लालीगुराँस संरक्षण अभियान सुरु « Khabarhub

लालीगुराँस संरक्षण अभियान सुरु


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको सबैभन्दा अग्लो स्थान आँबुखैरेनीको छिम्केश्वरीमा नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण अभियान थालिएको छ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर आसपास लालीगुराँस संरक्षण अभियान सुरुवात गरिएको हो ।

कास्कीका ढाकाराम लामिछानेको सक्रियतामा छिम्केश्वरीमा लालीगुराँसका बिरुवा रोपिएको छ । यसक्रममा ११ प्रजातिका ७० बिरुवा रोपिएको लामिछानेले जानकारी दिए । ‘लालीगुराँस फुलाऔँ, पर्यटक बोलाऔँ’ हाम्रो अभियान आगन्तुकको प्रोत्साहन’ भन्ने मूल नारा सहित छिम्केश्वरीमा लालीगुराँसको बिरुवा रोपण गरिएको उनले बताए।

उनले कास्की जिल्लाको २३ ठाउँमा लालीगुराँसका बिरुवा रोपिसकेका छन् । विगत छ वर्षदेखि लालीगुराँस संरक्षणमा लागेका उनले पहिलोपटक कास्कीको ठूलोकोटमा लगाएको लालीगुराँस फुल्न थालेको जानकारी दिए ।

‘नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षणका लागि निकै कम चासो रहेको पाएपछि यसको संरक्षणका लागि लागेको हूँ,’ उनले भने, ‘लालीगुराँस संरक्षण गर्ने काम नेपालमा नभएपछि त्यसतर्फ झुकाव राखेको काम गर्दै आएको छु ।’

उनका अनुसार हालसम्म सात हजार आठ सय लालीगुराँसका बिरुवा रोपिसकिएको छ । अहिले रोपिएको लालीगुराँस पाँचदेखि सात वर्षसम्म फुल्छ । अहिलेसम्म ९० प्रतिशत बिरुवा सार्न सफल भइएको उनले बताए । ‘नेपालका सबै ठाउँमा पुग्छु भन्ने लक्ष्य राखेको छु, मुख्य उद्देश्य भनेको लालीगुराँसको संरक्षण गर्नुपर्छ भन्ने नै हो’, उनले भने। 

उनले यस वर्ष तेह्रथुमबाट आठ सय बिरुवा खरिद गरी ल्याएका छन्। हालसम्म खर्चको व्यवस्थापन आफैँले गर्दै आएको उनले बताए । ‘रोप्नुमात्रै ठूलो कुरा होइन, संरक्षण गर्नु ठूलो कुरा हो । जहाँ जहाँ रोपिएको छ, त्यहाँका स्थानीयवासीसँग सहकार्य गर्दै आएका छौँ’, उनले भने। नेपालमा ३२ प्रजातिका लालीगुराँस रहेको छ ।

छिम्केश्वरीमा लालीगुराँस संरक्षण अभियानमा आँबुखैरेनी गाउँपालिकाले साथ दिएको छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याललगायतले लालीगुराँसको बिरुवा रोपण गरेका छन्  । यस ठाउँमा लालीगुराँस पार्क निर्माण गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष चुमानले जानकारी दिए । लालीगुराँस संरक्षण गर्दै लालीगुराँस हेर्न आँबुखैरेनी जाऔँ भन्ने बनाइने उनले बताए ।

छिम्केश्वरीको हावापानी लालीगुराँस फूलका लागि उपयुक्त छ । आँबुखैरेनीमा प्रत्येक वर्ष लालीगुराँस फुल्ने गरेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिर पनि रहेकाले यहाँ बर्सेनि सर्वसाधारणको आवतजावत वृद्धि भइरहेको छ ।

समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा छिम्केश्वरी अवस्थित छ । विशेष गरी होली र नयाँवर्षको अवसरमा छिम्केश्वरी र बूढीमाईको दर्शन गर्न भक्तजनको भीड हुने गर्दछ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास रहँदै आएको छ । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामाई, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ३० बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी