–राजाराम मल्ल
“सर ! म ‘ब्याचलर’ पढ्न विदेश जाने हो। त्यसैले, म ए-लेभल पढ्न चाहन्छु ।”
धेरै जसो एसईई सकेर ए-लेभल पढ्न खोज्ने विद्यार्थीहरुको भनाइ हो यो । तर, ए-लेभल पढ्दैमा ‘अब्रोड स्टडिज्’को लागि विदेश जान पाइन्छ भन्ने कुरा कत्तिको सत्य हो त? यो कुरो कुनै पनि ए-लेभल पढ्न खोज्ने विद्यार्थीले बुझ्नु जरुरी छ ।
नेपाल सरकारबाट नेपाली बोर्ड (एचएसईबी) को +२ को समकक्षता पाएको अन्तर्राष्ट्रिय कोर्सको रुपमा ए-लेभल रहेको छ ।
अन्तर्राष्ट्रिय जगतमा ए-लेभलका बोर्डहरु धेरै भए पनि, नेपालमा चलेको ए-लेभल भने युनिभर्सिटी अफ् क्यामब्रिज अन्तर्गतको क्यामब्रिज असेस्मेन्ट इन्टरनेस्नल एज्युकेशन (सीएआईई) बोर्डसँग सम्बन्धित छ ।
उक्त बोर्डसँग सम्बद्ध भएर हाल काठमाडौँभित्र र बाहिर गरी ब्रिटिस काउन्सिल पार्टनरसहित वा इन्डेपेन्डेन्ट सेन्टरको रुपमा २० भन्दा बढी स्कूल/कलेज सञ्चालित छन् । यी स्कूल/कलेजले सीएआईई बोर्डले निर्धारण गरेको ‘सिलेबस’, ‘स्किम अफ् वर्क’ आदि अनुरुप ए-लेभल सञ्चालन गर्ने गर्दछ ।
यी स्कूल/कलेजको ए-लेभलको परीक्षा सम्पादन तथा आवश्यक सूचना सञ्चार गर्न नेपालको ब्रिटिश काउन्सिलले सीएआईईलाई सहयोग गर्ने गर्दछ ।
ए-लेभल अन्तर्राष्ट्रिय शिक्षा भएकाले यसको सर्टिफिकेट पनि अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ । अमेरिका, अस्ट्रेलिया, क्यानाडा, यूरोपियन मुलूक लगायत ८१ देशहरुले क्यामब्रिज सर्टिफिकेटलाई मान्यता दिएको छ ।
नेपालको प्रसङ्गमा, ए-लेभल उतिर्ण भएको सर्टिफिकेटबाट नेपालको +२ समकक्ष (इक़ुइभलेन्सी ) सर्टिफिकेट नेपाल सरकारले (सानोठिमीबाट) सजिलै प्रदान गर्दछ । ए-लेभलमा कुनै पनि ३ वटा ए-लेभल विषयहरु उतिर्ण गरेको सर्टिफिकेट हेरेर शिक्षा मन्त्रालयले (केशरमहलबाट) एनओसी सजिलै प्रदान गर्दछ, जुन ‘अब्रोड स्टडिज्’ गर्नका लागि अनिवार्य छ ।
त्यसो त नेपालकै +२ पास सर्टिफिकेट लिएर, विदेशी समकक्षता लिई, एनओसी बनाएर पनि ‘अब्रोड स्टडिज्’ गर्न जान सकिन्छ । विदेशमा अध्ययन गर्न जानका लागि ए-लेभल पढनै पर्छ भन्ने छैन । अझै, ए-लेभल पढेपछि पनि युनिभर्सिटीको माग अनुसार आईईएलटीएस, एसएटी आदिको स्कोर जरुरी हुन्छ ।
तर एउटा फरक पक्ष चाहिँ के हो भने ए-लेभल अन्तर्राष्ट्रिय पाठयक्रम हो । यसको सर्टिफिकेट मात्र अन्तर्राष्ट्रिय होइन । यसलाई पढने-पढाउने पद्धति पनि अन्तर्राष्ट्रिय नै हुन्छ । कुनै विद्यार्थीले ए-लेभल पढेपछि घोकन्ते र रट्टा मार्ने बानी छोड्नुपर्छ । आफ्नो बुझाइलाई तिखार्नुपर्छ । कन्सेप्चुअल अन्डरस्ट्यान्डिङ, विश्लेषण र मूल्यांकनमा थप मेहनत गर्नुपर्छ ।
ए लेभलको चुनौती भनेको ‘प्रश्न र केश स्टडी’ हो । जुन दिइएको सिलेबस भित्र रहेर जे पनि हुन सक्छ । विद्यार्थीले आफ्नो बुझाइ अनुसार त्यसलाई समाधान गर्न सक्नुपर्छ । कुनै पनि दिइएको परिस्थितिमा के र किन गर्नु ठीक हुन्छ भनी समाधान पत्ता लगाउन सक्ने क्षमता विकास गर्नुपर्छ ।
यस्तो क्षमता विद्यार्थीको आफ्नो भविष्य सफल पार्न अनिवार्य पनि हुन्छ । वास्तवमा, यस्तो समाधान गर्ने क्षमताको विकास अन्तर्राष्ट्रिय पठन पद्दतिको ‘बेसलाइन’ हो । त्यसैले ए-लेभल पढ्दा विद्यार्थीको अन्तर्राष्ट्रिय पठन पद्दतिको विकास भैसकेको हुन्छ । अतः विद्यार्थीलाई ‘अब्रोड स्टडिज्’ सहज हुन्छ ।
(लेखक राजाराम मल्ल विगत १५ वर्षदेखि ए-लेभल शिक्षामा आबद्ध छन् । हाल उनी ‘रुपीज् इन्टरनेसनल स्कूल ए-लेभल’का ‘एसोसिएट डिरेक्टर’को रुपमा कार्यरत छन् ।)
प्रतिक्रिया