संकटमा माधव नेपालको राजनीतिक अस्तित्व « Khabarhub

संकटमा माधव नेपालको राजनीतिक अस्तित्व

ओली र एमाले छाडेपछि बाबुरामजस्तै ‘बबुरो’ बन्ने डर !


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केही दिनअघि मात्रै बाबुराम भट्टराई माओवादीको चुनाव चिन्ह लड्ने निष्कर्षमा पुगे । उनको यो घोषणा आफैँमा यति धेरै विवाद र विरोधाभास बन्यो कि बाबुराम भट्टराईले जन्माउने र राजनीति सिकाउने नेपाली समाज थियो ।

अर्थात् भनौँ बाबुराम भट्टराईको राजनीतिक यात्रा र उपलब्धिलाई लिएर सबैभन्दा बढी आलोचना गर्ने नेपाली समाज छ । जबकि अहिलेसम्मका प्रधानमन्त्रीहरूमा उनी एक मात्रै विद्धान हुन् । पीएचडी गरेका कुनै व्यक्ति परिवर्तनका लागि सशस्त्र द्वन्द्वमा होमिदा मात्रै होइन, शान्ति स्थापना र माओवादीको विद्रोहलाई दिल्लीमा १२ बुँदे सम्झौता गराउँदा पनि बाबुराम नै सुत्राधार थिए ।

उनै बाबुरामले माओवादीबाटै चुनाव जिते । सांसद बने । अर्थमन्त्री र प्रधानमन्त्री बनेपछि नेपालको नयाँ संविधान जारी भएको सगौरव घोषणा गरे । नयाँ संविधान जारी गराएर नेपालको राजनीतिक परिवर्तनमा एक महत्त्वपूर्ण कोशेढुंगा पार गरेपछि माओवादी अध्यक्ष प्रचण्डको अत्याचारबाट विद्रोह गरेका बाबुराम फेरि उदारको राजनीति गर्दागर्दै फेरि माओवादीको ढोकामा आइपुगेका छन् ।

यसलाई निकै थोरैले मात्र बाबुरामको घर फिर्तीका रूपमा बुझेका छन् । अनि धेरैले चाहिँ प्रचण्डको शरणमा बाबुराम परेको भन्दै उनको अत्यधिक आलोचना गरिरहेका छन् । जबकि राजनीतिक सिद्धान्त, बुझाई र त्यसको वकालतमा बाबुराम प्रचण्डभन्दा धेरै गुणा शक्तिशाली नेता हुन् ।

फरक यति मात्रै हो बाबुरामले इमानदार र कार्यकर्तालाई केन्द्रमा राखेर राजनीति गरे । तर प्रचण्डले सत्ता, शक्ति र आफ्नो बलमिच्याईलाई केन्द्रमा राखेर राजनीति गरे । जसले अत्याचार गरेर पनि नेतृत्व छाडेनन् । कैयौँ कार्यकर्ताका सपना सहिद बनाएका प्रचण्डलाई होइन, आज नेपाली समाज बाबुरामलाई बबुरो बनाइरहेको छ । कम्तीमा त्यही बुझिरहेको छ ।

अहिले माधव नेपालको हालत ठ्याक्कै बाबुराम भट्टराईको जस्तो बन्छ कि भन्ने संकेत निरन्तर देखिएका छन् ।

केही दिनअघि मात्रै माधव नेपालले प्रचण्डसँग पार्टी एकता गर्ने तयारी गरेको समाचार बाहिरियो । एक्लै चुनाव लड्ने अवस्था नभएको स्पष्ट छ । सत्ता गठबन्धनमा तालमेल गर्दा पनि कांग्रेस कार्यकर्ताले अन्तर्घात गरेर चुनाव हराइदिने डर माधव नेपाललाई छ । आफ्नो संगठन बलियो नभएका कारण माओवादीकै संगठनको भर परेर चुनावमा केही सिट जित्नुपर्ने तीव्र दबाब माधव नेपाललाई छ ।

अनि जहाँ जहाँ माधव नेपालका नेता कार्यकर्ताको उम्मेदवारी दिने तयारी छ, त्यहाँ पहिल्यै कांग्रेस र माअ‍ोवादीका नेता कार्यकर्ताको प्रभावशाली संगठन छ । संगठन आफ्नो भए पनि, चुनाव आफूले जित्ने भएपछि माधव नेपालका उम्मेदवार जिताउन पक्कै पनि माओवादी र कांग्रेस तयार छैनन् ।

यसअघि स्थानीय तहको चुनावमा यही परिदृश्य देखिएको थियो । यसमा त झन् सरकार बनाउनेदेखि आफ्नो सिट संख्याको निर्णायक शक्ति देखाउनेसम्मको रस्साकस्सी हुन्छ । यस्तो बेला माधव नेपाल स्वयंमलाई चुनाव जित्न कठिन हुन सक्ने अवस्था छ ।

यद्यपि शीर्ष नेतालाई सहजै नेता कार्यकर्ताको आड भरोसा रहने भएकाले कठिन नहोला । तर अहिले नेकपा एकीकृत समाजवादीमा माधव नेपाल बाहेकलाई चुनाव जित्न निकै हम्मे हम्मे पर्ने देखिन्छ । कांग्रेस नभए माओवादी कार्यकर्ताले साथ दिए पनि माधव नेपालका नेता कार्यकर्ताले चुनाव जित्न सक्ने अवस्था छैन ।

त्यसमाथि माधव नेपालका उम्मेदवार भएका ठाउँमा एमालेले कांग्रेस वा माओवादीका उम्मेदवारलाई बागी उठाएर हराइदिने सम्भावना पनि त्यत्तिकै छ । सत्ता गठबन्धन केन्द्रमा बलियो भए पनि तल्लो तहसम्म कमजोर छ ।

किनकि माधव नेपालका कारण आफ्नो भाग खोसिएको महसुस कांग्रेस र माओवादीका बलिया नेताहरूले गरिरहेका छन् । प्रतिनिधिसभा र प्रदेश सभा चुनाव लड्दा माओवादी र कांग्रेसका उम्मेदवारले त्यो महसुस गर्नेछन् ।

यस्तो अवस्थामा माधव नेपालले सत्ता गठबन्धनमा बलियो सिट पाउने सम्भावना कम छ । संगठन बलियो नभएका कारण सिट पाए पनि त्यसलाई जितमा परिणत गर्न सक्ने सम्भावना झन् कम छ । यो सबै कुराको हिसाबकिताब गरेर माधव नेपाल प्रचण्डसँग पार्टी एकता गरेरै अगाडि जानुपर्ने अवस्थामा पुगेका छन् ।

यसअघि नयाँ शक्तिमा आफ्नो शक्तिको जरा बलियो नभएपछि बाबुराम भट्टराई उपेन्द्र यादव, महन्थ ठाकुर हुँदै कमजोर बनेर एक्लिएपछि फेरि प्रचण्डको कित्तामा पुगेको दृश्य ताजै छ । यस्तै अवस्था हो भने माधव नेपाल अहिले सत्ता गठबन्धन, भोलि प्रचण्ड र आफ्नै राजनीतिक शक्ति क्षीण हुँदा फेरि ओलीको कित्तामा पुग्नुपर्ने बाध्यतामा पर्छन् कि भन्ने अनुमान गर्न गाह्रो छैन ।

यदि यो अवस्था आइहाल्यो भने माधव नेपाललाई नेपाली समाजले ओलीको अत्याचारविरुद्ध विद्रोह गरेको, संविधान बचाउन कांग्रेस र माओवादीसँग तालमेल गरेको भन्ने छैन, बरु नेपाली राजनीतिमा बाबुराम भट्टराईजस्तै अर्को ‘बबुरो’ बनेको टिप्पणी गर्न थाल्नेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ३ : १५ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक