अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार


६ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् ।  अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

 १ . माओवादी र नेकपा (एस) को एउटै चुनावी घोषणापत्र बन्ने

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ । ललितपुरमा  हात्तिवनस्थित बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल सहभागी बैठकले एकता संयोजन समिति गठन गर्ने र चुनावी घोषणा पत्र एउटै बनाउनेबारे निर्णय गरेको हो ।

दुई शीर्ष नेता आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका हुन् । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा अन्तरघात गर्नेलाई कारबाही गरिने  बताएका छन् ।

पार्टी कार्यालय  कोटेश्वरको पेरिसडाँडामा समिति संयोजक टंक राईले पेश गरेको प्रतिवेदन बुझ्दै  अध्यक्ष दाहालले प्रतिवेदन पदाधिकारीका बीचमा छलफल हुने र आवश्यक कारबाही अघि बढाइने  बताएका हुन् । यस्तै दाहालले राजनीतिलाई सही ढंगले अघि बढाउन र राजनीतिमा देखिएको विकृति विसंगतिलाई समाधान गर्न प्रतिवेदनको अर्थ रहने   बताए । 

 २ . आयव्यय विवरण नबुझाउनेलाई निर्वाचनमा सहभागी नगराइने

निर्वाचन आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने राजनीतिक दललाई आगामी संघ र प्रदेशको निर्वाचनमा सहभागी नगराउने भएको छ  । आयोगले वार्षिक आयव्यय विवरण नबुझाउने दललाई निर्वाचनमा सहभागी नगराउने भएको जनाएको हो ।

दल दर्ताका लागि आवश्यक कागजातमध्ये राजनीतिक दलको वार्षिक आयव्यय विवरण (अडिट रिपोर्ट) पनि अनिवार्य बुझाउनुपर्ने व्यवस्था रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल  बताए । आयोगमा १ सय १६ वटा राजनीतिक दल दर्ता रहेका र त्यसमध्ये आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशको निर्वाचन प्रयोजनका लागि भने ८४ वटा राजनीतिक दल मात्रै दर्ता भएका निर्वाचन आयोगले जनाएको छ ।

यस्तै आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहितामा चुनाव प्रचारमा विदेशी नम्बर प्लेटका सवारी साधनलाई अनुमति नदिने उल्लेख  गरिएको छ  । भारतीय सीमानासँग जोडिएका प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका जिल्लाको चुनावलाई लक्षित गरी आयोगले यस्तो प्रस्ताव ल्याएको हो ।

 ३ .नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर 

बेलायत र नेपाल सरकारबीच बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिंहदरबारमा  आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको उपस्थितिमा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्नताको वातावरण तयार हुने र जनशक्तिको विकास समेत मद्दत पुग्ने मन्त्रालयले जनाएको छ । बेलायतमा स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मीसरह हुने व्यवस्था मिलाइएको छ ।

नेपाली स्वास्थ्यकर्मी छनौट, पदस्थापन, सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलमा रहेको र यससम्बन्धी सबै व्यवस्था जिटुजी प्रक्रिया बमोजिम हुने सचिव अर्यालले  बताएका छन् । परीक्षणको पहिलो चरणमा नेपाली नर्सहरूलाई बेलायतमा पदस्थापन गर्ने कार्यलाई इम्प्लिमेन्टेन्सनको प्रोटोकल स्पष्ट व्यवस्था गरिने र नियुक्ति प्रक्रियाका कुनै शुल्क नलाग्ने एवं रोजगारीका लागि छनौट भएकाहरूको लागतको सोधभर्ना समेत हुने सचिव अर्यालले  बताए ।

त्यस्तै नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले नेपाली स्वास्थ्यकर्मीहरूलाई बेलायतमा रोजगारी दिन पाउनु खुसीको कुरा भएको भन्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रको निरन्तर सुदृढीकरणआधुनिकीकरणमा सहयोग जारी रहने बताए ।

बेलायत सरकारले बेलायतको नेशनल हेल्थ सर्भिसेस अन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ । तर, पहिलो चरणमा परीक्षणका रुपमा केही सङ्ख्यामा  मात्रै नर्सहरू पठाइने मन्त्रालयले जनाएको छ ।

 ४. प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित 

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गर्दै स्थगित भएको छ ।  प्रतिनिधि सभाको आज  बसेको बैठकले कांग्रेस सांसद प्रदिप गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।

बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक  भोलि बिहान १० बजेका लागि बोलाइएको छ  । त्यस्तै  आज  नै बसेको राष्ट्रियसभाको बैठकले पनि गिरीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १२ गते आइतबार  बस्नेगरि स्थगित भएको छ ।

२०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट निर्वाचित सदस्य, वि.सं. २०६४ र वि.सं. २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य, वि.सं. २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सांसद गिरीको ७५ वर्षको उमेरमा शनिबार  निधन भएको थियो । गिरीको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।

७ . नेप्से ७ दशमलव ४१ अंकले घट्यो 

 शेयर बजार परिसुचक नेप्से आज पनि  घटेको छ । नेप्से  आज ७ दशमलव ४१ अंकले घटेर २ हजार  ५३  दशमलव १३  विन्दुमा पुगेको हो ।  आज दुई सय २२  वटा कम्पनीको ५२ लाख ३० हजार ७ सय ६३ कित्ता शेयर  कुल  १  अर्ब ७२  करोड ६२  लाख  ८७ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

आज म्युचअल फण्ड बाहेक सबै समुहको शेयर ओरालो लागेको छ । सम्रग बजार घटेपनि अपर हेवाखोला हाइड्रो पावर कम्पनी लिमिटेडको शेयर १० प्रतिशतले र मन्दाकिनी हाइड्रो पावरको मूल्य ९.९७ प्रतिशतले बढेको  छ ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर  कम्पनीको  २८ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार  भएको छ । 

८. अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा बाढीमा परी १४ जनाको मृत्यु  

अफगानिस्तानको पूर्वी पाक्तिया प्रान्तमा  भीषण वर्षापछिको बाढीका  परी १४ जनाको मृत्यु भएको छ । अअन्य १२ जना घाइते भएका राज्य सञ्चालित बख्तर समाचार समितिले  आज जानकारी दिएको हो ।

प्रान्तीय राजधानी गार्डेज र पक्तिया प्रान्तका केही जिल्लाहरूमा भारी बाढीका कारण  प्रभावित भएको बताएका छन् । मनसुनी बाढीले कम्तिमा २० एकड जमिन बगाएको र तीन सय ५८ आवासीय घर पूर्णरुपमा क्षति पुगेको जनाएको छ ।

 गत शनिबार पक्तियाको छिमेकी लोगार प्रान्तको खुशी जिल्लामा अचानक आएको बाढी र आँधीले १५ जनाको ज्यान गएको र नौ जना घाइते भएका थिए ।

९. फिलिपिन्समा आजबाट विद्यालय पुन सञ्चालनमा 

फिलिपिन्समा साढे दुई वर्षदेखि बन्द रहेका विद्यालय  आजबाट  पुन  सञ्चालन भएको छ । कोरोना महामारी सुरु भएपछि बन्द रहेका विद्यालय आजदेखि खुलेका र लाखौँ विद्यार्थी कक्षाकोठामा पुगेका समाचार संस्था  अलजजिराले  जनाएको छ । सन् २०२० को मार्चपछि आज पहिलो पटक विद्यालय  भौतिक उपस्थितमा नै पठनपाठन सुरु गरिएको हो ।

बालबालिकालाई मास्क, स्यानिटाइजर र तापक्रम मापन अनिवार्य गरिएको छ । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले कार्यकाल सम्हाल्ने बित्तिकै पुनः खुला गर्ने घोषणा गरेका थिए  ।

लामो समय अनलाइनबाट मात्रै कक्षा सञ्चालन गर्दा  विद्यार्थीको शैक्षिक गुणस्तर खस्किएको  फिलिपिन्सको  शिक्षकहरूको गठबन्धनको राष्ट्रिय अध्यक्ष भ्लादिमिर क्वेटुआलेलाई उद्धत गर्दै अलजजिराले जनाएको छ । बालबालिकाका लागि संयुक्त राष्ट्रसंघीय निकाय (युनिसेफ) ले फिलिपिन्समा विद्यालयहरू पुनः खोलेकोमा स्वागत गरेको छ ।

१०. केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ 

नेपाल क्रिकेट संघ (क्यान) ले केन्या भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।  काठमाडौंमा  आज क्यान अध्यक्ष चतुरबहादुर चन्दले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेका हुन् ।

नेपालले केन्यासँग ५ खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ । ५ खेलको टी–ट्वान्टी सिरिज भदौ ९ बाट १४ गते सम्म हुनेछ भने ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म चल्नेछ । नेपाल र केन्याबीच सुरुआतमा ५ खेलको टी–ट्वान्टी सिरिज हुनेछ । त्यसपछि एकदिवसीय सिरिज हुनेछ  ।

राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्या भ्रमणबाट औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन् । बिदाई कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले टिममा यसअघि देखिएको कमी कमजोरीलाई सुधारेर लैजाने बताए ।

त्यस्तै क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाली टीम नयाँ ऊर्जाका साथ अघि बढेको र उत्साहित रहेको बताए ।


प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  ४ : ४९ बजे

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा

इजरायलद्वारा इरानको केन्द्रीय बैंकलाई आतंकवादी संगठन घोषणा

जेरुसेलम– इजरायलका रक्षामन्त्री इजरायल काट्जले बुधबार इरानको केन्द्रीय बैंकलाई ‘आतंकवादी

‘नाटक, गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउँछ’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका

आउने भयो ‘बिग बोस सिजन १९’

काठमाडौं – भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १९ औं

इजरायलबाट ५० भियतनामी नागरिकलाई इजिप्टमा सारियो

एजेन्सी – इजरायलको द्वन्द्व क्षेत्रबाट करिब ५० जना भियतनामी नागरिकहरूलाई