काठमाडौँ– १९ औँ एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार गरेको पत्रकार सम्मेलनमा नेपालले एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने जानकारी दिएको हो ।
नेपालले तेक्वान्दो, कराँते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।
राखेपका अनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापनक सहभागी हुने छन् ।
१९ औँ एसियन खेलकुद सेप्टेम्बर १० तारिखबाट चीनमा हुँदैछ ।
यस्तै नवौँ राष्ट्रिय खेलकुदमा कुल ३८ वटा खेलमा प्रतिस्पर्धा हुने भएको छ ।
नवौँमा सातै प्रदेश र विभागीय टाेलीसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) बाट पनि खेलाडीकाे सहभागिता रहने राखेपले जनाएकाे छ ।
राजनीतिक खिचातानी तथा नियुक्ति र बर्खास्ती प्रकरणका कारण तीन वर्षदेखि हुन नसकेको राखेपको बोर्ड बैठक आज भएको थियो ।
सदस्यसचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले बोर्डको बैठक बोलाएका थिए ।
युवा तथा खेलकुद मन्त्रालय सिंहदरबारमा भएको बैठकले यो निर्णय गरेको हो ।
यस अघि अन्तिम पटक राखेपको बोर्ड बैठक २०७६ सालको सुरुवातमा बसेको थियो ।
मन्त्रिपरिषद्को बैठकले यसअघि नै नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियाे ।
प्रतिक्रिया