१० रुपैयाँको समोसा खाएर महाराष्ट्र च्याम्पियन « Khabarhub

१० रुपैयाँको समोसा खाएर महाराष्ट्र च्याम्पियन

रिङमा रिङ लगाएर बेहुली भित्र्याउने चाहना राख्ने म्याक्सको कथा



काठमाडौँ : कक्षा ८ पढ्दा अग्रज दाइहरूले बक्सिङमा पाएको सफलताबाट मनोहर बस्नेत आकर्षित भए । १६ वर्षको उमेरमा गाँउका दाइहरूले आठौँ साफ गेम्समा ल्याएको स्वर्णले मनोहरलाई प्रेरणा दियो । नेपाली बक्सिङको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका बक्सर प्रकाश, राम चन्द्र, प्रभु दास आदिको सफलताको बाटोलाई पछयाउँदै मनोहरको बक्सिङ यात्राको सुरुवात भयो । बक्सिङले दाइहरूको पत्रपत्रिकामा आएको फोटो र वाहीवाइले मनोहरको मष्तिष्कमा एउटा सपनाको विजारोपण भयो ।

१६ वर्षीय मनोहरले आफ्नो फोटो कुनै दिन पत्रिकामा आउँछ कि भन्ने आशाले बक्सिङलाई आफ्नो लक्ष्य बनाए । उद्देश्य पछयाउँदै गरेका मनोहरको जीवनमा बक्सिङप्रतिको लगाव बढ्दै गयो ।

तिनै जोशीलो मनोहर अहिले १४ पटक नेशनल च्याम्पियन, २ पटक महाराष्ट्र च्याम्प, सन् २०१९ को जापान च्याम्पियन, म्याक्स बक्सिङ प्रमोशनका अध्यक्ष, वल्र्ड बक्सिङ काउन्सिलको सदस्य, वल्र्ड बक्सिङ अर्गनाइजेसनका लागि दक्षिण एशियाको प्रतिनिधि तथा पूर्व बक्सर म्याक्स बस्नेतका रूपमा चिनिन्छन् ।

मनोहरबाट म्याक्स

‘हुने विरुवाको चिल्लो पात’ भनेझैँ मनोहर आफ्नो बाटोबारे पहिले नै अवगत थिए । बाल्यकालदेखि नै पठनपाठनमा भन्दा मनोहरको खेलकुदलगायत अन्य अतिरिक्त क्रियाकलापप्रति बढि लगाव थियो । बाल्यकालदेखि नै अरुभन्दा फरक र ठूलो शरीरले मनोहरलाई खेलकुदको लागि योग्य बनायो ।

कक्षामा पनि साथीभाइसँग रमाइलो गर्ने मनोहरले आफ्नो उपनार्म म्याक्स’ विद्यालयबाट नै पाए । मनोहरले म्याक्सलाई ‘मनोहर अल्वेज जेभियरर्स’को रूपमा लिन्छन् । कक्षा ९–१० पढ्दा भने आफ्नो मिल्ने साथी र आफू हल्ला गर्दा एक शिक्षकले जिस्केर आफूलाई म्याक्स र अर्को साथीलाई ज्याक्स भन्दा पाएको उपनामको क्षण सम्झेर पनि मनोहर खुसी हुने गर्दछन् । सोही उपनामसँग गाँसेको अमुल्य सम्झनालाई सदाबहार बनाउन मनोहरले बक्सिङमा म्याक्सको प्रयोग गरे ।

पहिलो पटक रिङमा प्रवेश गर्दा

भर्खरको थिएँ । पहिलो खेलमा अलि डर, छुट्टै जोश, ऊर्जा र उत्तेजित थिएँ । हात कै बल त हो नि खेल्न सकिहाल्छु भन्ने थियो । मनस्पटलमा यसकै लागि आएको हुँ, म जस्तो महसुस भएको थियो । पहिलो खेलमा नै म उत्तेजित भएको थिएँ ।

म गर्न सक्छु भन्ने आफूमाथि विश्वास थियो । मेरो बाटोलाई अझै दृढ भएर लाग्न मद्दत पनि ग¥यो । हल्ला, मनोरञ्जनले ऊर्जा मात्र प्रदान गर्‍यो । मनोबललाई पनि उच्च बनायो ।

पहिलो पटक नेशनल च्याम्पियन बन्दा

पहिलो उपाधिको लागि त धेरै संघर्ष गरेँ । त्यो उपाधिले मेरो बक्सिङको गतिलाई झिल्को दियो । मेहेनत गरेपछि सक्ने रहेछु जस्तो भावना आयो । नेपालमा त्यो बेला बक्सिङ पनि राम्ररी फस्टाइसकेको थिएन ।

धेरै बक्सर पनि थिएनन् । प्रतिस्पर्धा पनि गरि नसक्नुको स्थिति थिएन । फलस्वरुप नेपालको बक्सिङ विकसित हुँदै गर्दा मैले पनि मौलाउने अवसर पाएँ । एकपछि अर्को गर्दैँ १४ पटक पनि नेशनल च्याम्पियन भएँ । तर, आफूमा अझैँ केही नपुगेको, गर्नु पर्ने धेरै बाँकी रहेको । सिक्नु पर्ने धेरै बाँकी रहेको महसुस भइरहन्छ ।

१२० रुपैँयाको संघर्ष तालिम

राष्ट्रको लागि तालिम गर्ने बेला १०० रुपैँया भत्ता पाइन्थ्यो । तालिममा आउन–जान नै मलाई १२० रुपैँया लाग्थ्यो । बक्सिङमात्र होइन थुप्रै खेलका खेलाडीको तालिमको दुःख पनि यस्तै–यस्तै वा योभन्दा दर्दनाक पनि हुने गथ्र्यो ।

१०० रुपैँयाको लगानीमा ओलम्पिक्सको सपना थियो । हाम्रो विगतको दाई र गुरुहरूले तालिम पनि योभन्दा दुःख गर्नुभयो । तर, अझैँ पनि हाम्रो तालिममा समयअनुसारको परिवर्तन ल्याउन सकस परिरहेको छ । परम्परागत शैलीमा चलिआएको शैलीमा नै निर्भर भइरहेका छौँ ।

भत्तामा त पक्कै पनि वृद्धि भएको छ । नयाँ शैलीको प्रयोगमा नै छन् । समय बदलियो । सुविधामा केही वृद्धि आए । दुःखको कुरा बक्सर तथा अन्य खेलाडीको स्तरमा भने परिवर्तन आउन बाँकी नै छ ।

भारतीय बक्सिङको यात्रा

नेपालमा बक्सिङमा चाहेर पनि धेरै उपलब्धी गर्न नसकेको महसुस भयो । आर्थिक स्थिति पनि धेरै बलियो थिएन । त्यसकारण अवस्थाले भारतको यात्रातर्फ लग्यो । पछि भारत नै बक्सिङको लागि कर्मथलो बन्न पुग्यो ।

मलाई भारतमा बक्सिङको अवस्था के छ, कस्तो छ, थाहा थिएन । सन् २००८मा भारत जाँदा बक्सिङ उदाइरहेको थियो । भारत पुगेपश्चात बक्सिङको तालिममा प्रयोग गरिने फरक शैली बझ्ने अवसर प्राप्त भयो । आफूलाई चिन्ने, आफूलाई चिनाउने मौका पाएँ र आफ्नो क्षमता थाहा पाउने मौका पनि पाएँ । आफ्नो स्तर थाहा पाउने अवसर पनि प्राप्त भयो ।

सँगसँगै व्यक्तिगत संघर्ष पनि धेरै नै आयो । खाना खान संघर्ष गर्नुपर्‍यो । खेल जितेर खाना खानलाई पैसाको जोह गरेको दिन पनि थिए । खेल पनि जितियो । भारतीय राष्ट्रिय टोलीसँग प्रशिक्षण गर्ने अवसर पनि प्राप्ति भयो । क्युबन प्रशिक्षकसँग पनि सिक्ने अवसर पाइयो । यस बेला ममा बक्सिङको ज्ञानको वृद्धि भयो ।

बक्सरलाई कस्तो माहोलमा तालिम गराउनु पर्ने रहेछ । कसरी सिकाउनु पर्ने रहेछ । कस्तो मनोविज्ञान राख्नु पर्दो रहेछ जस्ता कुरा सिकेँ । यो सबै सिकलाई पछिल्लो समय व्यवसायिक रुपमा नेपालमा बक्सिङको विकास गर्ने क्रममा प्रयोग गर्न सहज पनि भयो ।

दश रुपैँयाको समोसा खाएर पहिलो पटक महाराष्ट्र च्याम्पियन

नेपाल नभई दार्जिलिङको नेपाली बनेर प्रतिस्पर्धा गरेँ । होटलको बिलिङमा पैंसा सकिएको थियो । खाली पेट थियो । बेलुकी म्याच थियो । २० रुपैंया बाँकी थियो । खानु पर्ने थियो । पेटभर खाने पैंसा थिएन । दश रुपैँयाको समोसा खाएँ । त्यसपछि रिङमा प्रवेश गर्दा मसँग दश रुपैँया थियो ।

अब के गर्ने भन्ने छुट्टै तनाव थियो । डर लागेको थियो । नेपालमा फोन गर्नलाई पनि १२ रुपैयाँ लागथ्यो । मसँग १० रुपैयाँ मात्रै थियो । भाग्यवस खेल जितेँ, रिङबाट ओर्लिने क्रममा महाराष्ट्रका एक प्रसिद्ध बक्सिङ एकेडेमीका बिल्डरले मलाई पैंसाको माला लगाइदिनु भयो । कसले मलाई माला लगाइदियो भनेर हेर्नु अगाडि मालामा भएको नोट सक्कली थियो कि नक्कली भनेर छामेको थिएँ ।

महाराष्ट्र च्याम्प भएपछि मलाई त्यस्तो केही महसुस भएन । मैले कसलाई पराजित गरे पनि सोचेको थिएनँ । तर, जब स्टेट च्याम्पियनसीप खेल्न म नागपुर गएँ तब कसलाई जितेको रहेछु भन्ने थाहा पाएँ । नागपुरमा मेडिकल प्रशिक्षण गर्दा सबैले महाराष्ट्रका पीयुष यादव आएनन् भनेर सोधे । पीयुषलाई हराएर यो आएको’, भनेर भनेपछि सबैले मलाई हेरे । सबै छक्क परेर म झन् छक्क परेँ ।

पछि प्रतिस्पर्धा गरेर बुज्दा पो पीयुषलाई चिनेँ । पीयुष भन्ने खेलाडी त महाराष्ट्रको प्रसिद्ध खेलाडीमध्ये एक रहेछन् । पीयुष क्युबा गएर प्रतिस्पर्धा गरेका खेलाडी रहेछन् । थाहा पाउँदा आफैँ आश्चर्यमा परेँ ।

त्यस दिन अर्को कुरा सिकेँ । खेलाडी कताबाट आयो । उसको पृष्ठभूमि के हो भन्ने कुराले परक नपारी कस्तो सीप छ त्यसले महत्व राख्ने रहेछ ।

भारतीय ओलम्पियन विजेन्द्र सिंहसँगको मित्रता

हाम्रो भेट सुपर कपमा भयो । उहाँको प्रतिस्पर्धा ७५ केजी तौल समूहमा र मेरो ८१ केजीमा थियो । उहाँले खेलेको देखेर म उहाँको फ्यान बनेँ । फोटो खिचेँ । मैलै खेलेको देखेर उहाँ मेरो फ्यान बनेँ । कुराकानी भयो । सम्बन्ध राम्रो भयो ।

पुणे क्याम्पमा पनि सँगै भयौँ । धेरै सिक्ने अवसर पनि प्राप्त भयो । उहाँ समूह ए मा हुनु हुन्थ्यो । म बीमा थिएँ । तर मलाई ए टिममा नै तालिम लिने वातावरण बनाई दिनुभयो । सँगै तालिम गर्ने सँगै खेल्ने अवसर पनि प्राप्ति भयो । महाराष्ट्रमा बनाएको एक परिवारमा विजेन्द्र पनि मनमिल्ने सदस्यमा पर्छन् ।

देशप्रतिको माया

भारतमा हुँदा एक प्रशिक्षकले बक्सरको लागि कति मेहेन्त गर्दो रहेछन्? बक्सर र प्रशिक्षकबीच कस्तो बोन्डिङ हुने रहेछ? त्यो सिक्ने अवसर प्राप्त भयो । साथै च्याम्पियन भएपश्चात अन्य अवसरको ढोका खुल्यो । रिङका किङ भन्ने रियालिटी शोसँग पनि जोडिने अवसरप्राप्त भयो ।

अन्य थुप्रै अवसर पनि पाएँ । स्टेट च्याम्पियनभएपश्चात उतैको सर्टिफिकेट र पासपोर्ट बनाएर भारतलाई चिनाउने प्रस्ताव पनि आयो । तर, आफ्नो पहिचान पूर्ण रूपमा गुमाउन भने मैले सकिनँ । मेरो मनले मानेन । बरु नेपालमा नै केही गरौला भनेर नेपाल फर्किएँ ।

आफ्नो माटोमा केही गर्ने भावले नेपाल आएँ

बरु २ रुपैँया कमाउँछु तर आफ्नै देशमा नै केही गर्छु भन्ने भावनाको विकास भएपछि नेपाल आएँ । जहाँ गए पनि आमाको हातले बनाएको गुन्द्रुक, भातको स्वाद विदेशको ८४ व्यञ्जनले पनि पुरा गर्न नसक्ने रहेछ । त्यसको तुलना कुनै भौतिक सुखसँग गर्न नमिल्ने रहेछ ।

हामीले आफ्नो पनलाई माया गनुपर्छ । हाम्रो लागि हामीले नै गर्नु पर्छ । बरु थोत्रो लुगा लगाउँला, थोत्रो बाइक चढौला तर नेपालको लागि केही गरेर नै मर्ने सोच आयो । तर, चाहेर पनि सुरुवात सोचेको गर्न सकिएन । वातावरणले धेरै नै चुनौती दिने रहेछ । कहिले आर्थिक अभाव त कहिले केको अभाव ।

निलम्बन भएको ४ वर्ष

नेपाली बक्सिङमा थुप्रै अनियमितता थिए । जुन देखेर पनि त्याग्नु गाह्रो थियो । मैले सबै खेललाई एकै तरिकाले गरिने परम्परागत तामिलको बारेमा पनि बोलेको थिएँ । मैले नेपाल बक्सिङ संघका अध्यक्षविरुद्धमा, उहाँको बक्सिङ क्षमताको बारेमा फेसबुकमा पनि लेखेको थिएँ । विद्रोह गरेसरह नै भयो । त्यसपछि मैलै १ वर्षको निलम्बनको सजाय पाएँ । समयसँगै त्यो ४ वर्षमा पनि परिवर्तन भयो ।

तर, म हार मान्नेवालामा थिइनँ । संघर्ष जारी थियो तर बक्सिङलाई छोडिनँ । भारतमा आफ्नो सिकाईलाई निरन्तरता दिए र नेपालको लागि केही गर्ने पर्ने सपना बनाएर अघि नै लागेँ । किनभने बक्सिङको लागि नेपालमा मलाई बाटो बनाउनु नै थियो । त्यो दृढ्तालाई कुनै चुनौतीले पनि छेक्न सकेन ।

यादगार क्षण

इण्डियाको सुपर लिग । त्यो म्याच मैले १२ वर्ष संघर्ष गरेर पाएको फाइट थियो । मेरो पहिलो प्रोफेसन्ल म्याच थियो । इण्डियर्न वेस्ट प्लेयर अफ द यर’ का उपाधि जितेका बक्सर, विजेन्द्र सिंहलाई हराएको फाइटर तथा पन्जाव च्याम्पियन शुखदेव सिंहविरुद्धको म्याच एकदम यादगार लाग्छ । धेरै सिक्न पाए उहाँसँग पनि, पछि राम्रो साथी पनि बने । बेलाबेला मलाई कल पनि गर्छन् । हालको क्यानेडा च्याम्पियन पनि हुन् ।

जीवनसाथीलाई रिङमा रिङ लगाएको

मेरो जीवनको इच्छा अन्तिम म्याचपश्चात रिङमा रिङ लगाएर बेहुली भित्राउने थियो । सो जितेको रकम मलाई अनाथ आश्रमका बालबालिकाको विकासको लागि दान दिनु मन थियो । मैले आमालाई पनि त्यही भनेको थिएँ ।

तर, घरबाट निरन्तर दबाब आएकोले फेरि कोरोना भाइरसको त्रास बढिरहेकोले मैले आफ्नो विवाह गर्ने निधो गरेँ । मागी विवाह भएकोले मैले मेरो जीवन साथी सुशीला थापालाई मेरो सपना पुरा गर्न मद्दत गर्नु पनि धेरै आग्रह गर्नुप¥यो । उनले स्वीकृति दिएपछि सन् २०२१ को २० सेप्टेम्बरमा उनलाई रिङमा रिङ लगाएर मैले मेरो सपना पुरा गरेँ ।

प्रोफेसनल बक्सिङ र अमेच्यर बक्सिङको फरक

अमेच्यर बक्सिङ भनेको देशको लागि खेलिन्छ । पदक ल्याउने । जित्यो भने राष्ट्रले पुरस्कार दिने पक्ष भयो । यता प्रोफेसनल बक्सिङमा भने खेलको साथसाथै आर्थिक रुपले पनि सबल बन्न सकिन्छ । साथै राष्ट्रको पनि प्रतिनिधित्व गर्नु पाउनुहुन्छ र पराजित भएता पनि पुरस्का राशी प्राप्त गर्नुहुन्छ ।

यस्तै, प्रदर्शनअनुसारको प्रायोजकले पनि आर्थिक लगानी गर्ने गर्दछन् । दुईबीचको फरक भनेको थोरै नियमको हो । अमेच्यरमा ३ राउण्डर खेलिन्छ भने प्रोफेसन्लमा क्रमबद्ध रुपमा सुरु गरी ८ देखि १२ राउण्डसम्म खेलिन्छ । साथै प्रोफेसन्ल बक्सिङको च्याम्पियनशिपको उपाधिका लागि लाखौँ अमेरिकी डलरको पुरस्कार पनि हुन्छ ।

विदेशमा यस्तै प्रतियोगितामा ६० करोड डलरसम्मको पुरस्कार पनि पाउने व्यवस्था छ । साथै नेपाली प्रोफेसन्ल बक्सरको आक्रमण र साहसलाई विदेशीहरूले धेरै मनपराउने गर्छन् । अब ठुलो पुरस्कार भने पनि सानो खाका बनाएर हामीले शुरुवात गरेका छौँ । यसलाई सफलतापूर्वक लान सके पक्कै पनि विदेशबाट प्रायोजक भित्र्याउन सक्नेछौँ ।

नेपालमा प्रोफेसनल बक्सिङ भित्राउने अवसर

विभिन्न संघर्षपश्चात नेपाली बक्सर दाजुभाइ, अग्रज लाल बहादुर दाईलगायत सम्पूर्णले दिएको साथ र मायाले नै प्रोफेसनल बक्सिङ भित्राउने अवसर प्राप्त भयो । साथै भारतीय सम्बन्धलगायत विजेन्द्र सिंहको सहयोगले पनि प्रोफेसनल बक्सिङको थालनीमा सहयोग पुग्यो ।

हरेक घटनाले अवसर बोकेको पनि महसुस भयो । बक्सिङमा प्रचलित भनाइ छ हरेक बक्सरले तपाईंलाई नकआउट गर्न नै आउँछन्, त्यसबेला तपाईंले आफूलाई कसरी प्रस्तुत गर्नु हुन्छ । त्यो तपाईंमा निर्भर हुने कुरा हुँदो रहेछ ।

कि त तपाईं घुडा टेक्नु प¥यो । कि तपाईंले घुडा टेकाउनु प¥यो । फलस्वरुप सबैको साथ र सहयोगले सबै चुनौतीलाई घुडा टेकाएर हामीले प्रोफेसनल बक्सिङ भित्र्याउन सफल भयौं । सबैजनाले मिलेर काम गर्र्दैँछन् ।

म देखिएको पात्र मात्र हुँ । मेरो पछाडि बलियो र धेरै सदस्यहरूको साथ छ । प्रोफेसनल बक्सिङ फस्टाउनुमा मेरोभन्दा पनि उहाँहरूको मेहेन्त धेरै छ ।

सन् २०१९ मा जापान च्याम्पियन

नेपालमा प्रोफेसनल बक्सिङको थालनी गरेपश्चात हामीर्ले च्याम्प अफ द च्याम्यिन्स’ भन्ने प्रतियोगिता पनि संचालन गर्‍यौँ । त्यसको व्यवस्थापनमा पनि समस्या आयो । सोही प्रतियोगिताबाट खेलाडीलाई जापान लाने सोचाइ भने पुरा हुन सकेन । त्यो बेला हामीले विभिन्न चुनौतीहरूको समाधान गर्न सकेनौँ । तर, जापानमा भएको मोहन दाइले मेरो प्रदर्शन हेर्नु भएको थियो । फलस्वरुप मलाई जापानको प्रतियोगितामा सहभागी हुन प्रस्ताव राख्नु भयो ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा कम मात्र खेलेकोले मैले जापान जाने निधो गरेँ । जापानमा मोहन दाइले मसँग नकआउटको अपेक्षा गर्नु भएको थियो । प्रतियोगिता सुरु हुनु अगाडि म तीन महिना अगाडि जापान पुगँे । जापानको माहोलमा भिज्न नै समय लाग्यो । खोलाको बगरमा तालिम गरेको मान्छे बक्सिङको स्टेज, लाईट र रौनकले नै सुरुमा मलाई अतालेको थियो ।

जापानमा ७ क्लबमा गएर पनि खेले सबैबाट राम्रो प्रतिक्रिया भयो । आफ्नो तौललाई ७८ पु¥याउन पर्ने पनि भयो । संघर्षण पनि धेरै भएको थियो । प्रतियोगितामा खेल्नु अगाडि २ खेलमा म हारे । अब प्रतियोगितामा नकआउट नगरी नहुने थियो । जसरी पनि अर्को पटक आउनुको लागि मलाई बाटो खोल्नु थियो ।

त्यही कुरा मन्न गर्दैँ ‘आए आँप नआए झटारो’ भने मनशायले रिङमा प्रवेश गरेँ । फेरि सबैले नेपाली खेलाडीलाई सुरुमा कम समजिने र प्रदर्शनपश्चात मात्र प्रशंसा गर्ने प्रवृत्ति त्यहाँँ पनि हाबी भएको देखेँ । नभन्दै प्रतिद्धन्दीलाई करिब २८–२९ सेकेन्डमा नकआउट गर्न सफल भएँ । यसले अर्को पटकको लागि पनि ढोका खुल्यो तर कोभिड–१९ ले गर्दा जान पाइनँ।

खेलकुदको लागि बोल्ने मान्छेको अभाव

नेपालमा खेलाडीहरूले धेरै चुनौतीको सामना गरेपछि एउटा राम्रो उद्देश्य र रणनीतिको पनि कमी भएको देखिन्छ । साथै खेलकुदलाई बुझ्न नसक्ने पदाधिकारीको नियुक्तिले पनि यस्तो पटक पटक समस्या ल्याएको हो ।

खेलाडीलाई पनि विकासको लागि राम्रो सेवा र सुविधाको कमी भएको देखिन्छ । कति बेला त खेलाडीलाई मजदूरसरह पेलेको पनि देख्न सकिन्छ । यसले बक्सिङ मात्र नभई सबै खेललाई नै पछि पारेको छ । भलै फुटबल र क्रिकेटले अलिकाति राम्रो गरेको छ । तर, प्रवृत्ति कस्तो छ भने राम्रो गर्दा मात्र हाम्रो । नराम्रो गरेपछि त्यो पनि कसको कसको त्यस्तो छ स्थिति ।

खेलकुदलाई बुझ्ने, बुझाउने सक्ने मान्छेको धेरै अभाव महसुस गरेको छु । खेलकुद कुन अवस्थामा छ । यसलाई कसरी अगाडि बढाएर लाने सबै कुराको कमी छ । लगानीको अभाव भएमा प्रायोजकलाई पो आकर्षण गर्ने कि पनि सोच्न सक्नु पर्ने हो । हामी व्यवस्थापनमा निकै पछाडि परेका छौं ।

खेलाडी उत्पादन मात्र हैन, खेलाडीको दिगो विकास पनि हेर्नुपर्छ

हाम्रो देशमा बक्सिङलगायत अन्य खेलकुदमा पनि खेलाडीको उत्पादन राम्रो हुन्छ । एउटा प्रतियोगिता जित्छन् । अर्को जित्छन् । तर, केवल त्यो उपलब्धी छोटो समयको मात्र हुन पुग्छ । नेपालका कति बक्सर अहिले मकाउ, अमेरिका, थाईल्याण्ड आदिमा विस्थापित भएको देख्न सक्छौँ ।

कारण नेपालमा बसेर वर्षैँभरि खेलकुदमा नै समर्पित भएर जीवनयापन गर्न सक्ने वातारण सृजना हुन सकेको छैन । प्रतियोगिता जित्यो, पुरस्कार दियो, सक्यो । त्यतिले पुग्दैन । कसरी यस्तो खेलाडीलाई अझैँ तिखार्ने, उनीहरूको भविष्यलाई कसरी सुनिश्चित गराउने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । भारत जस्तैं सरकारी निकायबाट कुनै कोर्पोरेट स्तरमा पो खेलाडीलाई रोजगारी र्सिजना गर्न सकिन्छ कि पनि सोच्न सकिन्छ ।

द-ईलाईट च्याम्पियनशिपको सुरुवात

नेपालमा प्रोफेसन्ल बक्सिङ छ भनेर देखाउन र नेपाली बक्सिङलाई चिनाउन नै द ईलाईट च्याम्पियनशिपको मुल उद्देश्य थियो । नेपाली बक्सरलाई दक्षिण एशियामा भिन्नै तरिकाले हेरिने रहेछ । नेपाली बक्सरको क्षमता दक्षिण एशियामा देखाउनलाई हामीले साथीभाइको नै लगानीमा अन्तर्राष्ट्रिय बक्सरहशरूलाई सहभागी गरायौं ।

नेपाली बक्सरको आँट र शाहसलाई सबैले खुलेर प्रशंसा गरेको देखियो । अहिले शुरुवाती समयमा हामीले सोचेको भनेको नेपाली बक्सरको लागि प्लाटफर्मसँगसँगै थोरै आर्थिक सहयोग गर्ने सोचेर आयोजना गरेका हौँ । साथै नेपाली बक्सरलाई पनि प्रोफेसन्ल बक्सिङको सानो झल्को देखायौँ ।

अर्को संस्करणलाई अझै भव्य रुपमा सञ्चालन गर्ने योजना रहेको छ । अब ७७ जिल्लाबाट नै बक्सरलाई सहभागी गराउने, वर्षभरि चलाउने, सिरिजको रुपमा विकास गर्ने, उत्कृष्ट १६ को छनोट गरी, उपविजेतालाई आकर्षक पुरस्कार राशी र विजेतालाई अष्ट्रेलियाली फाइटमा सहभागी गराउने तरिकाले क्याम्पिङ गर्ने सोचिरहेका छौँ ।

यसले नेपाली प्रोफेसन्ल बक्सिङको एक स्टार गराउने आशा गरेका छौँ । यो शुरुवात मात्र हो । यसलाई भव्य रुपमा अगाडि बढाउन सबै मिलेर लागि परेका छौँ ।

सन् २०२३–२४ मा एक प्रोफेसन्ल बक्सरले वर्षको १० लाख रुपैँया सहजै कमाउने सक्ने वातावरणको सृजना गर्ने योजना पनि रहेको छ ।

बक्सिङले सिकाएको पाठ

जीवन भनेको शिक्षाले भरिपूर्ण हुन्छ । कहिले जितेर त कहिले हारेर सिकिन्छ । कहिले दुःखले कहिले हाँसोले सिकिन्छ । अहिले बक्सिङलाई बुज्दा रिङभित्रको मात्र च्याम्पियन भएर नहुने रहेछ । जीवनमा पनि च्याम्पियन बन्नु पर्दो रहेछ ।

समाजलाई बक्सिङ के हो बुझाउनु सक्नु पर्छ । खेलाडीलाई कहिले पनि हार नमान्ने क्षमताको विकास गराउनुु सक्नु पर्दछ । कुनै पनि युवा वा खेलाडी लागु औषधमा नलागुन, त्यस्तो वातावरण सृजन गर्नुपर्दछ । मार्गदर्शन गर्नु सक्नु आफैँमा एउटा प्रतिस्पर्धा रहेछ ।

रिङभित्र त मेरो आदरणीय गुरुबाले मलाई सिकाएर च्याम्पियन बनाउनु भयो । त्यो हिजो मैले गरे भने भोलि अरु कसैले पनि सहिी ज्ञानको साथमा हासिल गर्न सक्दछ । तर, बक्सिङको मूल लक्ष्य भनेको जीवनको पनि च्याम्पियन बन्नु भन्ने हो।

एक मुक्काले जित्नु र एक मुक्काको हारले तपाईंको पुरै जीवन निर्धारण गर्न नसक्ने रहेछ । तर, जीवनमा केही लक्ष्य लिएर अघि बढ्नु र त्यसलाई पुरा गर्नुलाई लागि पर्नु त्यो आफैमा एउटा च्याम्पियनसिप रहेछ ।

मेरो खेल जीवनमा थुप्रै उकालो र ओरोलो आए । त्यसबाट मैले लिन भएर अगाडि बढ्नु सिकायो । कर्ममा विश्वास गर्न सिकायो । कर्मयोगी भएर मेहेन्तका साथ अघि बढ्न सिकेँ । १४ पटक च्याम्पियन भएपश्चात ममा समाजको लागि केही गर्ने भावनाको विकास भयो ।

बक्सिङको लागि धेरै गर्न बाँकी भएको, एक मार्गदर्शकको आवश्यकता भएको पनि महसुस गरेँ । आफू मात्र च्याम्पियन भएर पुगेन जीवनमा नै विजेता बन्ने मानिस बनाउन सक्नु पनि आवश्यक छ जस्तो लाग्छ । कतिको सम्भव होला न होला थाहा छैन। यद्यपि, आफ्नो जीवनकालमा एक पटक नेपाली बक्सरलाई अमेरिकाको लास भेगसस्थित एमजीएम गार्डेनमा प्रतिस्पर्धा गर्न लगेर फ्रन्ट सिटमा बसेर हेर्न मन छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ०६ बजे

महानगरद्वारा १३५ संरचना भत्काइयो 

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले अवैध ढङ्गबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने

‘घर जाँदै छु’ बोलको गीतको भिडियो सार्वजनिक 

काठमाडौं– दशैँको माहोलमा घर जाँदै छु बोलको गीतको भिडियो  सार्वजनिक

जलवायु परिवर्तनसँगै डेङ्गुका बिरामी बढे

कर्णाली– जलवायु परिवर्तनका कारण हिमाली भेगमा तापक्रम वृद्धिसँगै डेङ्गुका बिरामी

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

काठमाडौँ– आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका

डेंगुबारे जनचेतना अभिवृद्धिका लागि जनचेतनामूलक र्‍याली

भक्तपुर– संक्रामक डेंगु रोगबारे जनचेतना अभिवृद्धिका लागि भक्तपुर नगरपालिकाले जनचेतनामूलक