक विविधता कायम गर्न पाण्डा उपयोगी जनावर हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ८ : २५ बजे

डीआइजी शाहलाई एआइजी र ११ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस

काठमाडौं – गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले नेपाल प्रहरीका

जिरायतमा दुईवटा मोटरसाइकल ठोक्किँदा दुवै चालकको मृत्यु

सर्लाही – बागमती नगरपालिकास्थित जिरायतमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँद दुवै

आजका समाचार : गभर्नरमा विश्वनाथ पौडेल, रवि र छविको रिट हेर्दाहेर्दैमा र रूससँग सम्बन्ध सुधार्ने प्रयासमा ट्रम्प

प्रतिनिधिसभाबाट विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत प्रतिनिधिसभाको आजको दोस्रो

चीनले अन्तरिक्षमा पठायो लङ् मार्च शृङ्खलाको यो ५७७ औँ रकेट

एजेन्सी – चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण

भारतविरुद्ध बहादुरी देखाएको भन्दै पाकिस्तानी सेना प्रमुखलाई बनाइयो फिल्ड मार्शल

इस्लामावाद- पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्शल