हामी अहिले माओवादीमा फर्किन सक्ने स्थिति छैन | Khabarhub Khabarhub

हामी अहिले माओवादीमा फर्किन सक्ने स्थिति छैन

‘प्रदीप गिरीजस्तो राजनीतिज्ञ नेपालमा जन्मिन अब गाह्रो छ’


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अध्ययनशील नेता तथा प्रखर समाजवादी चिन्तक प्रदीप गिरीको निधनले नेपाली राजनीतिका इमान्दार नेता, कार्यकर्ता र नागरिक समाजका अगुवा शोकमा छन् । मेडिसिटी अस्पतालमा उपचारका क्रममा नेता गिरीको निधन भएपछि नेपाली समाजको आदर्श राजनीतिक पात्रका रुपमा दरिएको दियो निभेको धेरैको टिप्पणी छ । सबै कुराको अध्ययन गरेर आधारभूत आवश्यकता र नागरिकको मागलाई सम्बोधन गर्न सक्ने नेता गिरी दूरदर्शी भएको पनि धेरैको बुझाई छ । सत्ता समाज र व्यवस्था मात्र हैन दलहरूभित्र पनि निरन्तर प्रतिपक्ष आवाज बन्न ऊर्जा बनिरहेका प्रदीप गिरीलाई आजका पुस्ता र अहिलेका नेताहरूले कसरी सम्झिन्छन् त ? यस्तै विषयमा आधारित भएर एमाले नेता मणि थापासँग धीरज बस्नेतले खबरहबका लागि गरेको कुराकानीको सम्पादित अंश:

प्रदीप गिरी जसलाई समाजवादी चिन्तक भनेर पनि चिन्ने गरिन्थ्यो, उहाँका काम, कार्ययोजना र भावनालाई तपाई कसरी लिनुहुन्छ ?
समग्र नेपाली जनताको एउटा आवाजको रूपमा बिचारको रूपमा प्रदीप गिरी हुनुहुन्थ्यो । नेताहरू त जन्मी रहन्छन् । तर प्रदीप गिरी जस्तो व्यक्ति जनताको आवाज उठाउने युवाहरूको आवाज बन्ने एउटा भिजन भएको चिन्तक राजनीतिज्ञ जन्मिन गाह्रो छ । उहाँको मृत्युले नेपाली राजनीतिमा ठुलो क्षति भएको छ ।

तपाईँहरू फरक पार्टीको भए पनि विचारका हिसाबले नजिक जस्तै हुनुहुन्थ्यो नि ?
एक दुई पटक छलफल भएको थियो । हामीले माओवादी पार्टीबाट विद्रोह गरेर आए पछि आरसिटी भन्ने सङ्गठन गरेका थियौँ । त्यसको पहिलो राष्ट्रिय भेलालाई उहाँले एउटा सन्देश पठाउनु भएको थियो । त्यति बेला हामी युवा थियौँ । युवालाई नेपालको कम्युनिस्ट आन्दोलन, समाजवादी आन्दोलनलाई पुर्नसङ्गठित गर्नु पर्दछ । त्यसको निम्ति के गर्नु पर्छ म सहयोग गर्न तयार छु भनेर उहाँले हामीलाई आडभरोसा दिनु भएको थियो ।

प्रदीप गिरी अग्रज भन्दा पनि युवाहरूलाई बढी प्रेरणा दिनुहुन्थ्यो ?
उहाँको चिन्तन भनेको देश र जनतालाई बुझ्ने नयाँ पुस्तासँग आफूलाई जोड्ने कामहरू हो । उहाँले नयाँ पुस्तासँग जोडिएर राजनीतिमा आउन प्रोत्साहन गर्ने भएकोले सबैले उहाँलाई सम्झेका छन् । सम्मान पनि गर्छन् । संसद्मा पनि जनताको आवाज उठाउने, समग्र सांसदलाई गाइड गर्ने समग्र नेताहरूलाई पनि यो बाटो लाग भनेर आफ्नो लेख रचनाहरूबाट गाइड गर्नुहुन्थ्यो ।

अब प्रसंग बदलौँ, नेकपा एमाले यो चुनावमा एक्लै लड्ने निश्चित भएको हो कि अरू दलहरूले सहयोग गर्ने भएका छन् ?
स्थानीय तहको निर्वाचनमा पनि हामीले एक्लै नै प्रतिस्पर्धा गर्याै । एक किसिमले गठबन्धनको विरुद्धमा चुनावी अभियानमा छौँ । अहिले जे खालको गठबन्धन जित्ने र हार्ने दाउमा मात्र गठबन्धन बनेका छन् । तर हामी यो देशलाई आफ्नो पार्टीको मुद्दा देखाउनु पर्छ । त्यसले गर्दा अहिलेको गणतन्त्र अलि संस्थागत भएर जान्छ भन्ने मान्यताका साथ हामी अहिले एक्लै नै जान्छौँ । प्रतिगमन भन्ने नारा स्थापित गर्न नेपाली कांग्रेस माओवादी यसमा सफल भए । तर उहाँहरूले जे कुरालाई प्रतिगमन भन्नु भएको छ, त्यो प्रतिगमनको कुरा अहिले गठबन्धन बनाउने क्रममा एक ठाउँमा आउन सजिलो भयो होला । तर प्रतिगमन र अग्रगमनको नारा जो उहाँहरूले दिन कोसिस गर्नु भएको छ । रियलमा प्रतिगमन भनेको कम्युनिस्ट पार्टीहरूले बुर्जुवा पार्टीहरूसँग एलायन्स गरेर संयुक्त सरकार बनाउने र त्यो सरकारको निम्ति एक किसिमले रणनीतिक गठबन्धन उहाँहरूले गर्नु भएको छ । रियलमा प्रतिगमन त्यो नै हो । तर मान्छेहरूमा एमालेले विगतमा चालेको कदम नै प्रतिगमन हो भन्ने भ्रम छ ।

दुई पटक संसद् विघटन गर्नु सांसदलाई बन्धक बनाएर अध्यादेशमार्फत देश चलाउन खोज्नु त्यो चाँही प्रतिगमन थिएन र ? अनि तपाईहरु त्यसैको मतियार बनेको होइन र ?
त्यो एउटा बाध्यता थियो । आफ्नो एउटै पार्टी फुटेर ४ टुक्रा भएपछि राजनीतिक बाध्यता थियो । पार्टी एक ठाउँमा आउने परिस्थिति नबनेपछि त्यो पार्टी जसको निम्ति जनतासँग भोट मागेको थियो । त्यो पाटी र त्यसको लिडरसिप नै अल्पमतमा परे पछि त्यो कुरा स्थापित गर्न मान्छेहरू सफल भए ।

अनि तपाईहरुलाई फेरि जनयुद्ध गरेको पार्टी माओवादी र अध्यक्ष प्रचण्डलाई छाडेर प्रतिगमन गर्ने नेता केपी ओलीको पछाडि लागेको भनेर अहिले पनि आलोचना भइरहन्छ नि ?
त्यतिबेला प्रचण्ड नै केपी ओलीको पछाडि लागेको हुनाले हामी उहाँलाई समर्थन गरेर त्यहाँ पुग्यौँ । पछि फेरि प्रचण्ड प्रधानमन्त्री पाउने कि नपाउने भन्ने विषयमा पुन पार्टी फुटाए पछि हामी उहाँ तर्फ फर्किएनौँ । कुरा त्यत्ति हो । त्यो बेला नेकपाको एकता कायम रहोस् भनेर हामीले केपी ओलीलाई समर्थन गरेका हौँ ।

एमालेभित्र जुन उत्साहका साथ तपाईँहरू जानु भएको थियो, त्यो अहिले भेट्नु भयो कि भएन ? अर्थात कत्तिको सकस झेलिरहनु भएको छ ?
एमालेमा अहिले ३ वटा समूहहरू छन् । पहिलो पुरानो एमाले । दोस्रो, माधव नेपाल पक्षका १० भाई एमाले र तेस्रो, माओवादीबाट आएको समूह छ । यी तिन ओटै समूहको आ–आफ्नै सोचहरू छन् । जस्तो पुरानो एमाले पुरानै अवस्थामा फर्किऊ भन्ने सोच छ । दश भाइबाट आएका साथीहरूले माधव नेपाललाई लिडरका रूपमा स्वीकार गर्नुभएको थियो । पछिल्लो समय एमालेको मूलधारमा आए पछि केपी ओलीलाई मूलधार मान्नु पर्यो । त्यहाँ पनि उहाँहरूका अप्ठ्यारा र समस्याहरू छन् । हामी माओवादीबाट आएका हाम्रो स्कुलिङका कुराहरू र अबको राजनीतिक अवस्था कसरी चलाउने भनेर हामी लागि परेका छौ । त्यसैले बाहिरबाट हेर्दा अप्ठ्यारो देखिन्छ । त्यो सबै छलफल बहसको बीचमा अलि गाह्रो भएको स्थिती म देख्छु ।

यही अप्ठ्यारोको बीचमा नै तपाईलाई एमालेमा बस्न सकिन्छ जस्तो लागेको छ वा बाबुराम जस्तो कुनै एउटा बाटो खोजेर माओवादीमा जाने तयारी गर्नु भएको छ ?
नेपालका कम्युनिस्ट पार्टीहरू आधारभूत तरिकाले एमाले र माओवादी केही फरक छैनन् । तर इतिहास हाम्रो एमालेसँग जोडियो । मुख्य काम गर्ने शैलीमा माओवादी र एमालेमा फरक छ । एमाले अलिक ब्युरोक्रेटिभ छ । माओवादी राजनीति जस्तो देखिन्छ, सरल छ । नेपालको राजनीतिक विश्लेषण हुँदैन आफ्नो स्वार्थको लागि जो जहाँ पनि जान्छन् । तर हामी अहिले माओवादीमा फर्किन सक्ने स्थिति छैन ।

आगामी चुनावमा माओवादीबाट गएका नेताहरूको हैसियत एमालेमा के हुन्छ ?
सबैलाई मिलाएर लैजाने जिम्मेवारी लिडरसिपलाई रहन्छ । म अहिलेसम्म चुनाव लडेको छैन । यो पटक पार्टीले गर्ने निर्णयको आधारमा जान्छु । पार्टीले जिम्मा दिए प्रत्यक्षमा पनि लड्छु । मुख्य गरेर सचिवालयमा, स्थायी कमिटीमा भएका साथीहरू सबै साथीहरूले प्रत्यक्षतर्फ आफूलाई आकर्षित गर्नुहुन्छ । त्यही अनुसारको छलफल हुन्छ । टिकट पाएर चुनाव लड्नु पर्यो । संसद्भित्र पस्नु पर्याे । नभए त जनताको सेवा गर्न सकिँदैन । अहिले युवाहरूमा आएको जागरणले सबै पार्टीहरूलाई अप्ठ्यारो परेको छ । पुराना नेता पार्टीहरूका असन्तुष्टि छ, त्यो असन्तुष्टिलाई कसरी यी पुराना पार्टीहरूले सम्बोधन गर्छन् । हामी व्यक्तिगत नेताहरूले पनि त्यसलाई कसरी ‘एडजस्ट’ गर्ने त भनेर म त्यता अलमलिएको छु ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ११ : ०३ बजे

सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

कैलाली– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

व्यावसायिक रूपमा नौमती बजाउँदै महिला

 इलाम– यहाँको रोङ गाउँपालिकाले नौमती बजाउने तालिम दिएपछि यहाँका महिलाहरूले

पलको गृहजिल्ला दाङ जान नपाएपछि दुर्गेशको आक्रोश- बधाई, मेरो कार्यक्रम रोक्न सफल हुनुभयो

काठमाडौं- गायक दुर्गेश थापाले दाङमा आफ्नो कार्यक्रम रोकिएको भन्दै सामाजिक

गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा

रौतहट– रौतहटको पूर्विभेग दुर्गाभगवती गाँउपालिकामा गर्भवती महिलालाई नि:शुल्क अल्ट्रासाउन्ड सेवा

थापाथलीमा खानेपानीको पाइप फुट्दा बग्यो पाँच लाख लिटर पानी

काठमाडौं– थापाथलीमा आज बिहान खानेपानीको पाइप फुट्दा करिब पाँच लाख