पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक « Khabarhub

पालिकाको सक्रियतासँगै बराह तालमा बढे पर्यटक


७ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– प्रचारप्रसार र पूर्वाधार अभावका कारण ओझेलमा परेको बागलुङको बराह तालमा गाउँपालिकाको सक्रियतापछि पर्यटकको चहलपहल बढ्न थालेको छ । तमानखोला गाउँपालिका-२ मुठाचौरमा अवस्थित यो ताल उच्च पहाड, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा रहेको ताल तमानखोलाको शिरमा अवस्थित छ ।

केही वर्षअघिसम्म गाउँलेले पूजा गर्ने बराह ताल क्षेत्रमा पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनेको हो । तमानखोला गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका हुन् । तमानखोला गाउँपालिका-२ मुठाचौरमा रहेको बराह ताललाई गाउँपालिकाले संरक्षण तथा प्रवर्द्धन गर्न थालेको छ । 

धार्मिक महत्व समेत रहेको बराह तालमा संरक्षण र प्रचारका लागि यसवर्ष गण्डकी प्रदेश सरकारले ८० लाख र तमानखोला  गाउँपालिकाले आठ लाख विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष हिराकुमारी छन्त्यालले बताइन् ।

‘बराह ताल जिल्लाकै राम्रो ताल हो, विगतमा प्रचारप्रसार र पूर्वाधारको अभावमा सुनसान जस्तै थियो’, उनले भने, ‘अहिले गाउँपालिकाले प्रचारप्रसार बढाएपछि आन्तरिक पर्यटक बढेका छन्, आगामी वर्षदेखि पर्यटक बढ्ने अपेक्षा गरेका छौँ ।’ स्थानीय दिलबहादुर छन्त्यालले अहिले बराहतालमा पर्यटकको चहलपहल बढेको बताए। गाउँपालिकाले यस क्षेत्रमा पूर्वाधार निर्माण र प्रचारप्रसार बढाएपछि जिल्लाका विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेको उनको भनाइ छ । 

‘यस क्षेत्रमा पहिले वैशाखे पूर्णिमाको समयमा बाहेक खासै चहलपहल हुँदैन्थ्यो, त्यो बेलामा नजिकैको सिद्ध बराह मन्दिरमा पूजा हुन्थ्यो’, उनले भने। तालसम्म पुग्ने सडक बनेपछि मुठाचौरका स्थानीयलाई सहज  हुने र पर्यटक बढ्ने उनको भनाइ छ । तालसम्म पुग्ने सडक निर्माणका लागि गाउँपालिका समक्ष आग्रह गरिएको उनले बताए। 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले प्रदेश सरकार र गाउँपालिकाले विनियोजन गरेको बजेटले घेराबार, पदमार्ग निर्माण र ताल नजिकसम्म मोटरबाट पुर्‍याउने काम हुने बताए। गत वर्ष गाउँपालिकाले बराह मन्दिरको पुननिर्माण, शौचालय र खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष बुढा मगरले जानकारी दिए ।

‘अघिल्लो कार्यकालमा यहाँ केही पूर्वाधारहरू निर्माणको सुरुवात गरेका थियौँ’, उनले भने, ‘पालिकाको गुरुयोजना नै बनाएर ताललाई पर्यटकीय केन्द्र बनाउने अभियान छ ।’ तालमा पर्यटक आकर्षित गर्न गाउँपालिकाले प्रवर्द्धनात्मक काम गर्दै आएको छ । यस क्षेत्रमा ‘पिकनिक स्पट’, बगैचालगायत पर्यटकलाई थप आकर्षित गर्ने गरी पूर्वाधार निर्माणका लागि योजना बनाएको भन्दै अध्यक्ष बुढा मगरले यस वर्ष यहाँ धेरै  पूर्वाधार तयार हुने बताए ।

ताल नजिक रहेको मुठाचौर बस्नका लागि उपयुक्त स्थान भएकाले पर्यटकका लागि खाना, बस्न र आरामका लागि ‘होम-स्टे’ तथा स-साना होटलहरु बनाउने योजानासमेत रहेको उनको भनाइ छ । अहिले यहाँ आउने पर्यटकका लागि खानेपानी र शौचालयको व्यवस्थापन भइरहे पनि खाजा र खानाका लागि समस्या रहेको बुढा मगरले बताए ।

ताल नजिक रहेको सिद्ध बराह मन्दिरमा पूजाआजा गर्दा मनोकांक्षा पूरा हुन जनविश्वास छ । जसका कारण वैशाखे पूर्णिमाको समयमा बागलुङका विभिन्न स्थानका साथै गुल्मी, प्युठान, अर्घाखाँचीबाट पनि भक्तजनहरु पूजाआजा गर्न आउने गरेका छन् । यहाँबाट धौलागिरि, माछापुछ्रे, अन्नपूर्णलगायतका दर्जनौँ  हिमश्रृङ्खला देख्न सकिन्छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ३ : ०७ बजे

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँ : महामन्त्री पौडेल

दमौली- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील

कांग्रेस नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यकोशपथ बिहीबार

ललितपुर– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ

कुहिरोको घुम्टोभित्र हराएको मानुङकोट, बढ्न थाल्यो आन्तरिक पर्यटकको चहलपहल

दमौली– बिहानको झिसमिसे उज्यालोसँगै मानुङकोटको डाँडाबाट तल हेर्दा दमौली बजार कुहिरोको

शुक्रबारसम्म देशका विभिन्न भू-भागमा मौसम बदली हुने, वर्षा र हिमपातको सम्भावना

काठमाडौं– नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा