'विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्छ' | Khabarhub Khabarhub

‘विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्छ’


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा राजनीतिक परिवर्तनसँगै सबै समुदायको साहित्य, कला, दर्शन, संस्कृतिको सन्तुलित विकास भएको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित ‘बीपी कोइरालालाई राष्ट्रिय पुरस्कार–२०७८’ समर्पण समारोहलाई सम्बोधन गर्दै उनले मुलुकको विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने  साधक एवं स्रष्टाको सम्मानमा राज्यले सहयोग गर्ने विश्वास दिलाए ।

प्रधानमन्त्री देउवाले जननायक बीपी कोइरालाले मुलुकको राजनैतिक परिवर्तन र नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै राज्यबाट गरिएको सम्मानले स्रष्टा र सर्जकलाई थप हौसला प्रदान हुने उल्लेख गरे । विसं २००७ सालको राजनैतिक क्रान्ति सफल बनाउन तथा मुलुकमा प्रजातान्त्रिक शासन प्रणाली र नागरिक हकअधिकार स्थापित गर्न अतुलनीय योगदान पुर्‍याउने स्वर्गीय बीपी कोइरालाको नेपालको राजनीतिक इतिहासमा विशिष्ट स्थान रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले भने, ‘बीपी कोइराला उच्च राजनैतिक चिन्तक र विश्लेषक मात्र नभएर उनी नेपाली भाषा साहित्यका एक उत्कृष्ट स्रष्टा, लोकप्रिय कथाकार एवं उपन्यासकार पनि थिए । समाजको परिवर्तनको लागि कोइरालाले राजनीतिक र साहित्य दुवैलाई आफ्नो कार्यक्षेत्र बनाइ आफ्नो समयको लोकप्रिय र चर्चित व्यक्तित्व थिए ।’

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं राजनैतिक सङ्घर्षका प्रेरक जननायक बीपी कोइरालाको स्मृतिमा नेपाल सरकारद्वारा स्थापित बीपी कोइराला राष्ट्रिय पुरस्कार प्राप्त गर्ने  स्रष्टालाई सम्मान गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनले उक्त पुरस्कारबाट विभिन्न विधा र क्षेत्रमा पुरस्कृत हुने संस्था एवं सर्जकलाई बधाई ज्ञापन गरे।

प्रधानमन्त्री देउवाले सम्मान एवं पुरस्कार कार्यक्रमले मुलुकमा राजनीतिक सुधार र जनताको हकअधिकारलाई स्थापित एवम् सुदृढ गर्ने तथा असल साहित्य सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने कार्यमा लाग्न सबैलाई प्रेरणा मिल्ने विश्वाससमेत व्यक्त गरे । 

सबै पुरस्कृत प्रतिभाले राज्यको तर्फबाट प्रदान गरेका यस किसिमका पुरस्कार तथा सम्मानबाट आ–आफ्नो कार्यको मूल्याङ्कन र गौरवको महसुस गराएको विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा सम्बन्धित क्षेत्रमा अझ बढी योगदानको अपेक्षा पनि गरे। नेपाली साहित्य पनि एउटा समृद्ध साहित्यकारूपमा विश्वमा स्थापित भइसकेको भन्दै प्रधानमन्त्री देउवाले यसको गरिमा र गुणस्तरलाई आगामी दिनमा अझ गहकिला र विचारपूर्ण साहित्यको सिर्जना गरेर विश्व साहित्य जगतमा नेपालको आफ्नै विशिष्ट पहिचान बनाउन आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष जननायक बीपी कोइराला एक आदर्श व्यक्तित्व भएको बताए । नेपालको राजनीतिक, ऐतिहासिक, सामाजिक र साहित्य क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउने भएका बिपीको स्मरण गर्नु राज्यको दायित्व भएकाले सोही अनुरूप उनको सम्मानमा पुरस्कार प्रदान गरिएको मन्त्री श्रेष्ठले स्पष्ट पारे ।

तीन स्रष्टा र एक संस्था पुरस्कृत 

पर्यटन मन्त्रालयले विस २०७८ को बीपी कोइराला राष्ट्रिय पुरस्कारबाट तीन स्रष्टा र एक संस्थालाई पुरस्कृत गरेको छ । राजनीतिक दर्शन विधातर्फ कोइरालाको विचारबारे खोज तथा अनुसन्धानमा सक्रिय सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय तथा राजनीतिक विधातर्फ बीपी कोइरालाको नजिक रहेर उहाँका साहित्य र राजनीतिक रचनाहरूको प्रकाशन व्यवस्थापनमा भूमिका खेलेका पुरुषोत्तम बस्नेतलाई संयुक्तरुपमा प्रदान गरिएको छ ।

साहित्य विधातर्फ यस वर्षको बीपी कोइराला राष्ट्रिय पुरस्कार संयुक्तरूपमा साहित्यकारद्वय डा विष्णुविभु घिमिरे र डा ध्रुवचन्द्र गौतमलाई प्रदान गरिएको छ । ती सबै पुरस्कार प्रधानमन्त्री देउवाले प्रदान गरे । पुरस्कारको राशि जनही नगद रु एक लाख र सम्मानपत्र रहेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्य क्षेत्रमा अतुलनीय योगदान गरेका  बीपी कोइरालाको स्मरणमा पर्यटन मन्त्रालयले यसैवर्ष सो पुरस्कारको स्थापना गरेको हो । 

पुरस्कृत व्यक्ति गौतमले नेपाली साहित्यमा आधुनिकता भित्र्याउने श्रेय बीपी कोइरालालाई जान्छ भन्दै नेपालको राजनीतिक र साहित्यको क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तिका नाममा पुरस्कृत हुन पाउँदा आफ्नो पहिचान बढेको बताए । पर्यटन मन्त्रालयका निमित्त सचिव बुद्धिसागर लामिछानेले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने स्रष्टालाई हरेक वर्ष बीपी कोइलालाई राष्ट्रिय पुरस्कार प्रदान गरिने बताए ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ४३ बजे

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७

अस्थायी रूपमा सेवा दिँदै नेपालगञ्जका क्षतिग्रस्त कार्यालय

नेपालगञ्ज– आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएका यहाँका कार्यालयमध्ये केहीले अस्थायी