किन विवादमा पर्दैछ बीपीको वृत्तचित्र ?  | Khabarhub Khabarhub

किन विवादमा पर्दैछ बीपीको वृत्तचित्र ? 



काठमाडौँ– वरिष्ठ पत्रकार एवं लेखक किशोर नेपाल बजारमा हरेक दिन प्रदर्शन र प्रकाशनमा आउने कृतिका बारेमा हतपती टिप्पणी गर्दैनन् । उनलाई त्यसो गर्दै हिँडने फुर्सद पनि छैन । कुनै चलचित्र, पुस्तक या वृत्तचित्रले मन छोयो भने उनी लामै लेखमार्फत त्यसको प्रशंसा गर्न भने चुक्दैनन् ।

पत्रकार दिपेन्द्र लामाले निर्माण गरेको चलचित्र ‘नागबेली’ बारे उनले दामी समीक्षा लेखेका थिए । मिडिया सिण्डिकेटले चर्चायोग्य नठानेको कुनै कृति यदि वास्तवमै राम्रो छ भने त्यसलाई ‘प्रमोट’ गर्न पनि उनी कुनै कसर बाँकी राख्दैनन् । सुर चल्यो भने चलचित्रकी कुनै नायिकाको खुबीबारे लामो लेख लेखिदिन्छन् । मन परेन भने, ‘नेपालका अभिनेत्रीमा दम छैन’ भनेर पनि लेखिदिन्छन् ।

एउटा सम्पादकका रुपमा पत्रकार नेपालले समाचारमा संवाददाताहरूले राखेका धेरै शीर्षकलाई ‘वाहियात’ भन्दै काटेका छन् । छापा माध्यमको सम्पादक हुँदा उनले धेरै संवाददाताका गन्थनरुपी रिपोर्टलाई कच्याककुचुक पारेर संवाददाताकै सामुन्ने डस्टबिनमा मिल्काएका अनेकौं उदाहरण छन् ।

‘नेपाल म्यागेजिन’ मा उनी प्रधान सम्पादक हुँदा पँक्तिकार सोही पत्रिकामा ‘कपी एडिटर’ थियो । उनले त्यसबेला धेरै फाल्तु रिपोर्टका प्याराका प्यारा काट्न लगाएको र शीर्षकमा रन्दा लगाएको पङ्क्तिकारको स्मरणमा छ । उनको यस्तो शैलीले नयाँ पुस्ताका सञ्चारकर्मीलाई धेरै सिकाएको छ । अहिले कतिपय सम्पादक मिडियामा संवाददाताले जे ल्यायो त्यही छापी दिन्छन् । क्रिटिकल एङ्गल कमैमा हुन्छ ।

आखिर संवाददाताले ल्याएका सामग्रीमाथि रन्दा लगाउन किशोर नेपालमा जस्तो साहस र क्षमता पनि त हुनुपर्छ । पत्रकार रमेश केसीले दार्शनिक यूजी कृष्णमूर्तिका बारेमा लेखेको लामो गन्थनलाई उनले च्यातचुत पारेर डस्टबिनमा मिल्काएको चर्चा अहिले पनि उति बेलाका पत्रकार माझ चल्ने गर्छ ।

एउटा आपत्तिजनक शिर्षक 

जे होस्, यसपालि चाहिँ अचम्मै भयो । पत्रकार जगत नेपालले जननेता बीपी कोइरालाको संघर्षका बारेमा निर्माण गरेको वृत्तचित्र ‘राजद्रोही राजनेता’ बारे चाहिँ अग्रज नेपालले हेर्दै नहेरी फेसबुकमा पाँच प्यारा लामो टिप्पणी लेखिदिए । यो टिप्पणी वृत्तचित्रका बारेमा नभई यसको शीर्षक ‘राजनेता राजद्रोही’ का बारेमा गरिएको घरघोर आपत्ति थियो ।

किशोर नेपालले लेखेका छन्, ‘जगत नेपालले निर्माण गर्नुभएको वृत्तचित्र ‘राजद्रोही राजनेता’ मैंले हेरेको छैन । किनभने, म जगत नेपालको वृत्तचित्रको नामसँग सहमत हुन सकिनँ । शब्दकोषमा राजद्रोहको परिभाषा वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि, राष्ट्रप्रति अहित हुने नियतको काम भनिएको छ । राजद्रोह गर्नेलाई राजद्रोही भनिन्छ ।

बीपीको आकार र उचाइ उहाँ स्वयंको जीवनभन्दा ब्यापक थियो । जगत नेपालजस्ता नयाँ पुस्ताका विद्वानले त्यो व्यापक व्यक्तित्वलाई शब्दको अर्थ नै नकेलाई किन र कसरी ‘राजद्रोही’ लेख्नुभयो ? यो आश्चर्य र चिन्ताको विषय हो । पछिल्लो समयमा नेपाली भाषाको ओज र गरिमा जसरी बिथोलिएको छ त्यो चिन्ताको विषय हो ।

जगत नेपालले राजद्रोही शब्दको अर्थ नै नकेलाई हतारमा गल्ती गर्नुभएको छ । फेसबूकमा उहाँको तारिफमा प्रशंसाका शब्दहरुको वर्षा भइरहेको छ । यो अस्वाभाविक होइन । तर, जगत नेपालले बीपीका नाममा प्रयोग गर्नुभएको राजद्रोही शब्द फिर्ता लिनु नै श्रेयकर हुनेछ ।’
पत्रकार नेपालको वृत्तचित्रमाथि वरिष्ठ पत्रकार नेपालको यस्तो टिप्पणीपछि अहिले यो विषय बहसमा छ । हरेक लोकतन्त्रबादी मात्र हैन समग्र नेपालीका दृष्टिमा बीपी कोइराला राजनेता हुन् । उनलाई ‘महामानव’ र ‘जननेता’ समेत भन्ने गरिएको छ ।

एकाएक वृत्तचित्रले ‘राजद्रोही’ संज्ञा दिएपछि धेरैले वृत्तचित्र निर्माताको नियतमाथि नभई शब्द चयनमा देखाइएको बच्चापनमाथि कटाक्ष गरिरहेका छन् ।

बीपी पक्कै पनि राणा र दरबारिया पञ्चहरुका दृष्टिमा राजद्रोही थिए । उनीमाथि राजद्रोहकै मुद्दा थोपरिएको थियो । लोकतन्त्रबादीका दृष्टिमा उनी राजनेता हुन् । जगत नेपालजस्ता लोकतन्त्रवादी ‘नेटवर्क’ का पत्रकारले पनि बीपीलाई ‘राजद्रोही’ नै लेखिदिएपछि लोकतन्त्रबादी कित्ता मर्माहत हुने नै भो ।

वृत्तचित्रमा भारत निर्वासनमा रहेका बीपीले वि.सं. २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर आउँदा र तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रह घोषणा गर्दासम्मको अवस्था चित्रित छ । बीपी संग्राहलयका अध्यक्ष परशुराम पोखरेलले वृत्तचित्रको नाम ‘राजद्रोही राजनेता’ राखिएकोमा आपत्ति जनाउँदै ‘राजद्रोही कसरी राजनेता हुनसक्छ ?’ भन्ने प्रश्न गरेका छन् ।

‘यो वृत्तचित्रको नाम नै भएन भन्ने मलाई लाग्छ । बीपी कोइराला राजनेताभन्दा माथि हुनुहुन्थ्यो र हुनुहुन्छ । उहाँ राजद्रोही अर्थात् राज्य+द्रोही=राजद्रोही या तत्कालीन अवस्थाका शक्तिकेन्द्र राजालाई भन्ने जनाउँछ । राजा+द्रोही=राजद्रोही । निर्माता पक्षले राजद्रोही भनेर कुन विषयलाई जोड्न चाहनुभयो ?,’ अध्यक्ष पोखरेलले ‘उकेरा’ मा लेखेका छन् ।

पोखरेलका अनुसार राजद्रोही भनिसकेपछि राजनेता हुन सक्दैन । फेरि राजनेता कहिल्यै राजद्रोही हुन सक्दैन । बीपी कोइराला कहिल्यै राजद्रोही भएनन् । उनले राज्यसत्तालाई दुरूपयोग गर्ने राणा श्री ३ र पञ्चायती व्यवस्थाको नेतृत्व गर्ने राजा र पञ्चका विरूद्ध विद्रोह गरेका हुन् ।
‘द्रोह गर्नु भनेको लोभ, रिस र पापादि, असल कर्ममा नपर्ने कार्य गर्नु हो । द्रोही भनेको असल कर्म नगर्ने मानिसलाई भनिन्छ । कर्ता भयो । यसैले उहाँले विद्रोह गर्नुभयो । द्रोह गर्नु भएन । अतः उहाँ आजसम्मकै सर्वोच्च राजनेता हुनुभयो । राजद्रोही हैन’, बीपीवादका अनुयायी पोखरेलले भनेका छन्, ‘बीपीले कहिले राज्यविरुद्ध द्रोह गर्नुभयो वृत्तचित्रले प्रष्ट पार्न सक्छ ?’

पोखरेलका अनुसार बीपीले त राजाको कदमविरुद्ध विद्रोह पो गर्नुभयो । अझ राजाले ऐस–आराम र पाएको सुविधालाई बीपीले विरोध गरेको पाइँदैन । बीपीले त राजाले प्रजातन्त्रमाथि ‘कु’ गरेकाले विद्रोह गर्नुभएको हो । बीपीमाथि कुनै पनि कुरा लेख्दा, वृत्तचित्र बनाउँदा शब्दमाथि ख्याल गरेको पाइएन ।

यो बहस चर्किंदै गयो । अनि यसमा जोडिन आइपुगे पत्रकारिताको भाषामा पारङ्गत शरदचन्द्र वस्ती पनि  । उनले लेखे, ‘सही कुरा । यो वृत्तचित्र जगत नेपालको निम्तोमा मैले पहिलो सार्वजनिक प्रदर्शनीमै हेर्ने मौका पाएको थिएँ । यसको निर्माणका निम्ति गरिएको श्रद्धापूर्ण मिहिनेतको जति प्रशंसा गरे पनि कम हुन्छ । तर, ‘राजद्रोही’ शब्द मात्र होइन, ‘यो त सारै भएन’ लाग्ने अरू पनि केही कुरा छन् यसमा, जसले वृत्तचित्रलाई सबल बन्न वाधा पारेका छन् । तिनैतर्फ इशारा गर्दै, प्रदर्शन लगत्तै मैले जगतजीलाई ‘नमिलेका केही कुरा मिलाउनुपर्छ है’ भनेको थिएँ । मिलाउन सके वृत्तचित्र झरिलो बन्नेछ ।’

यसैमा भूमिराज चापागाईंले थपे, सही विश्लेषण । राजद्रोही शब्दले बीपीको अपमान त भएको छैन भन्ने भावना मलाई पनि आएको हो । हुन त मैले पनि वृत्तचित्र हेरेको छैन तर अवश्य हेर्नेछु । राजद्रोही शब्दलाई त्यति बेलाका शासकले प्रयोग गरेको उपमालाई व्यङ्ग्य गरेको होला तर वर्तमान पुस्तालाई दिने सूचना÷जानकारीका हिसावले अल्लि मिलेन कि । साहित्यमा यसलाई स्वभाविक लिन्छन कि त ? म यसमा भने अनभिज्ञ छु है ।’

बीपीका अर्का अनुयायी अधिवक्ता एवं राजनीतिक विश्लेषक हरि दाहाललाई पनि शीर्षक मन परेको रहेनछ । उनको भनाइ छ, ‘राजद्रोही शब्दको अर्थ वचन लेख व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, द्वेष आदि, राष्ट्रप्रति अहित हुने नियतको काम भन्ने पाइन्छ । बीपी कोइरालाको नामका अघिल्तिर राजद्रोही शब्द झुण्याउनु बीपीलाई अपमान, अवमूल्यन, खिसिटिउरी गर्नु हो । यस कदमको घोर भत्सर्ना गर्दछु । यस वृत्तचित्रका निर्माता, निर्देशक, लेखक, अध्येता, अनुसन्धाताले राजद्रोही शब्द फिर्ता लिऊन् ।’

‘राजद्रोही’ को सापेक्षिक अर्थ 

पंक्तिकार चाहिँ वृत्तचित्र बनाउनेले भयंकर भुल गरेको ठान्दैन । बीपीलाई एक हिसाबले ‘राजद्रोही’ भन्दा पनि फरक पर्दैन । हरेक शब्दको व्याख्या विश्लेषण सापेक्षिक हुन्छ । राजद्रोहको अर्थ राज्य या राज्यसत्ताविरुद्धको द्रोह हो । बीपीले पनि त्यतिबेलाको राज्यसत्ताविरुद्ध द्रोह गरेका थिए ।

आम मानिसले देश, राष्ट्र या राज्यबीच भेद खुट्याउन सकिरहेका हुँदैनन् । राज्य या राष्ट्र भनेको राजनीतिक शक्ति स्वामित्वको कुरा हो । अनि देशभित्र चाहिँ समग्र भूगोल, जनता, भाषा, संस्कृति, परम्परा समेटिएको हुन्छ ।

राणा या पञ्चायतकालमा राज्य भन्नु नै राजा या सामन्त थिए । राजाले ‘म नै राज्य हुँ’को दर्शन लादेका थिए । राजकीय र सार्वभौमसत्ता उनैमा निहित भएकाले उतिबेला राज्य भनेकै राजा थिए । राजामै निहित राज्यलाई जनताको स्वामित्वमा ल्याउन उतिबेला बीपी र त्यसपछिका अनुयायीले विद्रोह गरेकै कारण अहिले हामी लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका हौं । अतः बीपीलाई राजद्रोही भन्नुको अर्थ अहिलेको सापेक्षमा नभई उतिबेला राजामा निहित राज्यविरुद्धको द्रोहका रुपमा बुझ्न राजनीतिका शास्त्रका ठेली पल्टाइरहनु पर्दैन ।

हो, बीपीले ‘देश द्रोह’ पो गरेका हैनन्, उनी देशद्रोही हैनन् । उनले देश र जनताका विरुद्ध कुनै काम गरेका छैनन् । राजकीय सत्ता देश र जनतामा नभई कुनै निरंकुश शासकमा निहित भएको अवस्थामा राजद्रोह गर्नु कुनै अपराध पनि हैन ।

भारतमा महात्मा गान्धी र जवाहरलाल नेहरुलगायतका नेताहरुले अंग्रेज शासकमा निहित राजकीय सत्ताविरुद्ध राजद्रोह नै गरेका थिए । उनीहरुमाथि पनि बीपीमाथि झै राजद्रोहको मुद्दा थियो । इतिहासमा जनविरोधी राज्यविरुद्ध द्रोह हुँदै आएको छ । राजद्रोही हुनु कहाँ गलत हो र ? राणा र राजामा निहित राज्यसत्ताविरुद्ध द्रोह गरेकै कारण बीपी राजनेता भएका हुन् भन्ने वृत्तचित्रको निश्कर्ष हो, जुन सही छ ।

‘नागरिक’ संवाददाता जीतेन्द्र जीतका शब्दमा समान्य अर्थमा राजद्रोही भनेको राज्य वा राजा(सरकार) विरुद्ध विद्रोह गर्ने व्यक्तिलाई भनिन्छ । राम्रै उद्देश्यका लागि भए पनि राजा (सरकार), राज्य व्यवस्था, शासन प्रणाली, शैली, संविधान लगायत विरुद्ध विद्रोह गर्ने व्यक्ति सिद्धांततः राजद्रोही नै भनाइन्छन् ।

अतः राजद्रोही शब्दलाई नकारात्मक अर्थमा मात्रै व्याख्या गर्नु न्याय संगत हुँदैन । अमुक राजद्रोहीले थालेको विद्रोह सफल भएपछि तीनै व्यक्ति स्वतन्त्रता सेनानी वा शहीदका रुपमा पनि सम्बोधन पाउने गर्छन् ।

‘कुनै वेला राजा (सरकार), राज्यसत्ता र संविधान विरुद्ध राजद्रोहीका रुपमा विद्रोह थालेका महामानव बीपी कोइराला मृत्युपर्यन्त पनि मुलुकको अग्रणी र सम्माननीय राजनेताका रुपमा स्थापित छन् ।

मलाई लाग्छ बीपीले त्यतिबेला राजद्रोह नगरेको भए न उनको आफ्नै पहिचान फेरिन्थ्यो न त मुलुककै । तसर्थ वृत्तचित्रमा राजद्रोही शब्द रहिरहे पनि बीपीप्रति अनादरै होला भनी धारणा वनाउनु पनि न्याय संगत देखिदैन’, जितेन्द्रको भनाइ छ ।

वि.सं. २०६२ को आन्दोलनताका नेपाली कांग्रेसका नेता गगन थापाविरुद्ध पनि राजद्रोहको मुद्दा चलाइएको थियो । मानवअधिकारकर्मी नागरिक अगुवा कृष्ण पहाडी, देवेन्द्रराज पाण्डेको नेतृत्वमा रत्नपार्कमा भएको कार्यक्रममा गगनले राजतन्त्र विरुद्ध बोलेका थिए, सोही आरोपमा उनलाई पक्राउ गरी राजद्रोहको मुद्दा लगाइएको थियो ।

गगनले त्यसबेला अदालतमा ‘अब राजतन्त्र र लोकतन्त्र सँगै रहन सक्दैन, गणतन्त्र ल्याउनु पर्दछ भनेर म बोलेकै हुँ’ भनिदिए । हिरासतबाटै कान्तिपुर दैनिकमा ‘लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो राजद्रोह मबाट जीवनपर्यन्त भइरहनेछ’ भनेर लेख पनि लेखें ।
गगन ज्ञानेन्द्र शाहको शासनकालमा राजद्रोही भए पनि उनी देशद्रोही थिएनन् । अहिलेको लोकतान्त्रिक गणतन्त्रमा पो राजद्रोही हुनु भएन, निरंकुश शासनकालमा राजद्रोही हुनु सापेक्षिक रुपमा गलत पनि त हैन । यस हिसाबले जगत नेपालको वृत्तचित्रमा बीपीलाई राजद्रोही भनेर लेखिनुको अर्थ देशद्रोही नभई राजाविरुद्धको द्रोहका रुपमा बुझ्नुपर्ने हुन्छ ।

एउटा सानो भूल 

पक्कै, निरंकुश अधिनायकवादी शासकहरुले बीपीलाई ‘राजद्रोही’को अभियोग लगाए पनि लोकतान्त्रिक गणतन्त्रको यो युगमा कुनै पनि लोकतान्त्रिक मनले उनलाई राजद्रोही भन्दैन र भन्नु पनि हुँदैन । लोकतन्त्रवादी स्वयंले त्यसो भन्ने हैन । यसर्थ पनि यो शब्दले हरेक लोकतन्त्रबादीलाई घोचेको हो ।

‘राजद्रोही’ बहसले वृत्तचित्र निर्माणजस्तो पुनित कार्य अनि वृत्तचित्रकै महत्वलाई ओझेलमा पारिदिएको छ । वास्तवमा पत्रकार नेपालको यो वृत्तचित्र उत्कृष्ट छ । आफूलाई बीपीका अनुयायी हुँ भन्दै बीपीको नाम भजाएर राज्यसत्तामा पुगेका र लाभको पदमा रमाइ रहेकाहरुले गर्न नसकेको काम उनले गरेका छन् ।

बीपीको योगदानबारे यो वृत्तचित्र नयाँ पुस्ताका लागि उपयोगी दस्तावेज बनेको छ ।

नेपाली समाज न हो, कसैले गरेका काम उनान्सय प्रतिशत ठीक छ भने पनि एक प्रतिशत बेठीकलाई उछाल्छ र उचाल्छ । अझ बीपीजस्तो व्यक्तित्वको बारेमा बनेको वृत्तचित्रको शीर्षकमै भएको त्रुटिले विवाद खडा गर्नु त स्वाभाविकै थियो ।

सोझै राजद्रोही लेखिएकाले धेरैलाई बिझाएको हो । आशय पक्कै गलत थिएन । कुनैबेलाका राजद्रोही बीपी कसरी राजनेता बने भन्ने दर्शाउनु नै वृत्तभित्रको मनसाय हो भन्नेमा किंचित शँका छैन । तर कहिलेकाँही असल नियत राख्दा राख्दै पनि ‘कमन सेन्स’मा चिप्लिँदा ठूला बलन्डर पनि हुने गर्छन् ।

अढाइ दशकसम्म ठूला मिडियाको डेस्कमा कार्यरत रहेर शब्दमा निहित अविधा, व्यञ्जना र लक्षणासँग खेल्दै आएको यो पंंक्तिकारका दृष्टिमा वृत्तचित्र निर्माताबाट एउटा सामान्य भूल चाहिँ भएको हो । उनले ‘राजद्रोही’ शब्दलाई यहाँ पंक्तिकारले झैं ‘सिंगल इन्भर्टेड कमा’मा राखिदिएको भए त्यसले कथित राजद्रोही भन्ने अर्थ बोक्थ्यो । कथित राजद्रोही भन्नुको अर्थ राणा, पञ्च या दरवारियाहरुले भन्दै आएको राजद्रोही, तर खासमा राजनेता ।

यति भएको भए किशोर नेपालजस्ता दिग्गज पत्रकारका शब्द र समय खेर जाने थिएन । अनि पत्रकार जगतले पनि बीपीको अपमान या उपहास गर्‍यो भन्दै नानाभाँती आलोचना खेप्नुपर्ने थिएन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ०८ बजे

मङ्कीपक्स सङ्क्रमित युवकको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं– शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा उपचाररत मङ्कीपक्स

‘पौवादुङमा गोल्ड कप फुटबल’ माघ १ गतेदेखि

भोजपुर– भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा कोशी प्रदेशस्तरीय ‘पौवादुङमा गोल्ड कप

लिपुलेकमा भारत र चीनको सहमतिप्रति अनेरास्ववियूको आपत्ती

काठमाडौं– नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले पछिल्लो समय

अपराधको राजनीतिकरण नगरौँ, रविको निलम्बन कानूनसम्मत छ

सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला अदालत

वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

पर्सा– पर्साको वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल