तातोपानी जोड्ने सडक कालोपत्र सुरु « Khabarhub

तातोपानी जोड्ने सडक कालोपत्र सुरु


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ ।

मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम कोट’ बिछ्याउन थालिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका सडक इञ्जीनियर सञ्जय सुवेदीले सडक विस्तार, नाली, पर्खाल निर्माण र ग्राभेल सकेर कालोपत्र गर्न प्राइम कोट राख्न थालिएको जानकारी दिए । ‘प्राइम कोट हालेको २४ घण्टापछि बिटुमिन र चिप्स राखेर कालोपत्र हुन्छ’, उनले भने, ‘बेनीबाट तातोपानी खण्डको नौ किलोमिटर सडक कालोपत्रका लागि तयार भएको छ ।’

प्राइम कोट राख्नुअघि विभिन्न चरणमा रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो । एघार मिटर फराकिलो बनाएर सात मिटरका दरले कालोपत्र गर्न लागिएको हो । ठेकेदार लामा–समानान्तरण निर्माण कम्पनीका आयोजना व्यवस्थापक राकेश सदाले चैत महिनाभित्र बेनीबाट तातोपानीको सडक कालोपत्र गरिसक्ने बताए।

‘कालोपत्रका लागि आवश्यक सबै उपकरण र निर्माण सामग्री जुटाइसकेका छौँ’, उनले भने, ‘मौसमले साथ दिने हो भने चैतभित्र कालोपत्र सकिन्छ । तातोपानीबाट सिमसम्मको थप तीन किलोमिटरमा पनि दैनिक १०० मजदुर परिचालन गरेर पर्खाल र नाली निर्माण भइरहेको छ ।’

आयोजना व्यवस्थापक सदाले काम गरे पनि बजेट अभावमा पेश गरेको बिलको भुक्तानी पाउन नसकेको गुनासो गर्नुभयो । हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको सदाले बताए । यही चैत मसान्तसम्म योजनाको सम्झौताको म्याद थपिएको छ । विसं २०७४ असोज ४ गते रु ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । सङ्घबाट प्रदेशमा हस्तान्तरण भएको सडकमा पर्याप्त बजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाइ भएको हो ।

म्याग्दीको ‘लाइफ लाइन’मानिने विसं २०६३ मा मार्ग खुलेको बेनी–दरबाङ सडक बर्खामा बाढी र पहिराले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुसमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो ।

आयोजनाको दोस्रो चरणमा लाम्पाटाबाट दरबाङसम्म आठ किलोमिटर खण्डसडक कालोपत्र गर्न रु २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा-क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म ५० प्रतिशत निर्माण सकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

मङ्गला गाउँपालिकाको सिमबाट लाम्पाटासम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बताए।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ७ : ३० बजे

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय ३३ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७

गोसाइँकुण्डमा करिब ५ हजार तीर्थयात्रीले गरे स्नान

दोलखा- रसुवाको ४ हजार ३ सय ८० मिटर उचाइमा अवस्थित प्रसिद्ध

जिम्बाब्वेमा मिनीबस र ट्रक ठोक्किँदा २७ जनाको मृत्यु

एजेन्सी– दक्षिणी अफ्रिकी मुलुक जिम्बाब्वेमा चर्चका सदस्य बोकेको मिनीबस र