विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

आज असार ८, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुन २२, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

अफगानिस्तानमा भूकम्प

अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १ हजार पुगेको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित पाक्टिका प्रान्तका सूचना प्रमुख मोहम्मद अमिन हफिजीले मुलुकमा गएको भूकम्पका कारण १ हजार जनाको मृत्यु भएको बीबीसीलाई जानकारी दिएका हुन् । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा अरु १५ सय जना घाइते भएका छन् ।

तालिबानका नेता हैबतुल्लाह अखुन्दजादाले भूकम्पका कारण सयौँ घरहरू ध्वस्त भएको र मृतकको संख्या बढ्नसक्ने बताएका छन् । यससँगै यो भूकम्प अफगानिस्तानमा दुई दशकयताकै घातक रहेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरूमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरूलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ ।

स्थानीय समयअनुसार बिहान साढे १ बजेतिर गएको भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको दुर्गम क्षेत्रमा रहेकाले त्यहाँ उद्धार एवम् राहत कार्यमा समस्या उत्पन्न भएको र हेलिकोप्टर तथा अन्य उपकरणको प्रयोग गरी खोजी तथा उद्धार कार्य जारी राखिएको बताइएको छ । ‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरू ध्वस्त भए ।’ अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरूलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरू पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ । अफगानिस्तानमा प्रायजसो भूकम्पहरू जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

युक्रेनको खार्किभमा रुसी सेनाको आक्रमणमा १५ जनाको मृत्यु

युक्रेनको पूर्वी खार्किभ क्षेत्रमा रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको छ । मारिनेमध्ये एक आठ वर्षीय बालक पनि रहेको गभर्नर ओलेग सिनेगुबोभले जानकारी दिएका छन् । उत्तरपूर्वी युक्रेनमा अवस्थित खार्किभ रसियासँग सीमा जोडिएको छ । आक्रमणको सुरुमा भागेका बासिन्दामध्ये केही फर्कन थालेका छन् । ‘रुसी गोलाबारीमा १५ जनाको मृत्यु भएको १६ जना घाइते भएका छन्’ सिनेगुबोभले भने । चार ओटा अलग अलग स्थानमा भएका घटनामा उनीहरूको मृत्यु भएको हो ।

रुसी सेनाले खार्किभ सहरबाट ३० किलोमिटर दक्षिणपूर्वमा रहेको चुगुइभ सहरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको थियो । हमलामा चार जना घाइते भएका थिए । त्यस्तै, खार्किभ सहरमा भएको अर्को हमलामा ५ जनाको मृत्यु र ११ जना घाइते भएका थिए भने जोलोचिभमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको थियो ।

इरानमा २०२२ को पहिलो तीन महिनामा १ सय भन्दा धेरैलाई मृत्युदण्ड दिइयो

इरानले सन् २०२२ को पहिलो तीन महिनामा १०० भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । संयुक्त  राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको हो । जेनेभामा राष्ट्रसंघीय मानवअधिकार परिषद्को बैठकलाई सम्बोधन गर्दै राष्ट्रसंघका उप मानवअधिकार प्रमुख नादा अल–नासिफले इरानबारे महासचिव गुटरेसको पछिल्लो प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।  

‘इरानमा सन् २०२० मा २६० जनालाई र गत वर्ष कम्तीमा १४ जना महिलासहित ३१० जनालाई मृत्युदण्ड दिइएको थियो’, अल–नासिफले भनिन् ।  यस वर्ष जनवरी १ र मार्च २० को बीचको अवधिमा मात्र कम्तीमा १०५ जनालाई मृत्युदण्ड दिइएको उनले जानकारी दिइन । मृत्युदण्ड दिइएकामध्ये  धेरै अल्पसंख्यक समूहको रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । गुटरेसको प्रतिवेदनमा लागू औषधसम्बन्धी अपराधलगायत साना अपराधका लागि मृत्युदण्ड दिने क्रम बढेकोमा गहिरो चिन्ता व्यक्त गरिएको  छ ।

मार्च महिनामा मात्रै लागू औषधसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएका ५२ जनालाई फासी दिन शिराज सहरमा रहेको कुख्यात जेल लगिएको एएफपीले जनाएको छ । यसबाहेक प्रतिवेदनमा नाबालिकहरुलाई पनि मृत्युदण्ड दिइएकोमा समेत इरानको आलोचना गरिएको छ । सन् २०२१ को अगस्ट र सन् २०२२ को मे महिनाबीचको समयावधिमा नाबालिग उमेरमा अपराध गरेका दुई जनालाई मृत्युदण्ड दिइसकेको र नाबालिग उमेरमा अपराधमा संलग्न अरु ८५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको नाफिसले बताइन् ।

यद्यपि गत फेब्रुअरी महिनामा नाबालिग उमेरमा अपराधमा संलग्न रही १८ वर्षअघि मृत्युदण्डको सजाय सुनाइएका एक जनालाई मृत्युदण्डको फैसला बदर गर्ने त्यहाँको सर्वोच्च अदालतको फैसला सकारात्मक रहेको उनको भनाइ छ ।

भियतनाममा पेट्रोलको मूल्य ६ महिनामा १२ पटक बढ्यो

भियतनाममा पेट्रोलियम पदार्थको मूल्य ६ महिनामा १२ पटक वृद्धि भएको छ । सन् २०२२ को अहिलेसम्म ६ पटक मूल्यवृद्धि भइसकेको अधिकारीहरूले जानकारी दिएका छन् । विश्व बजारमा पटक पटक निरन्तर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आफ्नो देशमा पनि मूल्यवृद्धि गर्नु परेको उनीहरूको भनाइ छ । उनीहरूका अनुसार यही जुन महिनाको २१ दिनमा मात्रै तीन पटक मूल्यवृद्धि भइसकेको छ ।

देशको उद्योग तथा व्यापार मन्त्रालयले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने निर्णय सम्बन्धित निकायलाई पठाएको छ । देशमा अहिले आन्तरिक मागका लागि पाँच देखि सात दिनलाई मात्रै पुग्ने पेट्रोलियम पदार्थ रहेको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

महङ्गो र अभाव भइरहेको पेट्रोलियम पदार्थको खपत तथा माग घटाउन पनि मूल्यवृद्धि गर्नु परेको सरकारी अधिकारीहरूको भनाइ छ । पेट्रोलियम पदार्थको मूल्य अझ धेरै हुन नदिन सरकारले वातावरण संरक्षण कर कटौती गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको छ ।

इजरायलमा राजनीतिक अस्थिरता

इजरायलको कमजोर गठबन्धन सरकारले संसद् भङ्गको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्वप्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौँ हुनेछ ।

अब अर्को निर्वाचन आगामी अक्टोबरमा हुनेछ । नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्री बेनेटका प्रमुख सहयोगी विदेशमन्त्री यायर ल्यापिड कार्यवाहक प्रधानमन्त्री बन्नेछन् । प्रधानमन्त्री बेनेट नेतृत्वको गठबन्धनलाई त्यति बेला नै राजनीतिक प्रयोगका रूपमा चित्रण गरिएको थियो ।

प्रधानमन्त्री बेनेटले आफ्नो कार्यकालमा तीन वर्षमा पहिलोपटक राष्ट्रिय बजेट पास गराए भने बन्दाबन्दी नगरी कोरोनाभाइरसका दुई चरणबाट देशलाई नेतृत्व प्रदान गरे । उनकै निगरानीमा गाजा पट्टीसँगको तनावपूर्ण सीमाना धेरै हदसम्म शान्त रहेको टिप्पणी हुने गरेको छ । यद्यपि बेनेटको पालामा प्यालेस्टिनीहरूसँगको तनाव पूर्वी जेरुसेलम र कब्जा गरिएको वेस्ट बैंकमा बढेको बताइन्छ ।

इमरान खानको नेतृत्वमा पाकिस्तान विश्वकै कुख्यात मानवअधिकार उल्लङ्घनकर्ता बनेको प्रतिवेदन सार्वजनिक

इमरान खानको नेतृत्वमा पाकिस्तानले विश्वको सबैभन्दा खतरनाक मानवअधिकार उल्लङ्घनकर्ता देशको रूपमा कुख्याति कमाएको प्रतिवेदन सार्वजनिक भएको छ । सैनिक शासक जनरल परवेज मुसर्रफपछि खान खतरनाक मानवअधिकार उल्लङ्घनकर्ताका रूपमा दरिएका छन् । उनको कार्यकालमा सञ्चारगृह, मानवअधिकार रक्षक समूह र सामाजिक सञ्जालका अभियन्ताहरूलाई दबाउन खोजिएको जस्ट अर्थ न्यूजले जनाएको छ ।

खानले आफ्नो शासनकालमा असन्तुष्ट पक्षको हत्या, पत्रकारलाई कुटपिट र वाक् स्वतन्त्रतामाथि प्रहार गरेको जनाइएको छ । पाकिस्तानको मानवअधिकार आयोगले यो वर्षको प्रारम्भमा जारी गरेको ‘मानव अधिकारको स्थिति प्रतिवेदन २०२१’ मा उक्त वर्ष अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा सबैभन्दा बढी क्षति पुगेको उल्लेख थियो ।

जनताको बोल्ने र मन लागेको काम गर्ने अधिकार खान सरकारले सङ्कुचित तुल्याउनका साथै उनको राजनीतिक दल तहरिक–ए– इन्साफ पिटिआईका कार्यकर्ताले पनि पत्रकाररूमाथि दमन गरेका थिए । पत्रकारलाई धम्की दिएका नौ वटा घटना प्रतिवेदनमा समेटिएको छ ।

प्रतिवेदनअनुसार खान सरकारले सेनासँग मिलेर पत्रकारमाथि निर्मम कदम चालेका थिए । उनी र उनका सहयोगीहरूका अमानवीय गतिविधिले पाकिस्तानलाई विश्वमा उपहासको पात्र बनाएको छ । धेरै आलोचकलाई बेपत्ता परिएको, असहमति जनाउनेलाई प्रहरी लगाएर दमन गरिएको र सीमान्तकृत वर्ग पनि त्यस्ता अराजक गतिविधिको शिकार भएका थिए ।

पाकिस्तानी मानव अधिकार आयोगले मात्र नभई अमेरिकी विदेश मन्त्रालयले पनि इस्लामावादले गैरकानुनी एवम् स्वच्छाचारी हत्यालाई प्रश्रय दिएको प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यसैगरी ह्युमन राइट्स वाचले पनि सरकारी सुरक्षा बल र लडाकु समूहले भयको वातावरण सृजना गरेर नागरिक अधिकार कुण्ठित पारेको प्रतिवेदन निकालेको थियो ।

भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित थपिए

भारतमा फेरि १२ हजारभन्दा धेरै कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको समयावधिमा भारतमा कोरोना भाइरसबाट थप १२ हजार २४९ सङ्क्रमित भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो । हाल भारतमा ८१ हजार ६८७ सक्रिय सङ्क्रमित रहेका जनाइएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको शून्य दशमलब १९ प्रतिशत हो ।

पछिल्लो एक दिनमा नौ हजार ८६२ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २७ लाख २५ हजार ५५ पुगेको छ । कोरोना भाइरस निको भएको यो दर ९८.६० प्रतिशत रहेको छ । कोरोना महामारीबाट पछिल्लो २४ घण्टामा भारतमा १३ को मृत्यु भएको छ । यसैसँगै कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २४ हजार ८७० भन्दा बढीको मृत्यु भएको समाचारमा जनाइएको छ ।

भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९६ करोड ४५ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ । भारतमा कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८५ करोड ८८ लाखभन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ ।

अमेरिकाले चुरोट र सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने

अमेरिकाले चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी थालेको छ । अमेरिकाको बाइडेन प्रशासनले चुरोट र अन्य तयारी सुर्तीजन्य पदार्थमा अधिकतम निकोटिनको मात्राको व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको अमेरिकी प्रशासन ह्वाइट हाउसको बजेट कार्यालयले जनाएको छ । यो नियम अर्को वर्षबाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यद्यपि चुरोटमा निकोटिनको मात्रा नियमन गर्ने सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

चुरोट तथा अन्य सुर्तिजन्य पदार्थमा पाइने निकोटिन तथा अन्य हजारौँ हानिकारक रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ । नयाँ नियमबाट पुराना अम्मलीहरुको लत छुटाउने एवम् युवापुस्ताका नयाँ अम्मलीहरुलाई निरुत्साहन गर्ने उद्देश्य लिइएको रोयटर्सले जनाएको छ ।

क्यान्सरविरुद्ध बाइडेन प्रशासनले चालेको कडा कदमका रुपमा नयाँ नियमलाई हेरिएको छ । यसअघि अमेरिकामा आगामी २५ वर्षमा क्यान्सरबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिइएको थियो । यद्यपि युरोपको तुलनामा अमेरिकामा धूम्रपान कम प्रचलित र घट्दै गएको बताइएको छ । रोयटर्सका अनुसार अमेरिकामा १२ दशमलब ५ प्रतिशत वयस्कहरुले चुरोट पिउँछन् ।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण अमेरिकामा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ । यसबाहेक दोस्रो व्यक्तिले सेवन गरेको चुरोटको धुवाँका कारण अरु ७ हजार ३ सय भन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

अमेरिकाको खाद्य एवम् औषध प्रशासन एफडीएका अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण प्रत्यक्ष स्वास्थ्य खर्च एवम् गिर्दो उत्पादनशीलताका कारण प्रति वर्ष ३ खर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०३ बजे

एपिएफले जित्यो ‘प्रचण्ड कप’ भलिबलको उपाधि

कास्की – पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल

प्रभावकारी बन्दै पढ्दै कमाउँदै कार्यक्रम

मनाङ – व्यावहारिक ज्ञान सिकाउने उद्देश्यले सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम

रेखा सम्मिलित अबुधाबीले यूएई महिला लिगको उपाधि जित्यो

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी खेलाडी रेखा पौडेल

हेवा खोलाको निर्माणाधीन बेलिब्रिज भाँचियो, ६ जना घाइते

पाँचथर – मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिदा

हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या

हुम्ला – दुई सातादेखि हुम्ला सदरमुकाम सिमकोटमा खानेपानीको समस्या बढ्दै