काठमाडौँ- आज दिनभर नागरिकता विधेयक टुंगो लगाउने गठबन्धनको निर्णय, खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन, संवैधनिक पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ प्रभावित लगायतका विषय चर्चामा रहे ।
यी हुन् आजका प्रमुख समाचारहरू :
संसद्मा विचाराधीन नागरिकता विधेयक टुंगो लगाउने गठबन्धनको निर्णय
सत्तारुढ गठबन्धनले संसद्मा विचाराधीन नागरिकता विधेयक अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदीय प्रक्रियामा लैजाने निर्णय गरेको हो । राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधिसभामा पेस गरेको थियो । नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन । मन्त्री कार्कीले अहिले हाम्रो समाजमा बुबा नागरिक आमा नागरिक हुने तर उनीहरुको सन्तान नागरिकताविहीन भइरहेकाले यसलाई अन्त्य गर्न नागरिकता विधेयक अघि बढाउने निर्णय भएको बताए ।
खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारवाही सिफारिस गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारले खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न मातहतको कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाउनु पर्ने हुन्छ । स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । काठमाडौं महानगरपालिकाको सबैभन्दा ढिलो जेठ १२ मतपरिणाम घोषणा भएको थियो । यस अनुसार पनि असार १२ भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाइसक्नुपर्ने हुन्छ । निर्वाचन आयोगले सबैभन्दा बढी महानगरको प्रमुख र उपप्रमुखमा ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो ।
न्यायाधीश र अधिवक्ता घुस प्रकरणबारे छानबिन गर्न समिति गठन
न्याय परिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबिच मुद्दाको विषयलाई लिएर भएको घुस प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । आज बसेको न्याय परिषद्को बैठकले उक्त विषयमा छानविन गर्न न्यापरिषद्का सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । छानबिन समितिमा उच्च अदालत पाटनका कायम मुकायम मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल रहेका छन् । समितिलाई ४५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउनु पर्ने समयसीमा तोकिएको न्यायपरिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।
न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारवाही गर्न नेपाल बारको माग
नेपाल बार एसोसिएसनले न्यायाधीश–अधिवक्ता घुस डिल प्रकरणका दोषीलाई कारवाही गर्न माग गरेको छ । आज बार महासचिव अञ्जिता खनालले जारी गरेको विज्ञप्तिमा अडियो समाचारका सम्बन्धमा त्यसको आधिकारिकता र सत्य तथ्य व्यहोरोको छानबिन गरी त्यसमा कोही कसै संलग्नता पाइएमा कारवाही गर्न माग गरिएको छ । संवैधानिक सर्वोच्चता, विधिको शासन, स्वतन्त्र–निष्पक्ष न्यायपालिका नेपाल बारको प्रमुख लक्ष्य रहेको जनाउँदै यस्ता अवाञ्छित गतिविधिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाइएको छ । व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीचको घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको थियो ।
संवैधनिक पदाधिकारी नियुक्तिसम्बन्धी संवैधानिक इजलासको सुनुवाइ प्रभावित
संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी आजदेखि हुने भनिएको सुनुवाइ स्थगित भएको छ । कार्यवाहक प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा उक्त मुद्दा बुधबारका लागि सुनुवाइ तोकिएको थियो । तर राष्ट्रपति कार्यालयबाट सक्कल फाइल नआएपछि सुनुवाइ स्थगित भएको सर्वोच्च अदालतले जनाएको छ । राष्ट्रपति कार्यालयले ५२ संवैधानिक पदाधिकारीको नियुक्तिसम्बन्धी सक्कल फाइल सर्वोच्च अदालतमा पठाएको थिएन । सर्वोच्च अदालतको संवैधानिक इजलासले सक्कल फाइल नै मगाउने आदेश गरेको छ ।
बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानूनलाई कडा बनाउनुपर्नेमा जोड
सांसदहरुले बलात्कारका घटनाका दोषीलाई दिइने सजायसम्बन्धी कानूनलाई कडा बनाउनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा यौन हिंसा बिरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले बलात्कारका घटनाका दोषीलाई दिइने कानूनको स्वरुप परिर्वतन गर्नुपर्ने बताएका हुन् । त्यस्तै उनीहरुले यौन हिंसाका घटनामा हदम्याद राख्न नहुने जिकिर गरेका छन् । छलफलमा भाग दिदै कांग्रेस सांसद पुष्पा भुसालले बलात्कारका घटना हुनै नदिने गरि कडा कानून बनाउनुपर्ने बताए । त्यस्तै कांग्रेसकी सांसद डिला संग्रौला कुनै कुनै घटनाहरु तत्काल बाहिर आउन नसक्ने भन्दै जबरजस्ती करणीमा हदम्याद घटाउनुपर्ने बताइन् । छलफलमा भाग लिदै एमालेका सांसद झपट रावलले महिला मात्रै नभई पुरुषमाथि पनि हिंसा हुने भएकाले यस बिषयलाई कानूनमा ध्यान दिनुपर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धि भएकोले नेपालमा पनि वृद्धि गर्नुपरेको आपूर्तीमन्त्री बडुको भनाइ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे बुधबार राष्ट्रियसभा बैठकलाई जानकारी गराउदै बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेकाले नेपालमा पनि मूल्यवृद्धि गर्नुपरेको बताए । निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको उनले जानकारी दिए ।
विद्युतीय ऊर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने चेतावनी
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् । आज राष्ट्रिय संसद्अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरे । उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने भनाइ राखे ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया रोक्न माग गर्दै आयोगमा उजुरी दर्ता
राष्ट्रिय स्वतन्त्र पार्टीको दर्ता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । रवि लामिछानेले उक्त नामको पार्टी दर्ताका लागि निवेदन दिएपछि स्वतन्त्र उम्मेदवारीका लागि तयारी गरिरहेकाहरुले दलको नाममा भएको स्वतन्त्र शब्दप्रति आपत्ती जनाउदै आयोगमा उजुरी दर्ता गरेका हुन् । स्वतन्त्र शब्दको अपव्याख्या भएको र जनतामा भ्रम पर्न गएकाले उक्त शब्द भएको दल दर्ता गर्न नहुने उनीहरूको भनाइ छ । स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउने अधिकार रहेको भन्दै स्वतन्त्र शब्दलाई दुरुपयोग गर्न खोजिएको बताए ।
मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण
नेकपा एकीकृत समाजवादीले पार्टीबाट गएका मन्त्री परिवर्तन गर्ने विषयमा ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको सचिवालय बैठकले मन्त्री परिवर्तन गर्न ढिलाई भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । बैठकले मन्त्री परिवर्तनको निर्णय तुरुन्त कार्यान्वयन गराउन समेत ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकमा पोलिट्ब्युरो, केन्द्रीय कमिटी र केन्द्रीय परिषद बैठकको तयारीका बारेमा पनि छलफल भएको खनालले जानकारी दिए ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्छ : नेता खनाल
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिएर सरकारले जनताको जनजिवन सहज बनाउनुपर्ने बताएका छन् । आज समाजवादी प्रेस संगठनले काठमाडौंमा जननिर्वाचित प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा खनालले पेट्रोलियम पदार्थमा भएको व्यापक वृद्धिले हर क्षेत्रमा मूल्यवृद्धि हुने भएकाले फिर्ता लिनुपर्ने बताए । उनले जनतालाई सहूलियत प्रदान गरेर राज्यले राहत दिनुपर्ने बताए । त्यस्तै उनले स्थानीय तहको निर्वाचन निर्वाचनमा राष्ट्रव्यापी रुपमा उम्मेदवार उठाउन नसक्दा कम मत आएको भन्दै आफ्नो पार्टीसँग २० लाखभन्दा बढी मत रहेको दाबी गरे ।
नेपालमा मूल्यमान्यताको राजनीति हराउँदै जान थालेको छ : प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्यमान्यताको राजनीति हराउँदै जान थालेको बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले बुधबार चाक्सीबारीमा प्रजातन्त्र स्थापना, पुनस्थापना एवं संवर्द्धनका लागि योगदान गरेकाहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताए । नेता सिंहले प्रजातन्त्र स्थापनाका लागि योद्धाहरूले गरेको योगदानको चर्चा गरे । गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान ०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा, मनज्ञ लाकोललाई प्रदान गरेको हो ।
माइतीघरमा सरकारविरुद्ध किसानहरूको प्रदर्शन
मल नपाएको भन्दै किसानहरुले माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । सरकार बाहिर रहेका एमालेसहित पाँच कम्युनिस्ट घटक समर्थित किसान संगठनहरुले बुधबार माइतीघरमा सरकार विरुद्ध प्रदर्शन गरेका हुन् । हाल भइरहेको रासायनिक मलको अभाव, पेट्रोलियमको मूल्यवृद्धि, बढ्दो महँगीलगायत रासायनिक मलमा भइरहेको कालोबजारीको नियन्त्रण गर्न माग राख्दै उनीहरुले संयुक्त किसान आन्दोलन गरेका हुन् । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले हातमा धानको बिउ बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
बोलेर जीप दुर्घटना : एकको मृत्यु, चार जना घाइते
सुर्खेत दैलेख सडक खण्डको कपासे नजिकै बोलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुर बाँकेको गाडी कपासेदेखिमाथिको मोडमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेको सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए । उनकाअनुसार दुर्घटजामा एक जनाको मृत्यु भए पनि उनको पहिचान खुलेको छैन । दुर्घटनामा चार जना घाइते छन् ।
नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७५ पिसिआर परिक्षणका क्रममा २८ जना र ८ सय ५० एन्टीजेन परिक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप १० जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ३० जना निको भएका छन् । हाल नेपालमा १ सय ४२ जना सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन् ।
भीमफेदी कारागारमा कैदीको मृत्यु
मकवानपुरको भीमफेदी करागारमा कैदी जीवन बिताइरहेका मिलन परियारको मृत्यु भएको छ । ०७६ साल जेठ २ गतेदेखि लागूऔषध मुद्दामा ३ वर्ष कैदी जीवन बिताइसकेका हेटौंडा–२ का ३४ वर्षीय परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ७ वर्षका लागि कैदी जीवन बिताइरहेका परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीबाट रिफर गरेर थप उपचारका लागि हेटौंडा अस्पताल ल्याउने क्रममा नै परियारको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
हैजा रोकथाम गर्न समिति गठन
काठमाडौंमा देखा परेको हैजाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले छानबिनका टोली गठन गरेको छ । स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा ६ सदस्यीय छानबिन टोली गठन गरिएको हो । काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि टोलीले काम गर्ने अधिकारीले बताए । काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ । बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमुना संकलन भइसकेको छ ।
स्वास्थ्य विमा कार्यक्रम स्थगित
झापाको बि एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको हो । उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको भन्दै जानकारी दिएका छन् । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैया लिन बाँकी रहेको जानकारी दिए ।
३१.२१ अंकले घट्यो सेयर बजार
साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ३१.२१ अंकले घटेको छ । आज कुल २२९ कम्पनीको २० हजार ४२० वटा कारोबारबाट ३० लाख ३४ हजार ४८३ कित्ता सेयर किनबेच भएको छ । आज ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै उपसमूह घटेका छन् । घट्दो बजारमा समेत ग्लोबल आईएमई सम्मुनत योजनाको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ९.७५ पैसा पुगेको छ । यस्तै आँधीखोला लघुवित्त वित्तीय संस्थाको मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ८७३.४० पुगेको छ ।
दुई करोड ३२ लाखको बैंकिङ कसूर गरी फरार प्रतिवादी पक्राउ
बैकिंङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् । विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी २ करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया